काठमाडौं। तीज नजिकिँदै गर्दा नेपाली संगीतको माहोल पनि तीजकै लयमा रंगिन थालेको छ। यही क्रममा नेपाल चलचित्र विकास बोर्डको सभाकक्षमा दुई नयाँ तीज गीतको भिडियो प्रिमियरसहित सार्वजनिक गरिएको छ।
सर्जक ज्ञानेन्द्र गदाल र टीका भट्टराई नेपालद्वारा रचित यी दुई तीज गीतमा लोकप्रिय गायिका यशोदा पराजुलीको मूल स्वर छ भने झुमा निरौला र सरिता शाहीले सहगायन गरेका छन्। दुवै गीतमा संगीत गणेश पराजुलीको छ। बलराम समालले संगीत संयोजन गरेका गीतका भिडियोको निर्देशन समन अधिकारीको हो।
तीजका गीतमा चेलीका पीर–व्यथा, माइतीको सम्झना र पारिवारिक आत्मीयता मात्रै होइन, बदलिँदो समाजका कथा र चेतना पनि मिसिन थालेका छन्। सार्वजनिक गरिएका यी दुई गीतले पनि तीजको मौलिक भावसँगै सामाजिक तथा सांस्कृतिक पक्षलाई समेट्ने प्रयास गरेका छन्।
इलाम विकास समाजका अध्यक्ष एवं साहित्यकार राधेश्याम लेकालीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसी, वरिष्ठ संगीतकार बुलु मुकारुङ, अभिनेता कृष्ण मल्ल तथा अभिनेत्री शर्मिला मल्लले गीतका विविध पक्षबारे चर्चा गरेका थिए।
संगीतकार टीका भण्डारीले दुवै गीतमा समेटिएको सांस्कृतिक पक्ष, तीजको मौलिक भाव र सामाजिक सन्देशबारे समीक्षा गरेका थिए। उनले तीज गीतलाई मनोरञ्जनमा मात्र सीमित नराखी नेपाली समाजको संस्कृति, परम्परा, भावना र पुस्तान्तरणका जीवन्त दस्तावेजका रूपमा हेर्नुपर्ने बताए।
आधुनिकताको प्रभावसँगै तीज गीतको शैली र प्रस्तुतिमा परिवर्तन आए पनि यसको मौलिक सांस्कृतिक आत्मा जोगाउनु आवश्यक रहेकोमा वक्ताहरुको जोड थियो। नयाँ पुस्तालाई नेपाली संस्कृति र परम्परासँग जोड्न यस्ता सिर्जनाले महत्वपूर्ण भूमिका खेल्ने उनीहरूको भनाइ थियो।
संगीतमा सँगै हिँडेको जोडी
यी गीतका संगीतकार गणेश पराजुली र गायिका यशोदा पराजुलीका लागि भने तीजको यो सांगीतिक यात्रा नयाँ होइन। नेपाली संगीतको क्षेत्रमा लामो समयदेखि सक्रिय यो दम्पतीले गायन र संगीत सिर्जनामार्फत आफ्नै पहिचान बनाएको छ।
गणेश संगीत सिर्जना र संगीत संयोजनमा सक्रिय रहँदै आएका छन् भने यशोदाको स्वरले नेपाली लोक तथा आधुनिक संगीतका विभिन्न विधालाई जीवन्त बनाउँदै आएको छ। जीवनका यात्रामा मात्र होइन, संगीतको यात्रामा पनि सँगसँगै अघि बढेको यो जोडीका लागि एउटै सिर्जनामा स्वर र संगीतको सहकार्य हुनु आफैंमा आत्मीय प्रसंग हो।
गणेशको संगीत र यशोदाको स्वरको यो सहयात्राले नेपाली सांगीतिक क्षेत्रमा एउटा पारिवारिक सांगीतिक जोडीको परिचयसमेत बनाएको छ। वर्षौंदेखि संगीतमा निरन्तर सक्रिय रहँदै आएको यो जोडीले सिर्जनालाई केवल पेशा नभई जीवनशैलीकै रूपमा अघि बढाइरहेको छ।
त्यसैले पनि यसपटकका तीज गीत उनीहरूका लागि अर्को सांगीतिक प्रस्तुति मात्र होइन, लामो समयदेखि बोक्दै आएको नेपाली मौलिक संगीतप्रतिको निरन्तरताको अर्को कडी बनेका छन्।
‘रबेल क्रिएसन’मार्फत बजारमा ल्याइएका यी दुई गीतले तीजको सांस्कृतिक परम्परा, सामाजिक चेतना र नेपाली मौलिक संगीतलाई नयाँ पुस्तासम्म पुर्याउने अपेक्षा गरिएको छ।
तीज फेरिँदैछ, गीतका भाका फेरिँदैछन्, प्रस्तुतिको शैली पनि फेरिँदैछ। तर माइतीको सम्झना, चेलीको मन र नेपाली समाजको सांस्कृतिक आत्मासँग जोडिएको तीजको धुन भने अझै उस्तै आत्मीय छ। यसै आत्मीयतालाई नयाँ पुस्ताको स्वादमा पस्कने प्रयासका रूपमा यी दुई नयाँ तीज गीतलाई लिन सकिन्छ।
प्रतिक्रिया