विश्वप्रकाशलाई कसले सक्ने ?

काठमाडौं।  भाषण होस् या गफगाफ उनी रसिलो भाषा शैलीमा बोल्छन्। पत्रकार थिए, लेख्छन् चोटिलो शैलीमा र बोल्छन् रसिलो पाराले।  अहिले पुरोनो पार्टीको महामन्त्री छन्। पहिले प्रवक्ता थिए। उनको ज्यादातर काम नै बोल्नु हो भन्दा अतिशयोक्ति नहोला। 

पूर्व पत्रकार भनेर आफूलाई चिनाउँदा विश्वप्रकाश शर्मा हर्ष मान्छन्। राजनीतिमा नपसेका भए सायद उनी पत्रकार नै हुन्थे होला। तर उनी युवा उमेरमै प्रजातन्त्रको पुनस्थापना आन्दोलनमा होमिए,धेरै संघर्ष गरे र अहिले उनी विभिन्न तहको परीक्षा उतिर्ण हुँदै यतिबेला नेपाली कांग्रेसका महामन्त्री पदमा क्रियाशील छन्। यिनै विश्वप्रकाश शर्माले आगामी निर्वाचनमा आफ्नो जन्मभूमि झापासँगै प्रेम पनि गर्ने र घरजम पनि गर्ने स्पष्ट पारेका छन्। कविताको शैलीमा विश्वप्रकाशले आगामी प्रतिनिधिसभाको निर्वाचनमा झापाबाटै प्रतिष्पर्धा गर्ने घोषणा गरेका छन्। उनले काठमाडौं ५ बाट चुनाव लड्न चाहेको भनेर आएका समाचारहरुप्रति स्पष्ट पार्दै आफू झापाको क्षेत्र नम्बर १ बाटै चुनाव लड्ने बताएका हुन्।

०७४ मा यो क्षेत्रबाट नेकपा माओवादी केन्द्रका नेता राम कार्की निर्वाचित थिए। शर्माले कार्कीलाई साथै लिएर झापामै उम्मेदवार बन्ने बताएका छन्।

'फेरि प्रस्ट्याउँ वाग्मतीको किनारलाई श्रद्धापूर्वक ढोग्ने हो। तर मान्छे म मेची र निन्दा किनारकै हो। काठमाडौं ५ मा चुनाव प्रचारमा पुग्नेछु नै। तर उम्मेदवार बन्न चाहँदा गठबन्धनका अर्का मित्रलाई सम्मानसाथ साथमा लिएर, झापामै उम्मेदवार बन्नेछु' शर्माले ट्वीट गर्दै भनेका छन्,'प्रेम उता घरजम यता कुरै हुन्न।'

झापा-१ मा माओवादी केन्द्रका नेता कार्कीले पनि आकांक्षा राखेका छन्। गठबन्धनमा सिट बाँडफाँड हुँदा झापा-१ कुन दलको भागमा पर्ने भन्ने निश्चित छैन।

प्रतिक्रिया