काठमाडौं। गएको पुसमा विशेष महाधिवेशनस्थल भृकुटीमण्डपमा नेपाली कांग्रेसका पुराना नेता अर्जुन बहादुर खड्काले आफ्ना संघर्षकालका साथी शेर बहादुर देउवाका बारेमा भावुक टिप्पणी गरेका थिए।
‘सारै सोझो इमान्दार थियो शेर बहादुर, हामीसँगै बस्थ्यौं जसको कपडा पुरानो भएर फाटेको छ भने अर्को साथीको नयाँ र सग्लो कपडा पालो गरेर लाउँथ्यौं,’ नेता खड्काले खिन्न भएर भने, ‘त्यस्तो कुनै लोभलालच छलकपट नभएको मान्छे यस्तो भयो। उ आफैं यस्तो भएको होइन, उसको यो नियति आरजुका कारण भएको हो।’
आफ्ना वरिपरी झुम्मिएका नेता कार्यकर्ताहरुसँग खड्काले भनेका थिए, ‘हेर्नोस् लामो दूरीको राजनीति गर्ने व्यक्तिले क्षणिक रमझममा पर्ने होइन, हरेक क्षण आफूलाई भुलाउन आउने अवसरहरुलाई त्याग्न सक्नुपर्दछ।’
तरुण उमेरमै सत्ताको उच्च तहमा आरोहण गरेका देउवालाई सत्ताको भड्लिो सौन्दर्यले यसरी मोहित पार्यो कि उनी सिध्दान्त, दर्शन र आदर्शहरुलाई तिलाञ्जलि दिएर भए पनि सत्ता साझेदारी गर्न हिच्किचाएनन्। विगतका निर्वाचनहरुमा उनले सत्ताकै निम्ति गरेका सहकार्य र नीतिहीन साझेदारीहरु नै देउवाका ‘गौरवगाथा’ गाउन पर्याप्त छन्।
नेपालको सत्ता राजनीतिका पाका खेलाडी देउवाको व्यक्तित्व र उनीमाथि लागेका आरोपहरूको विश्लेषण निकै जटिल र बहुआयामिक छ। लोकतन्त्रका लागि नौ वर्ष जेल जीवन बिताएका र पटक-पटक प्रधानमन्त्री बनेका देउवाको छवि पछिल्लो समय त्याग भन्दा पनि शक्ति र संरक्षणको वरिपरि घुमेको देखिन्छ। प्रजातन्त्र र स्वतन्त्रताका लागि संघर्ष गर्दा नायकका रुपमा पक्राउ पूर्जि समाएका हातले अब सम्पत्ति शुध्दिकरणको पूर्जि समाउनु पर्ने समय आएको छ।
देउवाको राजनीतिक यात्राको जग लोकतन्त्रप्रतिको निष्ठा नै हो। तर, २०५२ सालमा पहिलोपटक प्रधानमन्त्री बनेदेखि नै उनीमाथि सत्ता टिकाउन जे पनि गर्ने आरोप लाग्दै आयो। पजेरो काण्ड, सांसद खरिद(बिक्री र प्राडो संस्कृतिले उनलाई प्रलोभनको राजनीतिको सुरुवातकर्ताका रूपमा चित्रण गर्यो।
नेपाली राजनीतिमा आरजु राणा देउवालाई प्रायः छायाँ प्रधानमन्त्री वा शक्तिशाली स्वार्थ समूहको सेतुका रूपमा हेरिने गरिन्छ। उनकै हैकमको छायाँले लाटिएका देउवा आफ्नै इतिहास धुलिसात हुँदैगरेको देख्दादेख्दै पनि देश संकटको मुखमा पर्दै गर्दा समेत केपी शर्मा ओलीसँग फेरि प्रधानमन्त्री बन्ने पालो पर्खेर बसेका थिए। २३ र २४ भदौका दुइ दिनले सत्ताको आलोपालो गर्दै गरेका देउवा र ओलीलाई कहाँ पुर्यायो भनेर धेरै चर्चा गरिरहनु परेन।
धेरै विश्लेषकहरू देउवाको राजनीतिक निर्णयमा आरजु हाबी हुनुलाई पारिवारिक मोह मात्र नभई एउटा व्यवस्थित शक्ति संरचना मान्छन्। राज्यका ठूला ठेक्कापट्टा, सरुवा-बढुवा र नीतिगत निर्णयहरूमा आरजुको नाम जोडिनुले देउवाको छविमा ठूलो धक्का पुर्याएको हो भन्नेमा कुनै शंका रहेन। नक्कली भुटानी शरणार्थी प्रकरण जस्ता विषयमा नाम जोडिनुले यसलाई थप बल पुर्याएको हो।
सम्पत्ति शुद्धीकरणको विषयमा देउवा परिवार तानिनुको पछाडि केही गम्भीर कारणहरू देखिन्छन्। स्रोत नखुलेको सम्पत्ति र विभिन्न व्यापारिक घरानासँगको अपारदर्शी सम्बन्ध अनुसन्धानको मुख्य बिन्दु मानिएको छ।
नेपाल ग्रे लिस्टमा पर्ने जोखिमका कारण पनि शक्तिशाली व्यक्तिहरूमाथि अनुसन्धानको दबाब बढेको छ। देउवा आफैँ प्रत्यक्ष तानिने भन्दा पनि उनका निकटस्थ र परिवारमार्फत हुने आर्थिक लेनदेनले उनलाई नैतिक र कानुनी संकटमा पारेको देखिन्छ।
देउवाको सन्दर्भमा यो बाध्यता मात्र पक्कै होइन। यो सत्तामा टिकिरहनका लागि अपनाइएको पराजित मानसिकता र आसेपासे पुँजीवादको उपज हो। आरजुको बढ्दो राजनीतिक र आर्थिक महत्त्वाकांक्षालाई रोक्न नसक्नु वा नचाहनु नै देउवाको सबैभन्दा ठूलो कमजोरी देखिन्छ।
लोकतन्त्रका लागि लडेका नेताले आफ्नो अन्तिम समयमा सम्पत्ति शुद्धीकरण जस्तो गम्भीर मुद्दामा स्पष्टीकरण दिनुपर्ने अवस्था आउनु नेपाली राजनीतिका लागि दुखद पक्ष हो। देउवा आज आफ्नै विगतको निष्ठा र वर्तमानको शक्ति मोह बीचको द्वन्द्वमा फसेका छन्। उनलाई न त प्रलोभनले मात्रै तानेको हो, न त पत्नी मोहले मात्रै, यो त शक्ति सन्तुलन मिलाउने नाममा गरिएका अनगन्ती सम्झौताहरूको परिणाम हो।
नेपाली राजनीतिमा सम्मानजनक बहिर्गमनको संस्कृति लगभग शून्य छ। देउवा मात्र होइन, उमेर र अनुभवले खारिएका धेरै नेताहरू आज त्याग भन्दा पनि सत्ता र शक्तिको पर्याय बनेका छन्।राजनीतिमा विरासत भनेको नेताले पद छोडेपछि जनताले उनलाई कसरी सम्झन्छन् भन्ने कुरा हो।
देउवाका लागि अझै पनि एउटा अवसर छ, त्यो हो पुस्तान्तरणको नेतृत्व गर्ने। यदि उनले पार्टीभित्रको नयाँ र स्वच्छ छविको पुस्तालाई नेतृत्व सुम्पेर आफू अभिभावकको भूमिकामा बस्ने हो भने, उनीमाथि लागेका धेरै दागहरू धमिलो हुन पनि सक्छन्।
तर, उनी अहिले पनि अन्तिम पटक भन्दै सत्ताकै लुछाचुँडीमा लाग्ने हो भने, उनको नाम प्रजातन्त्रका लागि लडेका योद्धाका रूपमा होइन, बरु भ्रष्ट संयन्त्रको संरक्षकका रूपमा इतिहासमा लेखिने निश्चित छ।
यस्तो अवस्थामा कुनै पनि पाका नेताका लागि अवकाश नै सबैभन्दा उत्तम विकल्प हो। तर देउवा र उनका घनिष्ठ मित्र ओली सहित कैयन नेताहरूका लागि अवकाश लिनु फलामको चिउरा चपाउनु सरह भएको छ, जसका केही कारण छन्।
त्यस्ता नेताहरु जबसम्म सत्तामा रहिन्छ, तबसम्म राज्यका निकायहरू अख्तियार, सम्पत्ति शुद्धीकरणलाई प्रभावमा पार्न सकिन्छ भन्ने मानसिकताबाट ग्रसित छन्। सत्ताबाट बाहिरिने बित्तिकै पुराना फाइलहरू खुल्ने र कानुनी फन्दामा परिने डरले पनि उनीहरू पद छोड्न डराउँछन्।
नेताको वरिपरि एउटा यस्तो झुण्ड हुन्छ जसको रोजीरोटी नै नेताको शक्तिमा टिकेको हुन्छ। ती मानिसहरूले नेतालाई 'तपाईं नभई देश चल्दैन' भन्ने भ्रम छरेर पदमा टाँसिरहन बाध्य पार्छन्। सदैव मनोनित र समानुपातिकको अवसर कब्जा गर्न पल्केको त्यस्तो वर्गको घेराबन्दी नै देउवाको वर्तमान नियतिको मुख्य कारण हो।
इतिहास साक्षी छ, समयमै विश्राम लिन नजान्ने नेताहरू अन्ततः आफ्नै कार्यकर्ता र जनताको नजरमा गिर्ने गर्छन्। लोकतन्त्रका लागि ९ वर्ष जेल बसेको व्यक्ति आज 'बिचौलियाको घेरामा परेको' आरोप खेप्नु आफैँमा एउटा ठूलो नैतिक हार हो।
नयाँ पुस्ता अब पुराना नेताहरूको जेल बसेको कथा सुन्न तयार छैनन्। उनीहरू डेलिभरी र सुशासन चाहन्छन्। यो आक्रोशले देउवा जस्ता नेताहरूलाई बिस्तारै अप्रासंगिक मात्र होइन, घृणाको पात्र बनाउँदै लगेको छ। एउटा विन्दुमा पुगेपछि नेताले राजनेता बन्ने कि राजनीतिज्ञ मात्र रहने भन्ने निर्णय गर्नुपर्छ।
यदि देउवाले अहिले नै स्वेच्छिक अवकाश लिएर पार्टी र सरकारको नेतृत्व नयाँ पुस्तालाई सुम्पने आँट गरे भने, उनको ९ वर्षे जेल जीवन र लोकतान्त्रिक संघर्षको सम्मान पुनर्स्थापित हुन सक्छ। अन्यथा, सम्पत्ति शुद्धीकरणका फाइल र पारिवारिक मोहका चर्चाहरूले उनको दशकौँको राजनीतिक कमाइलाई खरानी बनाइदिने जोखिम प्रबल छ। राजनीतिमा कसरी प्रवेश गरियो भन्ने भन्दा पनि कसरी बिदा भइयो भन्ने कुराले इतिहासमा नाम सुरक्षित गर्छ।
नेपाली कांग्रेसका ‘पूर्व सभापति’ देउवाको राजनीतिक इतिहासमा तगारो लाउने एउटै प्रमुख कारण बन्यो एमालेसँगको पछिल्लो सत्ता साझेदारी। ४९ दिनसम्म निरन्तर केन्द्रीय कार्यसमिति बैठक चलाएर पनि महाधिवेशनबारे कुनै निर्णय गर्न नसक्ने तर एकै रातमा सत्ता उलटपुलट गराएर ओलीसँग आलोपालो प्रधानमन्त्री हुने सहमति गरेकै रात देउवाको राजनीतिमा पूर्णबिराम लागेको थियो भन्दा अन्यथा हुनेछैन।
प्रतिक्रिया