जनमत

देउवाका मुहारमा छचल्किएको अनौठो उत्तेजना

पाँच महिनापछि काठमाडौं फर्किएका देउवाको उत्तेजना : पुनरागमनको संकेत कि कांग्रेस विभाजनको नयाँ खेल?

पाँच महिना सिंगापुर र हङकङमा उपचारका लागि बसेर नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा २८ साउन, बिहीबार काठमाडौं फर्किए। उनको स्वदेश फिर्ती आफैंमा अस्वाभाविक होइन। तर, उनी फर्किएको समय, कांग्रेसभित्र चर्किएको नेतृत्व संघर्ष, पार्टी विभाजनको जोखिम र देउवाको पछिल्लो राजनीतिक अभिव्यक्तिलाई एउटै ठाउँमा राखेर हेर्दा यो सामान्य घर फिर्ती मात्रै हो के भन्ने प्रश्न भने उठेको छ।

अझ महत्वपूर्ण कुरा, काठमाडौं फर्किएलगत्तै देउवामा देखिएको अनौठो उत्तेजना र आक्रामक राजनीतिक भाषाले उनी राजनीतिबाट साँच्चै विश्राम लिने अवस्थामा पुगेका छैनन् भन्ने संकेत दिएको छ।

त्यसैले अहिलेको मूल प्रश्न हो, देउवा फेरि राष्ट्रिय राजनीतिमा फर्कन खोजिरहेका हुन् कि उनलाई फर्किनुपर्ने परिस्थिति बनाइएको हो?

‘म फर्किएँ’ मात्र होइन, ‘म अझै मैदानमा छु’ भन्ने सन्देश

देउवाले स्वदेश फर्कनुअघि नै प्रतिशोध र निषेधको राजनीति अन्त्य गरी राष्ट्रिय संवाद र सहकार्य आवश्यक रहेको बताएका थिए। सरकार प्रतिशोधात्मक र अलोकतान्त्रिक बन्न सक्ने चेतावनीसमेत उनले दिएका थिए।

यो अभिव्यक्तिलाई दुई कोणबाट बुझ्न सकिन्छ।

पहिलो, अनुसन्धान र कानुनी प्रक्रियाको सामना गर्न नेपाल फर्कनुपरेको अवस्थामा आफ्नो राजनीतिक रक्षाका लागि वातावरण बनाउन खोजिएको हुन सक्छ। दोस्रो, लामो समय विदेशमा रहेर पनि आफू राजनीतिक रूपमा असान्दर्भिक नभएको सन्देश कांग्रेसभित्र र राष्ट्रिय राजनीतिमा दिन खोजिएको हुन सक्छ। दोस्रो सम्भावना अहिलेको कांग्रेस राजनीतिमा बढी अर्थपूर्ण देखिन्छ।

किनभने देउवा विदेशमा हुँदा कांग्रेसभित्र नेतृत्व परिवर्तनको आवाज झन् चर्कियो। गगन थापा र विश्वप्रकाश शर्मालगायतको नयाँ पुस्ताले पार्टीको नेतृत्व र संरचनामै परिवर्तनको माग अघि सारे। देउवा पक्ष र इतर पक्षबीचको दूरी पनि बढ्दै गयो।

अर्थात्, देउवा नेपालबाट टाढा थिए, तर कांग्रेसको शक्ति संघर्षबाट टाढा थिएनन्।

विडम्बना : सक्रिय राजनीति छाडेको घोषणा, फेरि सक्रियताको बाटो

गत वर्ष जेनजी आन्दोलनपछि देउवाले पार्टीको कार्यकारी जिम्मेवारीबाट पछि हट्दै पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका थिए। त्यसबेला धेरैले यसलाई देउवाको राजनीतिक अवकाशको सुरुवात मानेका थिए।

तर उपचारपछि फर्किएका देउवा पुनः पार्टीको निर्णय प्रक्रियामा प्रभाव पार्न थाले। उनको राजनीतिक सक्रियताले त्यतिबेलै कांग्रेसभित्र प्रश्न उठाएको थियो। अब पाँच महिनापछि फेरि नेपाल फर्किएका छन्। यसपटक भने परिस्थिति पहिलेभन्दा निकै फरक छ।

कांग्रेसको एउटा पक्ष देउवाको राजनीतिक युग समाप्त भएको घोषणा गर्न चाहन्छ भने अर्को पक्ष अझै पनि देउवाको अनुभव, संगठनात्मक पकड र राजनीतिक सम्पर्कलाई आफ्नो शक्ति ठानिरहेको छ। सायद यही उदेश्यले हुनुपर्छ देउवालाई बहालवाला सभापति झैं आसन गराईएको छ चुनदेबी सम्पर्क कार्यालयमा। कांग्रेसको चुनदेबी समूह देउवालाई बीपीनगरमा पुनस्थापित गर्न चाहन्छ भन्ने संकेत यसले दिएको छ।

यही ठाउँमा देउवाको पुनरागमनको वास्तविक अर्थ लुकेको छ।

देउवा फेरि कांग्रेस सभापति बन्न सक्छन्

सिधा उत्तर छ, सम्भावना पूर्ण रूपमा असम्भव छैन, तर सजिलो पनि छैन।

देउवाको राजनीतिक इतिहासले एउटा कुरा सिकाएको छ, उनी संकटबाट बाहिर निस्कन र असम्भवजस्तो देखिएको राजनीतिक समीकरण बनाउन माहिर छन्।

२०५९ मा कांग्रेस विभाजन गरेर नेपाली कांग्रेस प्रजातान्त्रिक बनाएका देउवा पछि त्यही पार्टीलाई मूल कांग्रेसमा विलय गराएर फेरि राष्ट्रिय राजनीतिमा फर्किएका थिए। त्यस विभाजनको राजनीतिक परिणाम भने निकै ठूलो भयो र तत्कालीन राजा ज्ञानेन्द्रलाई सत्ता हातमा लिने अवसरसमेत प्राप्त भयो।

त्यसैले अहिले कांग्रेस विभाजनको सम्भावना देखिएका बेला देउवाको पुनरागमनलाई इतिहासको त्यही अध्यायसँग तुलना गर्न थालिनु अस्वाभाविक होइन। तर यसपटक फरक कुरा के छ भने, २०५९ मा देउवा विभाजन गर्ने पक्षमा थिए। अहिले उनी आफैं विभाजनको जोखिममा रहेको कांग्रेसका वरिष्ठ नेता हुन्।

‘राजा ज्ञानेन्द्रले त सकेनन्, यिनले सक्छन्’ - देउवा किन जंगिए?
 
देउवाको राजनीतिक जीवनमा राजा ज्ञानेन्द्रसँगको सम्बन्ध निकै विरोधाभासपूर्ण रह्यो। ज्ञानेन्द्रले उनलाई प्रधानमन्त्रीबाट हटाए, फेरि प्रधानमन्त्री बनाए र अन्ततः माघ १९ को प्रत्यक्ष शासनमा उनलाई पनि हटाए।

त्यसपछि देउवा स्वयं गणतान्त्रिक राजनीतिको महत्वपूर्ण पात्र बने।

त्यसैले आज कसैले लोकतान्त्रिक संरचनाभित्रैबाट पुराना दल, पुराना नेता वा संविधानमाथि चुनौती खडा गर्न खोजेको देखेमा देउवा त्यसप्रति उत्तेजित हुनु राजनीतिक रूपमा बुझ्न सकिने कुरा हो।

तर यहाँ अर्को प्रश्न पनि उठ्छ, यदि राजा ज्ञानेन्द्रजस्तो शक्तिशाली राजाले पनि जनआन्दोलनको राजनीतिक शक्ति रोक्न सकेनन् भने आजको कुनै नयाँ शक्ति वा सरकारलाई पुरानो राजनीतिक संरचना भत्काएर स्थायी रूपमा नयाँ व्यवस्था स्थापित गर्न कति सहज होला?

देउवाको आक्रोशको गहिराइ सम्भवतः यही प्रश्नसँग जोडिएको छ। तर यसलाई अर्को कोणबाट पनि हेर्नुपर्छ। के देउवा लोकतन्त्रको रक्षाका लागि जंगिएका हुन्, कि आफ्नो राजनीतिक अस्तित्वको रक्षाका लागि?

यही प्रश्नको उत्तरले उनको पछिल्लो राजनीतिक भूमिकाको वास्तविक दिशा निर्धारण गर्नेछ।

गुप्त योजना छ?

देउवालाई कुनै ‘गुप्त योजना’ अनुसार नेपाल फर्काइएको दाबी गर्न अहिले सार्वजनिक प्रमाण छैन। तर राजनीतिमा गुप्त योजना नभए पनि गुप्त स्वार्थ हुन सक्छ। कांग्रेस कमजोर हुँदा त्यसबाट फाइदा कसलाई हुन्छ? कांग्रेस विभाजित हुँदा राष्ट्रिय राजनीतिमा नयाँ शक्ति र नयाँ समीकरणका लागि ठाउँ कसरी खुल्छ? देउवा र नयाँ कांग्रेस नेतृत्वबीच संघर्ष बढ्दा त्यसको लाभ कसले उठाउँछ?

यी प्रश्न भने उठाउन सकिन्छ।

अझ महत्वपूर्ण कुरा के भने देउवा र उनको परिवारविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान चलिरहेको पृष्ठभूमिमा उनी लामो समय विदेशमा थिए। उनीहरूले आफू अनुसन्धानबाट भागेको नभई उपचारका लागि विदेशमा रहेको र नेपाल फर्किएर अनुसन्धानमा सहयोग गर्ने वाचा गरेका थिए।

त्यसैले उनको स्वदेश फिर्तीलाई राजनीतिक पुनरागमन र कानुनी प्रक्रियाको सामना दुवै कोणबाट हेर्नुपर्ने अवस्था छ।

देउवाको वास्तविक शक्ति कहाँ छ?

देउवाको सबैभन्दा ठूलो शक्ति अहिले प्रधानमन्त्री बन्ने सम्भावना मात्र होइन। उनको शक्ति हो, कांग्रेसभित्रको पुरानो संगठनात्मक सम्बन्ध, लामो राजनीतिक अनुभव, गुट व्यवस्थापनको क्षमता र राष्ट्रिय राजनीतिमा विभिन्न शक्तिसँग संवाद गर्ने पुरानो अभ्यास। यही कारणले उनलाई कांग्रेसबाट पूर्ण रूपमा बाहिर धकेल्नु तत्काल सजिलो छैन।

तर अर्को सत्य पनि उत्तिकै महत्वपूर्ण छ। कांग्रेसको नयाँ पुस्ताले अब देउवाको छायामा बस्न अस्वीकार गरिसकेको छ। त्यसैले देउवाले पुनः पार्टीको प्रत्यक्ष नेतृत्व लिन खोजे भने यो केवल देउवा र गगनबीचको प्रतिस्पर्धा हुने छैन। यो पुरानो कांग्रेस र नयाँ कांग्रेसबीचको निर्णायक संघर्ष बन्नेछ।

कांग्रेस विभाजनको सँघारमा किन देउवाको आगमन महत्वपूर्ण छ? कांग्रेस अहिले केवल नेतृत्व परिवर्तनको बहसमा छैन। यो प्रश्न अब पार्टीको अस्तित्व र भविष्यसँग जोडिँदै गएको छ।

एकातिर देउवा पक्ष आफ्नो राजनीतिक प्रभाव जोगाउन चाहन्छ। अर्कोतिर नयाँ पुस्ता पुरानो नेतृत्वबाट कांग्रेसलाई मुक्त गर्न चाहन्छ। बीचमा रहेका नेताहरू भने कुन पक्षमा उभिने भन्ने हिसाबकिताबमा छन्। यस्तो अवस्थामा देउवा नेपाल फर्कनु भनेको एउटा नयाँ शक्ति केन्द्रको पुनः सक्रिय हुनु हो।

देउवा आफैंले कांग्रेस फुटाउने निर्णय नगरे पनि उनको पक्ष र विपक्षबीचको टकरावले कांग्रेसलाई विभाजनतर्फ धकेल्न सक्छ। यही कारणले उनको अहिलेको हरेक अभिव्यक्ति सामान्य राजनीतिक वक्तव्यभन्दा बढी अर्थपूर्ण बन्न पुगेको छ।

देउवा फेरि राष्ट्रिय राजनीतिमा स्थापित हुन सक्छन्? सक्छन्, तर पुरानै शैलीमा होइन।

देउवा फेरि प्रधानमन्त्री बन्ने वा कांग्रेसको सर्वशक्तिमान नेता बन्ने सम्भावना अहिले कमजोर देखिन्छ। तर राष्ट्रिय राजनीतिमा प्रभावशाली ‘किङमेकर’ वा निर्णायक शक्ति बन्ने सम्भावना अझै समाप्त भएको छैन।

उनको राजनीतिक जीवनको सबैभन्दा ठूलो विशेषता यही हो,  उनी हारेर पनि राजनीतिको मैदानबाट तुरुन्तै बाहिरिँदैनन्। तर यसपटक उनको अगाडि विगतभन्दा कठिन चुनौती छ।

उमेर, स्वास्थ्य, राजनीतिक छवि, कानुनी अनुसन्धान र कांग्रेसभित्रको नयाँ पुस्ताको दबाब, यी सबै कुरा एकैपटक उनका अगाडि छन्।

त्यसैले अब देउवाको राजनीति ‘फेरि सभापति बन्ने’ भन्दा ‘आफ्नो प्रभाव कसरी जोगाउने’ भन्ने प्रश्नतर्फ मोडिन सक्छ। देउवा फर्किए, कांग्रेस कहाँ पुग्छ? देउवा काठमाडौं फर्किए। अब कांग्रेसले निर्णय गर्नुपर्नेछ, उनलाई इतिहासको सम्मानसहित विदा गर्ने कि फेरि शक्तिको केन्द्रमा फर्काउने?

यदि नयाँ पुस्ताले उनलाई पूर्ण रूपमा किनारामा धकेल्न खोज्यो भने देउवाले आफ्नो राजनीतिक अनुभव र गुटगत शक्ति प्रयोग गरेर प्रतिरोध गर्न सक्छन्। यदि देउवा पक्षले नयाँ पुस्तालाई स्वीकार गर्न सकेन भने कांग्रेस विभाजनको खतरा झन् बढ्न सक्छ। तर यदि दुवै पक्षले सम्झौताको बाटो रोजे भने देउवा ‘कार्यकारी नेता’ होइन, ‘वरिष्ठ मध्यस्थ’ को भूमिकामा पुनः स्थापित हुन सक्छन्।

यही नै अहिलेको सबैभन्दा सम्भावित पुनरागमन हो। देउवा फेरि प्रधानमन्त्री बन्ने सम्भावना भन्दा कांग्रेसको शक्ति समीकरण बदल्ने सम्भावना बढी छ। र त्यसैले साउन २८ गते काठमाडौं फर्किएका देउवा विमानस्थलबाट घर फर्किएको मात्र घटना होइन।

यो प्रश्न बोकेर आएको राजनीतिक फिर्ती हो, ‘देउवा सकिए कि फेरि उठ्दैछन्’? यसको उत्तर आगामी केही हप्तामा कांग्रेसले दिनेछ। तर एउटा कुरा चाहिँ स्पष्ट छ, पाँच महिना मौन बसेर फर्किएका देउवा अब मौन बस्ने मनस्थितिमा देखिँदैनन्।

र, कांग्रेसभित्र विभाजनको बारुद थुप्रिएको बेला देउवाका हातमा  राजनीतिक सलाई देखिएको छ!

प्रतिक्रिया