समाचार टिप्पणी

गगनका पाउमा वीपीको भरपर्दो जुत्ता

काठमाडौं। नेपाली कांग्रेसका सभापति गगन थापाले यो साताको पहिलो दिनमा दिएको सार्वजनिक मन्तव्यले कांग्रेसभित्र र इतर कांग्रेसवृत्तमा राम्रै चर्चा पाएको छ। विशेष महाधिवेशनलाई अझैसम्म पनि स्वीकार गर्न असमर्थ पुराना कांग्रेस नेता भने सभापति थापाको यो भनाईले निकै नै झस्किएका देखिन्छन्। यतिमात्र होइन हालैको निर्वाचनमा खुम्चिएर विपक्षी बेञ्चमा पुगेको नेपाली कांग्रेसले अब कस्तो राजनीतिक रोडम्याप पक्रिन लागेको भनेर चर्चा गर्न सभापतिका भनाईले बाटो खोलिदिएको छ।

सभापति थापाले आईतबार यसो भनेका थिए, 'मैले आज बीपी कोइरालाले लगाउनुभएको जुत्तामा खुट्टा हालेको छु। यो जुत्ता सबैभन्दा महँगो, बलियो, भरपर्दो हो, यो जुत्तामा खुट्टा हालेको कांग्रेसको सभापतिले देशको समस्याको चिन्तन गर्ने कि घर झगडाको?'

सभापति थापाको यो भनाइ नेपाली राजनीति र विशेषगरी नेपाली कांग्रेसको आन्तरिक शक्ति सन्तुलनमा एउटा ठूलो राजनीतिक तरङ्ग र सांकेतिक सन्देश हो। वीपी कोइरालाको 'जुत्ता' (विरासत) को चर्चा गर्दै उनले उठाएको प्रश्नले पार्टीको आजको दिशाहीनता र देशको मूल संकटमाथि कडा प्रहार गरेको छ। तर, के यसको अर्थ उनी कांग्रेसलाई २०४७ सालको संविधान वा राजतन्त्रमा फर्काउन चाहन्छन्?

यसको प्रष्ट र तिखो राजनीतिक विश्लेषण बुझ्न सकिन्छ। के यो भनाईले कांग्रेस वैचारिक यू-टर्न गर्दै विरासतको नाममा राजतन्त्रको बहस छड्न चाहिरहेको त छैन भन्ने प्रश्न पनि गरिएको छ।

सभपाति थापाले वीपीको जुत्ताको प्रसंग ल्याउँदैमा उनी संवैधानिक राजतन्त्र वा २०४७ को संविधानमा फर्कन खोजेका होलान् भनेर निष्कर्ष निकाल्ने समय यो होइन, उनी नेपाली राजनीतिमा गणतन्त्र स्थापनाका लागि सडक आन्दोलनको नेतृत्व गर्ने र कांग्रेसलाई गणतन्त्रको लाइनमा ल्याउन मुख्य भूमिका खेल्ने फायरब्रान्ड नेता हुन्।

यहाँ वीपीको जुत्ताको अर्थ राजतन्त्र होइन, बरु वीपीको विचार र उचाईको चर्चा होला। वीपी कोइरालाको राजनीतिक कद, उनको अडान, र राष्ट्रियरअन्तर्राष्ट्रिय मुद्दामा उनको स्पष्ट दृष्टिकोणलाई थापाले पछ्याउन खोजेका हुन्।

नैतिकताको राजनीति पनि वीपीले कहिल्यै सत्ताको लागि सम्झौता नगरेको सन्दर्भमा उठाउन खोजिएको हुनसक्छ। थापाले आफ्नै पार्टीका पुराना नेतालाई वीपीको त्यो नैतिक उचाई सम्झाउन खोजेका हुन्।

थापाको भनाइको सबैभन्दा तिखो वाण पार्टीका पूर्व सभापति शेरबहादुर देउवा र उनको समूहमाथि प्रतिलक्षित छ। 'ूयो जुत्तामा खुट्टा हालेको कांग्रेसको सभापतिले देशको समस्याको चिन्तन गर्ने कि घर झगडाको?'

'मैले आज बीपीको जुत्तामा खुट्टा हालेको छु' भन्नुको अर्थ थापा अब कांग्रेसको वैचारिक र व्यावहारिक कमाण्ड आफ्नो हातमा आइसकेको कुरा सम्झाउन खोजिरहेका छन्, उनी पुराना नेता र कार्यकर्तालाई भन्दैछन्- वर्तमान नेतृत्व संकीर्ण छैन तर आफूसँग देश सुधार्ने वीपीकै जस्तो ठूलो सोच छ।

गत निर्वाचनहरू र विकसित राजनीतिक घटनाक्रमले कांग्रेस वैचारिक रूपमा कमजोर र प्रचण्ड वा अन्य दलको बैशाखीमा चलेको आरोप लागिरहेको छ। थापाले कांग्रेस सबैभन्दा 'महँगो, बलियो र भरपर्दो' जुत्ता (पार्टी) हो भन्नुको अर्थ हो, कांग्रेस रक्षात्मक बन्नु पर्दैन, यो आफैंमा देश हाँक्न सक्ने पहिलो शक्ति हो।

कम्युनिष्ट वा नयाँ दलहरूको पछि लाग्नुको सट्टा कांग्रेसले आफ्नै मौलिक प्रजातान्त्रिक समाजवाद र वीपीको विचारको जगमा उभिनुपर्छ।

गगन थापाको यो भनाइ व्यवस्था बदल्ने (गणतन्त्र छोड्ने) नारा होइन, बरु कांग्रेसभित्रको अवस्था र कार्यशैली बदल्ने 'विद्रोह' को शंखघोष हो।

थापाको प्रष्ट सन्देश के हो भने- कांग्रेस वीपी कोइरालाको विरासत बोकेको नेपालको सबैभन्दा बलियो र भरपर्दो पार्टी हो। तर, विगतमा यसलाई गुटबन्दी र सत्ताको फोहोरी खेलमा फसाएर कमजोर बनाइयो। अब यो 'महँगो जुत्ता' लगाएर देशको नेतृत्व गर्ने पालो पुरानो र थाकेको नेतृत्वको होइन, बरु देशको चिन्तन गर्न सक्ने नयाँ पुस्ताको हो। यो विचारको पुनर्जागरण र पार्टीमा आफ्नो पकड मजबूत बनाउने रणनीति हो। -एआइ रचित तस्बिर

यो पनि पढौं- गगनका पाउमा काँचको जुत्ता

प्रतिक्रिया