अचम्म तर सत्य

आफ्नै डिम्बाशयको क्यान्सर पत्ता लगाएकी रेडियोलोजिस्ट अहिले प्रतिस्पर्धात्मक नृत्य गर्दै

जब डा. एनी ट्यान केन्ड्रिकले आफैंले गरेको अल्ट्रासाउन्डको क्रममा ट्युमरहरू देखिन्, उनलाई थाहा भयो कि त्यो क्यान्सर नै थियो। स्टेज ३ को ओभरियन डिम्बाशयको क्यान्सरलाई जितेको वर्षौंपछि, यी चार सन्तानकी आमाले प्रतिस्पर्धात्मक रूपमा नाच्न सुरु गरेकी छिन्, र अहिले यस रोगबारे जनचेतना जगाउन आफ्ना अनुभवहरु सुनाईरहेकी छिन्।

त्यो दिन जो सन् २०१८ नोभेम्बरको एक शुक्रबार साँझ थियो । डा. एनी ट्यान केन्ड्रिक आफ्नो अन्तिम बिरामीलाई हेरेपछि घर फर्किनुको सट्टा आफैंलाई अल्ट्रासाउन्ड स्क्यान गर्ने निर्णय गरिन्। अल्ट्रासाउन्ड प्रोब (जाँच्ने यन्त्र) आफ्नो पेटमा राखेपछि उनले स्क्रिनमा केही ठूला ट्युमरहरू देखिन्।

'जब मैले मेरो पेल्भिस (तल्लो पेट) मा ठूला ट्युमरहरू देखें, मेरो संसार नै भत्कियो। मैले तुरुन्तै थाहा पाएँ कि मलाई क्यान्सर भएको छ र मेरो जीवन पूर्ण रूपमा उथलपुथल हुन लागेको छ,' डा. ट्यानले भनिन्।

त्यस क्षणमा, ती रेडियोलोजिस्टले आफैंलाई बिरामीको ठाउँमा पाइन्। उनी उन्नत चरणको ओभरियन क्यान्सरसँगको कष्टकर लडाइँको सामना गर्न लाग्दै थिइन्।

अहिले ६२ वर्ष पुगेकी डा. ट्यान प्रायः 'साइलेन्ट किलर' भनिने ओभरियन क्यान्सरबारे सचेतना जगाउन आफ्नो अनुभव बाँडिरहेकी छिन्। 'सिंगापुर क्यान्सर रजिस्ट्री वार्षिक प्रतिवेदन २०२३' अनुसार यो सिंगापुरका महिलाहरूमा हुने छैटौं सबैभन्दा साझा क्यान्सर हो।

डा. ट्यानले सुरुमा आफ्ना चेतावनीका लक्षणहरूलाई बेवास्ता गरेकी थिइन् नाइटोमुनि पेट फुल्ने, कब्जियत हुने र देब्रे खुट्टा भारी तथा दुखेको जस्तो महसुस हुने। 'यसका लक्षणहरू एकदमै सामान्य, अस्पष्ट र रोग नबढुन्जेलसम्म सजिलै बेवास्ता गर्न सकिने खालका हुन्छन्,' उनले भनिन्।

ओभरियन क्यान्सरका अन्य सम्भावित लक्षणहरूमा पेटमा ग्याँस भरिने र अपच हुने, योनिबाट असामान्य रक्तस्राव हुने, पेट फुल्ने र पिसाब सम्बन्धी समस्याहरू हुन्।

निदानपछिको डर र दुःख

थप विस्तृत स्क्यान र ओभरियन ट्युमर मार्करका लागि गरिएको रगत परीक्षणले डा. ट्यानको डरलाई पुष्टि गर्‍योस् यो स्टेज ३ को ओभरियन क्यान्सर थियो। वर्षौंसम्म मेडिकल इमेजिङ (एक्स-रे, स्क्यान आदि) को व्याख्या गरेर बिताएकी रेडियोलोजिस्ट भएकाले, डा. ट्यानको मेडिकल पृष्ठभूमिले उनलाई छिटो कदम चाल्न स्पष्टता र संयमता दियो। यद्यपि, यसको अर्थ यो पनि थियो कि उनले आफ्नो अगाडि कस्तो परिस्थिति छ भनेर पूर्ण रूपमा बुझेकी थिइन्।

'मेरो क्यान्सरको निदानका असरहरू के-के हुन सक्छन् भन्ने कुरा मैले राम्ररी बुझेकी थिएँ, जस्तै शल्यक्रिया र केमोथेरापीका जटिलताहरू, पाँच वर्षमा बाँच्ने दर लगभग ५० प्रतिशत मात्र हुनु र पहिलो दुई वर्षमा रोग बल्झिने सम्भावना ९० प्रतिशत हुनु– त्यसैले म निकै डराएकी, त्रसित र धेरै दुःखी थिएँ,' उनले भनिन्। सीएनए वुमेनसँगको अन्तर्वार्तामा आँसु झार्दै डा. ट्यानले आफ्ना छोराछोरीहरू हुर्केको हेर्न नपाइकनै मर्न सक्छु भन्ने सोचेर लागेको दुःखको सम्झना गरिन्। त्यतिबेला उनकी कान्छी सन्तान मात्र १० वर्षकी थिइन्।

'मैले मेरो सर्जनलाई मेरो कान्छो छोरो वयस्क नहुन्जेल मलाई जीवित राख्न जे गर्नुपर्छ त्यो गर्न भनेको सम्झना छ,' चार छोराहरू (अहिले २९, २६, २४ र १८ वर्षका) की आमाले भनिन्।

ठूलो शल्यक्रिया र कष्टकर उपचार

डा. ट्यानले लगत्तै ठूलो शल्यक्रिया गराइन्, जसको पछि केमोथेरापी र त्यसपछि टारगेटेड थेरापी (लक्ष्यित उपचार) गरियो। उपचारको यात्रा निकै क्रूर र 'हरेक तरिकाले थकाउने' खालको रहेको उनले बताइन्।

सात घण्टा लामो शल्यक्रियाको क्रममा, सर्जनहरूले पाठेघर, डिम्बाशय, लिम्फ नोड्स, उनको दायाँ डायफ्रामको दुईवटा टुक्रा र क्यान्सरले घेरेको उनको ठूलो आन्द्राको ३० सेन्टिमिटर भागसहित शरीरका ११ वटा प्रभावित अंगहरू निकाले।

शल्यक्रियाले उनको छातीको हड्डीदेखि गुप्तांगको हड्डीसम्म एउटा लामो दाग छोड्यो, 'फ्र्यान्केस्टाइन जस्तै,' उनले ठट्टा गरिन्।

शल्यक्रियापछि उनको आन्द्राले काम गर्न छाड्यो र उनी बान्ता नगरी केही खानै सक्दिन थिइन्। धेरै लिम्फ नोडहरू निकालिएकाले उनको शरीरमा अत्यधिक लिम्फेटिक तरल पदार्थ जम्मा भयो, जसले गर्दा दुखाइसहितको सुजन भयो।

केमोथेरापीले हड्डी दुख्ने, टाउको दुख्ने साथै प्लेटलेट र सेतो रक्तकोशिकाको संख्या घट्ने जस्ता साइड इफेक्टहरू ल्यायो, जसको परिणामस्वरूप गम्भीर संक्रमण, अत्यधिक रक्तस्राव र छाला उप्किने समस्या भयो। उनलाई पेरिफेरल न्यूरोपैथी (नसाको क्षति) पनि भयो, जसले गर्दा खाली खुट्टा हिँड्न पनि पीडादायी हुन्थ्यो। उनका आँखाका प्रमेश सहित टाउकोका सबै कपाल झरे। 

शारीरिक पीडा जतिसुकै कठिन भए पनि, मानसिक र भावनात्मक आघात अझ बढी गहिरो थियो।

'आफूले सोचेभन्दा पहिले नै मर्न सकिन्छ भन्ने भावनालाई कसैले कसरी व्यक्त गर्न सक्छ र' उनले भनिन्-'मलाई लाग्छ जब तपाईंसँग आश्रितहरू हुन्छन्, यो अझ गाह्रो हुन्छ। आमाबाबुको रूपमा मेरो काम अझै पूरा भएको थिएन। ती कर्तव्यहरू पूरा गर्न नसक्ने विचार– त्यो अंश धेरै गाह्रो थियो।

उनको सम्पूर्ण उपचार अवधिभर, परिवार र साथीहरू उनको समर्थनका स्तम्भ बने। उनका छोराहरूले अस्पतालमापालैपालो उनीसँगै रात बिताए। उनीप्रति ऐक्यबद्धता जनाउन छोराहरू र केही साथीहरूले आफ्नो टाउको मुन्डन गरे। कोही उनको समर्थनमा क्यान्सर च्यारिटी रनमा पनि सहभागी भए।

ओभरियन क्यान्सरबारे थाहा पाउनुपर्ने ४ कुराहरू

१. प्रारम्भिक लक्षणहरू अक्सर अस्पष्ट हुन्छन् ओभरियन क्यान्सरलाई 'मौन' भनिन्छ किनभने पेट फुल्ने, पाचन प्रक्रियामा समस्या र दिसा बस्ने बानीमा परिवर्तन जस्ता लक्षणहरू निकै सुक्ष्म हुन्छन् र सजिलै बेवास्ता हुन सक्छन्। क्युरी ओन्कोलोजीका मेडिकल ओन्कोलोजिस्ट तथा गाइनोकोलोजिक क्यान्सर ग्रुप सिंगापुरका अध्यक्ष डा। जोन चियाले स्पष्ट लक्षणहरू देखा पर्नु अघि नै ओभरियन क्यान्सर पेटको भित्री भागमा फैलिसक्ने बताए।

२. लगभग २० प्रतिशत ओभरियन क्यान्सर वंशानुगत जीन उत्परिवर्तनसँग जोडिएका हुन्छन् लगभग पाँचमध्ये एक 'हाई-ग्रेड सेरस ओभरियन क्यान्सर'– जुन सबैभन्दा साझा र आक्रामक प्रकार हो, वंशानुगत उत्परिवर्तनहरूसँग जोडिएका हुन्छन्। हाल सर्वसाधारणका लागि ओभरियन क्यान्सरको नियमित स्क्रिनिङ टेस्ट छैन। तर यी वंशानुगत उत्परिवर्तनहरूको उच्च आवृत्तिका कारण, अहिलेको निर्देशिकाले ओभरियन क्यान्सर निदान भएका महिलाहरूलाई पारिवारिक इतिहास भए नभए पनि आनुवंशिक मूल्यांकन, परामर्श र परीक्षणका लागि सिफारिस गर्न सल्लाह दिन्छ, डा. चियाले भने। 

नजिकका नातेदारहरू, जस्तै आमाबाबु, सहोदर भाइबहिनी र उनीहरूका २१ वर्ष पुगेका छोराछोरीहरूलाई पनि परीक्षण गर्न सल्लाह दिइन्छ। यसको कारण यो हो कि उत्परिवर्तन वाहकहरूमध्ये आधाको क्यान्सरको बलियो पारिवारिक इतिहास नहुन सक्छ र पारिवारिक इतिहास भएका बिरामीहरूलाई मात्र स्क्रिनिङ गर्दा उनीहरू छुट्न सक्छन्।

३. नियमित स्त्रीरोग जाँचहरू नछुटाउनुहोस् स्त्रीरोग विशेषज्ञकहाँ जाने कुरालाई दन्त चिकित्सककहाँ गए जस्तै नियमित बनाउनुहोस्, डा. चियाले भने। लक्षणहरू देखा परेपछि मात्र नभई नियमित रूपमा वर्षमा एक पटक जाँच गराउने लक्ष्य राख्नुहोस्। फाइब्रड्स वा एन्डोमेट्रियोसिस जस्ता ज्ञात समस्या भएकाहरूका लागि हरेक छ महिनामा जाने विचार गर्नुहोस्।

४. उपचारको नतिजा सुधारिँदैछ नयाँ उपचारहरू परिष्कृत भएसँगै ओभरियन क्यान्सर अब ूमृत्युदण्डू रहेन, डा. चियाले भने। यसमा एन्टि-एन्जियोजेनिक औषधिहरू र इनहिबिटरहरू जस्ता टारगेटेड थेरापीहरू समावेश छन्, जुन डा. एनी ट्यान केन्ड्रिकले पनि गराएकी थिइन्। पहिलोले ट्युमरलाई पोषण दिने नयाँ रक्तनलीहरूको वृद्धिलाई रोक्छ भने इनहिबिटरहरूले क्यान्सर कोशिकाहरूलाई आफैंलाई मर्मत गर्नबाट रोक्छन्।

ओभरियन क्यान्सरको प्रभाव

डाक्टर र बिरामी दुवैको रूपमा डा। ट्यानको दृष्टिकोण असामान्य हुन सक्छ, तर उनको क्यान्सर यात्रा ओभरियन क्यान्सर भएका महिलाहरूमा अनौठो भने होइन, विशेष गरी उनीहरूमा जसमा रोग फैलिसकेपछि मात्र निदान हुन्छ।

ओभरियन क्यान्सर सिंगापुरमा बढ्दो प्रवृत्ति देखाउने महिला क्यान्सरहरूमध्ये एक हो। सिंगापुर क्यान्सर रजिस्ट्री २०२३ को प्रतिवेदन अनुसार, ओभरियन क्यान्सरको दर सन् १९९८ देखि २००२ सम्मको पाँच वर्षको अवधिमा प्रति १ लाखमा १०.८ रहेकोमा सन् २०१९ देखि २०२३ सम्ममा बढेर प्रति १ लाखमा १२.२ पुगेको छ। निदान गरिएका ओभरियन क्यान्सरका केसहरूमध्ये करिब ४५ प्रतिशत उन्नत चरणमा थिए।

ओभरियन क्यान्सर भोगिसकेपछि, डा. ट्यानले धेरै महिलाहरूले कसरी संघर्ष गर्छन् भन्ने देखेकी छिन् ठूला दागहरू र ठूला आन्तरिक शल्यक्रियाहरू जसले उनीहरूको जीवनको गुणस्तर कमजोर बनाउँछ, रोग बल्झिने जोखिम बढाउँछ र बाँच्ने सम्भावना कम गराउँछ।

उदाहरणका लागि, स्तन क्यान्सरका लागि पाँच वर्ष जीवित रहने दर ८४ प्रतिशत छ भने ओभरियन क्यान्सरका लागि यो दर लगभग ४५ प्रतिशत मात्र छ। आर्थिक तनाव अक्सर अर्को विचारणीय विषय हो, उनले थपिन्, किनकि धेरै बिरामीहरू उपचार र रिकभरीको समयमा काम गर्न असमर्थ हुन्छन्।

वंशानुगत जीन उत्परिवर्तनले ओभरियन क्यान्सरका २० प्रतिशत केसहरू ओगट्ने भएकाले, डा. ट्यान जेनेटिक टेस्टिङ जस्ता प्रतिरोधात्मक उपायहरूलाई अझ व्यापक रूपमा उपलब्ध र किफायती बनाउनुका साथै नयाँ, अझ बढी प्रभावकारी क्यान्सर उपचारहरूको लागत व्यवस्थापन गर्नु फाइदाजनक हुने विश्वास गर्छिन्।

हाल ओभरियन क्यान्सरका लागि कुनै मानक स्क्रिनिङ कार्यक्रम छैन, तर यसै वर्षको डिसेम्बरदेखि वंशानुगत स्तन र ओभरियन क्यान्सरको उच्च जोखिममा रहेका सिंगापुरका नागरिकहरूले अनुदान प्राप्त जेनेटिक परीक्षणमा पहुँच पाउने स्वास्थ्य मन्त्रालयले भर्खरै घोषणा गरेको छ।

नृत्य मार्फत रिकभरीको बाटो

डा. ट्यान आफूलाई 'धेरै भाग्यमानी' ठान्छिन्। आठ वर्ष बितिसक्दा पनि उनको क्यान्सर बल्झिएको छैन। सन् २०२० मा, आफ्नो निदानको दुई वर्षपछि, उनी काममा फर्किइन्, बढी व्यायाम गर्न थालिन् र आफ्नो नियमित फलो-अपहरूको बीचमा यात्रा गर्न थालिन्।

उपचार पूरा गरेदेखि, उनले शारीरिक चाल र व्यायाम, विशेष गरी नृत्यमा शक्ति पाएकी छिन्। डा। ट्यानले अस्टियोपोरोसिस (हड्डी खिइने समस्या) विरुद्ध लड्न सन् २०२१ मा नृत्य गर्न थालेकी थिइन्। हड्डीको क्षति ओभरियन क्यान्सर र यसको उपचारको एक असर हो।

उनी ट्याङ्गो सिक्दै गरेकी आफ्नी एक सहकर्मीसँग सामेल भइन् र सन् २०२४ देखि सिंगापुर र विदेशमा बलरुम र ल्याटिन नृत्य प्रतियोगिताहरूमा आनन्द र आत्म-अभिव्यक्तिको माध्यमको रूपमा भाग लिन थालिन्। उनले आफ्नो उमेर समूहका सबै प्रतियोगिताहरू जितेकी छिन्।

मे १७ देखि १९, २०२६ सम्म, उनी संयुक्त अधिराज्यमा हुने '२०२६ ब्ल्याकपुल डान्स फेस्टिभल'मा प्रतिस्पर्धा गर्दैछिन्।

डा. ट्यानले हप्ताको बिरामी दिनहरू छोडेर दैनिक एक देखि दुई घण्टा अभ्यास गर्छिन्, र डान्स सेसनको बीचमा केही प्रतिरोधात्मक प्रशिक्षण वा योग समावेश गर्छिन्।

क्यान्सर उपचारको वर्षौंपछि पनि डा। ट्यान अझै पनि आफ्नो स्वास्थ्य संकटका शारीरिक सम्झनाहरूसँग बाँचिरहेकी छिन्। उदाहरणका लागि, पेरिफेरल न्यूरोप्याथीले उनको प्रतिक्रिया समयलाई थोरै ढिलो बनाएको छ र उनको सन्तुलन 'पहिले जस्तो राम्रो' छैन।

उनको देब्रे खुट्टामा भएको लिम्फेडेमाले असहज महसुस गराउन सक्छ र लचकतालाई असर गर्न सक्छ। उनको छोटो पारिएको आन्द्राले गर्दा पाचन प्रणाली संवेदनशील भएको छ। आफ्नो डायफ्रामलाई बलियो बनाउन उनी गहिरो सास फेर्ने अभ्यास र कोर व्यायाम गर्छिन्।

क्यान्सरबाट बच्नुको अर्थ 'नयाँ म' सँग समायोजन हुनु हो, डा. ट्यानले भनिन्। 'मानिसले साइड इफेक्ट र शारीरिक सीमितताहरूलाई अनुकूलन गर्ने र व्यवस्थापन गर्ने तरिकाहरू खोज्नुपर्छ। म जे मसँग छैन वा पाउन सक्दिनँ, त्यसमा गुनासो गर्नु भन्दा मसँग जे छ त्यसको कदर गर्न सिक्छु।'

अगस्त २९, २०२६ मा, उनी क्यान्सर अनुसन्धान र बिरामीको हेरचाहलाई सहयोग गर्ने चन्दा संकलन कार्यक्रम फ्यासन फर क्यान्सरको लागि र्‍याम्पमा हिँड्नेछिन्। उठाइएको रकम नेशनल क्यान्सर सेन्टर सिंगापुरको क्यान्सर कोषमा दान गरिनेछ। डा. ट्यानका लागि यो ओभरियन क्यान्सरबारे जनचेतना जगाउने अर्को तरिका हो।

क्यान्सर बल्झिने सम्भावना अझै पनि कायमै रहे तापनि, उनी यसमा अल्झिन चाहन्नन् र जीवन कति अनमोल छ र आफ्नो वरपरका मानिसहरूको दया कस्तो छ भन्ने कुराको कदर गर्न रुचाउँछिन्।

'जीवन धेरै कमजोर छ। यदि तपाईंले त्यसको बारेमा धेरै सोच्नुभयो भने, तपाईं बाहिर निस्कने र आफ्नो जीवन बाँच्ने बारे सोच्न पनि सक्नुहुन्न,' उनले भनिन्। (धन्यवाद न्यानल न्यूज एशिया)

प्रतिक्रिया