यसरी मारिए विश्वको खुंखार अपराधी जवाहिरी

काठमाडौं। अमेरिकी खुफिया एजेन्सी (सीआईए) ले विगत ६ महिनादेखि अल कायदा प्रमुख अयमान अल जवाहिरीको खोजीलाई तिब्र बनाएको थियो। उनी साँझ हिँडडुल गर्ने बानीका कारण मारिएको एक अमेरिकी अधिकारीले खुलासा गरेका छन्। 

जवाहिरीमाथि अफगानिस्तानी समयअनुसार आइतबार ६ बजेर १८ मिनेटमा ड्रोन हमला भएको थियो। यतिबेला अमेरिकामा शनिबार राती ९ बजेर ४८ मिनेट भएको थियो। उनी अमेरिकाकै ड्रोन हमलाका कारण मारिएका थिए। अमेरिकी अधिकारीका अनुसार भवनको छतमा ‘इभिनिङ वाक’ गरिरहेको बेला रिपर ड्रोनको सहयोगले उनीमाथि हेलफायर मिसाइलबाट निशाना बनाइएको थियो। 

अमेरिकाको खुफिया एजेन्सीले काबुलमा ६ महिनादेखि उनलाई लगातार खोजी रहेका थिए।  यो कार्यवाहीसँगै अमेरिकाले आफ्नो देशमा भएको ९–११ हमलाको बदला लिएको छ। अमेरिकी राष्ट्रपति जो बाइडेनले जवाहिरी मारिएपछि भने, ‘न्याय पुरा भएको छ।’ 

यसै वर्षको जनवरीमा अमेरिकी खुफिया एजेन्सीलाई अल जवाहरीको श्रीमती, छोरी र नाती काबुलको एउटा घरमा सरेको सूचना प्राप्त भएको थियो। लगत्तै उनीहरू माथि अमेरिकाले निगरानी बढाएको थियो। ‘जवाहिरीको परिवारले आफ्नो परिचय नखुलोस् भनेर सबै सावधानी अपनाएका थिए। तर, अमेरिकालाई यसको सूचना प्राप्त भइसकेको थियो,’ अमेरिकी अधिकारीले भनेका छन्। 

परिवारमार्फत नै अल जवाहिरीसम्म पुग्न सकेको अमेरिकी अधिकारीले पुष्टी गरेका छन्। उनीहरूले अल कायदाका संस्थापक ओसामा बिन लादेन जस्तै जवाहिरीको जीवनशैली बुझ्न विभिन्न श्रोतलाई परिचालन गरेको थियो। यसैबाट उनी परिवारसँगै एउटै घरमा बसेको सूचना प्राप्त भएको थियो। उनी घरको माथिल्लो कोठामा बस्ने गरेको सूचना पनि विभिन्न श्रोतबाट पत्ता लागेको थियो। 

जवाहिरी काबुलको मध्य भागमा पर्ने शेरपुर क्षेत्रमा बसोबास गरिरहेका थिए। यो पुरै क्षेत्र अफगानिस्तानको रक्षा मन्त्रालयको नियन्त्रणमा पर्छ। यहाँ पछिल्लो समय अफगानिस्तानको ठूलो ओहदाका अधिकारीहरूको घर पनि बनेको छ। केही मिडिया रिपोर्ट अनुसार तालिबानी गृह मन्त्री तथा कुख्यात आतंकी सिराजुद्दिन हक्कानीले उनलाई निकै सुरक्षित घरमा राखेका थिए। 
 

प्रतिक्रिया