यही वैशाखको १९ गते शुक्रबार गुडिरहेको गाडी अपत्यारिलो तरिकाले पानी जमेको स्थानमा घोप्टियो र हरायो। त्यो हराएको गाडी आज चारदिन बित्नैलाग्दासम्म फेला परेको छैन।
भूगर्भविद्हरुको कञ्चटमा पसिना बगिरहेको छ तैपनि भैंसीको आहाल जस्तो पानी जमेको खाल्टोमा पसेको त्यो गाडीको छेउटुप्पो फेला पर्नसकेको छैन।
मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर १७ स्थित गैरीगाउँमा अवस्थित खाल्टो कति गहिरो छ भनेर त्यहीं वरपरका मानिसले समेत भेउ पाएका छैनन्। झट्ट हेर्दा आहाल जस्तो देखिने त्यो खाल्टो जति गहिरो होला, त्यसको रहस्य झन्झन् गहिरो बनिरहेको छ।
गत शुक्रबार दिउँसो करिब १ बजेको समयमा गैरीगाउँमा रोकिराखिएको ना ४ ख ४८३३ नम्बरको मिनी ट्रक अकस्मात् जमिन भासिएर माटोमुनि विलुप्त भएको थियो। घटना लगत्तै प्रहरी, दमकल र अन्य प्राविधिक टोली परिचालन गरेर खोजी कार्य सुरु गरिए पनि अहिलेसम्म गाडीको अत्तोपत्तो हुननसकेको मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालले जानकारी दिएका छन् ।
यता देशमा शक्तिशाली सरकारको खोजी त्यसैगरी गर्नुपर्ने बेला भएको जसरी गैरीगाउँमा मिनिट्रकको खोजी भैरहेको छ।
सरकार नभएको पनि होइन, सरकार त छ। देशका सबैभन्दा ठूला मानिएका दुइ शक्तिशाली दल नेपाली कांग्रेस र नेकपा एमाले मिलेर बनेको सर्वशक्तिमान सरकार छ। तर सरकार कहाँनेर छ र के मा अल्मलिएको भनेर भेउ पाउन भने कठिन हुँदै गएको छ।
एमालेका सर्वशक्तिमान अध्यक्ष खड्ग प्रसाद शर्मा ओली देशको प्रधानमन्त्री छन्। उनलाई प्रधानमन्त्री बनाउने अर्का सर्वशक्तिमान सभापति शेर बहादुर देउवा छैटौं पटक प्रधानमन्त्री बन्ने पालो कुरेर बसेका छन्। उनीहरुबीच सम्वाद निरन्तर जारी छ, संवादहीनताको छनक पनि छैन। प्रधानमन्त्री भैरहेकाले समय मै छाड्छु भनेका छन् र आफ्नो पालो नपुगी सरकार ढल्दैन भनेर भनेकोभन्यै छन्। पालो कुरेर बसेकाले पाउँछु भनेर गमक्क परेको देखिन्छ। आलोपालोको राजनीतिक नापतौलमा जोख्ने हो भने सरकार छ र चानचुने होइन निकै बलियो सरकार छ। यो सरकारको आयतन यति फराकिलो छ कि यो बालकोट देखि बूढानिलकण्ठसम्म मात्र होइन बालुवाटार देखि सिंहदरबारसम्मै फैलिएको छ।
यो सरकारलाई यो आयतनबाहिर पनि खोज्छ कसैले भने त्यो खोजी बुध्दिमत्तापूर्ण हुने छैन। बबरमहल, तीनकुने, माइतीघर मण्डला र रत्नपार्कतिर पनि हम्मेसी नदेखिने सरकारलाई देशको सरहदभित्र खोज्ने हो र। यो यसै शक्तिशाली सरकार हो, दृष्टिगोचर नभइकन नै यो सर्वव्यापी छ भनी ठान्नु सबै नागरिकको परम कर्तव्य हो। देशवासीले यसैगरी ठानीदिए भने पो सरकारको सर्वव्यापकता सिध्द हुन्छ। कुनाकन्दरामा बस्ने नागरिकले पनि सरकार खोजिहिँड्ने हो र? छ भने पछि छ सरकार! जहाँ ओली प्रधानमन्त्री छन् र उनका घनिष्ठ मित्र देउवा छन् त्यहीँ छ सरकार! अरु जजसलाई सरकार चाहिएको छ उनीहरुले पायक पर्ने ठाउँका सरकारसँग याचना गर्नु! जसलाई उनीहरुले नै कज्याउँदै आएका छन्।
सरकार हुँदो हो त देशको केन्द्रीय बैंकलाई नेतृत्व नदिएर यति निम्छरो बनाएर राखिन्थ्यो होला त? हुँदो हो त सर्वशक्तिमान सरकार चारचार हप्तासम्म देशभरका शिक्षकलाई बबरमहलमा झुलाएर शिक्षा क्षेत्र अस्तव्यस्त पारिन्थ्यो होला र? निजामती, चिकित्सा र अरु कैयौं गुनासा बोकेका व्यवसायी र राष्ट्रसेवकलाई आन्दोलनमा उत्रन वाध्य पार्ने अनि आफू रमिते बनेर आत्मश्लाघामा रमाउने सरकार पनि सरकार हो र? के दुनियाँमा यस्तै नौटंकी देखाउने राजनीतिक व्यापारलाई नै सरकार भनिन्छ र!
हो, भनिन्छ?
एमाले र नेपाली कांग्रेसका मुखियाको राजनीतिक सौदाबाजी नै सरकार हो भने यो सरकारले लोकतान्त्रिक गणतन्त्रलाई हेटौंडाको गैरीगाउँको जस्तै कुनै खाल्टोमा डुबाउन बेर लाउने छैनन्। जसलाई खोज्न कुनै भूराजनीतिक विशेषज्ञहरुको ठूलै टोलीले पसिना बगाउन नपरोस्।
देशवासीले कदापि बिर्सन हुँदैन, राजनीतिक गैरीगाउँमा धेरै बिषय त्यो मिनिट्रक जसरी नै हराएका छन्। टाढाको कुरा किन गर्नु र, प्रधानमन्त्रीकै निवासछेउको ललिता निवासको अनुसन्धान फायल हराएको छ। नक्कली भूटानी शरणार्थी काण्डको फायल त नमिता सुनिता काण्ड जसरी नै वेपत्ता भएको छ। अवैध सुन तश्करीको अनुसन्धान प्रतिवेदन न सिंहदरबारका संसदेश्वर महादेवले देख्न पाए न त टंगाल छेउका भूँडे गणेशले सुँघ्न पाए। सूचि निकै लामो हुन्छ हराएका ती अमूल्य फायलहरुको। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा दश अर्ब भन्दा ज्यादा रकम अपचलन भएको किटानी प्रतिवेदन संसदकै अनुसन्धान समितिले बुझाईसकेको छ। जसका बारेमा ठूला दलका नेता उच्चारण समेत गर्न झस्किरहेका छन्। लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थलको फायल पनि पल्टिने छाँटकाँट देखिँदैछ, यसले पनि राजनीतिक सौदाबाजीको रहस्य उद्घाटन गर्ने नै होला।
यी जस्ता कैयौं अनियमितता र भ्रष्टाचारको अनुसन्धान गरेर छिनाफानो गर्न किन सकिरहेको छैन शक्तिशाली सरकार? प्रश्न नागरिक तहबाटै गरिन जरुरी भैसकेको छ। यस्ता राजनीतिक सौदाबाजीका बिषयमा नागरिकको मौनताले विष्फोटक परिस्थिति जन्माउन सक्छ, र त्यसले नागरिककै अमूल्य लगानीमा प्राप्त भएको लोकतान्त्रिक गणतन्त्र गैरीगाउँको खाल्टोमा मिनिट्रक हराए जसरी हराउन पनि सक्दछ।
सरकार छ भने सरकारले सरकार भएको सिध्द गरेर देखाओस्। होइन भने यस्तो सरकारलाई सरकार भनेर चिनाउनु सरकार शब्दकै अपमान हुनजान्छ। यस्तो सरकार त ओली र देउवाको लागि हस्तिनापुरको जुवाको खाल जस्तो मात्र देखिएको छ, जहाँ पाण्डवहरुको सर्वस्व हरण भएको छ र कौरवहरु शकुनी अट्टहासमा हाँसिरहेका छन। यस्तै चालामाला जारी रहने हो भने लोकतान्त्रिक गणतन्त्रको हस्तिनापुर अस्तित्वमा रहला नरहला भन्ने संशय पैदा भएको छ।
संघीय राजधानी काठमाडौंको गैरीगाउँ नजिकै मध्यरातमा सम्झौता गरेर ओली र देउवाले बनाएको यो शक्तिशाली सरकार हेटौंडाको गैरीगाउँमा मिनिट्रक निल्ने खाल्टोले जस्तै नागरिकका खुशी, आत्मविश्वास र उनीहरुले आर्जेको राजनीतिक प्रणाली असफल पार्ने कारण बन्नु हुँदैन। ओली र देउवा सहित सम्पूर्ण राजनीतिक क्षेत्रले विचार गर्नुपर्ने बेला हो यो।
प्रतिक्रिया