१८ साउन, आज बिहान अस्पतालको आकस्मिक कक्षबाट फोन आयो।
'डाक्टर साब, एउटा पुरानो बिरामी फेरि आईसीयूमा भर्ना भएको छ।'
मैले सोधेँ, 'को?'
उताबाट जवाफ आयो, 'उमेर ७० वर्षभन्दा धेरै। शरीर पुरानो तर नाम निकै ठूलो। पहिला धेरैलाई बचाएको थियो, अहिले आफैंलाई बचाउन संघर्ष गरिरहेको छ।'
मैले फाइल पल्टाएँ।
रोगीको नाम लेखिएको थियो- 'नेपाली कांग्रेस'!
डाक्टरहरूले पहिलो परीक्षण गरे।
रक्तचाप घटेको रहेनछ।
मुटु पनि धड्किरहेकै थियो।
फोक्सोले पनि सास फेरिरहेकै थियो।
तर एउटा गम्भीर समस्या भेटियो- शरीरका सबै अङ्गले एउटै मस्तिष्कको आदेश मान्न छाडेका रहेछन्।
दायाँ हातले बायाँ हातलाई आफ्नै शत्रु घोषणा गरेको रहेछ।
बायाँ आँखाले दायाँ आँखालाई देख्न अस्वीकार गरेको रहेछ।
खुट्टाले भने घोषणा गरिसकेको रहेछ- ''अब हामी टाउकोसँग होइन, आ-आफ्नो दिशामा हिँड्छौं।'
डाक्टरले रिपोर्टमा लेखे- ''रोगभन्दा ठूलो समस्या अहंकारजन्य प्रतिरक्षा विकार देखियो।'
आईसीयूको भित्तामा चारवटा तस्वीर झुन्डिएका थिए।
एउटामा वीपी कोइराला मुस्कुराइरहेका थिए।
अर्कोतिर कृष्णप्रसाद भट्टराईको शान्त अनुहार थियो।
तेस्रोमा गणेशमान सिंहको दृढ दृष्टि।
चौथोमा सुवर्ण शम्शेर राणाको त्यागको इतिहास।
चारै तस्वीर एक-अर्कालाई हेर्दै जस्तो लाग्थ्यो।
अचानक वीपीको तस्वीरबाट हल्का आवाज आयो- ''हामीले जेल रोज्यौं, यिनीहरूले जिरह रोजे।'
किशुनजी मुस्कुराए- ''हामीले कुर्सी छाड्यौं, यिनीहरूले कुर्सीका लागि पार्टी नै छाड्न तयार भए।'
गणेशमानले गहिरो सास फेरे- ''हामीले आन्दोलनमा लाठी खायौं, यिनीहरू फेसबुक स्टाटसमा नै क्रान्ति गर्छन्।'
सुवर्ण शम्शेरले टाउको हल्लाउँदै भने- ''मैले सम्पत्ति पार्टीलाई दिएँ। अहिले त पार्टीलाई नै निजी सम्पत्ति ठान्ने जमाना आएछ।'
भित्ताको घडी केही बेरका लागि रोकिएजस्तो भयो।
आईसीयू बाहिर तीन जना परिचित अनुहार भेटिए।
शशांक कोइराला।
प्रकाशमान सिंह।
विमलेन्द्र निधि।
तीनै जनाको हातमा आ-आफ्नो राजनीतिक बायोडाटा थियो।
तर अस्पतालका कर्मचारीले सोधे-
'औषधि ल्याउनुभएको छ?'
तीनै जना एकअर्काको अनुहार हेर्दै मौन भए।
कर्मचारीले फेरि सोध्यो-
'ठीक छ, औषधि छैन भने कम्तीमा उपचारको योजना?'
फेरि मौनता....!!!
त्यसपछि कर्मचारीले रजिस्टरमा लेख्यो-
'विरासत प्रशस्त, उपचार अस्पष्ट।'
यत्तिकैमा नयाँ सभापति गगन थापा आईसीयूमा प्रवेश गरे।
उनको हातमा नयाँ योजनाका फाइल थिए।
आँखामा उत्साह थियो।
बोलीमा आत्मविश्वास।
तर आईसीयूका पुराना बिरामीहरूले भने प्रत्येकले छुट्टाछुट्टै निर्देशन दिन थाले।
कसैले भन्यो-
'पहिले मेरो कुरा सुन।'
अर्कोले भन्यो-
'उहाँको होइन, मेरो समूहको कुरा सही हो।'
तेस्रोले भन्यो-
'यदि मेरो मानिएन भने म अर्को कोठामा बस्छु।'
गगन केही बेर मौन उभिए।
त्यतिबेला वरिष्ठ नर्सले कानमा बिस्तारै भनिन्-
'युवा जोशले चुनाव जित्न सकिन्छ, तर आईसीयू बचाउन धैर्य, अनुशासन र समन्वय चाहिन्छ।'
गगनले सायद त्यो कुरा सुने।
तर सुन्नु र कार्यान्वयन गर्नु दुई फरक कुरा हुन्।
आईसीयू बाहिर भने रमाइलो दृश्य थियो।
प्रतिद्वन्द्वी दलका नेताहरू अस्पतालको क्यान्टिनमा चिया पिइरहेका थिए।
कसैले भन्यो-
'हामीलाई धेरै मेहनत गर्नै परेन।'
अर्कोले थप्यो-
'सबैभन्दा सफल चुनावी रणनीति भनेको विपक्षीलाई आफैंसँग लड्न दिनु रहेछ।'
तेस्रोले हाँस्दै भन्यो-
'जब घरभित्रै आगो लाग्छ, छिमेकीले बाल्टिन होइन, दूरबिन निकाल्छ।'
देशभित्रका पुराना कांग्रेस समर्थक निराश थिए।
विदेशमा बसेका शुभेच्छुकहरूले सामाजिक सञ्जालमा लेखिरहेका थिए-
'हामीले विदेशबाट लोकतन्त्रको पक्षमा आवाज उठायौं। अहिले आफ्नै पार्टीको आवाज किन यति बेसुरो सुनिन्छ?'
कतिपयले पार्टीको झण्डा अझै समातेका थिए।
तर आशा भने बिस्तारै चिप्लिँदै गइरहेको थियो।
डाक्टरहरूको अन्तिम मेडिकल बोर्ड बस्यो।
रिपोर्ट सार्वजनिक गरियो।
रोगको नाम : गुटीय संक्रमण।
जटिलता : अहंकारको अत्यधिक मात्रा।
पुरानो रोग : पदलोलुपता।
नयाँ लक्षण : सामाजिक सञ्जालमै नेतृत्व गर्ने भ्रम।
रक्त परीक्षण : विचारको मात्रा न्यून।
एक्स–रे : संगठनको मेरुदण्डमा चिरा।
एमआरआई : स्मृतिमा वीपी, व्यवहारमा विपरीत दिशा।
अन्तिममा डाक्टरले प्रेस सम्मेलन गरे।
पत्रकारले सोधे-
'बिरामी बच्ला?'
डाक्टर मुस्कुराए।
'बच्ने सम्भावना अझै छ।'
'औषधि के हो?'
डाक्टरले फाइल बन्द गर्दै भने-
'वीपीको तस्वीरमा माला चढाउने होइन...
वीपीको विचारलाई व्यवहारमा उतार्ने।
किशुनजीको नाम जप्ने होइन...
उहाँको सादगी र संयम अपनाउने।
गणेशमानको सालिक बनाउने होइन...
उहाँको साहस पुनर्जीवित गर्ने।
सुवर्ण शम्शेरको इतिहास सुनाउने होइन...
त्यागको संस्कार फर्काउने।'
केही क्षण मौनता छायो।
त्यसपछि डाक्टरले अन्तिम टिप्पणी लेखे-
'यो बिरामीलाई विपक्षीले होइन, आफ्नैले आईसीयूमा पुर्याएका हुन्। अब बचाउने कि भेन्टिलेटरको प्लग आफैं निकाल्ने भन्ने निर्णय पनि आफ्नै हातमा छ।'
र अस्पतालको ढोकामाथि टाँसिएको उखान फेरि एकपटक सबैले पढे-
'भाई फुटे, गँवार लुटे।'
तर कसैले तल पेन्सिलले नयाँ वाक्य थपिदिएको थियो- 'जब लोकतन्त्रको सबैभन्दा पुरानो रूखले आफ्नै हाँगाहरू काट्न थाल्छ, छायाँ खोज्नेहरू घाममा उभिन बाध्य हुन्छन्।' - डाक्टर साहेब
(तस्बिर - सामाजिक सञ्जालबाट)
प्रतिक्रिया