‘सुकरात त भागेनन् म भाग्छु ?’ भनेछन् निवर्तमान प्रधानमन्त्री खड्ग प्रसाद शर्मा ओलीले । २०८२ साल भदौ २४ गते अपरान्ह पर्याप्त सुरक्षा बन्दोवस्त रहेको सरकारी निवासबाट बहालवाला प्रधानमन्त्री मूल ढोकाबाट निस्किन नसकेपछि नेपाली सेनाको हेलिकोप्टर चढेर बहादुरीकासाथ अज्ञातस्थलतर्फ उडेको दृश्य देश र दुनियाँले देख्न पाएका थिए ।
र, यो कुरा तत्कालिन प्रधानमन्त्री ओलीलाई समेत अवगत होला भनेर अनुमान लगाईरहनु परेन । कसैसँग नडराउने, अभिमानी र अहंकारी कुनै पनि घटनाबाट शिक्षा लिन नचाहने दम्भी नेता भनेर सुपरिचित केपी शर्मा ओली त्यसदिन किन र कोसँग डराएका थिए त ? यो रहस्य अझै खुलस्त हुनसकेको छैन । तर ओली भनिरहेका छन् ‘के म डराएर भाग्ने मानिस हुँ ?’
‘निडर नेता’ ओलीले पोखरा महानगरमा आयोजना गर्ने तिथिमिति निश्चित भैसकेको एमाले महाधिवेशन किन काठमाडौं महानगरमा सार्ने निर्णय गरे भनेर विवेचना गर्ने विवेचकहरुलाई लागिरहेको छ अध्यक्ष ओलीमा डरको मात्र भित्रभित्रै बढोत्तरी भैरहेको सांकेतिक उदाहरण हो यो । किनभने मानिस जति धेरै डराउँछ या भयभित हुन्छ त्यति नै धेरै कराउँछ चिच्याउँछ । ओली अहिले त्यसै गरिरहेका छन् ।
ओलीले भयभित मुद्रामा म डराएको छुइन म भाग्दिनँ भनिरहनुका केही कारणहरु हुनसक्ने विश्लेषण गरिएको पाइन्छ । पहिलो कुरा उनी वर्तमान सरकारसँग सबैभन्दा बढी डराएका छन्, किनभने उनलाई उपत्यका छाड्ने अनुमति सरकारले नदिने सूचना प्राप्त भैसकेको छ । अरु सुरक्षा चुनौतिका पक्षहरु पनि ओलीलाई अवगत गराईएको हुनसक्छ । अर्को कुरा ओली आफ्नै विश्वासिला नेता र सहयोगीबाट पनि परित्यक्त हुने जोखिम बढेर गएको देखिन्छ ।
आफूलाई सर्वज्ञानी र सर्वगुण सम्पन्न नेताका रुपमा एकोहोरो प्रचार गराईरहेका ओलीले अरुलाई आफ्ना कुमसम्म मात्र उठ्न दिने र त्यसभन्दा माथि बढ्ने संकेत पाए तत्काल छिमलेर कुम बराबर मात्र रहन दिने प्रवृति देखेर त्रशित नेता कार्यकर्ता ओलीलाई आगामी महाधिवशेनमा नेतृत्वबाट सदाका लागि विदा गर्ने रणनीतिमा काम गरिरहेका छन् । त्यसको सँुइको पाएका ओली सबैभन्दा बढी भयभित भएका हुन् भनेर बुझ्न सकिन्छ । तर जोड दिएर भनिरहेका छन् ओली ‘सुकरात त भागेनन् म भाग्छु ?’
सुरक्षा निकायका उच्च सूत्रहरुले समयमै पटक पटक दिएको सूचनालाई पुरै वेवास्ता गरेका र उनीहरुको मनोबल गिराएर रावण घमण्डमा राजकाज गरेका नेता ओली सैनिक हेलिकोप्टरबाट बालुवाटार छाडेपछि कालो मर्सिडिज चढेर झण्डा हल्लाउँदै फेरि त्यहाँ प्रवेश गरेर राजकाज चलाउँछु भनेर सोचिरहेका होलान् यदि भने त्यो उनको जीवनको सबैभन्दा ठूलो भ्रम हुनेछ भन्छन् राजनीतिक विश्लेषकहरु ।
दुनियाँ जान्दछ, राजनीतिक रवाफ र प्रभाव दिनदिनै क्षीण हुँदै गएका ओलीलाई उखान धेरै कण्ठ छ र उनलाई यो पुरानो भनाई पनि अवश्य नै याद हुनुपर्छ– ‘वेश्याले निर्धन पुरुष, जनताले पराजित राजा, चराले फल निख्रेको रुख र अतिथिले भोजन गरिसकेको घर छोड्छन्।’
ओलीले घर फर्क अभियानको आव्हान गरेकै समय सेरोफेरोमा उथलपुथलकारी नेता पुष्पकमल दाहाल प्रचण्डले विभिन्न वामपन्थी दलहरु सँगेलेर नयाँ मोर्चाबन्दी गरेका छन् । माधव कुमार नेपाल समूह समेत मिसाएर गरिएको मोर्चाले ‘नेपाली कम्युनिस्ट पार्टी’ नाम पाएको छ । यो मोर्चाले प्रचण्डलाई संयोजक पाएको छ भने एमालेका महासचिव र अध्यक्ष समेत भैसकेका माधव नेपाल यसको सहसंयोजक बनेका छन् ।
यो मोर्चाबन्दी एमाले अध्यक्ष ओलीका लागि निकै ठूलो चुनौति हुने देखिएको छ । प्रचण्ड नेतृत्वको मोर्चाले एमालेमाथि आँखा लाएको प्रष्टसँग बुझ्न सकिन्छ, यसले एमालेका कतिपय नेताहरुलाई आकर्षक प्रस्तावको प्याकेज देखाएर आफूतिर खिच्ने प्रयत्न गरिरहेको बुझ्नसकिन्छ । माधव नेपालले रामकुमारी झाँक्री र प्रचण्डले जनार्दन शर्मा गुमाए पनि त्यसको क्षतिपूर्ति सहित मुनाफा आर्जन गर्ने गरी एमालेबाट नेताहरु समेट्ने योजना रहेको बताईएको छ ।
प्रचण्ड–माधव शंकाको सम्बन्ध
नेपाली कम्युुनिस्ट पार्टीको जन्मसँगै नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादीको अवसान भैसकेको छ । सँगसँगै बैंकमा मौज्दात नगद सहित जिन्सी पनि एकैठाउँमा मिसाईएको छ । निर्वाचन आयोगमा दर्ता भैसकेपछि नयाँ पार्टीको संरचना निर्माणमा नेताहरु क्रियाशील देखिन्छन् ।
यहाँ विचारणीय पक्ष के हो भने पार्टीहरु विघठन र गठन हुँदैगर्दा नेतृत्वमा विद्यमान प्रवृतिमा भने तात्विक फरक देखिँदैन । उनीहरुमा नयाँ घटना र नयाँ विचार अभियानको रत्तिभर पनि असर पाईदैन । यो सबैभन्दा दुखद प्रवृति नेपालको राजनीतिमा कहिल्यै पनि सुधार हुन सकेको छैन, जसले गर्दा हालैको जेन जी अभियान र त्यसकै निहुँमा भएको अप्रत्याशित घटनाहरुसँग उत्पन्न राजनीतिक परिदृश्य ।
नयाँ मोर्चा बनाएका नेताहरु प्रचण्ड र माधव कतिञ्जेल मिलेर अघि बढ्नसक्लान भनेर टिकाटिप्पणी हुनथालेको छ । किनभने माधव नेपाल र प्रचण्डबीच विश्वासको सम्बन्ध भन्दा पनि शंकाको सम्बन्ध प्रगाढ रहेको बताईन्छ । संविधान सभाको पहिलो निर्वाचनको मिति तोक्न ढिलाई भैरहेका बेला प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालालाई दवाव दिन दिनदिनै बालुवाटार धाउँथे यी दुइ नेता । कोइरालाले अटेर गरिरहेको उनीहरुलाई लागेपछि एकदिन बालुवाटारको वगैंचामा प्रचण्डले माधवलाई भनेछन् ‘कमरेड अब तपाईं प्रधानमन्त्री हुनुपर्छ, यी कोइरालाले निर्वाचन गर्दैनन् र सत्ता पनि छाड्दैनन् म अघि सर्छु यो कुरा भन्न ।’
माधव पनि लागेछ त्यो बेला उच्च राजनीतिक तापमान भएका प्रचण्डले यति भनेपछि परिवर्तन हुनपनि सक्ला । तर केहीबेर पछि नै कोइरालाले बैठक कक्षमा बोलाएर सदाझैं राजनीतिक चर्चा सुरु गरेछन् । माधवकै सामु बसेका प्रचण्डले उनीतिर पुलुक्क पनि नहेरी खुरुखुरु कोइरालासँग भनेछन्– ‘गिरिजाबाबु संविधानसभाको निर्वाचनको मिति अब तोकिहाल्नुपर्यो, यो निर्वाचन गराउन तपाईंले मात्र सक्नुहुन्छ तपाईं बाहेक अरु कोही पनि यो क्षमता भएका नेता म देख्दिनँ !’
आफूतिर हेर्दैनहेरी वास्ता समेत नगरी यसो भनेपछि माधव रातो मुख लाएर प्रचण्डतिर घोरिएर बसिरहे र केहीबेर पछि कोइराला उठे अनि उनीहरु पनि बैठक कक्षबाट निस्किएर हात समेत नमिलाई आआफ्नो मोटर चढेर गन्तव्यतिर लम्किएका थिए । यहीबेला मावधको मनमा चिसो पसेको थियो ‘यो प्रचण्ड भन्ने मान्छे जुनसुकै बेला कोल्टे फर्किन सक्छ !’
एकजना पत्रकार सम्झन्छन्, माओवादीका उम्मेदवार झक्कु सुवेदीसँग पराजित भएका माधवलाई सान्त्वना दिन पुगेका केही सञ्चारकर्मीसँग घरको माथिल्लो तलाको बैठक कक्षमा प्रचण्डका बारेमा उनले यस्तो टिप्पणी गरेका थिए ।
जब पहिलो निर्वाचन भयो संविधानसभाको माधव नेपाल माओवादीका झक्कु प्रसाद सुवेदीसँग ठूलो मतान्तरले पराजित भए अनि त उनको मनमा दृढ निश्चय भयो प्रचण्डसँग जीवनभर सहकार्य हुनसक्दैन ।
सम्झनामा पहिलो संविधानसभा
२०६४ चैत २८ गते सम्पन्न संविधान सभाको पहिलो निर्वाचना माधव कुमार नेपाल रौतहट ६ र काठमाडौं २ बाट पराजित भएका थिए । पुष्पकमल दाहाल काठमाडौं १० रोल्पा २ बाट बिजयी भएका थिए । तत्कालिन सरकार प्रमुख गिरिजा प्रसाद कोइराला निर्वाचनमा उम्मेदवार नै बनेनन् ।
संविधान सभाले नयाँ संविधानको मस्यौदा तयार गर्ने योजना बनाएको थियो र यसैले अन्य कुराहरूका साथै सङ्घीयताको विषयमा निर्णय गर्ने योजना बनाइएको थियो। योग्य मतदाताको सङ्ख्या करिब १ करोड ७५ लाख थियो। संविधान सभाको कार्यकाल मूलतः दुई वर्षको हुने तय भएको थियो।
माओवादीले ५७५ मध्ये २२० सिट जितेर निर्वाचनमा प्रथम स्थान हासिल गरेको थियो र संविधान सभाको सबैभन्दा ठूलो दल बनेको थियो। त्यसपछि नेपाली काङ्ग्रेसले ११० र एमालेले १०३ सिट प्राप्त गरेका थिए। महिनौको सत्ता साझेदारी र छलफलपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड २०६५ भदौ २ गते नेपालको प्रधानमन्त्रीमा निर्वाचित भएका थिए। नयाँ संविधान निर्माण गर्न असफल भएपछि संविधान सभाको मूल कार्यावधि २०६९ जेठ १५ गते विघटन गरी चार वर्षको म्याद थप गरिएको थियो।
भनाई नै छ, राजनीतिमा कोही स्थायी मित्र र स्थायी शत्रु हुँदैन । अहिले भएको छ त्यही कि परस्पर अविश्वास र शंकाको सम्बन्ध रहेका नेताहरु प्रचण्ड र माधव मिलेर नयाँ वाममोर्चा बनाएका छन् ‘नेपाली कम्युनिस्ट पार्टी ।’ ०७९ को निर्वाचन अघि यसैगरी ओली र प्रचण्ड समेत मिलेर नेपाल कम्युनिस्ट पार्टी नेकपा बनाएका थिए र भनेका थिए हामी पुल काटेर आएका छौं अब पछि फर्कने सम्भावना नै छैन । तर केही समयपछि नै उनीहरुको राजनीतिक पारपाचुके भयो । नदीका दुइ किनारामा उनीहरु बगिरहे । अब यो नयाँ पिरतिको आयु कति लामो हुनेछ त्यो त आगामी दिनमा देखिने नै छ ।
प्रतिक्रिया