काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले कम्युनिस्ट एकता गरेर समाजवाद यात्रा सुरु गर्छौं भनेका छन्। आइतबार मुसिकोट नगरपालिका–१० खर्सुपानीमा एउटा कार्यक्रममा बोल्दै दाहालले समाजवादको यात्रा सुरु गर्ने उद्घोष गरेका हुन्।
पूर्व प्रधानमन्त्री दाहालको यो अभिव्यक्ति र वर्तमान नेपाली राजनीतिको धरातलबीच निकै ठूलो ग्याप देखिन्छ। एकातिर 'क्रान्तिका अधुरा सपना' र कम्युनिष्ट एकताको पुरानै लय छ भने अर्कोतिर बदलिँदो जनसांख्यिक र चेतनाको लहर छ।
पछिल्लो संसदीय निर्वाचनपछि नयाँ पुस्ता र क्रान्तिको परिभाषामा भिन्नता देखा परिसकेको छ। आजको युवा, विशेषगरी गएको निर्वाचनमा पहिलो पटक मतदान गरेका डिजिटल पुस्ताका लागि क्रान्ति भनेको बन्दुक, जुलुस वा व्यवस्था परिवर्तन होइन। उनीहरूका लागि क्रान्ति भनेको अवसरको उपलब्धता: समयमै मल, बीउ, र रोजगारी पाउनु हो। प्रविधि र गुणस्तर: विश्वस्तरको शिक्षा र सुलभ स्वास्थ्य सेवा उपलव्ध हुनु हो। सुशासन: सरकारी कार्यालयमा लाइन बस्नु नपर्ने र भ्रष्टाचारमुक्त समाज स्थापना हुनु हो।
यस्तो परिवर्तनको सोच बनिसकेको नयाँ पुस्ताका लागि दाहालले भन्ने गरेको 'अधुरो क्रान्ति' शब्दले युवाहरूलाई आकर्षित गर्नुको साटो झन् 'भ्रम' सिर्जना गर्छ। युवाहरू 'समाजवाद' को सैद्धान्तिक बहसभन्दा 'डेलिभरी' खोजिरहेका छन्। त्यसैले, पुराना शब्दजालले नयाँ मतदातामा कुनै जादु गरिरहेको छैन, त्यस्तो सम्भावना अब घट्दै गएको प्रष्ट देखिन्छ।
कम्युनिस्ट एकताको कुरा सुन्दा जति सुन्दर लाग्छ, व्यवहारमा यो केवल 'सत्ता समीकरणको गणित' जस्तो देखिएको छ। पटक-पटक फुट्ने र जुट्ने क्रमले जनतामा विश्वासको सङ्कट पैदा गरेको छ। जब-जब दलहरूको लोकप्रियता खस्किन्छ, तब-तब 'एकता' को कार्ड फ्याँकिन्छ।
विगतका एकताहरू विचार र सिद्धान्तभन्दा पनि पद र शक्ति बाँडफाँडमा केन्द्रित भएको तथ्य लुकेको छैन। निर्वाचनमा कम्युनिस्ट दलहरूको लोकप्रियता घट्नुको मुख्य कारण 'पुरानो शैली र नयाँ समस्या' बीचको द्वन्द्व हो।
अर्को कुरा आउटडेटेड एजेन्डा निर्वाचनमा अस्वीकार गरिएको छ। २०५२ सालको विद्रोह वा २०६२-६३ को आन्दोलनको ब्याज अझैसम्म खाइरहन खोज्नु उनीहरूको ठूलो कमजोरी हो।
अर्कातिर उनीहरुको डेलिभरीमा फेल भैसकेको छ। सरकारमा रहँदा ठोस परिवर्तन देखाउन नसक्नु र नीतिगत भ्रष्टाचारमा नाम जोडिनुले 'समाजवाद' को नारालाई गिज्याइरहेको छ।
निर्वाचनपछि नयाँ विकल्पको उदय भैसकेको छ, परीक्षण जारी छ। पुराना दलहरूले उही पुरानो भाषण गरिरहँदा, नयाँ शक्तिहरूले प्रत्यक्ष समस्या समाधानको कुरा गरेर युवाहरूको मन जितिरहेका छन्।
पटक पटक प्रधानमन्त्री भैसकेका दाहालले अझै पनि बाँकी रहेका कम्युनिस्टलाई पनि एकताबद्ध गर्छौँ भन्नु एउटा रणनीतिक गफ मात्रै हो। किनभने बजारमा नयाँ स्टार्टअप आएजस्तै राजनीतिमा पनि नयाँ विचार आइसकेका छन्, तर पुराना दलहरू अझै मोनोपोली कायम राख्न खोज्दैछन्। शान्ति सम्झौता र संविधानसभाको पक्षधरलाई मिलाउने कुरा सेफ ल्यान्डिङको बाटो मात्रै हो।
दाहालको यो भनाइ वर्तमान राजनीतिमा सान्दर्भिक भन्दा पनि रक्षात्मक बढी देखिन्छ। पुराना कम्युनिष्ट नेताहरूले अब बुझ्नुपर्ने कुरा के हो भने: जनता अब 'वाद' को सपना होइन, 'काम' को परिणाम चाहन्छन्।
यदि उनीहरूले आफ्नो शैली, संगठनको स्वरूप र डेलिभरीको मोडल परिवर्तन गरेनन् भने, यस्ता 'क्रान्तिका सपना' केवल इतिहासका पुस्तकमा सीमित हुनेछन्। युवाहरूले अब भाषणमा 'लाल सलाम' होइन, देशमै 'सुनौलो भविष्य' खोजिरहेका छन्।
"महान जनयुध्द" का 'कमाण्डर प्रचण्ड' जब माओवादी पार्टीको वस्त्र आफ्नो शरीरबाट उतारे, त्यसपछि न उनी 'प्रचण्ड' रहीरहे न त उनको क्रान्तिको नारा उम्रने जमिन नै बाँकी रहेको छ। बदलिएको राजनीतिक सन्दर्भमा दाहाल र अरु वामपन्थी दलहरुले आफ्नो विगतको राम्रैसँग समीक्षा गर्दा उत्तम हुने छ।
प्रतिक्रिया