काठमाडौं । नेपालमा रुसी पर्यटकको सम्भावना बढिरहेका बेला राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम भने नयाँ अन्तर्राष्ट्रिय गन्तव्य विस्तार गर्न आवश्यक विमानकै अभावमा खुम्चिँदै गएको छ।
रुसमा सम्पन्न सांघाई कोअपरेशन अर्गनाइजेशन (एससीओ) शिखर सम्मेलनसँग सम्बन्धित एक समाचारअनुसार भारत र रुसबीचको पर्यटन क्षेत्रमा १६ प्रतिशत वृद्धि भएको छ। नेपालले पनि यस्तै सम्भावनालाई उपयोग गर्न सके रुसी पर्यटकको नयाँ बजार विस्तार हुनसक्ने पर्यटन व्यवसायीहरूको बुझाइ छ।
केही महिनाअघि काठमाडौंस्थित रुसी राजदूतावासका एक उच्च अधिकारीले अनौपचारिक कुराकानीका क्रममा नेपाली राजनीतिक घटनाक्रमप्रति रुसी पर्यटकको दृष्टिकोण सुनाउँदै भनेका थिए– सडक आन्दोलनजस्ता घटनाले समेत नेपालमा रहेका रुसी पर्यटकलाई खासै प्रभावित गर्दैन। उनीहरू नेपालमै रमाएर बसिरहेका थिए।
यो अवस्था कतिपय पश्चिमा मुलुकको व्यवहारभन्दा फरक देखिन्छ। नेपालमा सामान्य प्रकृतिको घटना हुँदा पनि कतिपय मुलुकले तत्काल आफ्ना नागरिकलाई सार्वजनिक सूचना जारी गर्दै नेपाल भ्रमणका विषयमा सचेत गराउने गरेका छन्। पर्यटनका दृष्टिले कुन बजार नेपालका लागि बढी स्थिर र सम्भावनायुक्त हुन सक्छ भन्ने प्रश्नमा यस्ता व्यवहारले पनि अर्थ राख्छ।
मस्को उडानको सम्भावना, तर विमान कहाँबाट ल्याउने?
यही पृष्ठभूमिमा नेपाल वायुसेवा निगमले काठमाडौं–मस्को सिधा उडान सञ्चालन गर्न सके रुसी पर्यटकलाई नेपाल ल्याउने सम्भावना बढ्न सक्छ। प्रत्यक्ष हवाई सम्पर्कले यात्रा समय र लागत घटाउनुका साथै नेपाल भ्रमणका लागि रुसी बजारमा आकर्षण बढाउन सक्छ।
तर समस्या सम्भावनामा होइन, निगमसँग त्यसलाई उपयोग गर्ने क्षमता नहुनुमा छ।
निगम अहिले भएकै अन्तर्राष्ट्रिय गन्तव्यहरू सञ्चालन गर्न आवश्यक विमान व्यवस्थापनमै दबाबमा छ। नयाँ गन्तव्य थप्ने, उडान संख्या बढाउने वा नयाँ बजारमा प्रवेश गर्ने कुरा त परको विषय बनेको छ।
निगमले दुईवटा वाइडबडी विमान खरिदका लागि टेन्डर आह्वान गरेको पनि एक दशक पूरा हुन लागेको छ। तर त्यसयता निगमको सञ्चालक समिति र निगमको मालिकका रूपमा रहेको नेपाल सरकारले थप विमान खरिदका लागि अर्को ठोस पहल अघि बढाउन सकेको छैन।
यसले एउटा गम्भीर प्रश्न जन्माएको छ– राष्ट्रिय ध्वजावाहकको उत्पादन क्षमता विस्तार गर्ने जिम्मेवारी कसको हो?
१० वर्षदेखि उही ठाउँमा निगम
नेपालको पर्यटन उद्योग रोजगारी र विदेशी मुद्रा आर्जनको महत्वपूर्ण आधार मानिन्छ। तर पर्यटनसँग प्रत्यक्ष जोडिएको राष्ट्रिय ध्वजावाहकको अन्तर्राष्ट्रिय सञ्जाल विस्तार गर्ने र पर्याप्त विमान थप्ने विषयमा राज्यले पछिल्लो एक दशकमा अपेक्षित निर्णय लिन नसक्दा यसको असर समग्र पर्यटन अर्थतन्त्रमा समेत परेको छ।
विमान थप्न नसक्ने, नयाँ गन्तव्यमा जान नसक्ने र भएकै गन्तव्यमा नियमित तथा भरपर्दो सेवा दिन संघर्ष गर्नुपर्ने अवस्थाले निगमलाई क्रमशः प्रतिस्पर्धी बजारबाट पछाडि धकेलिरहेको छ।
झण्डै ३७ वर्षको अवधिमा निगमले जम्मा चारवटा जेट विमान खरिद गरेको तथ्यले पनि नेपालको राष्ट्रिय ध्वजावाहकप्रतिको राज्यको प्राथमिकता कस्तो रह्यो भन्ने देखाउँछ। यति लामो अवधिमा विश्वका अन्य मुलुकका राष्ट्रिय ध्वजावाहकले आफ्नो जहाज संख्या, गन्तव्य र बजार विस्तार गरिरहँदा नेपालको ध्वजावाहक भने सीमित जहाजमै अल्झिएको छ।
यसको प्रत्यक्ष असर यात्रु र पर्यटन उद्योगमा समेत परेको छ। अन्तर्राष्ट्रिय बजारमा पर्याप्त प्रतिस्पर्धी क्षमता विकास गर्न नसक्दा नेपाल आउने र नेपालबाट बाहिरिने यात्रुले महँगो हवाई भाडा तिर्नुपर्ने अवस्था सिर्जना भएको छ। अन्ततः नेपाल संसारकै महँगो हवाई गन्तव्यका रूपमा चिनिनुपर्ने अवस्था समेत बनेको छ।
समस्या निगममा मात्रै कि राज्यको सोचमै?
निगमको अवस्था हेर्दा समस्या केवल व्यवस्थापनको मात्र हो भन्ने निष्कर्षमा पुग्न कठिन हुन्छ। विमान थप्ने, नयाँ गन्तव्य खोल्ने र निगमको उत्पादन क्षमता बढाउने विषयमा राज्यले लिने नीतिगत निर्णय नै निर्णायक हुन्छ।
निगमको नेतृत्वमा रहेका एक पूर्वप्रमुखका अनुसार, आफू निगम प्रमुखमा नियुक्त हुँदा नै सरकार र निगम सञ्चालक समितिले लिएको ‘उत्पादन क्षमता नबढाउने’ नीतिलाई परिवर्तन गर्ने प्रयास गरिएको थियो। तर विभिन्न कारण र ‘अदृश्य शक्ति’का कारण त्यो प्रयास पूर्ण रूपमा सफल हुन सकेन।
त्यसैले आज निगमको समस्या केवल जहाज पुराना भए वा व्यवस्थापन कमजोर भयो भन्ने तहमा सीमित छैन। राष्ट्रिय ध्वजावाहकलाई कस्तो आकारको बनाउने भन्ने राज्यको दीर्घकालीन सोचकै प्रश्न यससँग जोडिएको छ।
निगमको इतिहासमा नेपालको विकासको ऐना
नेपालले पछिल्ला दशकमा लोकतान्त्रिक अभ्यास गर्दै आर्थिक समृद्धिको सपना देखिरहेको छ। तर यही अवधिमा देशका रणनीतिक र उत्पादनमूलक संस्थाहरू किन कमजोर हुँदै गए भन्ने प्रश्नको उत्तर खोज्ने हो भने नेपाल वायुसेवा निगमको इतिहास एउटा महत्वपूर्ण अध्ययनको विषय बन्न सक्छ।
३७ वर्षको अवधिमा चारवटा जेट विमान थप्नु, एक दशकसम्म नयाँ विमान खरिदको ठोस प्रक्रिया अघि बढाउन नसक्नु र अन्तर्राष्ट्रिय हवाई सञ्जाल विस्तार गर्न नसक्नु सामान्य व्यवस्थापकीय कमजोरी मात्रै होइन।
यो राज्यले आफ्नो राष्ट्रिय ध्वजावाहक, पर्यटन उद्योग र आर्थिक विकासलाई कसरी हेर्छ भन्ने प्रश्न पनि हो।
रुसी पर्यटक नेपाल आउन इच्छुक छन्। नयाँ बजार खोजिरहेका पर्यटन व्यवसायी पनि छन्। काठमाडौं–मस्को जस्तो सम्भावित हवाई मार्गको चर्चा पनि गर्न सकिन्छ। तर त्यसका लागि सबैभन्दा पहिले उडाउने विमान चाहिन्छ।
पर्यटनबाट रोजगारी सिर्जना गर्ने, विदेशी मुद्रा भित्र्याउने र मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउने सपना देखिरहँदा राष्ट्रिय ध्वजावाहकसँग भने नयाँ बजारतर्फ उड्ने पर्याप्त पखेटा नै नहुनु नेपालको विकास यात्राकै एउटा विडम्बना बनेको छ।
अब प्रश्न रुसबाट कति पर्यटक नेपाल आउन सक्छन् भन्ने मात्र होइन।
प्रश्न यो हो– सम्भावना देखिएका नयाँ बजारतर्फ नेपाल वायुसेवा निगमलाई उडाउने जहाज कहिले आउँछ? र त्यसका लागि राज्यले अझै कति वर्ष पर्खिने हो?
प्रतिक्रिया