काठमाडौं। नेपाली कांग्रेसभित्र अहिले देखिएको असन्तुष्टि केवल पदको विवाद होइन, यो नेतृत्व हस्तान्तरण स्वीकार गर्ने वा नगर्ने मनस्थितिको परीक्षा पनि हो।
वीपी कोइरालाका पुत्र शशांक कोइराला, भतिजा शेखर कोइराला, गणेशमान सिंह र महेन्द्रनारायण निधिका राजनीतिक उत्तराधिकारीहरू, साथै पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्का एउटै धारमा देखिनु संयोग मात्र हो कि कुनै साझा राजनीतिक रणनीतिको संकेतरु यही प्रश्नले कांग्रेसभित्रको बहसलाई अझ गहिरो बनाइरहेको छ।
यदि विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई नै सहज रूपमा स्वीकार गर्न कठिन भइरहेको हो भने यसको कारण के हो? असहमति विचारसँग हो, प्रक्रियासँग हो, कि नेतृत्वसँग?
नेपाली कांग्रेसभित्र अहिले देखिएको हलचललाई सामान्य गुटगत असन्तुष्टि भनेर पन्छाउन सकिँदैन। यो वास्तवमा एउटा पुस्ताले अर्को पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने कि नगर्ने भन्ने निर्णायक मोड हो।
विशेष महाधिवेशनबाट नयाँ नेतृत्व निर्वाचित भएको मान्ने हो भने त्यसलाई सहज रूपमा स्वीकार गर्न किन यति धेरै सकस भइरहेको छरु असन्तुष्टिहरू किन फेरि एउटै घेरामा जम्मा भइरहेका छन्रु वीपी कोइरालाको परिवार, गणेशमान सिंहको राजनीतिक विरासत, महेन्द्रनारायण निधिको उत्तराधिकार र पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्का—यी सबै नामहरू एउटै राजनीतिक रेखामा देखिनु केवल संयोग हो भन्न गाह्रो हुँदै गएको छ।
अझ रोचक प्रश्न त यो हो- उनीहरू कसको विरोध गरिरहेका छन्
कुनै विचारको?
कुनै नीतिको?
वा केवल एउटा नयाँ नेतृत्वको?
यदि गगन थापा नेतृत्वका लागि अयोग्य छन् भने त्यसको राजनीतिक आधार के होरु यदि योग्य छन् भने उनलाई स्वीकार गर्न किन अप्ठ्यारो परेको छरु लोकतान्त्रिक पार्टीभित्र नेतृत्वको निर्णय सडकमा होइन, महाधिवेशनको मतपेटिकाले गर्छ। त्यसैले नयाँ नेतृत्वलाई रोक्न संगठनभित्र समानान्तर शक्ति केन्द्र बनाउने अभ्यास लोकतान्त्रिक संस्कृतिसँग मेल खान्छ भन्न कठिन छ।
यहीँबाट अर्को प्रश्न जन्मिन्छ। कतै यो सम्पूर्ण कसरत अन्ततः पुरानै शक्ति समीकरणलाई पुनर्जीवित गर्ने प्रयास त होइनरु पूर्व सभापति शेरबहादुर देउवा प्रत्यक्ष राजनीतिमा सक्रिय रहून् वा न रहून्, उनको प्रभाव कायम राख्ने चाहनाले केही नेताहरूलाई एउटै मोर्चामा उभ्याइरहेको त छैनरु यसको पुष्टि गर्ने सार्वजनिक प्रमाण छैन, तर राजनीतिक घटनाक्रमले यस्तो प्रश्न उठ्ने ठाउँ भने अवश्य दिएको छ।
यदि सबैको लक्ष्य पन्ध्रौँ महाधिवेशन हो भने त्यसको मैदान अहिले नै किन छाड्ने? प्रतिनिधिहरूको मतबाट नेतृत्व जित्न सकिने विश्वास छ भने संगठनभित्र अविश्वासको खेती किन?
राजनीतिमा सबैभन्दा ठूलो विडम्बना के हुन्छ भने परिवर्तनको नारा दिनेहरू नै परिवर्तनको ढोका बन्द गर्न थाल्छन्। कांग्रेसभित्र अहिले देखिएको दृश्य पनि कतै त्यही त होइन?
पार्टी फुट्दा कसको लाभ हुन्छ? सायद प्रतिपक्षको।
पार्टी कमजोर हुँदा कसको शक्ति बढ्छ? सायद प्रतिस्पर्धीको।
तर पार्टीभित्र नेतृत्वको उदय रोकिँदा कसको जित हुन्छ?
न पार्टीको।
न कार्यकर्ताको।
न लोकतन्त्रको।
जित केवल समयको हुन्छ, जसले पुराना अनुहारलाई केही समय थपिदिन्छस तर भविष्य भने चोर्छ।
कांग्रेसले आज एउटा गम्भीर प्रश्नको उत्तर दिनैपर्छ- उनीहरू नयाँ पुस्तालाई नेतृत्व दिने साहस जुटाइरहेका छन् कि नेतृत्व सधैँ केही सीमित अनुहारकै वरिपरि घुमिरहोस् भन्ने अदृश्य राजनीति खेलिरहेका हुन्, यदि दोस्रो कुरा सत्य हो भने कांग्रेसको संकट गुटको होइन, मानसिकताको हो।
शेखर कोइराला, शशांक कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र पूर्ण बहादुर खड्काले यो पक्षमा विचार गर्नु उपयुक्त देखिन्छ। अन्यथा नयाँ पुस्ताबाट उनीहरुका कार्यहरु अनुमोदन हुन कठिन छ। र इतिहासले सिकाएको एउटा कठोर सत्य छ, जुन पार्टी आफ्नै नयाँ नेतृत्वसँग डराउन थाल्छ, त्यो पार्टीलाई विपक्षीले होइन, आफ्नै डरले पराजित गर्छ। (फायल तस्बिर)
प्रतिक्रिया