पर्दाभित्रको राजनीति

बालुवाटारको जस्मिन टि र प्रितम सिंह

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रितम सिंहप्रति दर्शाएको कृतज्ञताले अवरुध्द हुनपुगेको संसद बालुवाटारको ‘जस्मिन टि’ ले खोलेको छ। 

संसद अवरुध्द गर्न व्यापारी प्रितम सिंहको कुनै भूमिका देखिँदैन तर प्रधानमन्त्री प्रचण्डले नै उनलाई जबरजस्ती दोषी बनाईदिएका हुन्। आफूलाई प्रधानमन्त्री बनाउन नयाँदिल्लीसम्म धाएर प्रितम सिंहले कष्ट गरेको योगदान चर्चा गर्दै प्रचण्डले उनीप्रति कृतज्ञता प्रकट गरेका थिए। कठोर इतिहास भएर पनि कोमल ह्रदयी प्रधानमन्त्री प्रचण्ड जब भावुक हुन्छन्, उनको रुद्र घण्टीले गलामा शब्दहरु रोक्नै सक्दैन, पग्लिहाल्छन् उनी। तब त घरिघरी तातो भुँग्रोमा खस्ने गर्छन् प्रचण्ड।

यतिमै संसद नै अवरुध्द भैहाल्नुपर्ने थियो कि थिएन। त्यो त एमाले अध्यक्ष केपी शर्मा ओली नै जानुन्। राष्ट्रियताको जबरजस्त पहरेदार एमालेले यति पनि नगरिदिएको भए चुच्चे नक्शा बनाएको योगदान ओझेलमा पर्ने जोखिम देखेर नै यति मेहनत गर्नुपरेको पनि हुनसक्छ। त्यत्रो योगदानलाई मनसुनको वर्षाले बगाउन दिनुपनि त भएन। 

प्रधानमन्त्री बन्न भारतको शुभेच्छा चाहिन्छ भनेर प्रचण्डले सार्वजनिक सभामै भनिदिँदा यसअघि प्रधानमन्त्री भैसकेका जतिलाई चसक्क भयो पनि होला। कुरीकुरी पनि लाग्यो होला। घरमै बोलाएर र घरैमा गएर छिमेकी देशका गुप्तचर प्रमुख भेटेको प्रसंग समेत चर्चामा ल्याउनुपरेपछि यी सबै बिषयको हिसाब मिलान गर्न अरु गर्ने के त? त्यही संसद छ गरिदिने अवरुध्द! सायद यस्तै लाग्यो होला विपक्षी दललाई!

संसद अवरोधले मिटरब्याजी प्रशन्न भए भने पनि भैरहुन्, त्यसको दोष त कि प्रचण्डलाई कि प्रितम सिंहलाई पो लाग्नुपर्ने हो! एमालेलाई किन भन्ने प्रश्न पनि होला।

राजिनामा माग्ने ओली, राजिनामा नदिने प्रचण्ड र माग्ने र नदिनेको संवादका साक्षी शेरबहादुर देउवाले गुप्त वैठकमा के भने गरे के त्यो उनै जानुन्। तीन प्रमुख दलका नेताको अपारदर्शी वार्ताले भने संसदको सार्वभौम प्रभावको उपहास भने गरेको छ। आआफ्ना खुट्टा देखेचिनेका तीन नेताले जनतालाई गुमराहमा राखेर गरेको वार्ता केवल एउटा पर्दाभित्रको नाटकमात्र हो तर उनीहरुले संसदको गरिमा र प्रभावको जसरी खिल्ली उडाएका छन्, त्यसले भने राजनीतिलाई ज्यादै हलुका बनाउन योगदान गरेको छ।

संसद्को अवरोध खुलाउने विषयमा प्रमुख तीन दलका शीर्ष नेताले छलफल गरेर समाधान निकाले भनेर ठूलै काम गरेजसरी होहल्ला गर्नु एउटा कुरा हो तर पर्दाभित्र गरिएको गुप्त अपारदर्शि वार्ताको विवरण लुकाउनु चैं बदमासी नै हो। उनीहरुले यसको मूल्य चुकाउनै पर्छ। जनताले पनि यसको जवाफ माग्नैपर्छ।

पार्टीभित्र लोकतान्त्रिक अभ्यास नियन्त्रणमा राख्ने, फरक मत सहन नकसक्ने र बाँचुञ्जेल शीर्षमध्येको पनि शीर्ष पद चाहि नै रहने मनोरोगबाट ग्रस्त शीर्ष नेताले संसदलाई सत्ता लेनदेनको स्थल जस्तो बनाएको यो नै पहिलो घटना भने होइन। विगतमा यी तिनैजना नेताले सत्ता पाउन के के गरे भन्ने इतिहास जनताको मानसपटलमा ताजै हुनुपर्छ। अहिले आएर पुराना व्यापारी प्रितम सिंहको नामलाई ढाल बनाएर शीर्ष तीन नेताले एक पटक फेरि चर्चित बिषयलाई ओझेलमा पार्ने असफल प्रयाश गरेका छन्।

संसद अवरोध र संसद चल्यो भन्ने शीर्षक वरिपरी यतिमात्र कुरा छिपेको छ। होइन भने गुप्त वार्ता गरेपछि एमाले संसदको अवरोध हटाउन तयार, प्रधानमन्त्री प्रचण्ड संसदलाई सम्वोधन गर्न तयार अनि दुवैका भूमिकालाई प्रत्यक्ष दर्शन गर्न नेपाली कांग्रेसका सभापति पनि तयार भनेर नौटंकी गर्नुको के अर्थ?


 
 
 

प्रतिक्रिया