विचार

रबि र बालेनलाई मेरो सुझाव

-टंक बहादुर श्रेष्ठ

बहुदलिय व्यवस्थामा राजनीतिक दलहरुलाई जनताले दिने भनेको अमूल्य मत हो । २०४६ को परिवर्तनपछि भएको संसदीय निर्वाचनमा नेपाली काङ्ग्रेसलाई जनताले बहुमत दिए । सभापति तथा प्रधानमन्त्री गिरिजा प्रसाद कोइराला, नेता शेर बहादुर देउवाको कुर्सिमोह र सत्ताको लडाईंले काङ्ग्रेस आफैं विभाजनसम्म भयो र त्यसले राष्ट्रिय राजनीतिमा दीर्घकालिन समस्या उत्पन्न गर्यो । त्यसपछि नेताहरुको ध्यान जनता र देशको सेवा होइन कसरी धन आर्जन गर्न सकिन्छ भन्नेतर्फ केन्द्रित भयो ।

काङग्रेस पछि एमालेलाई पनि जनताले पत्याएकै हुन् र विश्वास गरेर ठूलो हैसियत पनि दिएकै हुन् । तर एमालेमा पनि कांग्रेसकै रोग सल्कियो र एमालेका नेताहरु पनि कम्युनिस्टको आवरणमा कुम्ल्याउने अभियानमै केन्द्रित भए । यो मेरो उनीहरुमाथि कुनै पूर्वाग्रही आक्षेप होइन, इतिहासले नै यो कुरा पुष्टि गरिसकेको छ । कतिपय गम्भीर प्रकृतिका अनुसन्धान त हुन बाँकी नै छ । एमाले अध्यक्ष खड्ग प्रसाद शर्मा ओली र एमालेकै पूर्व अध्यक्ष रहेका माधव कुमार नेपालबीचको अर्थनवर्थको द्वन्दले एमाले कुन हैसियतमा झरेको छ भन्ने कुरा हालैको संसदीय निर्वाचन परिणामले नै देखाईसकेको छ । एमाले कमाउनिस्ट नभएर सेवक भएको भए यस्तो हविगत अवश्य पनि हुने थिएन ।

अर्को कम्युनिष्ट पार्टी माओवादीले दश वर्ष चलाएको हिंसात्मक कथित जनयुध्दको उदेश्य के थियो र परिणाम के आयो भन्ने कुराको पनि धेरै व्याख्या विश्लेषण आवश्यक छ जस्तो मलाई लाग्दैन । माओवादी कमाण्डर प्रचण्ड पटक पटक प्रधानमन्त्री बनेकै हुन् । उनले विगतमा जनतालाई दिएका आश्वासन र परिणाम के हो भनेर दुनियाँले रामैसँग जान्न पाएको छ ।

२०५२ साल देखि माओवादी सर्वहारा भन्दै जनयुद्ध गर्दै ०६४ मा जनताले ठूलो दल बनाए पनि माओवादी खाओवादी, धनयुद्ध, सर्वमारामा परिणत भै ठगवन्धन गरि जंगलमा कन्दमूल खाईरहेकोमा लाखौंको ह्वीस्की चुस्की लगाउँदै खरबौं धन जोड्न लागेको यथार्थलाई कसले ढाकछोप गर्न सक्ला र ।

त्यसैले यी काङ्ग्रेस, एमाले र माओवादीले २०४६ देखि यताका ३६ वर्ष देशलाई लुटेर कुशासनमा परिणत गरि अरबौं भ्रष्ट्राचार गरि धन आर्जन गरे भन्दा के मिथ्या आरोप हुन्छ कि यथार्थको वर्णन हुन्छ । आजको नेपाली जनतालाई नक्कली भाषण र फोस्रो आश्वासनले छलछाम गर्न सकिन्छ भन्ने यी नेताहरुलाई अझै पनि लाग्दैछ भने त्यो केवल भ्रममात्र हो । 

सुशासन, कानूनी राज्य, भ्रष्ट्राचारमुक्त नेपाल बनाउनको लागि जेनजी विद्रोह भयो । नवयुवाको प्रदर्शनमा युवाहरूले गोली खाँदै देशलाई परिवर्तन गरि छाडे ।

परिवर्तन भयो जनताले ती पुराना पार्टीलाई नसिहत दिएर उनीहरुको हैसियत देखाईदिए । त्यसको बदलामा राष्ट्रिय स्वतन्त्र पार्टीलाई जनताले बहुमत दिए । यत्रो ऐतिहासिक जनमत पाएको रास्वपाले के कुरा हेक्का राख्नुपर्दछ भने राजकाज र सेवा प्रवाहमा जनताले सरल तरिकाले सेवा पाए कि पाएनन् भन्ने कुरामा सदैव दृष्टि पुग्नुपर्दछ । अन्यथा नयाँ  र पुरानामा फरक छुट्याउन नसकिने अवस्था आयो यदि भने त्यसको मार कसलाई पर्छ भन्ने कुरा सत्तारुढ दलको शीर्ष नेतृत्व र कार्यकारी प्रमुख प्रधानमन्त्रीले क्षणभर पनि भुल्न हुँदैन ।

यो पृष्ठभूमिको सानो चित्र प्रस्तुत गरेपछि म सत्तारुढ दललाई सकारात्मक सोचकासाथ केही सुझाव दिन चाहन्छु ।

के गर्ने के नगर्ने ?

१- काङ्ग्रेस, एमाले र माओवादी जस्तो बहुमतको घमण्ड जनतासँग नगर्नु,

२- रास्वपा सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाहजी तपाईंहरू कुर्सिका लागि कहिल्यै पनि लडाईं नगर्नु होला,

३- समृद्ध नेपाल, सुखि नेपाली बनाउनको लागि देशभित्र कलकारखाना खोली युवाहरुका लागि रोजगारी सिर्जना गर्ने बाटोमा लाग्नु होला,

४- सानालाई ऐन ठूलालाई चैन हुने अवस्था सिर्जना नगर्नु होला,

५- नेपालकै श्रोत साधन उपयोगमा जोड दिनु होला,

६- नेपाली उद्यमी व्यवसायी देशभित्रै लगानी गर्न तयार छन्, लगानीको सुरक्षाको ग्यारेण्टी दिने कानून बनाउनु होला,

७- विदेशमा बसेका नेपाली र विदेशीहरुलाई नेपालमा लगानी गर्न विदेशी मुद्रा जति ल्याउन चाहे पनि ल्याउन दिनको लागि नीति नियम संशोधन गर्नु होला, र लगानीको सुरक्षाको प्रत्याभूति दिनुहोला,

८- रोजगारीका लागि विदेश जाने युवालाई स्वदेशमै अवसर दिने विश्वास दिलाउँदै उनीहरुलाई विदेश जान रोक लगाउनु होला ।

यी मलाई तत्काल ध्यान पुग्नुपर्ने र कार्यान्वयन सुरु गर्नुपर्ने जस्ता लागेको बिषयहरु बारे ध्यानाकर्षण गराएँ । देश र जनताको कल्याण निम्ति उपयुक्त लागेका यी मेरा सुझावहरु हुन् । स्वास्थ्य, शिक्षा र समाजको सेवामा लामो समयदेखि क्रियाशील एक सचेत नागरिकको हैसियतमा हाल ऐतिहासिक जनमत पाएको रास्वपा र यसको नेतृत्वमा बनेको सरकार सफल होस् भन्ने निस्वार्थ कामना हो मेरो । 

विगतमा सत्ताको लुछाचुँडीमा नेताहरु अल्झिँदा देशले के के दुर्गति र अपुरणीय क्षति व्यहोर्नुपर्यो भन्ने कुरा यहाँ म दोहोर्याउन आवश्यक ठान्दिन । किनभने नेपाली जनता र विश्व जनमतले नै त्यो इतिहास प्रत्यक्ष देखेको छ । तपाईंहरुले त्यो बिर्सन लायक इतिहासबाट पाठ सिक्नुपर्छ ।

अहिलेलाई यति नै । सफलताको शुभकामना ।

(लेखक श्रेष्ठ , ओम हेल्थ क्याम्पसका अध्यक्ष तथा ओम हस्पिटल एण्ड रिसर्च सेन्टरका सञ्चालक हुनुहुन्छ ।)

प्रतिक्रिया