कीर्तिपुर डाँडाका दुइ नामः एक चम्किँदै अर्को सुस्ताउँदै

कीर्तिपुर डाँडाका दुइ नाम क्रिकेट र विश्वविद्यालय । देशको पहिलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालय नागार्जुनको डाँडाले घाम छेकिएपछिको गोधुली छाँयाँमा पर्दैआएको निकै नै भैसकेको छ । नामले जेठो भएपनि यो विश्वविद्यालयलाई काम र सुनामले जेठो हुन दिईएन भन्दा अन्यथा हुने छैन । 

दलीय राजनीतिको दलदलमा जबरजस्ती धकेलेका कारण विश्वविद्यालयले शीर उठाउनै पाएन । एकसेएक मेधावी विद्यार्थी र उस्तै उम्दा प्राध्यापकहरुले खुम्चिएरै टाक्सिएरै आफ्नो प्रतिभाले आफैं थिचिनु परेको पिरो कथा आँतमा समेटेको छ यो विश्वविद्यालयले । निर्वाचन क्षेत्रहरु कब्जामा लिए जसरी विश्वविद्यालयमाथि पनि कब्जा जमाउने कुत्सित उदेश्य पूरा गर्न पुस्तकालयमा आगो झोस्ने काम पनि गरिएको पीडा यो विश्वविद्यालयले बेहारेको छ । त्यसैले यो जेठो भएर पनि रुग्ण देखिन्छ विश्वविद्यालय । यसको कथा निकै लामो छ, जसको संक्षिप्त चर्चाले उमाथि न्याय गर्न सक्दैन ।

तर यता झण्डै नाती पुस्ताको नाम भएपनि क्रिकेटले बाजे पुस्ताको पहिलो विश्वविद्यालयलाई ओझेलमा पारेको छ । नेपाल एकीकरण पछि विश्वविद्यालयकै नामले सुपरिचित कीर्तिपुरको काखमा भर्खर हुर्कँदै गरेको क्रिकेट हलक्क बढ्न थालेको छ । यसले पूर्वाधार पनि पाएको छ र देशैभरीको माया पनि जुटाएको छ । सरकारले पछिल्लो समयमा आएर जसरी क्रिकेटको महत्व बुझेको छ, त्यसैगरी विश्वविद्यालयलाई पनि दलीय राजनीतिको अवाञ्छित प्रभावबाट पूर्ण रुपले मुक्त गरिदिएर प्राज्ञहरुको जिम्मा सुम्पियो भने विश्वविद्यालयले पनि झुकेको शीर उठाउन पाउने छ । यसले स्वतन्त्र हैसियतमा आफ्नो कर्म पायो भने देशले ठूलो लाभ पाउन सक्ने छ भने संसारभरका शोधार्थी र अनुसन्धातालाई नेपालतिर आकर्षित गर्ने छ । क्रिकेट चम्किरहेको अवसरमा सरकारले प्राज्ञिक थलो विश्वविद्यालयलाई पनि उसैगरी महत्व दिन यो उपयुक्त समय हो ।

अहिले क्रिकेटकै ताजा प्रसंग छ । नेपाल क्रिकेट एशोशिएशन (क्यान) ले नेपाल प्रिमियर लिग एनपिएलको पहिलो पटक आयोजना गरेर नेपाललाई खेलक्षेत्रमा निकै चर्चित बनाएको थियो । यस पटक त्यसको दोस्रो संस्करण आयोजना गर्दा कीर्तिपुरको पुरानो मैदान आधारभूत सुविधा सहित रंगशालामा परिणत हुनसक्यो । हाम्रो सन्दर्भमा यसलाई निकै ठूलो उपलव्धि मान्नुपर्छ भन्ने लाग्दछ । क्यानको टिम यसका लागि धन्यवादको पात्र बनेको छ । अनेक नकारात्मक प्रसंगहरुको चर्चा गरेर देश बस्न लायक रहेन भनेर निराशाको खेलोफड्को गर्ने तत्वलाई क्यानको यो कर्म ठोस जवाफ हो भने उदाहरणीय सफलताको कथा पनि हो । देशका अरु विधा र बिषयहरुले पनि यसबाट पाठ सिकेर सफलताका कथा लेख्न अग्रसर हुनुपर्ने बेला आएको   छ । 

झण्डै तीन दशकअघि नेपालले औपचारिक अन्तर्राष्ट्रिय क्रिकेट यात्रा सन् १९९६ मा सुरु गरेकोमा अहिले निकै प्रगति गरेको मान्न सकिन्छ । अनेकौं अस्थिरता र कमजोर व्यवस्थापनको मार खेप्दै क्रिकेट यहाँसम्म आईपुगेको हो । पहिलो ठूलो अन्तर्राष्ट्रिय अवसर एसिसी (एशियाली क्रिकेट परिषद्) स्तरीय प्रतियोगितामा आयो, जहाँ नेपालले अन्य एसोसिएट देशहरूका साथ प्रतिस्पर्धा गर्‍यो। संसाधन, तालिम, संरचनागत सीमितताहरू निकै थिए तैपनि यी शुरुवाती वर्षहरूमा क्रिकेटले आफ्नो यात्रा रोकेन। 

नेपाली क्रिकेटले निकै ठूलो उतारचढाव अनुभव गरेको सुनाउँछन् भुक्तभोगीहरु । यसले कहिले धिमा गति  लियो त कहिले संघ, प्रशासन वा आर्थिक स्रोतको चुनौती भोग्यो । यसले इतिहासमा विवाद, निलम्बन पनि भोगिसकेको छ जसले खेलको बिकासमा  बाधा पुर्‍याएको थियो। यति हुँदाहुँदै पनि क्रिकेटको महिला र पुरुष राष्ट्रिय टिमहरुले देशलाई खुशी दिएका छन्  भने नवप्रतिभाहरुलाई यो खेलमा भविष्य छ भन्ने सन्देश पनि प्रसार गरेका छन् । 

घरेलु प्रतिस्पर्धा पनि विस्तार भएको छ । नयाँ राष्ट्रिय प्रतियोगिताहरू स्थापना भएका छन्, सँगसँगै नयाँनयाँ प्रतिभाहरु पनि जन्मदै गएका छन् । पूर्वाधारहरु पनि बन्न थालेका छन् । कीर्तिपुरमा बनेको नयाँ सुविधासम्पन्न रंगशाला एउटा ताजा उदाहरण हो । त्यसैगरी काठमाडौंकै मुलपानीमा अर्को रंगशाला बन्ने तरखरमा छ ।  जहाँ भविष्यमा अन्तर्राष्ट्रिय स्तरका खेलहरू आयोजना गर्न सकिने छ । नयाँ खेलाडीलाई उपयुक्त तालिम, दक्ष प्रशिक्षकको प्रवन्ध र तालिम प्रणालीमा समय अनुकूलको सुधार हुन आवश्यक देखिन्छ ।

नेपालमा धेरै युवा प्रतिभाशाली क्रिकेटर छन् र राम्रो घरेलु प्रतियोगिता आयोजना गरेर अन्तर्राष्ट्रिय खेलहरुमा सहभागिता बढाउनाले उनीहरूको क्षमता विकास हुन सक्छ। त्यसैगरी  नेपाली क्रिकेटले आफ्नो ब्रान्ड र लोकप्रियता बढाउन सके, खेलाडीहरूलाई आकर्षित गर्न व्यावसायिक प्रतियोगिताहरु आयोजना गर्न सकेमा यसको भविष्य राम्रो देखिन्छ । प्रशासनिक सुधार, क्यानको पारदर्शितामाथि उठ्ने गरेका प्रश्नको निदान र क्यानको नेतृत्वमा खेलको प्रचूर ज्ञान अहिलेको चर्चित प्रसंगहरु मानिएका छन् ।

इतिहासले प्रष्ट पारेको छ, नेपाली क्रिकेट प्रारम्भिक अवस्थाबाट निकै अगाडि आएको छ । त्यो संघर्ष र सीमित स्रोतका बाबजुद, राष्ट्रिय टोलीले महत्वपूर्ण अन्तर्राष्ट्रिय सफलता हासिल गरेको छ। हालको अवस्था उत्साहित गर्ने किसिमको छ । नयाँ घरेलु प्रतियोगिता, नयाँ रंगशालाको विकास र अन्तर्राष्ट्रिय जीतले भविष्यका लागि आधार तयार गर्दैछ। भविष्यमा, यदि रणनीति राम्ररी बनाइयो र लगानी, प्रशासन, तालिम, पूर्वाधारमा निरन्तर काम भयो भने, नेपालले एसोसिएट देशभन्दा अगाडि बढेर अन्तर्राष्ट्रिय क्रिकेटमा अझ ठूला सफलताहरू हासिल गर्न सक्छ।

यहाँ अर्को निकै सान्दर्भिक प्रसंग के हो भने नेपाल सरकारले खेल कुटनीतिलाई उच्च महत्व दिएको पाईँदैन । यसको महत्व नबुझेर हो कि यसको उपयोग गर्न नसकिएको हो छिमेकी र मित्र राष्ट्रहरुसँग भएको खेल क्षमताबाट नेपालले लाभ लिन पाईरहेको छैन । विश्वका विभिन्न देशहरुमा रहेका नेपाली दूतावास र अवैतनिक कुटनीतिक निकायहरुलाई परिचालन गरेर नेपालले खेलक्षेत्रको समग्र बिकासमा उन्नति गर्न सक्छ । यसतर्फ सरकार र खासगरी परराष्ट्र मन्त्रालयको ध्यान जान जरुरी छ । 

आजबाट सुरु हुँदैगरेको एनपिएल दोस्रो संस्करणको क्रिकेट प्रतियोगिताले हालैको जघन्य हिंसा र विध्वंशबाट आहत बनेको नेपाली मनमा अलिकति नै भएपनि खुशी प्रसार गर्ने छ भनेर आशा गर्न सकिन्छ । यो प्रतियोगितालाई देश र देशबाहिर रहेका नेपाली सहित विश्व क्रिकेट जगतले समेत ध्यानपूर्वक नियाली रहनु आफैंमा खुशीको कुरा हो । कीर्तिपुर रंगशालामा ठडिएका फलामे खम्बामा जडित फ्लडलाईटको प्रकाशले पुरै कीर्तिपुर प्रकाशित हुनसकोस् । यो प्रकाशले ओझेलमा परेको जेठो विश्वविद्यालय सहित समग्र प्राज्ञिक समुदायलाई पनि प्रकाशित गरोस्, यो अवसरमा यही शुभकामना । 

जय नेपाली क्रिकेट !

प्रतिक्रिया