पर्दाभित्रको राजनीति

कहिले कौसी, कहिले बार्दली !

काठमाडौं। एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नवीन मित्रमिलनको आयु कति हो भनेर कसैले पनि आँकल गर्न सक्दैन। दुवै नेताका ओठमा केही महिना अघिमात्र एकअर्कालाई गाली गरेका शब्दहरु झुण्डिरहेकाले यसै होला भनेर भन्नु पनि जोखिम हुने छ।

एउटै कम्युनिस्ट केन्द्र बनाउन एमाले र माओवादी मिलाएर नेपाल कम्युनिस्ट पार्टी निर्माण गरेका यी दुइ नेता अध्यक्ष पदका दुइवटा कुर्सिमा बसेकै अवस्थामा छुट्रिटएका थिए। ‘अब पछि फर्कने सम्भावना नै छैन, हामी पुल काटेर आएका छौं’ भन्ने ओली र दाहाल फर्किने बाटो भत्किसकेकाले अलग अलग मोर्चामा समेटिएका थिए।Oli OD

यतिमात्र होईन नेकपा दुइ चिरामा विभक्त भएपछि बलियो बहुमतको सरकारबाट ओलीले बेलै नपुगी विदा लिनुपरेको कथा त्यति धेरै पुरानो होइन। यो पृष्ठभूमिले पनि ओली र दाहालको नाटकीय शैलीको मित्रमिलनको अवधिमाथि विश्वास गरिहाल्न नसकिने अवस्था निर्माण गरेको हो। यसैपनि विश्वासको मत लिने दिन नेपाली कांग्रेसको समर्थनप्रति शंका गर्दै ओलीले दाहालमाथि दीर्घकालिन रुपमा भरोसा नभएको सन्देश दिएका छन्।

दाहाल अहिले प्रधानमन्त्री पदमा आसिन छन्। ओली उनै दाहालको विद्रोहका कारण असमयमै पूर्व प्रधानमन्त्री बन्न पुगेका नेता हुन्। भलै अहिले दुवै नेता भर्खरै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा सदस्य चुनिएका हुन्।

दुइ अलग अलग गठबन्धनबाट चुनाव लडेर जितेका यी नेता नाटकीय शैलीमा एउटै बार्दलीमा उभिन पुगे। त्यो बार्दली ओलीको थियो। सत्ताच्यूत भएका ओलीले त्यही बार्दलीबाट दाहालको उछित्तो काढेका थिए। प्रधानमन्त्री बन्न बहुमत सांसद जुटाईदिने आश्वासन दिएर बालकोट बोलाएपछि ओलीले त्यही बार्दलीमा दाहालसँग ‘कन्धा मिलाएर’ हात हल्लाएका थिए।

छैटौं पटक सत्ताको नेतृत्वमा जान नयाँ दौरासुरुवालमा इस्त्री धसेर बसेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई हिस्स पारेर ओलीले बालकोट दरबारमा दाहाललाई भित्र्याएका थिए। त्यसपछि नेपाली कांग्रेसलाई मैदानमै छाडेर एमाले संयोजक रहेको नयाँ सत्ता समीकरण बनेर दाहाल प्रधानमन्त्री बनेका हुन् भन्ने कुरा जगजाहेर छ।

अब आउँछ प्रसंग, यो सत्ता अगाडि बढ्छ कसरी? आफ्नो पहलमा नयाँ सत्ता समीकरण बनेपछि ओली खुमलटारको कौसीमा पारिलो घाम ताप्न पुगिसकेका छन्। बार्दली र कौसीको आवागमनले निरन्तरता पाउँदै गर्दा प्रधानमन्त्री दाहाल सोमबार बालकोटको बार्दलीमा ओलीसँग घाम ताप्न झुल्किए। यो घाम तपाई भने मन्त्रीपरिषद विस्तार र संवैधानिक पदहरुको बाँडफाँटमा केन्द्रित रहेको बुझिएको छ।

राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख लगायतका संवैधानिक पदहरु कसकसको भागमा पर्ने भन्ने बिषयले यतिबेला ठूलो महत्व राख्दछ। माओवादीको भागमा परेको प्रधानमन्त्री पदमा दाहाल आरुढ भैसकेका छन्। अब अर्को मुख्य आकर्षणको पद भनेको राष्ट्रपति नै हो। अनि त्यसपछि मात्र सभामुख।

सत्ता बाँडफाँटको खिचडी पाक्दैगर्दा राजनीतिमा नयाँ नयाँ तर्कहरु पनि आईरहेका छन्। सत्ताको उच्च स्थानमा आरोहण गर्ने मनोकांक्षा हुर्काउँदै गरेका नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले सत्तारुढ गठबन्धनमा तरंग ल्याउने किसिमको तर्क प्रकट गरिदिएका छन्। उनले एमाले अध्यक्ष ओलीले हाई ज्याक गरेको पाँच दलीय गठबन्धन दाहाललाई विश्वासको मत दिएर पुनः पहिलेकै ट्र्याकमा ल्याएको सार्वजनिक अभिव्यक्ति दिएका छन्।

पौडेलमात्र होइन नेपाली कांग्रेसकै अर्का नेता शेखर कोइराला सहितका नेताहरूले सभामुख तथा राष्ट्रपतिको निर्वाचनमा सहकार्यका लागि कांग्रेसले दाहाललाई विश्वासको मत दिएको बताईदिए पछि भने ओली र दाहाललाई शंका चक्रब्यूहमा धकेलिएका छन्। 

सरकारले पूर्णता पाईनसक्दै नेपाली कांग्रेसका तर्फबाट छाडिएको विभाजनको वाणले ओली र दाहाल घाईते हुन्छन् कि वाण पन्छाउन सक्छन्, यो भने सरकार विस्तारको तथ्यांकले प्रष्ट पार्ने नै छ।

अझ अर्को चोटिलो पक्ष त के हो भने राष्ट्रपति र सभामुख निर्वाचनका सन्दर्भमा कांग्रेससँग पनि सहमति गर्ने भनेर स्वयम् प्रधानमन्त्री दाहालले नै सार्वजनिक रुपमै बताईसकेका छन्। यसले बालकोट दरबारको झस्किएको मनमा थप चिसो प्रवेश गराईदिएको हुनसक्छ। 

प्रधानमन्त्री दाहाल आफ्नो सरकारको मुख्य वैशाखी लड्खडाओस् भन्न पनि चाहँदैनन्। तसर्थ उनी घरिघरी बालकोटको बार्दली र कौसीमा झुल्किरहन्छन्। यो उनको समकालिन वाध्यता नै हो। भेटघाटलाई बाक्लो बनाएर उनी ओलीको मनको बाघलाई गर्जिन दिन चाहिरहेका छैनन् भन्ने बुझ्न सकिन्छ। आइतबार साँझ मात्रै ओलीलाई प्रधानमन्त्री निवास बालुवाटारमा निम्त्याएर दाहालले खातिरदारी गरेका थिए।

विभाजनको घाउमा खाटा नबस्दै अँगालोमा बेरिन पुगेका ओली र दाहालको मित्रतामाथि शंका गरेर नयाँ रणनीति बुन्न तल्लिन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भने एमालेबाट अलग्गिएका माधव नेपाललाई पुल्पुल्याएर बसेका छन्। ओलीका कट्टर आलोचक माधव नेपालको एकिकृत समाजवादीलाई अवसर आउनासाथ सम्मानित स्थानमा विराजमान गराउने आश्वासन दिएर देउवाले प्रधानमन्त्री दाहालको चुल्बुले मन चिमोट्न छाडेका छैनन्।

भनिँदैछ, पहिला मन्त्रीपरिषद विस्तार अनि सभामुख र उपसभामुखको निर्वाचन। विस्तारित सरकारको स्वरुप र सभामुखको निर्वाचनले बार्दली र कौसीको आवागमनको भविष्य निर्धारण हुने निश्चित छ।

प्रतिक्रिया