कुन हतियार प्रयोग गरेर जवाहिरीलाई मार्यो अमेरिकाले? 

काठमाडौं। अमेरिकाले अफगानिस्तानको राजधानी काबुल नजिकै दुई मिसाइल झारेर अल कायदा प्रमुख अयमान अल जवाहिरीलाई मार्यो। जवाहिरी मारिएको ठाउँमा न कुनै बिस्फोट भयो, न अन्य घटना नै। अहिले विश्वव्यापी चर्चा यो विषयमा चलिरहेको छ, आखिर अमेरिकाले कुन मिसाइल प्रयोग गर्यो, जसमा बिस्फोट पनि भएन र जवाहिरी पनि मारिए?

यसको उत्तर हो, आर९एक्स हेलफायर मिसाइल। जुन निन्जाको उपनामले चिनिन्छ। यो मिसाइलमा बिस्फोटक पदार्थको स्थानमा ६ वटा रेजर जस्तो ब्लेड लागेको हुन्छ, जसले लक्ष्य भेदन गर्ने काम गर्छ। यही गोप्य ‘किलर मिसाइल’ बाटै जवाहिरीलाई मारिएको हो। 

बाइडेन प्रशासनका एक सिनियर अधिकारीले आइतबार बिहान ६ बजेर १८ मिनेट जाँदा काबुलको शेरपुरमा जवाहिरी छतमाथि हिँडिरहेको बेला अमेरिकाले ड्रोन हमला गरेको बताएका थिए। उनले यतिबेला २ वटा आर९एक्स हेलफायर मिसाइल प्रहार गरेको जानकारी दिएका छन्। यी दुवै मिसाइल ड्रोनबाट हानिएको थियो। तर, घरको कोठामा प्रवेश गरेको मिसाइल न कतै बिस्फोट भयो, न परिवारका अन्य सदस्यलाई नै कुनै क्षति पुर्यायो। घरको अन्य भागमा पनि कुनै क्षति पुगेन।  

al zawahiri 

आर९एक्स हेलफायर विश्वको सबैभन्दा आधुनिक मिसाइल मानिन्छ। यसको सबैभन्दा महत्वपूर्ण विशेषता बिस्फोट हुदैन। ४५ किलो तौल भएको मिसाइलमा ६ वटा धारिलो ब्लेड जडित हुन्छन्। यसबाट बिस्फोट नगराइकनै लक्ष्यमा मार हान्न सकिन्छ। जवाहिरीविरूद्ध मिसाइल प्रयोग गर्दा परिवारका अन्य सदस्यलाई सामान्य चोट मात्र लागेको थियो। 

सन् २०१९ मा पहिलो पल्ट वाल स्ट्रिट जर्नलले आर९एक्स मिसाइल हमलाको बिषयमा रिपोर्ट तयार पारेको थियो। रिपोर्टमा यो मिसाइलको प्रयोग अफगानिस्तान, लिबिया, इराक, यमन र सोमालियामा आतंकवादी मार्न प्रयोग भइरहेको बताइएको थियो। 
आर९एक्सलाई ‘फ्लाइङ गिन्सु’ को उपनामले पनि चिनिन्छ। यो एउटा जापानी चक्कु हो, जुन १९८० को दशकमा टिभी विज्ञापनमा देखा परेको थियो।  

एउटा रिपोर्ट अनुसार आर९एक्स मिसाइल सटिक लक्ष्य भेदन गर्न सक्छ। जस्तो कि, कारभित्र भएको कुनै चिजलाई निशाना बनाइयो भने मिसाइलले लक्षित ठाउँमा मात्र हमला गर्छ। कार चलाउने ड्राइभरलाई कुनै किसिमको चोट लाग्दैन। फेरि मिसाइलको ब्लेड यति तिखो हुन्छ, यसले घर तथा कारको छतलाई काट्ने क्षमता राख्छ। 

यसको प्रयोगमा निकै कम क्षति हुने गरेको अमेरिकी अधिकारीले बताएका छन्। यसको प्रयोगले सर्वसाधारणको ज्यान जाने खतरा न्युन हुन्छ। 

सन् २०११ म बराक ओबामा राष्ट्रपति हुँदा मिसाइलको निर्माण भएको थियो। ओबामाले मध्यपूर्वमा ड्रोन हमलामा भइरहेको क्षतिलाई कम गर्न यो मिसाइल बनाउने आदेश दिएका थिए। बिस्फोट नहुने कारणले गर्दा नै यसलाई ‘निन्जा मिसाइल’ भनिएको हो। 

आर९एक्स मिसाइल सीआईए र अमेरिकी रक्षा विभागका लागि लकहिड मार्टिन र नोथ्र्राप गुम्मनले मिलेर तयार पारेका हुन्। अहिलेसम्म एक दर्जन अवसरमा यसको प्रयोग भइसकेको छ।  

जवाहिरी यो मिसाइलको पहिलो लक्षित व्यक्ति होइनन्। यसअघि सन् २०१९ को जनवरीमा अमेरिकाले आफ्नो ठूलो दुश्मन जमाल अल–बदावीमाथि पनि प्रयोग गरेको थियो। जमाल अल–बदावी सन् २००० मा यमन पोर्टमा १७ अमेरिकी सेनामाथि हमला हुँदा त्यसका योजनाकार थिए। यो घटनामा सबै अमेरिकी जवान मारिएका थिए। अमेरिकाले १९ वर्षपछि आर९एक्स मिसाइलको सहयोगले बदावीलाई मारेको थियो। 

सन् २०१७ को फेब्रुअरीमा पनि अमेरिकाले यही मिसाइल प्रयोग गरेर इजिप्टका अहमद हसन अबु अल–खैर अल–मसरीलाई मारेको थियो। त्यतिबेला उनी अल कायदाको दोस्रो नम्बरका नेता थिए। अमेरिकाले सिरियाको इदलिब राज्यमा उनीमाथि हमला गरेको थियो। 

सन् २०२१ को अगस्टमा अमेरिकाले यही मिसाइलबाट अफगानिस्तानको नांगरहार प्रान्तमा आइएसआइएसका २ कुख्यात आतंकीलाई मारेको थियो। 

यो पनि

यसरी मारिए विश्वको खुंखार अपराधी जवाहिरी

अल कायदा प्रमुख जवाहिरी अमेरिकी ड्रोन हमलामा मारिए

 


 

प्रतिक्रिया