सर्वोच्चमा गोला प्रणालीबाट तोकियो मुद्दाको पेसी

काठमाडौँ । सर्वोच्च अदालतमा बुधबारदेखि न्यायाधीशहरूलाई गोला प्रक्रियामार्फत मुद्दाको पेसी तोकिएको छ । गोला प्रथाबाट पेसी तोकिएको पहिलो दिन २ वटा एकल इजलाससहित ११ वटा इजलास तोकिएका छन् ।

न्यायाधीशद्वय मीरा खड्का र कुमार चुडाललाई एकल इजलास तोकिएको छ । त्यस्तै वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्कीको इजलासमा टंकबहादुर मोक्तान परेका छन् । न्यायाधीश हरिकृष्ण कार्कीको नेतृत्वमा गठन भएको न्यायलयको विकृति अध्ययन समितिले अदालतमा भ्रष्टाचार र विचौलियाहरुको चलखेल पेसी तोक्ने कार्यदेखि नै सुरु भएको र यसको नियन्त्रण हुन सके आधा नियन्त्रण हुने उल्लेख गरिएको थियो । समितिले दिएको प्रतिवेदन प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराले कार्यान्वयनमा नलगेको भन्दै प्रधानन्यायाधीशविरुद्ध न्यायाधीश र कानुन व्यवसायी आन्दोलनमा उत्रिएका थिए ।

आन्दोलनपछि मंसिर २ गतेको सर्वोच्चका न्यायाधीशहरुको पूर्ण बैठक बसेर सर्वोच्च अदालत नियमावली संशोधन गरिएको थियो। उक्त नियमावलीमा रहेको प्रधानन्यायाधीशले इजलास तोक्ने व्यवस्था संशोधन गर्दै गोलाबाट तोकिने भनिएको थियो । गोला तान्ने प्रयोजनका लागि समान रुप, रंग, आकार र बनोटका गोटी प्रयोग गरिनेछ ।

त्यसपछि गोटीलाई एक अपारदर्शी थैलीमा राखिनेछ । प्रधानन्यायाधीश र न्यायाधीशहरूले वरिष्ठताका आधारमा क्रमशः सबै न्यायाधीशले एक–एकवटा गोटी तान्नुपर्नेछ ।

तानिएको गोटी सम्बन्धित न्यायाधीशले सीसी क्यामेरामा समेत रेकर्ड हुने गरी सबैलाई देखाई गोटीको संकेताङ्क प्रष्ट बुझाउने गरी सुनाउनुपर्नेछ र त्यसको अभिलेख आन्तरिक कम्प्युटर सञ्जालमा समेत राखिनेछ । यसरी पेसी तोक्दा कुन मुद्दा कुन न्यायाधीशको इजलासमा दिने भन्ने प्रधानन्यायाधीशको स्वविवेकीय अधिकारमा कटौती हुनेछ  ।

प्रतिक्रिया