उपत्यका बाहिरै ग्यास भरेर काठमाडौं पठाउन थालियो

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा सडक भासिएपछि काठमाडौं उपत्यकामा खाना पकाउने ग्यासको आपूर्ति सहज बनाउन उपत्यका बाहिरका उद्योगबाटै सिलिन्डरमा ग्यास भरेर पठाउन थालिएको छ ।

ग्यास बोकेका बुलेटहरू वैकल्पिक मार्गबाट समेत काठमाडौं प्रवेश गर्न कठिन भएपछि नेपाल आयल निगमको समन्वयमा विभिन्न ग्यास उद्योगले राजधानी बाहिर रहेका उद्योगसँग सहकार्य गरी आफ्ना सिलिन्डरमा ग्यास भरेर ट्रकमार्फत काठमाडौं पठाउन थालेका हुन् ।

साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको ‘एसटिसी ग्यास’ वीरगञ्जस्थित मनोज ग्यास उद्योगमा भरेर काठमाडौं पठाउन थालिएको छ । त्यसैगरी चितवनको बाबा ग्यासले मंगलबार धादिङ नौबिसेस्थित श्री ग्यासका एक हजार पाँच सय सिलिन्डर भरेर पठाएको सञ्चालक विमल कालाखेतीले जानकारी दिनुभयो ।

चितवनकै साइबाबा ग्यासले आफ्ना नौ सय सिलिन्डर काठमाडौं पठाएको छ भने नेपाल ग्यास गण्डकीले बालाजुको नेपाल ग्यासका एक हजार दुई सय सिलिन्डर भरेर पठाएको छ ।

त्यस्तै, गैँडाकोटस्थित जानकी ग्यासले नौबिसेको श्रीराम ग्यास, हेटौँडाको साहारा ग्यासले काठमाडौंका एभरेष्ट र सुगम ग्यासका सिलिन्डर भरेर पठाउन थालेका छन् ।

सञ्चालक कालाखेतीका अनुसार बनेपास्थित सगरमाथा ग्यासले परासीको चण्डी ग्यासमा तथा लोकप्रिय, सुपर र तारा ग्यासलगायत उद्योगले राजधानी बाहिरका विभिन्न ग्यास उद्योगसँग समन्वय गरेर सिलिन्डर भरी त्रिभुवन राजपथ हुँदै काठमाडौं पठाउन थालेका छन् ।

नेपाल एलपी ग्यास उद्योग सङ्घका सदस्यसमेत रहेका कालाखेतीले भारतबाट नेपाल भित्रिने ग्यासको आपूर्ति नघटेकाले तत्काल ग्यास अभाव हुने अवस्था नरहेको बताउनुभयो । उनका अनुसार बुलेट काठमाडौंसम्म पु¥याउन नसकेका उद्योगले अन्य उद्योगमा ग्यास भरेर ट्रकमार्फत सिलिन्डर राजधानी पठाइरहेका छन् ।

“भारतबाट आउने ग्यासमा कमी आएको छैन । बाटोको समस्याका कारण बुलेट काठमाडौं पु¥याउन नसकेका उद्योगले बाहिरै ग्यास भरेर सिलिन्डर पठाइरहेका छन्,” उनले भने ।

गत महिना भारतबाट ६० हजार दुई सय मेट्रिकटन ग्यास नेपाल भित्रिएको जानकारी दिँदै उनले यो हालसम्मकै तुलनात्मक रूपमा बढी परिमाण भएको बताए। अहिले पनि सोही अनुपातमा ग्यास आइरहेकाले सडक अवरोधका कारण केही समय ढुवानीमा समस्या देखिए पनि बजारमा दीर्घकालीन अभाव हुने अवस्था नरहेको उनको भनाइ छ ।

नेपाल एलपी ग्यास उद्योग सङ्घका अध्यक्ष देवान चन्दले नेपाल आयल निगमले उद्योगीलाई राजधानी बाहिर रहेका ग्यास उद्योगमा सिलिन्डर भर्न अनुमति दिएको जानकारी दिए ।

उनका अनुसार काठमाडौं उपत्यका र आसपासका जिल्लामा रहेका १६ वटा ग्यास उद्योगले बारा, पर्सा, चितवन, मकवानपुर, नवलपरासी ९बर्दघाट–सुस्तापूर्व० र नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) का उद्योगसँग समन्वय गरेर सिलिन्डर भरी उपत्यकामा पठाउन थालेका छन् ।

काठमाडौं उपत्यका र आसपासका जिल्लामा मात्रै मुलुकमा खपत हुने कुल खाना पकाउने ग्यासको करिब ४० प्रतिशत खपत हुने भएकाले यहाँको आपूर्ति व्यवस्थामा सडक अवरोधको प्रत्यक्ष प्रभाव पर्न सक्छ । यही जोखिमलाई ध्यानमा राखेर उद्योगहरूले वैकल्पिक बोटलिङ व्यवस्था मिलाएर आपूर्ति निरन्तर राख्न थालेका हुन् ।

सडक अवरोधका कारण ग्यासका बुलेट काठमाडौं आउन नसके पनि सिलिन्डर भने वैकल्पिक व्यवस्थाबाट राजधानी भित्रिन थालेपछि तत्काल उपभोक्ताले ग्यास अभाव झेल्नुपर्ने अवस्था नआउने उद्योगीहरूको विश्वास छ ।

प्रतिक्रिया