यस्ता पो वकिल

यो एकजना वकिलको व्यवसायिक धर्मबारेको कथा हो।

भारतको गुजरात राज्यका एकजना वकिल थिए, जसलाई उदाहरणीय व्यक्ति मानियो। 

एकदिन उनी अदालतमा एउटा मुद्दाको पैरवी गरिरहेका थिए। कमजोर व्यक्तिसँग सम्बन्धित मुद्दा थियो त्यो। त्यही समयमा गाउँमा उनकी पत्नी निकै बिरामी परेको जरुरी खबर आयो। अनि ती वकिल आफ्नी पत्नी भेट्न गाउँ गए। गाउँमै बसेर पत्नीको हेरचाह गरिरहेका वकिललाई आफूले हेरिरहेको मुद्दाको पेशी नजिक आएको सम्झना भयो र उनी केही तनावमा परे। 

यता घरमा बिरामी पत्नीको उपचार चलिरहेको छ भने अर्कोतिर एकजना निर्दोष ब्यक्तिलाई बिनाकारण सजाय हुनबाट जोगाउनु पर्नेछ। कस्तो धर्मसंकट। यस्तो संकटमा परेका ती वकिल के गर्ने कसो नगर्ने भनेर बडो असमञ्जसमा परेका थिए। कुनै निर्णय लिन सकिरहेका थिएनन्।

आफ्नो पतिको स्वभावसँग परिचित बिरामी पत्नीले पतिको छटपटी पत्ता नलाउने कुरै थिएन। पतिको बेचैनी ठम्याएर उनले पतिलाई सम्झाईन्, ‘तपाईंले मेरो चिन्ता लिनुपर्दैन, शहर फर्किनु र आफ्नो काम अगाडि बढाउनु। मेरो लागि यहाँ अल्झिँदा उता एकजना निर्दोष व्यक्ति बिनाकसुर सजायको भागिदार हुनेछ। तपाईं जानोस्, कुनै द्वीविधा लिनुपर्दैन’ भनेर पत्नीले वकिललाई सम्झाईन्।

पत्नीको वुध्दिमतापूर्ण सल्लाह सिरोपर गरेर वकिल फर्किए शहर। श्हर फर्किर उनले ती व्यक्तिको मुद्दा अगाडि बढाए। यत्तिकैमा  एकदिन उनी अदालतमा बहस गरिरहेका थिए। त्यहीबेला उनलाई कसैले पत्र ल्याएर दियो। उनले त्यो पत्र सर्सर्ती पढेर खल्तीमा राखे अनि फेरि बहस गर्न थाले। 

बहस सकियो, उनको पक्षमा मुद्दाको फैसला आयो। लामो मेहनतको प्रतिफल स्वरुप उनले  एकजना निर्दोष ब्यक्तिलाई बिना कसुर सजायबाट जोगाए। यो  उनको पेशागत जीवनको महत्वपूर्ण उपलव्धि थियो।

फैसला घोषणा भएपछि त्यहाँ उपस्थित सबै वकिलहरूले ती वकिललाई वधाई दिए। त्यसैबेला एकजना वकिल साथीले उनीसँग त्यो पत्रको बारेमा जिज्ञासा राखे। उनले आफ्नो खल्तीबाट पत्र झिकेर ती साथीलाई पढ्न दिए।

पत्र पढ्दै गरेका साथी वकिलका आँखा रसाए, उनी स्तव्ध भए र सहानुभूति दिन थाले। त्यो पत्रमा त ती वकिल साथीकी बिरामी पत्नीको  मृत्युको खबर पो पठाईएको रहेछ।

अरु वकिल साथीहरुले यो कुरा थाहा पाएपछि दिक्दार हुँदै प्रश्न गरे, “किन त्यस्तो सिकिस्त बिरामी श्रीमतीलाई छाडेर मुद्दा लड्न फर्किएको?”

जवाफमा ती वकिलले भने, ‘आउन त म उनैको (श्रीमतीको) आग्रहमा आएको हुँ’ किनकी उनी राम्ररी बुझ्दथिन् कि कुनै निर्दोषलाई बचाउनु भन्दा अर्को ठूलो कुनै धर्म छैन!

 
 
 

प्रतिक्रिया