नेपाल विविधताको देश हो। यहाँ भाषा फरक छन्, संस्कृति फरक छन्, आस्था फरक छन्, तर हाम्रो साझा परिचय एउटै छ—हामी नेपाली हौँ। यही विविधताबीचको एकता नै हाम्रो सबैभन्दा ठूलो शक्ति हो। त्यसैले कुनै एक स्थानमा देखिएको तनावले यदि धार्मिक वा साम्प्रदायिक अविश्वासको रूप लिन थाल्यो भने त्यसले एउटा गाउँ, एउटा जिल्ला वा एउटा प्रदेश मात्र होइन, सम्पूर्ण राष्ट्रलाई असर पार्न सक्छ।
कोशी प्रदेशको सुनसरीस्थित देवानगञ्जबाट सुरु भएको तनाव अझै पूर्ण रूपमा साम्य हुन सकेको छैन। घटनाका कारण र जिम्मेवारी कानुनी प्रक्रियाले निर्धारण गर्ने विषय हुन्। तर अहिलेको सबैभन्दा ठूलो आवश्यकता दोषारोपण होइन, तनावको अन्त्य हो। किनभने कुनै पनि समाजमा हिंसाको पहिलो सिकार सत्य बन्छ, दोस्रो सिकार विश्वास, र अन्ततः सिंगो समाज नै घाइते हुन्छ।
नेपालले विगतमा अनेक राजनीतिक आन्दोलन, हिंसात्मक सशस्त्र द्वन्द्व, प्राकृतिक विपत्ति र सामाजिक संकटहरू भोगेको छ। ती सबै अनुभवले एउटा गहिरो पाठ सिकाएका छन्- संवादले समाधान दिन्छ, उत्तेजनाले विनाश निम्त्याउँछ। जब भावनाले विवेकलाई जित्न थाल्छ, तब अफवाहले तथ्यलाई विस्थापित गर्छ, सामाजिक सञ्जालमा फैलाइने अपुष्ट सामग्रीले समुदायबीचको दूरी बढाउँछ, र केही सीमित स्वार्थ समूहले यही अस्थिरतालाई आफ्नो अवसरमा बदल्ने प्रयास गर्छन्।
यही कारण आज प्रत्येक नागरिकको भूमिका पहिलेभन्दा बढी महत्त्वपूर्ण भएको छ। शान्ति कायम गर्ने जिम्मेवारी केवल सरकार, सुरक्षा निकाय वा राजनीतिक दलको मात्र होइन। शिक्षक, धर्मगुरु, पत्रकार, सामाजिक अभियन्ता, स्थानीय नेतृत्व, युवा र आम नागरिक—सबैले संयमता, सत्य र सद्भावको पक्षमा उभिनुपर्छ। हामीले सुनेका हरेक कुरा सत्य हुँदैनन्, देखेका हरेक दृश्यको सम्पूर्ण पृष्ठभूमि हुँदैन। त्यसैले कुनै पनि सूचना साझा गर्नुअघि त्यसको सत्यता जाँच्नु अहिले नागरिक कर्तव्य नै बनेको छ।
यसबीच काठमाडौंमा सर्वदलीय छलफल हुनु सकारात्मक संकेत हो। यस्ता संवाद केवल औपचारिकतामा सीमित नहोस्। सबै राजनीतिक शक्ति, स्थानीय समुदायका प्रतिनिधि, धार्मिक अगुवा र नागरिक समाजले मिलेर तनाव घटाउने साझा प्रतिबद्धता देखाउन आवश्यक छ। राज्यले कानुनको निष्पक्ष कार्यान्वयन गर्दै दोषीमाथि कारबाही गर्नुपर्छ, तर निर्दोष समुदायमाथि शंका र घृणाको वातावरण बन्न दिनु हुँदैन। कानुनले व्यक्तिको जिम्मेवारी निर्धारण गर्छस कुनै समुदायलाई सामूहिक रूपमा दोषी ठहर गर्न सक्दैन।
इतिहासले देखाएको छ- धार्मिक वा साम्प्रदायिक द्वन्द्व सुरु गर्न धेरै समय लाग्दैन, तर त्यसले छोडेका घाउ निको पार्न पुस्तौँ लाग्न सक्छ। एकचोटि विश्वासको पुल भत्कियो भने त्यसलाई फेरि निर्माण गर्न केवल बजेट पर्याप्त हुँदैनस त्यसका लागि समय, धैर्य, परस्पर सम्मान र आपसमा विश्वास चाहिन्छ। त्यसैले आजको संयमता भोलिको राष्ट्रिय स्थिरताको लगानी हो।
हामी सबै सचेत हुनुपर्ने अर्को पक्ष पनि छ। हरेक संकटमा केही व्यक्ति वा समूहले आफ्नो राजनीतिक, वैचारिक वा अन्य स्वार्थ पूरा गर्ने अवसर खोज्न सक्छन्। धमिलो पानीमा माछा मार्ने यस्ता प्रवृत्तिले समाजलाई अझ विभाजित बनाउँछन्। त्यसैले नागरिकले उत्तेजक भाषण, घृणा फैलाउने अभिव्यक्ति, अपुष्ट समाचार र विभाजनकारी प्रचारप्रति शून्य सहिष्णुता देखाउनुपर्छ। मतभेद हुन सक्छ, तर मनभेदमा रूपान्तरण हुन दिनु हुँदैन।
नेपालको शक्ति यसको विविधता हो, कमजोरी होइन। सबै धार्मिक आस्था र विश्वास नेपाली समाजको साझा सांस्कृतिक धरोहरका अभिव्यक्ति हुन्। यीमध्ये कुनै पनि आवाज अर्कोको अस्तित्वका विरुद्ध होइन, सहअस्तित्वका पक्षमा रहनुपर्छ। यही भावनाले हाम्रो संविधानको आत्मालाई पनि बलियो बनाउँछ।
आज आवश्यकता क्रोधको होइन, करुणाको हो। प्रतिशोधको होइन, न्यायको हो। विभाजनको होइन, संवादको हो। सबैभन्दा ठूलो देशभक्ति अहिले यही हो कि हामी कुनै पनि अफवाहको माध्यम नबनौँ, कुनै पनि घृणाको वाहक नबनौँ, र कुनै पनि स्वार्थको उपकरण नबनौँ।
आगो बल्न धेरै कारण पर्याप्त हुन्छन्, तर आगो निभाउन सबैको प्रयास चाहिन्छ। देवानगञ्जको तनाव केवल एउटा स्थानको समाचार बनेर सीमित नहोस्स यसले हामीलाई अझ जिम्मेवार, अझ सहिष्णु र अझ एकताबद्ध नेपाली बन्न प्रेरित गरोस्। यही आजको समयको सबैभन्दा ठूलो आवश्यकता हो।
प्रतिक्रिया