संसद समाचार: प्रतिनिधिसभा

संसदमा बाँदर–बँदेलदेखि बालिका हत्यासम्म : जनताका दुःखको लामै सूची

काठमाडौं। प्रतिनिधिसभाको बैठकमा बुधबार देशको एउटा अनौठो चित्र देखियो- कसैको चिन्ता बाँदरले खाएको मकै थियो, कसैको चिन्ता गाउँ पसेको बँदेल। कसैले बाढीले घर बगाएको कथा सुनाए, कसैले बालिकाको हत्या र बलात्कारको कुरा उठाए। कसैले सडकको सुरक्षाको प्रश्न गरे त कसैले सामाजिक सञ्जालमा भइरहेको चरित्रहत्याको। सांसदहरुका आआफ्ना प्रश्न थिए।

अर्थात्, संसदको आकस्मिक समयमा देशका ‘ठूला’ राजनीतिक बहस होइन, जनताले दैनिक जीवनमा भोगिरहेका साना–ठूला दुःखहरू एकपछि अर्को गर्दै आए।

सांसद यज्ञबहादुर बोगटीले अछामको मङ्गलसेनमा जङ्गली बँदेल गाउँ पसेर पाँच जनालाई घाइते बनाएको विषय उठाए। उनको प्रश्न केवल पाँच जना घाइते भएकोमा थिएन। किसानलाई लामो समयदेखि सताइरहेको बाँदर र बँदेलको आतंकबारे पटक–पटक कुरा गर्दा पनि समाधान नभएको गुनासो पनि थियो।

किसानका लागि यो ‘बँदेलको समस्या’ मात्र होइन। खेतमा लगाएको बाली घर भित्र्याउन नपाउँदै बाँदरले खाइदिने, बँदेलले नष्ट गरिदिने अवस्था आएपछि खेतीबाटै पलायन हुने परिस्थिति बन्न थालेको छ। संसदमा उठेको यो विषयले गाउँको एउटा गम्भीर प्रश्नलाई फेरि सम्झाएको छ- किसानले खेत जोगाउने कि गाउँ छोड्ने?

उता कैलालीमा सामुदायिक वनमा ४२ वर्षीय पदम विश्वकर्माको गोली हानी हत्या भएको विषय सांसद केपी खनालले उठाए। उनले घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरे।

बाराको जितपुरमा तीन वर्षीया बालिका मृत अवस्थामा भेटिएको घटनाले पनि संसदको ध्यान तान्यो। सांसद अरविन्द साहले घटनाको अनुसन्धान गरी दोषीलाई तत्काल कारबाही गर्न माग गरे। उनले सुरक्षा बढाउन सीसीटीभी क्यामेरा जडान र सडक तथा बिजुलीका पोलमा पर्याप्त बत्तीको व्यवस्था गर्नुपर्ने विषय पनि उठाए।

सांसद रहबर अन्सारीले भने बालिकाको खोजीमा प्रहरीबाट ढिलाइ भएको प्रश्न उठाए। यस्ता घटनामा सूचना पाउनेबित्तिकै राज्यको संयन्त्र सक्रिय हुनुपर्ने उनको भनाइ थियो।

त्यसपछि संसदको बहस फेरि बाढीपहिरोतिर मोडियो।

अविरल वर्षाले जाजरकोटमा ठूलो क्षति पुर्‍याएको भन्दै सांसद पार्वती विकले ८९३ जनालाई होल्डिङ सेन्टरमा राखिएको जानकारी गराइन्। त्यहाँ बालबालिका, घाइते, सुत्केरी र गर्भवती महिलाको अवस्था झन् संवेदनशील रहेको भन्दै उनले गाँस, बास र कपासको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराइन्।

रुकुम पश्चिममा बाढीपहिरोले विद्यालय र बस्तीमा क्षति पुर्‍याएको विषय पनि संसदमा आयो। सांसद गोपाल शर्माले प्रभावित नागरिकका लागि सुरक्षित बासको व्यवस्था गर्न माग गरे।

हेटौँडामा विद्यालयबाट घर फर्किरहेका चार बालिकालाई खोलाले बगाएको अर्को पीडादायी घटना पनि संसदमा उठ्यो। दुई बालिकाको मृत्यु, एक जना घाइते र अर्कीको अवस्था अज्ञात रहेको जानकारी दिँदै सांसद प्रशान्त उप्रेतीले तत्काल पुल निर्माण गर्न सरकारसँग माग गरे।

यी सबै विषय सुन्दा एउटा प्रश्न स्वाभाविक रूपमा उठ्छ- के संसदमा उठेका यी आवाजहरू साँच्चै सम्बन्धित ठाउँसम्म पुग्छन्?

किनकि संसदमा आवाज उठ्नु आफैंमा समाधान होइन। किसानको खेतमा बाँदर नआउनु, गाउँमा बँदेल नपस्नु, बाढीपीडितले सुरक्षित छानो पाउनु, बालिका सुरक्षित भएर विद्यालयबाट घर फर्किनु र अपराधी कानुनको कठघरामा पुग्नु नै वास्तविक परिणाम हो।

संसदमा सामाजिक सञ्जाल पनि छुटेन। सांसद वासुमाया तामाङले सामाजिक सञ्जालमार्फत मानिसको चरित्रहत्या गर्ने प्रवृत्ति बढेको भन्दै सरकारको ध्यानाकर्षण गराइन्।

यसरी हेर्दा मंगलबारको प्रतिनिधिसभा बैठक कुनै एउटा विषयमा सीमित थिएन। देशको गाउँदेखि सहरसम्मका समस्या बोकेर सांसदहरू संसद पुगेका थिए।

बाँदरले किसानलाई सताएकोदेखि बँदेलले मानिस घाइते बनाएकोसम्म, खोलाले बालिका बगाएकोदेखि अपराधीको खोजीमा प्रहरी ढिलो भएकोसम्म- संसदमा उठेका यी आवाजहरू वास्तवमा जनताको दैनिक जीवनका आवाज हुन्।

अब प्रश्न यत्ति हो- संसदको रेकर्डमा मात्रै रहने कि सरकारको काममा पनि देखिने? (फायल तस्बिर)

प्रतिक्रिया