जनमत

किन मौन छन् देउवा ?

नेपाली कांग्रेसका पूर्ववर्ती सभापति शेरबहादुर देउवा करिब निष्काशनको शैलीबाट पदमुक्त भए। उनका विरुद्ध पार्टीमा एक हिसाबले सशक्त विद्रोह भयो, वैधानिक विद्रोह। उनले नचाहेको विशेष महाधिवेशनले भारी बहुमतका साथ सभापति पदबाट देउवालाई बिदा दियो। 

नेपाली कांग्रेसमा विशेष महाधिवेशन र त्यसले लिएको निर्णयको राजनीतिक घटना सामान्य थिएन। असामान्य भएकैले देउवा कार्यबाहक सभापति पूर्णबहादुर खड्कालाई साथमा लिएर विशेष महाधिवेशनको निर्णयविरुद्ध सर्वोच्च अदालत पुगेका। उनले माग गरेअनुसार आदेश जारी भएन। 

देशमा असामान्य र अति तरल परिस्थितिमा आइलागेको प्रतिनिधिसभा निर्वाचनको संघारमा पार्टीसत्ता बदलियो, देउवा निरस्त्र बने। 

देउवा आफ्नै नेतृत्वमा पार्टीलाई प्रतिनिधिसभा निर्वाचनमा लैजान चाहन्थे। सार्वजनिक भएको समाचारअनुसार यसपालि अन्तिम पटक प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवार बन्ने उनको इच्छा थियो। बदलिएको पार्टीसत्ता अस्वीकार गरेर अदालत गएपछि उनको इच्छा पूरा हुन पाएन। अदालतको फैसला पर्खिनुबाहेक उनीसँग केही पनि रहेन। 

विशेष महाधिवेशनपछि देउवा निष्क्रिय झैँ देखिएका छन्। 

पार्टीमा भएको यस्तो असामान्य घटनामा देउवा किन मौन छन्? सार्वजनिकरूपमा किन कतै बोल्दैनन्? सार्वजनिक अभिव्यक्तिको के कुरा, आफ्ना अति निकटस्थहरूसँग पनि विशेष महाधिवेशनप्रति असन्तुष्टि जनाउनेबाहेक केही पनि बोलेका छैनन्। 

अति असाधारण परिस्थितिको पृष्ठभूमिमा देश प्रतिनिधिसभा निर्वाचनको संघारमा छ। देउवा पार्टीबाट निकालिएका होइनन् तर निर्वाचनप्रति निरपेक्ष देखिन्छन्। चुनावी मैदानमा नयाँ दल र पुराना दल भन्ने जबर्जस्त भाष्य बनेको छ। 

भाष्य कस्तो छ भने पुराना सबै नालायक भए, भ्रष्टाचारी भए, देश बर्बाद पारे; नयाँ आएपछि देशमा द्रुत गतिमा विकास हुनेछ, कोही पनि युवा बेरोजगार बस्नुपर्ने छैन, कामको खोजीमा विदेश जानुपर्ने छैन, भ्रष्टाचारी जति सबै फटाफट जेल पु¥याइने छन्। 

चुनावी मैदानको हावा यही भाष्यतिर बगेको देखिन्छ। 

विद्यार्थी जीवनदेखि संघर्ष गरेर, जेलनेल खेपेर राज्यसत्ता र पार्टीसत्ता चलाएका देउवा आफ्नो पार्टी नेपाली कांग्रेसले निर्वाचनमा बहुमत ल्याएको देख्न चाहँदा हुन्। बहुमत नभए पनि ठूलो दल बनोस् भन्ने त अवश्य चाहँदा हुन्। 

तर देउवा निष्क्रिय देखिन्छन्, मौन छन्!

देउवा मात्रै होइनन्, विशेष महाधिवेशनमा विपक्षमा खरो ढंगले उभिएका उनीनिकटस्थ केही नेताहरू पनि मौन छन्, करिब निष्क्रियताकै तहमा। 

आखिर देउवा किन यसरी मौन छन्?  

अदालतको भर: सम्भवतः देउवा सर्वोच्च अदालतबाट विशेष महाधिवेशनका विपक्षमा फैसला हुने र आफ्नो पार्टीसत्ता फर्किने अपेक्षामा छन्। उनको पक्षमा फैसला भए पनि फैसलाअघिको पार्टी गतिविधि फिर्ता हुनेछैन तर देउवा सभापति पदमा पुनस्र्थापित हुनेछन्। 

उनले आफू पार्टीसत्तामा फर्किएपछिको सन्तुलनका लागि मौन बस्नु उचित ठानेका हुन सक्छन्।

पार्टीसत्ताको अवसर: अदालतको फैसलाबाट पार्टीसत्ता आफूमा फर्किए तत्कालीन महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मामाथि भएको निष्काशनको कारबाही कार्यान्वयन हुनेछ। त्यस अवस्थामा सिंगो पार्टी आफ्नो नियन्त्रणमा रहनेछ भन्ने अपेक्षा देउवाको हुन सक्छ। 

शक्ति परीक्षण: सम्भवतः देउवा पार्टीमा दुई पक्षको शक्ति परीक्षण गर्न चाहन्छन्। उनको नेतृत्वमा भएको गत निर्वाचनमा नेपाली कांग्रेस प्रतिनिधिसभाको पहिलो दल बनेको थियो। 

सकेसम्म पार्टीलाई बहुमतमा पु¥याउनु, त्यसो नभए कम्तीमा पहिलो दलमा कायम राख्नु नयाँ नेतृत्वका लागि मुख्य हाँक हो। यो हाँक अनुसारको परिणाम आउन नसके देउवाको तर्क बलियो हुनेछ। त्यसैअनुसार प्रतिक्रिया जनाउने उनको विचार हुन सक्छ। 

स्वाभाविक मानवचरित्र: आफू पार्टीसत्तामा नरहे पनि आफ्नो पार्टीले सकेसम्म बहुमत ल्याउन सकोस्, नभए कम्तीमा  ठूलो दल बनोस् भन्ने त अवश्य चाहँदा हुन् भन्ने अनुमान गर्न सकिन्छ। 

सामान्यतया मानव मनोविज्ञान यसविपरीत हुन्छ। मान्छेमा मोह, क्रोध, ईष्या, अहंकार लगायतको संवेग हुन्छ। देउवामा पनि यस्तो संवेग हुने नै भयो। 

प्रत्येक व्यक्ति नेता, सभापति, मन्त्री, प्रधानमन्त्री, न्यायाधीश, राष्ट्रपति इत्यादिभन्दा बढी संवेगयुक्त मान्छे हो। संवेग सन्तुलनमा राख्ने क्षमता मात्र फरक हुने हो। 

मानवचरित्रको यो स्वाभाविक कोणबाट हेर्दा देउवा पनि नेतृत्व परिवर्तमा खुच्चिङ गरेर आत्मरतिमा रमाउन सक्छन्। 

निजी चरित्र: देउवा आफूलाई चित्त नबुझेको कुराका झडंग गर्छन्, तातो तर अति छोटो क्रोध देखाउँछन्। यसबाहेक उनी शान्त मिजासका नेता हुन्। 

उनी सार्वजनिक रूपमा कसैमाथि गालीको वर्षा गर्दैनन्। दुर्वाच्य र घृणास्पद अभिव्यक्ति उनको स्वभाव नै होइन। सार्वजनिक कार्यक्रममा छोटो बोल्छन्। लामो र घुमाउरो व्याख्या उनको चरित्रमा पर्दैन। जे भन्नु छ त्यो छोटोमा सिधै भन्छन्। 

घटनाहरूमा हतपत प्रतिक्रिया नजनाई मौन बस्नु उनको खास चरित्र हो। समकालीन नेताहरूमा उनीजति शान्त अर्को छैन भन्नु अत्युक्ति हुने छैन।  

गत भदौ २४ गतेको अराजक विध्वंशमा शीर्ष नेताहरूमध्ये उनको जति क्षति सम्भवतः अरूको भएन तर देउवा मौन छन्, शान्त छन्, निरपेक्ष छन्; मानौँ कि भदौ २४ मा उनीमाथि केही पनि भएन। आध्यात्मिक गुरुहरू भन्छन्– मौनता जति बलियो शक्ति अर्को छैन। 

देउवा फलित ज्योतिषमा बडो विश्वास गर्छन्, अध्यात्ममा उनको रुचि कस्तो छ भन्ने थाहा छैन तर जानेर वा नजानेर उनमा गहिरो आध्यात्मिक चेत देखा पर्छ। 

मौनता बोल्न नजान्नुको परिणमा वा बोल्न नचाहनु मात्र होइन, शक्तिको बलियो स्रोत समेत हो। समकालीन नेतामा मौनताको शक्तिको ज्ञान देउवालाई जति अरू कसैलाई छैन। 

आगामी परिणामहरू आफ्नो विपक्षमा भए मौन रहनुजत्तिको बुद्धिमानी र बलियो अस्त्र अर्को हुने छैन भन्नेमा देउवा पूराका पूरा सचेत देखिन्छन्। परिणामहरू आफ्नो पक्षमा भए नबोलीकनै सबै काम फत्ते हुन्छ भन्नेमा उनी झन् बढी सचेत देखिन्छन्।

यसो हो भने किन बकबक गरिहरनु!

अनेक गुण–दोषका बीच देउवा यति चेतना भएका बलिया नेता हुन्। यसैकारणले त बितेका तीस वर्षदेखि उनी अल्पभाषी छन्। 

तर निर्वाचनमय हुँदैगएको राजनीतिक मैदानमा भने देउवाको मौनता नै चर्चाको बिषय बनिरहेको छ। तीनदशकदेखि सक्रिय राजनीतिक खेलाडी रहेका देउवा मैदानबाहिर रहनुले पनि यसरी चर्चा गरिएको हुनसक्छ।

खासगरी विशेष महाधिवेशनबाट वैधानिक विद्रोह गरेर नयाँ नेतृत्व चुनिनु र विशेष महाधिवेशनका विपक्षमा खरो तरिकाले उभिए पनि नयाँ नेतृत्वको हस्ताक्षर भएको मनोनय पत्र लिएर निर्वाचनमा प्रतिष्पर्धा गर्न जानुपरेका कतिपय नेताले देउवाको मौनता तोडिन जरुरी ठानेका छन्। 

प्रतिक्रिया