काठमाडौं। काठमाडौंका केही सञ्चारगृहका गेटअगाडि अपरिचित गाडीहरू पार्किङ गरेर छाडिए। गाडीहरू केही घण्टापछि हटाइए, सडक फेरि सामान्य बन्यो। तर एउटा कुरा अझै हटेको छैन- शंका।
लोकतन्त्रमा शंका स्वाभाविक हुन्छ। तर जब शंकाले उत्तर पाउँदैन, त्यो अविश्वासमा बदलिन्छ। र अविश्वास लोकतन्त्रको सबैभन्दा महँगो मूल्य हो।
घटनापछि सरकारमाथि अनेक प्रश्न उठे। प्रमुख प्रतिपक्षी दलका नेताले संसदमा कडा टिप्पणी गरे। पत्रकार महासंघ र सञ्चार संस्थाहरूले गम्भीर चिन्ता व्यक्त गरे। सामाजिक सञ्जालले आफ्नै निष्कर्ष सुनाउन हतार गर्यो। तर यी सबै आवाजको बीचमा एउटा आवाज सबैभन्दा कमजोर सुनियो- सत्यको।
सरकारलाई दोषी प्रमाणित गर्ने आधार अहिलेसम्म सार्वजनिक भएको छैन। त्यसैले सरकारलाई अपराधी घोषणा गरिहाल्नु न्यायोचित हुँदैन। तर सरकार निर्दोष छ भनेर मात्र जिम्मेवारीबाट मुक्त पनि हुन सक्दैन। किनभने लोकतान्त्रिक राज्यको पहिलो कर्तव्य नागरिकलाई सुरक्षा दिनु हो, र दोस्रो कर्तव्य नागरिकको शंका मेटाउनु हो।
यही ठाउँमा आएर प्रश्न गाडीको रहँदैन, राज्यको बन्छ।
यदि कुनै अराजक समूहले यो काम गरेको हो भने उनीहरू को हुन्रु यदि कुनै व्यक्तिको उट्पट्याङ प्रदर्शन थियो भने उद्देश्य के थियो? यदि यो केवल संयोग थियो भने त्यस्तो संयोगले देशभर बहस किन जन्मायो? यस्ता प्रश्नको उत्तर खोज्नु अनुसन्धानको काम हो। तर उत्तर नदिनु वा ढिलो दिनु भने राजनीतिक समस्या बन्छ।
हाम्रो समाजमा एउटा अनौठो रोग बढ्दै गएको छ। घटना सानो हुन्छ, तर मौनता ठूलो। दुर्घटनाभन्दा सूचना ढिलो आउँछ। प्रश्नभन्दा जवाफ ढिलो आउँछ। र कहिलेकाहीँ सत्यभन्दा अफवाह छिटो आइपुग्छ।
सायद यही कारणले अहिले मानिसहरू गाडीसँग भन्दा मौनतासँग बढी डराउन थालेका छन्।
प्रेस स्वतन्त्रताको रक्षा केवल संविधानमा लेखिएको धाराले गर्दैन। त्यो राज्यको व्यवहारले गर्छ। पत्रकारलाई समाचार लेख्नुअघि आफ्नो सुरक्षा सोच्नुपर्ने अवस्था आयो भने त्यो प्रेसको मात्र समस्या हुँदैन, लोकतन्त्रकै समस्या बन्छ। सञ्चारगृहका गेटमा उभिएको गाडी हटाउन प्रहरी पुग्न सक्छ, तर जनताको मनमा उभिएको शंका हटाउन सत्य नै पुग्नुपर्छ।
सरकारले अनुसन्धान गरिरहेको छ भने राम्रो कुरा हो। तर अनुसन्धान केवल फाइलमा होइन, विश्वासमा पनि देखिनुपर्छ। किनभने लोकतन्त्रमा कहिलेकाहीँ अपराधभन्दा त्यसको अनुसन्धानमाथिको विश्वास बढी महत्त्वपूर्ण हुन्छ।
अन्ततः प्रश्न यो होइन कि ती गाडी कसले ल्यायो। प्रश्न यो हो कि ती गाडी हटिसकेपछि पनि किन यति धेरै प्रश्नहरू त्यहीं उभिएका छन्!
गाडीहरू त एक दिन हट्छन्। नम्बर प्लेट पनि भेटिन्छन्। चालक पनि पत्ता लाग्छन्। तर यदि राज्यको मौनता लामो भयो भने जनविश्वासको इन्जिन बन्द हुन थाल्छ। र इतिहासले बारम्बार देखाएको छ- लोकतन्त्रका लागि सडकमा उभिएको गाडीभन्दा खतरनाक कुरा कुनै छ भने त्यो हो, सत्य बोल्न डराउने सत्ता र सत्य सुन्न नपाउने जनता बीच फैलिएको मौनता।
प्रतिक्रिया