अल कायदा प्रमुख जवाहिरी अमेरिकी ड्रोन हमलामा मारिए

काठमाडौं। अल कायदाका प्रमुख अल जवाहिरी मारिएका छन्। बिन लादेन मारिएपछि अल कायदा प्रमुख बनेका अल जवाहिरीलाई अमेरिकाले लामो समयदेखि खोजी गरिरहेको थियो। 

अमेरिकाले अफगानिस्तानको राजधानी काबुलमा ड्रोन हमलाद्धारा जवाहिरीलाई मारिएको बताएको छ। गोप्य सूचना प्राप्त भएपछि आइतबार दिउँसो जवाहिरीमाथि ड्रोन हमला गरेको अमेरिकी खुफिया विभागले बताएको छ। 

जवाहिरी सन् २०११ देखी अल कायदाको प्रमुख बनेका थिए। न्युयोर्क टाइम्सले अमेरिकी खुफिया विभाग सीआईएको स्पेशल टोलीले ड्रोन हमला गरेको बताएको छ। सन् २०२१ मा अफगानिस्तानमा तालिबानको सरकार स्थापित भएदेखि जवाहिरी काबुलमा बसिरहेका थिए। 

अमेरिकाको पछिल्लो कार्यवाहीबाट तालिबान भड्किएको छ। उसले जवाहिरीको हत्यालाई दोहा सम्झौंताको उल्लंघन भनेको छ। जवाहिरी मारिएको घटना बाहिरिएपछि अमेरिकी राष्ट्रपति जो बाइडेनले राष्ट्रको नाममा सम्बोधन गर्दै भनेका छन्, ‘हामीले जवाहिरीलाई खोजेर मारेका छौं। अमेरिका र अमेरिकी जनताका लागि जो खतरा बन्छन्, हामी त्यसलाई छोड्ने छैनौं। अफगानिस्तानमा हुने आतंकवादी गतिविधिमा हाम्रो हमला जारी रहनेछ।’

बाइडेनले पहिले ट्वीट गरेका थिए, ‘शनिबार मेरो निर्देशनमा अमेरिकाले अफगानिस्तानको काबुलमा हवाई हमला गरेको छ। जसमा अल कायदाका अमीर अयमान अल जवाहिरी मारिएका छन्। न्याय भएको छ।’

सन् २००१ को ११ सेप्टेम्बरमा १९ आतंकवादीले४ कमर्सियल प्लेन हाइज्याक गर्दै अमेरिकाको वल्र्ड ट्रेड सेन्टरमा हमला गरेका थिए। जसमा ९३ देशका २ हजार ९ सय ७७ मानिसको निधन भएको थियो। यो घटनामा ओसामा बिन लादेन, अल जवाहिरीसमेत अल कायदालाई अमेरिकाले आतंकवादीको सूचीमा राखेको थियो। 

अल जवाहिरी अमेरिकी हमलामा यसअघि दुई पल्ट बाचेर निस्किएका थिए। 

प्रतिक्रिया