जनमत

स्वदेश फर्किएपछि देउवा समक्ष उभिने यी तीन प्रश्न

अब चार दिनपछि यही साउन २६ गते नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा स्वदेश फर्कँदै छन्। स्वास्थ्योपचार लगायतका कारण सपत्नी हङकङ्ग प्रवासमा रहेका देउवा मंगलबार स्वदेश फर्किन लागेका हुन्।

यो केवल एक नेताको स्वदेश आगमन होइन, अहिले गहिरिँदै गएको कांग्रेसको आन्तरिक शक्ति–संघर्षको निर्णायक मोड पनि हुन सक्छ भनेर चर्चा पनि गरिएको छ।

कुनैबेला देउवाले नेतृत्व गरेको सिंगो नेपाली कांग्रेस पार्टी अहिले स्पष्ट रूपमा दुई ध्रुवमा विभाजित छ। एकातिर विशेष महाधिवेशनले निर्वाचित गरेको गगन थापा सभापति रहेको पक्ष छ भने अर्कोतिर देउवाले नै कार्यबाहकको जिम्मेवारी सुम्पिएका पूर्ण बहादुर खड्का समूह छ। जसलार्य असन्तुष्ट समूह भनिने गरिएको छ।

यी दुइ समूहहरू औपचारिक र अनौपचारिक सम्वादका बीच पनि  क्रमशः टाढिँदै गएको देखिन्छ। यस्तो अवस्थामा लामो समयसम्म पार्टीको नेतृत्व गरेका र सबै पक्षसँग व्यक्तिगत सम्बन्ध कायम राखेका देउवाको भूमिकाप्रति स्वाभाविक रूपमा सबैको ध्यान गएको छ।

यस सन्दर्भमा अहिले देउवासमक्ष मुख्य तीनवटा प्रश्न उभिएका छन्। प्रश्न एक, देउवाले विवाद मिलाउन अग्रसरता लिन्छन्? दोस्रो प्रश्न हो, के उनी आफ्नै निकट मानिने समूहको रक्षाकवच बनेर उभिन्छन्?  र, चौथो प्रश्न हो, के देउवा दुवै पक्षलाई संवादको टेबलमा ल्याउने समन्वयकारी भूमिका खेल्छन्?

यी तीन सम्भावनालाई राजनीतिक यथार्थको आधारमा हेर्न आवश्यक छ। पहिलो सम्भावना : पार्टी जोगाउने मध्यस्थको भूमिकामा देउवा!

देउवाको लामो संघर्षशील राजनीतिक जीवन सम्झँदा एउटा विशेषता प्रस्ट देखिन्छ- उनी धेरैजसो निर्णायक क्षणमा सम्झौतामार्फत निकास खोज्ने नेता हुन्। उनले पटक–पटक गुटहरूबीच सहमति गराएका छन्। कठिन अवस्थामा संवादको ढोका बन्द गर्नुभन्दा खुला राख्ने शैली उनको राजनीतिक पहिचान बनेको छ।

यदि स्वदेश फर्किएपछि उनले सबै पक्षसँग छुट्टाछुट्टै छलफल गर्दै साझा निष्कर्ष निकाल्ने प्रयास गरे भने त्यसले कांग्रेसलाई तत्काल राहत दिन सक्छ। यस्तो अवस्थामा उनले भन्न सक्ने सन्देश हुन सक्छ- 'व्यक्तिगत विवादभन्दा पार्टी ठूलो हो।' देउवाले यसो पनि भन्न सक्छन्- 'पुराना सबै तिक्तता विस्मृतिमा राखेर वीपी कोइरालाको राष्ट्रिय मेलमिलापको नीतिमा फर्कनुपर्छ र पार्टी एकढिक्का बनाएर देश र जनतालाई नेतृत्व दिन तयार हुनुपर्छ।'

यो पछिल्लो प्रस्तावले हाल विभाजित मनस्थितिमा रहेका दुवै समूहलाई धर्मसंकटमा पार्नसक्नेछ। यदि यस्तो भयो भने कांग्रेसको वर्तमान तनाव केही हदसम्म मत्थर हुन सक्छ। तर यस्तो भूमिका सफल हुन सबै पक्षले उनलाई निष्पक्ष मध्यस्थका रूपमा स्वीकार गर्नुपर्छ।

दोस्रो सम्भावना : आफ्नै समूहको संरक्षक

राजनीतिमा सम्बन्ध र निष्ठा पनि महत्त्वपूर्ण हुन्छ। देउवासँग लामो समयदेखि आबद्ध नेताहरू अहिले पनि पार्टीका महत्वपूर्ण पदमा छन्। उनीहरू अहिले आलोचनाको केन्द्रमा छन् भने स्वाभाविक रूपमा उनीहरू देउवाको साथ खोज्नेछन्।

यदि देउवाले उनीहरूलाई सार्वजनिक रूपमा संरक्षण दिन थाले भने पार्टीभित्र अर्को सन्देश जानेछ— पूर्वसभापति अब निष्पक्ष मध्यस्थ होइन, एउटा पक्षका राजनीतिक संरक्षक हुन्।

यसले तत्काल उनका समर्थकलाई उत्साहित बनाउन सक्छ। तर यसको अर्को असर पनि हुन्छ। अर्को पक्षले आफूलाई अझै उपेक्षित महसुस गर्न सक्छ र विवाद झन् गहिरिन सक्छ। त्यसपछि कांग्रेसभित्र संवादभन्दा ध्रुवीकरण बढ्ने सम्भावना रहन्छ।

तेस्रो सम्भावना : शक्ति सन्तुलन कायम गर्ने रणनीति

यो सम्भावना सबैभन्दा व्यावहारिक पनि देखिन्छ।

देउवाले प्रत्यक्ष रूपमा कुनै पक्षको समर्थन नगरी दुवै पक्षसँग सम्बन्ध कायम राख्ने प्रयास गर्न सक्छन्। यसले उनलाई भविष्यका सबै सम्भावित राजनीतिक समीकरणमा प्रभावशाली बनाइराख्छ। यस्तो अवस्थामा उनी सार्वजनिक रूपमा संयमित अभिव्यक्ति दिने, पर्दापछाडि निरन्तर संवाद गर्ने र अन्तिम समयमा सहमतिको सूत्र प्रस्ताव गर्ने शैलीमा देखिन सक्छन्। 

देउवाको विगत हेर्दा उनी प्रायः यही शैलीमा अघि बढ्ने गरेका छन्।

देउवाको सबैभन्दा ठूलो चुनौती

आजको कांग्रेस केही वर्षअघिको कांग्रेस होइन। पार्टीभित्र नयाँ पुस्ताको दबाब बढेको छ। १५औं महाधिवेशनको तयारी, नेतृत्व हस्तान्तरण, आगामी स्थानीय निर्वाचन र  संसदमा प्रभावकारी उपस्थिति समेत जोडिएका विषयले विवादलाई अझ जटिल बनाएका छन्। यस्तो अवस्थामा केवल व्यक्तिगत प्रभावले मात्र समस्या समाधान नहुन सक्छ। देउवाले यदि संवादको प्रक्रिया संस्थागत बनाउन सके भने मात्र दीर्घकालीन प्रभाव देखिन सक्छ।

किन देउवामाथि अझै अपेक्षा छ?

यद्यपि उनी अहिले पार्टी सभापति होइनन्, तर कांग्रेसभित्र उनको राजनीतिक हैसियत समाप्त भएको छैन। उनको अनुभव, विभिन्न धारका नेतासँगको सम्बन्ध र संकटका बेला सहमति खोज्ने क्षमताले अझै पनि उनलाई प्रभावशाली बनाइराखेको छ।

त्यसैले अहिले धेरै नेता उनको प्रतिक्रियाको प्रतीक्षामा छन्। उनको एउटा अभिव्यक्तिले पनि पार्टीभित्रको सन्देश बदल्न सक्छ। तर जोखिम पनि त्यत्तिकै ठूलो! यदि उनले कुनै स्पष्ट भूमिका लिएनन् भने विवाद अझ लम्बिन सक्छ।

यदि एउटा पक्षतिर मात्र खुलेर उभिए भने अर्को पक्षको अविश्वास बढ्न सक्छ। र यदि मध्यस्थता गर्न खोजेर पनि निष्कर्ष निकाल्न सकेनन् भने उनको राजनीतिक प्रभावमाथि पनि थप प्रश्न उठ्न सक्छ। अर्थात् यसपटक देउवाका लागि 'तटस्थ बस्ने' विकल्प पनि धेरै सुरक्षित देखिँदैन।

अब कांग्रेसको दिशा देउवाको निर्णयले निर्धारण गर्न सक्छ

साउन २६ पछि कांग्रेसभित्रको राजनीति नयाँ चरणमा प्रवेश गर्ने सम्भावना छ। देउवा कुन भूमिकामा देखिन्छन् भन्ने कुराले केवल अहिलेको विवादको दिशा मात्र तय गर्ने छैन, आगामी महाधिवेशन, नेतृत्व हस्तान्तरण र पार्टीको एकताको आधार पनि प्रभावित पार्नेछ।

यस अर्थमा उनको स्वदेश फिर्ती एउटा सामान्य राजनीतिक कार्यक्रम होइनस यो कांग्रेसभित्र शक्ति, विश्वास र नेतृत्वको पुनर्सन्तुलनको परीक्षा हो। अन्ततः देउवाको अगाडि एउटै ऐतिहासिक प्रश्न उभिएको छ- उनी एउटा गुटका संरक्षक बनेर इतिहासमा सम्झिइनेछन्, कि विभाजित कांग्रेसलाई फेरि एउटै ठाउँमा उभ्याउने मध्यस्थ नेताका रूपमा?

यही प्रश्नको उत्तरले आगामी दिनमा नेपाली कांग्रेसको राजनीतिक यात्राको दिशा तय गर्न सक्छ र पूर्व सभापति देउवाको राजनीतिक सान्दर्भिकता पनि। - फायल तस्बिर

प्रतिक्रिया