काठमाडौं। करिब एक दशक अघि, सिङ्गापुरले एउटा यस्तो परियोजना सुरु गर्यो जुन कुनै राष्ट्रिय जनस्वास्थ्य योजना भन्दा पनि विज्ञान-कल्पना (साइन्स-फिक्सन) चलचित्रको कथा जस्तो सुनिन्थ्यो।
वार्षिक डेङ्गु सङ्क्रमणलाई ३० हजारको रेकर्ड विन्दुमा पुर्याउने जोखिम देखिएपछि, रगत तिर्खाएका पोथी एडिस इजिप्टाई लामखुट्टेको आक्रमणविरुद्ध लड्न त्यहाँको राष्ट्रिय वातावरण एजेन्सीले विशेष रूपमा उत्पादन गरिएका लामखुट्टेहरूको आफ्नै एउटा सेना तयार गर्यो।
एउटा प्रयोगशालामा विकसित गरिएका यी भाले लामखुट्टेहरूमा एउटा प्राकृतिक ब्याक्टेरिया हालिएको थियो। यसको अर्थ, यिनीहरूसँग संसर्ग (म्युटिङ) गरेपछि पोथी एडिस लामखुट्टेले पार्ने अण्डाहरू काम नलाग्ने हुन्थे र तिनबाट बच्चा कोरलिँदैनथे।
यो विधिको परीक्षण गर्ने सिङ्गापुर पहिलो देश भने थिएन, तर उच्च गगनचुम्बी भवनहरू र घना बस्ती भएको उष्णकटिबन्धीय (ट्रपिकल) वातावरणमा यस्तो प्रयोग गर्ने यो पहिलो देश हो।
उतारचढाव र सफलताका १० वर्ष
अहिले १० वर्षपछि, प्रोजेक्ट वोल्बाचिया डेङ्गु विरुद्धको लडाइँमा सिङ्गापुरको सफलताको मुख्य संवाहक बनेको छ।
नानयाङ टेक्नोलोजिकल युनिभर्सिटीको ली कङ चियान स्कूल अफ मेडिसिनका असिस्टेन्ट प्रोफेसर लिम जु ताओ भन्छन्, 'रोग सार्ने लामखुट्टेलाई निरन्तर रूपमा दबाउन सक्ने क्षमताका कारण वोल्बाचिया गेम-चेन्जर (एक क्रान्तिकारी कदम) साबित भएको छ।'
विगतका वर्षहरूमा तीव्र पारिएको निगरानी, जनचेतनामूलक अभियान र कानुनी कारबाहीका प्रयासहरूसँगै यस परियोजनाले स्पष्ट रूपमा प्रतिफल दिएको छ।
सन् २०२६ मे १५ सम्मको रिपोर्ट अनुसार सङ्क्रमितको सङ्ख्या ६०० भन्दा केही बढी मात्र छ– जुन गत वर्षको सोही अवधिको तुलनामा करिब ६६ प्रतिशतले कम हो। यदि सङ्ख्या यही गतिमा रह्यो भने सिङ्गापुर दुई दशकभन्दा बढी समययताकै सबैभन्दा कम वार्षिक डेङ्गु सङ्क्रमण रेकर्ड गर्ने दिशामा देखिन्छ।
पूरा सन् २०२५ मा ४,०३६ वटा मामिलाहरू देखिएका थिए, जुन २०२४ को १३,६५१ मामिलाको तुलनामा ७०.४ प्रतिशतले कमी थियो। तर, एक चौथाइ शताब्दी अघि सन् २००१ मा भने सङ्क्रमण सङ्ख्या मात्र २,३७२ थियो।
सङ्क्रामक रोग विशेषज्ञहरू सिङ्गापुरले दुई दशक यताकै सबैभन्दा कम सङ्क्रमणको रेकर्ड राख्न सक्ने कुरामा आशावादी त छन्, तर उनीहरूले विगतमा सङ्ख्या निकै कम भएका अवधिहरू पछि अचानक सङ्क्रमण बढेका उदाहरणहरू पनि स्मरण गराएका छन्।
वास्तवमा, सिङ्गापुर मेदेखि अक्टोबरसम्म हुने डेङ्गुको परम्परागत उच्च जोखिमको मौसम (पिक सिजन) मा प्रवेश गर्दैछ। यस समयमा मौसम सामान्यतया बढी तातो र ओसिलो हुने गर्छ, जुन एडिस इजिप्टाई लामखुट्टेको प्रजननका लागि बढी अनुकूल मानिन्छ।
उदाहरणका लागि, सन् २०२२ को सुरुतिर साप्ताहिक मामिलाहरू २०० देखि ३०० को दायरामा थिए, तर मे महिनामा ती बढेर १,५०० भन्दा माथि पुगेका थिए। ऐतिहासिक तथ्याङ्कले यो पनि देखाउँछ कि एक वर्ष राम्रो हुनुको अर्थ अर्को वर्ष पनि सुरक्षित हुन्छ भन्ने ग्यारेन्टी हुँदैनस् सन् २०१७ मा २,७६७ को न्यून विन्दुमा पुगेको सङ्क्रमण सन् २०१८ मा केही बढ्यो र सन् २०१९ मा १६,००७ भन्दा माथि पुग्यो।
त्यसोभए के सिङ्गापुरले वास्तवमै डेङ्गु विरुद्धको लडाइँलाई पूर्ण नियन्त्रणमा लिएको हो, वा लामखुट्टेहरूले फेरि कडा पुनरागमन गर्ने सम्भावना छ? र सिङ्गापुरले यस रोगलाई पूर्ण रूपमा उन्मूलन गर्न (यदि सम्भव छ भने) अझै के गर्न बाँकी छ?
यी भोका परजीवीहरूलाई टाढै राख्दै
विशेषज्ञहरूले सिङ्गापुरको अहिलेसम्मको सफलताको श्रेय देशले दशकौंदेखि अपनाएको बहु-आयामिक प्रयासलाई दिएका छन्।
'इन्फेक्सियस डिजिज केयरु विशेषज्ञ क्लिनिकका डा. अशोक कुरुपका अनुसार यस वर्षको न्यून सङ्ख्या हुनुमा निरन्तर गरिएका हस्तक्षेपहरूको संयुक्त भूमिका छ। जसमा 'ग्य्राभिट्र्याप' द्वारा सिङ्गापुरभरि राखिएका कालो सिलिन्डरहरू (जसले पोथी लामखुट्टेलाई आकर्षित गरेर फसाउँछन्) मार्फत तीव्र निगरानी, 'प्रोजेक्ट वोल्बाचिया'को विस्तारसँगै सुधारिएको कीट नियन्त्रण (भेक्टर कन्ट्रोल) र सामुदायिक सतर्कता सामेल छन्।
'मलाई लाग्दैन कि हामी आँधी आउनु अघिको शान्ति' जस्तो अवस्थामा छौं, किनकि निगरानी र सतर्कता सहितका पूर्व-सक्रिय नियन्त्रण उपायहरूलाई निरन्तरता दिइएको छ,' उनले भने।
डेङ्गु विरुद्ध सिङ्गापुरको मुख्य रणनीति भनेकै कीट नियन्त्रण (भेक्टर कन्ट्रोल) हो, जसको अर्थ तिनीहरूको टाटेपाटे खुट्टाबाट सजिलै चिन्न सकिने पोथी एडिस इजिप्टाई लामखुट्टेको जनसङ्ख्यालाई दबाउनु हो।
डेङ्गु कसरी फैलिन्छ?
-जब पोथी एडिस इजिप्टाई लामखुट्टेले डेङ्गु सङ्क्रमित व्यक्तिलाई टोक्छ, यो आफैं भाइरसको वाहक बन्छ।
-पोथी लामखुट्टेले मात्र टोक्ने गर्छन् किनभने उनीहरूलाई आफ्नो अण्डा विकास गर्न रगतबाट प्रोटिन आवश्यक पर्दछ। तिनीहरू सामान्यतया दिउँसोको समयमा बढी सक्रिय हुन्छन्स विशेष गरी सूर्योदयको केही घण्टापछि र सूर्यास्त हुनुअघि ढिलो दिउँसो।
-यद्यपि, सिङ्गापुर जस्तो राम्रो उज्यालो भएको वातावरणमा यी लामखुट्टेहरूले कृत्रिम प्रकाशमा पनि अनुकूलन गरिसकेका छन् र राती पनि टोक्ने गरेको पाइएको छ।
-भाइरस लामखुट्टेको शरीरमा करिब एक हप्तासम्म विकसित (इन्क्युबेट) भएपछि, उक्त लामखुट्टेले अर्को स्वस्थ मानिसलाई टोक्दा र रगत चुस्ने क्रममा आफ्नो र्याल मानिसको शरीरमा पठाउँदा भाइरस सर्दछ।
डेङ्गु भाइरसका चारवटा सेरोटाइपहरू हुन्छन्
कुनै एक सेरोटाइपबाट सङ्क्रमित हुँदा व्यक्तिलाई उक्त विशेष सेरोटाइपविरुद्ध जीवनभरका लागि इम्युनिटी (प्रतिरोधात्मक क्षमता) प्राप्त हुन्छ, तर बाँकी तीनवटा सेरोटाइपहरू विरुद्ध भने केही महिनाको लागि मात्र अस्थायी सुरक्षा मिल्छ। यद्यपि, त्यो अस्थायी सुरक्षा समाप्त भएपछि, अन्य कुनै पनि सेरोटाइपका कारण हुने दोस्रो सङ्क्रमण अझ बढी गम्भीर र घातक हुन सक्छ।
प्रोजेक्ट वोल्बाचियाको प्रयोग र यसको प्रभाव
अष्ट्रेलिया, ब्राजिल, इन्डोनेसिया र भियतनाम जस्ता देशहरूले सार्वजनिक स्वास्थ्य र पर्यावरणमा कुनै नकारात्मक असर नपारी वोल्बाचिया वाहक लामखुट्टेहरू पहिले नै छोडिसकेका थिए। सोही कुरालाई ध्यानमा राख्दै सन् २०१४ मा एक विशेषज्ञ टोलीले सिङ्गापुरमा यो प्रविधि प्रयोग गर्न समर्थन गरेको थियो।
'वोल्बाचिया बोकेका भाले एडिस लामखुट्टेको यो दृष्टिकोण अन्य नियन्त्रण विधिहरू (जस्तै सम्भावित प्रजनन स्थलहरू हटाउने सामुदायिक प्रयास र उपलब्ध भएमा खोपको प्रयोग) सँग मिलाएर प्रयोग गर्दा सबैभन्दा बढी प्रभावकारी हुनेछ,' डेङ्गु विशेषज्ञ सल्लाहकार टोलीका अध्यक्ष प्रोफेसर ड्वेन गुब्लरले त्यतिबेला भनेका थिए।
थप अनुसन्धान र प्रयोगशाला अध्ययनहरू पछि, सन् २०१६ को अन्त्यतिर ब्राडेल हाइट्स, ट्याम्पाइन्स वेस्ट र नी सुन इस्टका केही भागहरूमा साना स्तरको अध्ययनको रूपमा ुप्रोजेक्ट वोल्बाचियाु सुरु गरिएको थियो।
छानिएका क्षेत्रहरूमा हप्तामा दुई पटक वोल्बाचिया वाहक भाले लामखुट्टेहरू छोडिन्छ। तिनीहरूको आयु छोटो हुने र छोडिएको करिब एक हप्तामा मर्ने भएकाले प्रत्येक हप्ता नयाँ लामखुट्टेहरू छोड्नुपर्ने हुन्छ।
पोथी लामखुट्टेहरूले वोल्बाचिया वाहक भालेहरूसँग संसर्ग गर्दा तिनबाट निस्कने अण्डाहरू कोरल्दैनन्। यसले गर्दा समयसँगै उक्त क्षेत्रमा लामखुट्टेको सङ्ख्या उल्लेख्य रूपमा घट्छ, जसले डेङ्गुको फैलावट रोक्न र त्यो क्षेत्र डेङ्गुको 'हटस्पट' बन्नबाट जोगाउँछ।
लामखुट्टेको जनसङ्ख्यामा ठूलो गिरावट ल्याउन लगातार ३ देखि ६ महिनासम्म लामखुट्टेहरू छोड्नुपर्छ।
प्रोजेक्ट वोल्बाचिया सञ्चालन भएका क्षेत्रहरूमा एडिस इजिप्टाईको सङ्ख्या ८० देखि ९० प्रतिशतले घटेको छ, जसले गर्दा ती क्षेत्रमा बस्ने बासिन्दाहरूमा डेङ्गु लाग्ने जोखिम ७० प्रतिशतभन्दा बढीले कम भएको छ। यहाँसम्म कि लामखुट्टे छोडिएका क्षेत्रका छिमेकी वस्तीहरूमा बस्ने मानिसहरूमा पनि यो जोखिम ४५ प्रतिशतले घटेको छ।
यस परियोजनाको सफलतालाई व्यापक रूपमा स्वीकार गरिएको छ। संसदमा सांसदहरूले आफ्ना क्षेत्रहरूले कहिले यो परियोजनाबाट लाभ पाउनेछन् भनी प्रश्न समेत गरेका छन्। यस वर्षको अन्त्यसम्ममा यो परियोजना सिङ्गापुरका करिब आधा घरधुरी अर्थात् ८ लाख आवासहरू समेट्ने गरी विस्तार गरिनेछ। यद्यपि, यस्तो ठूलो विस्तारलाई समर्थन गर्न सिङ्गापुरलाई भारी मात्रामा लामखुट्टेको आवश्यकता पर्दछ।
सन् २०१९ मा आङ मो कियोमा ५ मिलियन सिंगापुरी डलर (३.९ मिलियन अमेरिकी डलर)को लागतमा नयाँ सुविधायुक्त केन्द्र स्थापना गरेर आफ्नो उत्पादन क्षमता बढाएको थियो, जसले प्रतिहप्ता ५० लाख लामखुट्टे उत्पादन गर्न सक्थ्यो– जुन यसको नेइथल रोडमा रहेको पुरानो केन्द्रको क्षमता भन्दा १० गुणा बढी थियो।
गुगलको सहायक कम्पनी 'डिबग' द्वारा व्यवस्थित दोस्रो केन्द्रले हालैको विस्तारपछि प्रति हप्ता १ करोड (१० मिलियन) यस्ता लामखुट्टेहरू उत्पादन गर्दछ, जुन यसको सुरुवाती क्षमता ६० लाख प्रतिहप्ता भन्दा बढी हो।
वोल्बाचिया विधि मुख्यतया दीर्घकालीन रूपमा लामखुट्टेको सङ्ख्या दबाउने रणनीति हो, किनभने यसले प्रभाव देखाउन महिनौं लाग्छ। त्यसैले यसलाई लामखुट्टेको सङ्ख्या धेरै भएका तर सक्रिय डेङ्गु क्लस्टर (प्रकोप केन्द्र) नभएका क्षेत्रमा प्रयोग गरिन्छ।
तर, गत वर्षदेखि एजेन्सीले परम्परागत नियन्त्रण कार्यहरूलाई सहयोग पुर्याउन सिन मिङ रोड र जुरोङ वेस्टका सक्रिय डेङ्गु क्लस्टरहरूमा पनि वोल्बाचिया-वाहक लामखुट्टे छोड्ने परीक्षण सुरु गरेको छ।
सचेतना, नियम र कडा जरिवाना
वोल्बाचिया दृष्टिकोणले अहिलेसम्म सकारात्मक नतिजाहरू देखाएको भए तापनि, विशेषज्ञ र अधिकारीहरू दुवैले यो कुनै अचुक उपाय (सिल्भर बुलेट) नभएको र यसले अन्य कीट नियन्त्रण विधिहरूसँगै लागू गर्दा मात्र उत्कृष्ट काम गर्ने कुरामा जोड दिएका छन्।
सन् २००५ को प्रकोप (जसमा १४,२०९ मामिलाहरू देखिएका थिए) देखि नै एकीकृत डेङ्गु निगरानी र नियन्त्रण कार्यक्रम चलाउँदै आएको छ। उदाहरणका लागि, त्यस वर्ष डेङ्गु अपरेशनका लागि जनशक्ति चार गुणा बढाएर करिब ५०० पुर्याएको थियो भने निरीक्षणको दरलाई सन् २००४ को मासिक ५५,००० बाट बढाएर प्रतिमहिना ५९,००० पुर्याएको थियो।
त्यसपछिका वर्षहरूमा सङ्क्रमण सङ्ख्या उच्च हुँदा, टाउन काउन्सिल र साझेदार एजेन्सीहरूसँग मिलेर निरीक्षण तीव्र बनाउनुका साथै डेङ्गु क्लस्टर भएका क्षेत्रहरूमा ढल सफा गर्ने र रासायनिक उपचार (केमिकल ट्रीटमेन्ट) गर्ने काम गरियो।
यद्यपि, फगिङ (धुवाँ छोड्ने) जस्ता रासायनिक विधिहरू वातावरणमा पर्न सक्ने नकारात्मक असर र अन्धाधुन्ध प्रयोग गर्दा लामखुट्टेमा कीटनाशक औषधि विरुद्ध प्रतिरोध क्षमता (इन्सेक्टिसाइड रेसिस्टेन्स) विकास हुन सक्ने जोखिमका कारण निकै सोचविचार गरेर मात्र प्रयोग गरिन्छ।
'ग्य्राभिट्र्याप' ले वास्तवमै लामखुट्टेको सङ्ख्या नियन्त्रण नगरे पनि, यसले लामखुट्टेको जनसङ्ख्याको तथ्याङ्क उपलब्ध गराएर निगरानीमा ठूलो मद्दत पुर्याएको छ। सन् २०१३ को परीक्षणमा ३,००० युनिटबाट सुरु भएको यो कार्यक्रम अहिले टापुभरि ७०,००० ग्य्राभिट्र्यापमा विस्तार भइसकेको छ। लामखुट्टेको प्रजनन स्थल पाइएका लापरवाह कम्पनी र घरधुरीहरू विरुद्ध कानुनी कारबाही पनि गरिन्छ।
सन् २०१६ भन्दा अघि, सक्रिय डेङ्गु क्लस्टरमा रहेका र लामखुट्टे उत्पादन गरिरहेका घरहरूलाई मात्र जरिवाना गरिन्थ्यो, तर त्यस वर्षको मार्चदेखि यो जरिवाना डेङ्गु क्लस्टर बाहिरका सबै घरधुरीमा लागू गरियो। सन् २०२० देखि लामखुट्टेको प्रजनन स्थल फेला परेका घर र निर्माण स्थलहरूलाई अझ कडा जरिवाना गर्ने गरिएको छ।
पहिलो पटक गल्ती गर्ने घरधुरीको घरमा धेरै वटा प्रजनन स्थलहरू फेला परेमा अहिले ३०० सिंगापुरी डलर जरिवाना गरिन्छ– जुन पहिले जतिसुकै ठाउँमा लामखुट्टे भेटिए पनि लाग्ने २०० डलरको जरिवाना भन्दा बढी हो। निर्माण स्थल (कन्स्ट्रक्सन साइट) हरूका लागि जरिवाना २,००० डलरबाट बढाएर ३,००० डलर पुर्याइएको छ। बारम्बार नियम मिच्नेहरूलाई जेल सजाय समेत हुन सक्छ।
अधिकारीहरूले धेरैजसो लामखुट्टेको प्रजनन स्थलहरू आवासीय क्षेत्रमा भेटिने गरेको बताएका छन्। घरहरूमा पानी जम्ने फोहोर पाइप (गटर), वर्षाको पानी जम्मा हुने बाल्टिन र लामो समयसम्म पानी नफेरिएका फूलदानीहरू सामान्यतया लामखुट्टे बस्ने ठाउँ हुन्।
डिसेम्बर २०२३ मा, लामो समयसम्म प्रयोग नगरिएको ट्वाइलेट बाउलमा लामखुट्टे पालेको अभियोगमा अदालतमा मुद्दा हारेपछि एक महिलालाई १,४०० सिंगापुरी डलर जरिवाना गरिएको थियो। ती महिलाले आफ्नो घरको निरीक्षण गर्ने अधिकारीहरूलाई ती कीराहरू 'त्यहाँ फुल पार्न आफैं उडेर आएका हुन्' भन्दै आफ्नो गल्तीबाट उम्किने प्रयास गरेकी थिइन्।
यी महिलाको जस्तो व्यवहार निकै सामान्य हो, किनकि सन् २०२० देखि २०२२ को बीचमा प्रत्येक वर्ष घर र जग्गाधनीहरू विरुद्ध ११,००० देखि १६,००० वटा कानुनी कारबाहीहरू गरिएका थिए।
गत वर्ष मात्रै, लामखुट्टेको प्रजननका लागि परिसर मालिक र ओगट्नेहरू विरुद्ध ९,८०० भन्दा बढी कानुनी कारबाहीहरू गरिएका थिए। निर्माण स्थलहरूलाई करिब ८१० वटा जरिवाना र ३७ वटा काम रोक्ने आदेश (स्टप वर्क अर्डर) जारी गरिएको थियो भने बारम्बार अपराध गर्ने ७३ जना ठेकेदारहरूलाई अदालतमा मुद्दा चलाइएको थियो।
खोपको सीमित भूमिका
यसैबीच, खोपले सिङ्गापुरको डेङ्गु विरुद्धको लडाइँमा अपेक्षाकृत सानो भूमिका खेलेको छ।
सन् २०१६ अक्टोबरमा अधिकारीहरूले यस रोगका चारै वटा सेरोटाइपहरू विरुद्ध उपलब्ध पहिलो खोप (डेङ्गभाक्सिया) लाई स्वीकृति दिएका थिए। यद्यपि, यसको प्रयोग पहिले नै डेङ्गु सङ्क्रमण भइसकेको प्रमाणित इतिहास भएका १२ देखि ४५ वर्ष उमेरका व्यक्तिहरूमा मात्र सीमित थियो। पहिले डेङ्गु सङ्क्रमण नभएका व्यक्तिहरूले यो खोप लगाएमा, पछि डेङ्गु भाइरसबाट सङ्क्रमित हुँदा गम्भीर डेङ्गु हुने जोखिम बढी हुन सक्छ।
दोस्रो खोप, 'क्युडेङ्गा' स्वीकृतिका लागि पेश गरिएको थियो तर यसको उत्पादकले पछि आवेदन फिर्ता लियो।
यस वर्षको फेब्रुअरीमा स्वास्थ्य मन्त्री ओङ ये कुङले संसदमा 'डेङ्गभाक्सिया' को आपूर्तिकर्ताले 'विश्वव्यापी रूपमा न्यून मागका कारण' यो खोप बन्द गर्ने निर्णय गरेको बताएका थिए। उनले पहिले नै सिङ्गापुरले यस खोपको प्रयोग दर ट्र्याक नगर्ने कुरा पनि स्पष्ट पारेका थिए।
डेङ्गु सङ्क्रमण कहिल्यै 'शून्य' हुन नसक्नुका कारणहरू
घट्दो डेङ्गु सङ्ख्याले वर्षौंदेखिको रोकथाम र नियन्त्रणको प्रयास सफल भइरहेको सङ्केत गरे तापनि विशेषज्ञहरूले लापरवाही नगर्न चेतावनी दिएका छन् र लडाइँ अझै नसकिएको बताएका छन्।
गत दुई दशकको तथ्याङ्कले देखाउँछ कि कम सङ्क्रमण भएको अवधि पछि धेरै पटक सङ्क्रमणमा ठूलो उछाल आएको छ। उदाहरणका लागि, सन् २०१२ मा ४,६३२ डेङ्गुका मामिलाहरू रेकर्ड गरिएका थिए। अर्को वर्ष, यो झण्डै पाँच गुणा बढेर २२,१७० पुग्यो। सन् २०१६ सम्म वार्षिक ११,००० भन्दा बढी मामिलाहरू रेकर्ड हुँदै सङ्क्रमण उच्च नै रह्यो।
भर्खरै मात्र पनि, सन् २०१८ को ३,२८२ बाट सन् २०१९ मा डेङ्गु सङ्क्रमण बढेर १६,००७ पुगेको थियो। र सन् २०२४ मा, अघिल्लो वर्षको ९,९५० बाट फेरि बढेर १३,६५१ पुग्यो।
मौसम, समुदायमा न्यून रोग प्रतिरोधात्मक क्षमता, कंक्रिटको सहरी वातावरण र हावी हुने सेरोटाइपमा आउने परिवर्तन जस्ता धेरै मुख्य कारकहरूले यी छिटपुट उछालहरूमा योगदान पुर्याएका छन्। सिएनएको रिपोर्ट
प्रतिक्रिया