राजनीतिक सम्वाद

कांग्रेसको नीति: अनुहार मात्र फेर्ने कि आचरण पनि?

काठमाडौं। नेपाली कांग्रेसले भर्खरै केन्द्रीय नीति अनुसन्धान, तथा प्रशिक्षण प्रतिष्ठान विस्तार गरेको खबर प्रकाशमा आएको छ। केन्द्रीय कार्यसमितिको अधिनमा रहने यो प्रतिष्ठान विगतमा पनि थियो तर यसको क्रियाशीलता सतहमा त्यति प्रकट भएको पाईदैन थियो। अहिले विविध क्षेत्रका जानकार व्यक्तिहरुलाई समेत सहभागी गराएर यसलाई विस्तार गरिएको बुझिएको छ।

झट्ट सुन्दा गहिरो र दार्शनिक प्रश्न जस्तो देखिए पनि वास्तवमा, नेपाली राजनीतिमा अहिले देखिएको मुख्य संकट नै कार्यकर्ता र नागरिक बीचको खाडल हो। नेपाली कांग्रेस जस्तो लोकतान्त्रिक पार्टीका लागि यो बहस अस्तित्व रक्षाको विषय पनि हो।

अन्धभक्त कार्यकर्ता कि चेतनशील लोकतन्त्रवादी?

नेपाली कांग्रेसले आयोजना गरेका अहिलेसम्मका प्रशिक्षणहरूले पार्टीको झण्डा बोक्ने र नेताको बचाउ गर्ने कार्यकर्ता उत्पादनमा जोड दिएको देखिन्छ। तर, सुसंस्कृत र असल आचरण भएको व्यक्ति निर्माण गर्ने तर्फ ध्यान दिएको जस्तो देखिदैन।

आजको समाजमा त्यो व्यक्तिले पहिले देश, समाज र मानवीय मूल्य बुझ्छ। उसले विवेक प्रयोग गर्छ, नेताका गलत निर्णयलाई प्रश्न गर्छ। यस्तो व्यक्ति जब कांग्रेसको कार्यकर्ता बन्छ, उसले पार्टीलाई मात्र होइन, पूरै समाजलाई लोकतान्त्रीकरण गर्न मद्दत गर्छ। पार्टीका लागि मान्छे भन्दा पनि समाजका लागि असल मान्छे र त्यो मान्छेका लागि कांग्रेस भन्ने भाष्य निर्माण हुनु आवश्यक छ।

स्वेच्छा र आचरणको राजनीति

यदि कोही व्यक्ति असल लोकतन्त्रवादी बन्न प्रेरित हुन्छ र उसले कांग्रेसको विचारमा आफ्नो भविष्य देख्छ भने मात्र त्यो राजनीतिक संस्कार दिगो हुन्छ। जब कार्यकर्ताको आचरण असल हुन्छ, उसलाई समाजले पत्याउँछ। अहिले समाजमा राजनीति र नेताप्रति जुन वितृष्णा छ, त्यसको कारण आचरणको खडेरी नै हो।

बदलिएको कांग्रेसको भूमिका

अबको प्रशिक्षणमा बिपी कोइरालाको समाजवादलाई केवल नारामा होइन, व्यक्तिगत जीवनको सादगी र नैतिकतासँग जोडेर सिकाउनु पर्छ। एउटा कांग्रेस हुनु भनेको एउटा सुसंस्कृत छिमेकी, इमानदार व्यवसायी वा कर्तव्यनिष्ठ कर्मचारी हुनु पनि हो भन्ने कुरा स्थापित गर्नुपर्छ।

विज्ञहरूको टोली र नयाँ संस्कार

अहिले समावेश गरिएका विज्ञहरू, जस्तै: मोहना अन्सारी, मीन भाम, विनोद दास आदि यसकारण पनि महत्त्वपूर्ण छन्। उनीहरू राजनीतिक क्याडर मात्र होइनन्, उनीहरूले आफ्नो क्षेत्रमा आचरण र विज्ञताबाट परिचय बनाएका छन्।

यी व्यक्तिहरूले प्रशिक्षण दिँदा कार्यकर्तालाई पार्टीको दास बन्न होइन, समाजको नायक बन्न प्रेरित गर्न सक्छन्। यदि कांग्रेसले यो नयाँ टोलीलाई चरित्र निर्माणको जिम्मेवारी दियो भने, कांग्रेसले केवल चुनाव जित्ने मेसिन होइन, समाज बदल्ने एउटा सांस्कृतिक आन्दोलनको नेतृत्व गर्न सक्छ। नेपाली कांग्रेसले अब हामी कति संख्यामा छौँ भन्दा पनि हामी कस्ता छौँ भन्ने प्रश्नमा आफूलाई केन्द्रित गर्नुपर्छ।

जब पार्टीले एउटा असल, लोकतान्त्रिक र सुसंस्कृत व्यक्ति निर्माण गर्ने कारखानाका रूपमा आफूलाई प्रस्तुत गर्छ, तब मात्र नयाँ पुस्ता यसप्रति आकर्षित हुनेछ। स्वैच्छिक सहभागिता नै लोकतन्त्रको प्राण हो र त्यो केवल तब सम्भव छ जब कांग्रेस एउटा राजनीतिक दल मात्र नभएर नैतिकताको पाठशाला बन्न सक्छ।

यो रूपान्तरणको मार्ग कठिन छ, तर २१ औँ शताब्दीको बदलिएको नेपाली समाजमा कांग्रेस सान्दर्भिक रहिरहन यो बाहेक अर्को विकल्प पनि देखिँदैन। नेपाली कांग्रेसले आफ्नो केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानलाई जसरी समावेशी र विज्ञतामुखी बनाएको छ, यो सुन्दा जति उत्साहजनक देखिन्छ, कार्यान्वयनको कसीमा उत्तिकै चुनौतीपूर्ण पनि छ।

प्रश्न त उठ्छ नै, के नेताको मौखिक आदेशमा चल्ने परम्परा बोकेको पार्टीले यी विज्ञहरूको ज्ञानलाई साँच्चै आत्मसात् गर्न सक्ला त?

विज्ञताको विविधीकरण 

यसपटकको सहभागिता हेर्दा कांग्रेसले परम्परागत राजनीतिक अनुहारभन्दा बाहिर निस्कने प्रयास गरेको देखिन्छ। परमाणु वैज्ञानिक डा. यादव पण्डित र विपद् व्यवस्थापन विज्ञ मनबहादुर थापा जस्ता व्यक्तिहरूको उपस्थिति देखिनुले पार्टीले अब डाटा र साइन्समा आधारित नीति बनाउन खोजेको संकेत गर्छ।

मीन भाम (निर्देशक), श्रवण मुकारुङ (कवि) र मोहना अन्सारी (मानवअधिकार) को चयनले समाजको सांस्कृतिक र मानवीय चेतनालाई पार्टीको प्रशिक्षणमा जोड्न खोजेको बुझिन्छ। नेपाली राजनीतिको एउटा पुरानो रोग छ- विज्ञहरूलाई समितिमा राख्ने तर निर्णय लिने बेला साना गुट र नेताको तजबिजमा चल्ने। 

यदि पार्टीको निर्णय प्रक्रिया अझै पनि हाई कमान्डको आदेशमै सीमित रहने हो भने समावेश गरिएका ३९ जना विज्ञहरू केवल सजावटका पात्र मात्र बन्ने खतरा रहन्छ। के पार्टीको नेतृत्वले परमाणु प्रविधि, जलवायु परिवर्तन वा मानवअधिकारका जटिल विषयमा विज्ञका कुरा सुनेर आफ्नो चुनावी घोषणापत्र वा सरकारमा रहँदाका नीतिहरू बदल्न तयार छरु यो मुख्य प्रश्न हो।

प्रशिक्षणको नयाँ परिभाषा  

अहिलेसम्म नेपालका राजनीतिक दलमा प्रशिक्षण भनेको आफ्नो नेताको देवत्वकरण र विपक्षीको आलोचनामा सीमित छ।

यदि विनोद दासबाट अनुशासन र टिमवर्क, मीन भामबाट विम्व र संवेग, र गोविन्दराज पोखरेलबाट विकासका खाकाहरू कार्यकर्तासम्म पुर्‍याउने हो भने कांग्रेसको तल्लो तहको कार्यकर्ताको स्तर माथि उठ्न सक्छ। तर, यदि यी विज्ञहरूलाई पनि केवल राजनीतिक भाषणबाजी गर्न लगाइयो भने उनीहरूको विज्ञता खेर जानेछ।

यो प्रतिष्ठान विस्तारमा उपसभापति विश्व प्रकाश शर्माको मुख्य हात देखिन्छ। उनी आफैँ पनि परम्परागत राजनीतिभन्दा अलि मोडर्न एप्रोच राख्ने नेता मानिन्छन्। त्यसैले यो टिमले काम गर्ने वातावरण पाउनेरनपाउने कुरा धेरै हदसम्म उनको व्यवस्थापकीय क्षमता र पार्टीभित्रको आन्तरिक शक्ति सन्तुलनमा भर पर्नेछ।

नेपाली कांग्रेस जस्तो पुरानो र विशाल पार्टीमा विज्ञहरूको प्रवेश हुनु आफैँमा एउटा ब्रेक थ्रु हो। यसले पार्टीलाई इमोसनबाट एभिडेन्स तर्फ लैजान सक्छ। तर, यसको सफलता यी विज्ञहरू कति सक्षम छन् भन्नेमा भन्दा पनि पार्टी नेतृत्व उनीहरूका कुरा सुन्न र लागू गर्न कति लोकतान्त्रिक छ भन्नेमा निर्भर हुनेछ।

यदि यो सफल भयो भने अन्य राजनीतिक दलहरूलाई पनि आफ्नो संरचना सुधार गर्न दबाब पुग्नेछ। अन्यथा, यो अर्को एउटा जम्बो समितिमा मात्र सीमित हुनेछ।

प्रतिक्रिया