'हन्टाभाइरस' जो नदीको नाम हो तर आतंकको विम्ब बनेको छ

हन्टाभाइरसको प्रकोप देखिएको एउटा क्रुज जहाज क्यानरी टापु आइपुगेको छ।

एमभी हम्बियस नामको उक्त जहाजसँग सम्बन्धित तीन जनामा भाइरस पुष्टि भएको छ भने पाँच जनालाई संदिग्ध मानिएको छ। पुष्टि भएका केसहरूमा एक डच महिला (जसको मृत्यु भइसकेको छ), दक्षिण अफ्रिकाको सघन उपचार कक्षमा रहेका एक बेलायती यात्री र जुरिचको अस्पतालमा उपचार गराइरहेका एक स्विस यात्री छन्।

संदिग्ध केसहरूमा एक बेलायती पुरुष, एक डच चालक दलका सदस्य र एक जर्मन नागरिक छन्। तीमध्ये दुई जना उपचारका लागि नेदरल्याण्ड पुगेका छन् भने तेस्रो व्यक्ति (जसको अवस्था स्थिर छ) उद्धार उडानमा छन्, जुन उडानमा केही ढिलाइ भएको छ। कसैमा पनि हन्टाभाइरस पोजिटिभ देखिएको छैन, तर दुई जनामा लक्षणहरू देखिएका छन्।

भाइरसको जोखिममा परेका अन्य दुई बेलायती यात्रीहरू घरमै आइसोलेसनमा छन्। अर्जेन्टिनाबाट आन्ध्र महासागर हुँदै केप भर्ड जाँदै गरेको उक्त जहाजबाट उनीहरू यात्राको सुरुवाती चरणमै ओर्लिएका थिए र उनीहरूमा हालसम्म कुनै लक्षण नदेखिएको बेलायतको स्वास्थ्य सुरक्षा एजेन्सीले जनाएको छ।

हन्टाभाइरसको एन्डिज स्ट्रेन के हो?

हन्टाभाइरस दक्षिण कोरियाको एउटा नदीको नामबाट राखिएको हो। यो कुनै एउटा रोग नभएर भाइरसहरूको एउटा परिवार हो। विश्व स्वास्थ्य संगठनका अनुसार यसका २० भन्दा बढी प्रजातिहरू छन्, जुन प्रायः मुसाको सुकेको पिसाब र दिसाबाट मानिसमा सर्छन्।

तर 'एन्डिज भाइरस' भनिने एउटा स्ट्रेन मानिसबाट मानिसमा सर्न सक्ने मानिन्छ, यद्यपि यो एकदमै दुर्लभ हुन्छ। जोहानेसबर्गको अस्पतालमा रहेका बेलायती पुरुष र मृत्यु भएकी डच महिलामा यो एन्डिज स्ट्रेन पुष्टि भएको छ। यो भाइरस मुख्यतया अर्जेन्टिना र चिलीमा पाइन्छ। सन् २०१८ मा अर्जेन्टिनामा एउटा पार्टीमा सहभागी भएका एक व्यक्तिबाट ३४ जनामा यो भाइरस सरेको थियो, जसमा ११ जनाको मृत्यु भएको थियो।

अब के हुन्छ?

डब्लुएचओले यो भाइरस जहाजमा मुसाको सम्पर्कबाट वा मानिसहरूबीचको नजिकको सम्पर्कबाट सरिरहेको हुन सक्ने अनुमान गरेको छ। एन्डिज भाइरस पुष्टि भएसँगै अब यात्री र चालक दलका सदस्यहरूले कोभिड महामारीमा जस्तै 'सामाजिक दुरी' कायम राख्नु अझ महत्त्वपूर्ण भएको छ।

जहाजमा रहेका यात्रीहरूलाई आफ्नै क्याबिनमा बस्न भनिएको छ भने बेलायती नागरिकहरूलाई स्वदेश फर्केपछि 'सेल्फ-आइसोलेट' हुन भनिनेछ। विज्ञहरूका अनुसार संक्रमितलाई छुट्टै राख्ने, नियमित हात धुने र कन्ट्याक्ट ट्रेसिङ गर्ने कार्य रोग नियन्त्रणका लागि महत्वपूर्ण हुनेछन्।

हन्टाभाइरस कसरी सर्छ?

-यो सामान्यतया मुसाको दिसा, पिसाब र र्‍यालको नजिकको सम्पर्कबाट सर्छ।
-प्रायजसो यी पदार्थहरू हावामा मिसिँदा श्वासप्रश्वासको माध्यमबाट मानिसको शरीरमा प्रवेश गर्छ।
-मुसाले टोक्दा पनि यो भाइरस सर्न सक्छ।
-मानिसबाट मानिसमा सर्ने एकमात्र प्रजाति एन्डिज स्ट्रेन हो, जुन लक्षण देखिएका व्यक्तिसँग लामो समयसम्म नजिकको सम्पर्कमा रहँदा मात्र सर्छ।

लक्षणहरू र जोखिम

यसले दुई प्रकारका गम्भीर रोगहरू निम्त्याउन सक्छस् १. हन्टाभाइरस पल्मोनरी सिन्ड्रोम यसको सुरुवात थकान, ज्वरो र मांसपेशी दुखाइबाट हुन्छ। पछि सास फेर्न निकै गाह्रो हुन्छ। एन्डिज स्ट्रेनले निम्त्याउने यो रोगमा मृत्युदर २०-४० प्रतिशतसम्म हुन्छ। २. हेमोरेजिक फिभर विथ रिनल सिन्ड्रोम यसले मृगौलालाई असर गर्छ र आन्तरिक रक्तस्राव वा मृगौला फेल गराउन सक्छ।

के यसको खोप वा उपचार छ?

हन्टाभाइरस संक्रमणको कुनै विशेष उपचार छैन, तर प्रारम्भिक स्वास्थ्य सहयोग (जस्तै: अक्सिजन थेरापी, भेन्टिलेटर) ले ज्यान जोगाउन मद्दत गर्छ। हालसम्म विश्वव्यापी रूपमा उपलब्ध कुनै खोप छैन, यद्यपि चीन र दक्षिण कोरियामा केही विशेष स्ट्रेनका लागि खोपहरू प्रयोग भइरहेका छन्।

विज्ञहरूका अनुसार आम सर्वसाधारणका लागि संक्रमणको जोखिम निकै कम छ र हालसम्म यो जहाजभन्दा बाहिर फैलिएको कुनै प्रमाण फेला परेको छैन। (स्रोत: बीबीसी)

प्रतिक्रिया