नेपाल एसिसी प्रिमियरको सेमिफाइनल प्रवेश

काठमाडौँ। एसिसी प्रिमियर कप क्रिकेटअन्तर्गत आज नेपाल र साउदीअरबबीचको खेल खराब मौसमका कारण रद्द भएको छ।

मूलपानी क्रिकेट मैदानमा आज हुने भनिएको नेपाल र साउदीअरबबीचको खेल लगातार वर्षाका कारण खेल हुन नसकेपछि दुवै टोलीले समान एक-एक अङ्क बाँडेका छन्। यससँगै नेपाल पाँच अङ्क जोड्दै प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। नेपाल तीन खेलमा दुईमा जित र एक खेलमा अङ्क बाँड्दै पाँच अङ्कका साथ समूह ए को शीर्ष स्थानमा छ।

समूह ए मा नै रहेका ओमान समान तीन खेलबाट चार अङ्कसहित दोस्रो स्थानमा छ भने समान खेलबाट दुई अङ्क जोडेको मलेसिया तेस्रो स्थानमा छ। त्यस्तै साउदीअरब दुई अङ्कका साथ चौथो स्थानमा छ। कतारले भने अङ्क जोड्न सकेको छैन।

उक्त प्रतियोगितामा विभिन्न १० राष्ट्रको सहभागिता रहेको छ। ती समूहलाई दुई समूहमा विभाजन गरिएको छ। समूह ‘ए’ मा आयोजक नेपालसहित मलेसिया, साउदीअरब, कतार र ओमान रहेका छन्। त्यस्तै समूह ‘बी’ मा बहराइन, कुवेत, सिङ्गापुर, हङ्कङ र युएई रहेका छन् । हरेक समूहमा शीर्ष स्थानमा रहने दुई टोलीले सेमिफाइनल खेल्ने छन्।   (रासस)

प्रतिक्रिया