संसारभर हन्टाभाइरस आतंक, पानी जहाजका तीन यात्रीको मृत्यु

कामठाडौं।  घातक हन्टाभाइरस प्रकोपको चपेटामा परेको क्रुज जहाजबाट उद्धार गरिएका एक अमेरिकी र एक फ्रान्सेली महिलामा संक्रमण पुष्टि भएको अधिकारीहरूले बताएका छन्। जहाजमा रहेका व्यक्तिहरूलाई स्वदेश फर्काउने जटिल प्रक्रिया जारी रहँदा यो तथ्य बाहिर आएको हो।

एमभी होन्डियसबाट विमानमार्फत पेरिस ल्याएर क्वारेन्टाइनमा राखिएका पाँच फ्रान्सेली यात्रीमध्ये एक महिलाले आइतबार राति अस्वस्थ महसुस गरेकी थिइन्, जसको 'परीक्षण रिपोर्ट पोजिटिभ आएको' स्वास्थ्य मन्त्री स्टेफानी रिस्टले बताइन्।

आइतबार ढिलो गरी अमेरिकी स्वास्थ्य विभागले जनाएअनुसार, जहाजबाट उद्धार गरिएका एक अमेरिकी नागरिकमा 'हल्का लक्षण' देखिएको छ भने अर्का एक व्यक्तिमा एन्डिस भाइरस   पोजिटिभ पाइएको छ। यो हन्टाभाइरसको यस्तो प्रजाति हो जुन मानिसबाट मानिसमा सर्ने गर्दछ।

साधारणतया मुसाजन्य जीवहरूबाट सर्ने यो दुर्लभ रोगका कारण जहाजका तीन यात्री (डच दम्पती र एक जर्मन महिला) को मृत्यु भइसकेको छ।

अर्जेन्टिना, जहाँबाट यो जहाज अप्रिलमा प्रस्थान गरेको थियो, त्यहाँ हन्टाभाइरस रैथाने रोगको रूपमा रहेको छ। यसको कुनै खोप वा विशेष उपचार उपलब्ध छैन। यद्यपि, स्वास्थ्य अधिकारीहरूले विश्वव्यापी जनस्वास्थ्यमा यसको जोखिम न्यून रहेको दाबी गर्दै कोभिड–१९ महामारीसँग यसको तुलना नगर्न आग्रह गरेका छन्। 

स्वास्थ्य मन्त्री रिस्टका अनुसार फ्रान्सेली नागरिकहरूमा थप २२ जना 'कन्ट्याक्ट केस' पहिचान गरिएको छ। यसमा अप्रिल २५ मा सेन्ट हेलेनाबाट जोहानेसबर्ग र जोहानेसबर्गबाट एम्स्टर्डम उडेका यात्रीहरू सामेल छन्।

मृत्यु भएकी डच महिला जोहानेसबर्ग जाने उडानमा थिइन् र पछि एम्स्टर्डमको उडानमा पनि चढेकी थिइन्, तर विमान उड्नुअघि नै उनलाई ओरालिएको थियो।

स्पेनकी स्वास्थ्य मन्त्री मोनिका गार्सियाले क्यानरी टापुको टेनेरिफमा बोल्दै आइतबार १९ विभिन्न देशका ९४ जनाको उद्धार गरिएको जानकारी दिइन्। जहाजमा रहेका करिब १५० यात्री र चालक दलका सदस्यहरूलाई सोमबार दिउँसोसम्ममा अस्ट्रेलिया र नेदरल्याण्ड्स पठाइसकिने लक्ष्य राखिएको छ।

नीलो मेडिकल सुट लगाएका यात्रीहरू आइतबार जहाजबाट ओर्लिएर टेनेरिफको औद्योगिक बन्दरगाहमा पुगेको देखिएको थियो। क्यानरी टापुका अधिकारीहरूले खराब मौसमको चेतावनी दिँदै सोमबारसम्म उद्धार कार्य सक्नुपर्ने बताएका छन्।

विश्व स्वास्थ्य संगठनकी निर्देशक मारिया भ्यान केरखोभले जेनेभामा बोल्दै ४२ दिनको क्वारेन्टाइन र 'सक्रिय फलो-अप' को सिफारिस गरेकी छिन्।

ग्रीस: एक ग्रीक पुरुषलाई एथेन्सको अस्पतालमा ४५ दिन अनिवार्य क्वारेन्टाइनमा राखिनेछ।

स्पेन: १४ स्पेनी नागरिकलाई म्याड्रिडको सैन्य अस्पतालमा अलग राखिनेछ।

अस्ट्रेलिया: ६ जनालाई पर्थको क्वारेन्टाइन केन्द्रमा कम्तीमा तीन हप्ता राखिनेछ।

बेलायत: २० बेलायती नागरिकलाई लिभरपुल नजिकैको अस्पतालमा ७२ घण्टा परीक्षण र क्वारेन्टाइनमा राखिनेछ।

अमेरिकी स्वास्थ्य अधिकारीहरूले भने आफ्ना १७ यात्रीहरूलाई अनिवार्य क्वारेन्टाइनमा नराख्न सकिने संकेत दिएका छन्। रोग नियन्त्रण र रोकथाम केन्द्रका कार्यवाहक निर्देशक जय भट्टाचार्यले जोखिमको मूल्याङ्कन गरी यात्रीहरूलाई अन्य व्यक्तिसँग सम्पर्कमा नआउने गरी घर जान दिइने विकल्प रहेको बताए।

प्रमुख टेड्रोस अधानोम गेब्रेयससले टेनेरिफमै पुगेर उद्धार कार्यको अनुगमन गर्दै अमेरिकी नीतिको 'जोखिम हुन सक्ने' चेतावनी दिएका छन्।

अन्तर्राष्ट्रिय चासो

होन्डियस जहाज अप्रिल १ मा अर्जेन्टिनाको उशुआयाबाट केप भर्डका लागि प्रस्थान गरेको थियो। पहिलो संक्रमण यात्रा सुरु हुनुभन्दा अघि नै भएको थियो र पछि जहाजभित्रै मानिसबाट मानिसमा सरेको थियो। तर अर्जेन्टिनाका अधिकारीहरूले भने भाइरसको लक्षण देखिन लाग्ने समयका आधारमा यो संक्रमण उशुआयाबाटै सुरु भएको कुरामा प्रश्न उठाएका छन्। (एजेन्सीहरु)

प्रतिक्रिया