भीआईपी जुवा घरमा छापा हान्न गृहमन्त्रीको कडा निर्देशन

काठमाडौं। उपत्यकाका केही उल्लेख्य जुवाघर र भिआईपी स्तरका मधुशालामा नेपाल प्रहरीले छापा मार्ने तयारी गरिसकेको बुझिएको छ। कुलिन घरका बैठक कक्षमा निर्वाध रुपमा सञ्चालन हुनेगरेका जुवा खेल र उच्च कोटीका सुविधा उपलव्ध गराईने केही मधुशालाहरु प्रहरीको गुप्त संरक्षणमा रहने गरेको सूचना पाएपछि नयाँ गृहमन्त्रीले यस्तो कडा निर्देशन दिएको बुझिएको छ।

जोशिला गृहमन्त्री रवि लामिछानेको निर्देशनमा नेपाल प्रहरीले छापा हान्ने तयारी गरेको हो। उपत्यका भित्र धनाढ्यहरूले संचालन गर्दै आएका जुवाघर र भिआइपि ‘कोठी’हरूमा छापा हान्न गृहमन्त्रीले ठाडो आदेश दिएको प्रहरी सम्वध्द सूत्रले सुनाएको हो।

नयाँ गृहमन्त्रीले जिम्मेवारी लिएसँगै गृह मन्त्रालयमा सुरक्षा अधिकारीहरुसँग भएको गुप्त बैठकमा आलटाल नगरी त्यस्ता ठाउँहरु नियन्त्रणमा लिएर सञ्चालकहरुलाई कानूनी दायरामा ल्याउन मन्त्रीले निर्देशन दिएका छन्।

प्रहरीका बरिष्ठ पदाधिकारीलाई निर्देशन दिँदै गृहमन्त्रीले ‘तपाईंहरूलाई थाहा छ कि छैन मलाई थाहा भएन तर काठमाडौंभित्र उच्च घरानियाँहरूको जुवा अड्डा र आलिशान कोठीहरू प्रशस्तै छन्, तिनीहरूलाई ठेगान लगाउनु पर्याे। प्रहरीकै संरक्षणमा त्यस्ता जुवाघर र कोठीहरू चलेका छन् भन्ने जानकारी मैले पाएको छु। अब ती अवैध धन्दा मेरो कार्यकालमा म हुनै दिन्न। तपाईंहरू गोप्य सर्चमा लाग्नोस्।’  

चेतावनीको भाषामा गृहमन्त्रीले भनेका थिए—‘कुन कुन ठाउँमा क—कस्ले जुवाघर र भिआइपी कोठी चलाएका छन् मलाइ थाहा छ, यदि छापा हान्दा त्यो ठाउँमा केही भेटिएन भन्ने समाचार सुन्न नपरोस्। यस्तो समाचार आयो भने तपाईंहरूले नै सुराकी दिएर धन्दा गर्नेहरूलाई भगाउनु भयो भन्ने मेरो बुझाई हुनेछ।’

अब हेर्न बाँकी छ, प्रहरीले साँच्चै छापा हान्ने आँट गर्छ कि झारा टार्छ। किनभने उपत्यका भित्र लामो समय देखि संचालन हुँदै आएका त्यस्ता जुवाघर र कोठीमा पुग्ने ग्राहकमा न्याय क्षेत्रका विद्वानहरु, उच्च घरानियाँ, विशिष्ट कर्मचारी, ठेकेदार, सुरक्षा कर्मीका हाकिमहरू र नवधनाड्य राजनीतिक व्यक्तिहरु भएको समाचार सूत्रले बताएको छ।
 

प्रतिक्रिया