काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आईतबार आफ्ना सांसदहरूलाई प्रशिक्षण शैलीमा राजनीतिक सन्देश दिएका छन्। उनले दिएको सन्देश निकै अर्थपूर्ण छ। आफ्ना केही परम्पराभन्दा फरक निर्णयहरुले आलोचनाको केन्द्रमा परिरहेको सरकारको बचाउ र न्यायिक क्षेत्रबाट आईरहेको चेतावनीको जवाफ दिन सभापति लामिछानेले कडा अभिव्यक्ति दिएका छन्।
सांसदहरुको सहभागितामा लामिछानेले ८-१० जना सांसदको मात्र चर्चा हुने र बाँकी ओझेलमा परेको प्रसंग निकाल्नुले पार्टीभित्र सेलिब्रेटी कल्चर र ओझेलमा परेका विज्ञ बीच सन्तुलन मिलाउन गाह्रो भइरहेको संकेत गर्छ।
उनले अनुशासनको सन्देश पनि दिएका छन्। फेसबुक स्टाटस र अन्तर्वार्ताले समर्थकमा निराशा ल्याउन सक्छ भन्नुको अर्थ हो कतिपय सांसदहरूले नेतृत्वको लाइनभन्दा फरक वा विवादित कुरा बोलिरहेका छन्।
हामीसँग एक-से-एक विज्ञ हुनुहुन्छ भन्नु ती ओझेलमा परेका सांसदहरूलाई थुमथुम्याउने प्रयास हो, ताकि उनीहरूमा उपेक्षित महसुस नहोस्। सर्वोच्चका चौथो वरीयताका न्यायाधीशलाई प्रधानन्यायाधीश बनाउने निर्णयको बचाउ गरेर उनले परम्परा तोड्ने भाष्य निर्माण गर्न खोजेका छन्।
सामान्यतया वरिष्ठता मिचिँदा न्यायलयमा हस्तक्षेप मानिन्छ। तर, रविले यसलाई भागबन्डा अन्त्य गरेको र संविधानको मर्म अनुरूप छनोट गरेको भनेर व्याख्या गरे। यो सरकारको सम्भावित अलोकप्रिय निर्णयलाई क्रान्तिकारी कदम देखाउने प्रयास हो।
शनिबार राजनीतिक अंश भएको भावुक र विद्रोही शैलीको भाषण दिएकी कार्यबाहक प्रधानन्यायाधीश सपना मल्ल प्रधानलाई जवाफ दिएझैं बुझिने गरी लामिछानेले हतियार चलाइदिनुस् भन्ने अभिव्यक्तिले उनी अझै पनि आफू विरुद्धका कानुनी मुद्दाहरू र अदालतको सम्भावित फैसलाप्रति रक्षात्मक र केही हदसम्म संवेनशील छन् भन्ने देखाउँछ।
काठमाडौँका सुकुम्बासी बस्ती हटाउने कुरामा छाती थाप्न तयार छु भन्नुको सिधा अर्थ बालेन शाहको कार्यशैली र सरकारको कदमबीच समन्वय देखाउनु हो। रास्वपाको मुख्य भोट बैंक सहरी मध्यम वर्ग हो, जो सुकुम्बासी व्यवस्थापनको पक्षमा छ। तर, गरिब विरोधी देखिने डरले उनले भूमिहीनलाई अधिकार दिन्छौँ भन्दै सन्तुलन मिलाउन खोजेका छन्।
सभापति लामिछानेले आफूलाई पदको लोभ नभएको र इतिहास लेख्न नहिँडेको बताउनुको उद्देश्य कार्यकर्ता र सांसदहरूमा भावनात्मक ऊर्जा भर्नु हो। जब कुनै दल सरकारमा जान्छ, तब उसका आदर्श र व्यवहारबीच खाडल देखिन थाल्छ। त्यही खाडल पुर्न उनले मिसन ८४ वा भविष्यको ठूलो लक्ष्यको सपना देखाइरहेका छन्।
यो सम्वाद रास्वपाभित्रको आन्तरिक कम्पन शान्त पार्ने र सरकारका विवादास्पद निर्णयलाई राजनीतिक रूपमा वैधता दिने एउटा सचेत प्रयास हो। असन्तुष्टि छ पक्कै पनि, ८-१० जनाको मात्र चर्चा हुने र बाँकीको भूमिका नदेखिने कुराले दलभित्र भुसको आगो जस्तै असन्तुष्टि छ भन्ने बुझिन्छ।
जोखिमपूर्ण कामको समर्थन हो, विशेष गरी प्रधानन्यायाधीशको सिफारिस र सुकुम्बासी मुद्दामा पार्टी पंक्तिलाई एक ढिक्का राख्न उनले यो प्रशिक्षण दिएका हुन्।
छोटकरीमा भन्दा, रवि लामिछानेले आफ्ना सांसदहरूलाई हामीले गरेका निर्णयहरू विवादित देखिए पनि ती परिवर्तनका लागि हुन् भनेर बुझाउन खोजेका छन्, ताकि कोही पनि सांसदले सार्वजनिक रूपमा सरकार वा पार्टीको विरोध नगरून्।
सभापति लामिछानेले रास्वपा फुट्छ भनी मुख नमिठ्याउनु भनेर कसलाई चेतावनी दिएक हुन् भन्ने कुरा चैं अहिले प्रष्ट हुनसकेको छैन। सत्तामा पुगेपछि पार्टीहरुभित्र असन्तुष्टि बढ्ने र फुटको सँघारसम्म पुग्ने इतिहास भएको राजनीतिमा रास्वपाले कस्तो मार्ग समात्छ भन्ने कुरा उसको नेतृत्वको समन्वयमा भर पर्ने छ।
प्रतिक्रिया