मानवलाई थाहा नभएको एउटा कुरा हो, मानवता !

rajesh mishraबैशाख २ गते चितवन-२ मा उपचुनाव हुनेभयो। अनियमित नागरिकताको प्रमाणपत्रका कारण आफ्नो सम्पूर्ण बर्चस्व गुमाएका तत्कालीन उम्मेदवार रबिशरण लामिछाने फेरी त्यहाँबाट चुनाव लड्ने निश्चित छ। तर फौजदारी कसूरजन्य दोहोरो राहदानीको मुद्दाले उनको महत्वाकाँक्षी र तिलस्मी राजनीतिक यात्रालाई सदाका निम्ति बिराम लगाईदिने सम्भावना पनि ज्युँदै छ। लोकरन्जक प्रलापको जगमा टेकेर उदाएका लामिछानेसंग राजनीतिक चेतको सर्वथा अभाव रहेको कुरा प्रमाणित भैसक्यो। तर संसदीय गणितको समीकरणमा उनको राष्ट्रिय स्वतन्त्र पार्टीको वजन कायम छ। 

अहिलेको संसदमा जनताले चुनेर पठाएका कुनैपनि राजनीतिक दलहरु र तिनका सदस्य राजनीतिक मूल्य, मान्यता र सिद्दान्तद्वारा निर्देशित छैनन्। न त मतदाताले ती दलको घोषणा पत्र पढेर बुझेर भोट दिएका हुन्। नेपाली राजनीतिक मंचका दुई ठूला खेलाडी दल नेपाली कांग्रेस र नेकपा एमाले बीच बिचार र दर्शनका आधारमा कागजी भिन्नता देखिएपनि ब्यवहारमा यी दुवै दाजूभाई हुन्। यी दुवै दल बिदेशी प्रभाव, कमीसनखोर दलाल र तिनको स्वार्थलाई कार्यान्वयन गराउने रैथाने सम्भ्रान्त र नवकुबेर गिरोहको ईन्धन र ईशारामा चल्ने पूर्जा हुन् भन्ने यथार्थ घाम जत्तिकै छर्लंग छ। 

राजनीतिक दलहरु आम जनताको भोट लिन जति आतूर हुन्छन्, त्यसको तुलनामा सुशासन कायम गर्ने मामिलामा उदासीन छन् भन्ने कथ्य क्लीसे (बारम्बार दोहोर्याईने घिसेपिटेको अवस्था, जसको कुनै अर्थ हुँदैन) मा अनुवाद भएको छ। माओवादीका प्रचण्ड प्रधानमन्त्री हुन् वा होईनन्, आत्मसात गर्ने आधार छैन। उनको सामाजिक रुपान्तरणको रटानमा स्वयं उनी बिश्वस्त देखिंदैनन्। नेकपा एमालेका खड्ग प्रसादको समृद्दिको यात्रा यती समूह र ओम्नीको स्वार्थको साँघुरो वृत्तमा अलमलिएर टुङ्गियो। भब्य ईतिहास तर भग्न वर्तमानको यात्री नेपाली कांग्रेससंग अब जनतालाई जागृत गर्ने कुनै नारा नै बाँकी छैन। भावी पुस्ताले दुत्कार्ने खलनायकको नाम लिनुपर्दा यो दलका नेता शेरबहादुर देउवाको नाम अग्रपंक्तिमा आउनेछ। 

कम्युनिष्टहरु निसर्गले नै जनताको अधिकार चोर्ने चोर हुन्। तर प्रजातन्त्रको पहरेदार हुँ भन्ने दलको नेता नै चोर भएपछि  जनता पनि चोर संग सामन्जस्य गर्न बाध्य हुन्छ। 

चोरै चोरको भीडमा घन्टी बजाउंदै उदाएको स्वतन्त्र नामधारी राष्ट्रिय पार्टीको हविगत किन अचानक खस्कियोरु यसको उत्तर खोज्न लामो राजनीतिक समिक्षा आवश्यक छैन। 

अहिलेको संसदमा जनताले चुनेर पठाएका कुनैपनि राजनीतिक दलहरु र तिनका सदस्य राजनीतिक मूल्य, मान्यता र सिद्दान्तद्वारा निर्देशित छैनन्। न त मतदाताले ती दलको घोषणा पत्र पढेर बुझेर भोट दिएका हुन्। नेपाली राजनीतिक मंचका दुई ठूला खेलाडी दल नेपाली कांग्रेस र नेकपा एमाले बीच बिचार र दर्शनका आधारमा कागजी भिन्नता देखिएपनि ब्यवहारमा यी दुवै दाजूभाई हुन्। यी दुवै दल बिदेशी प्रभाव, कमीसनखोर दलाल र तिनको स्वार्थलाई कार्यान्वयन गराउने रैथाने सम्भ्रान्त र नवकुबेर गिरोहको ईन्धन र ईशारामा चल्ने पूर्जा हुन् भन्ने यथार्थ घाम जत्तिकै छर्लंग छ। 

असारमा जन्मियो स्याल। साउनमा आयो बाढी । छाउरो भन्छ, ओहो ! कस्तो बाढी आएको, यस्तो बाढी त मैले जिन्दगीमा देखेकै थिईन !   रास्वपाका स्वनामधन्य स्वनिर्मित निर्विकल्प सभापतिले नेपाली वा कुनै पनि मुलुकको राजनीति सरल रेखामा चल्दैन भन्ने कुरा नबुझ्नु स्वाभाविक हो। यस अर्थमा उनले सरकारलाई दिएको समर्थन कायम राखेर आफ्ना मन्त्री फिर्ता बोलाउने गरेको निर्णय त्यति हास्यास्पद लाग्दैन। संसदीय राजनीतिको नाईटो नकाट्दै जसरी उनले आफ्नो पार्टीका मन्त्रीहरुको जागीर खोसे, अनि आफू एमाले नेता ओलीको अवैतनिक कर्मचारी बन्न पुगे, ईतिहासले यसलाई अभिलेखमा राख्नेछ। यो एउटा जुर्मुराउँदो आन्दोलनको भ्रूण हत्या थियो। आन्दोलन आन्दोलन हुनुपर्थ्यो। पिपलपाते सभापतिको अवैध सन्तान होईन। 

आफ्नो महत्वाकांक्षाको अचानोमा जसरी उनले एक नयाँ आन्दोलनको शिरोच्छेदन गरे, त्यसका बिरुद्द उनको पार्टीका कसैले मुख खोल्ने साहस गरेको सुनिएको छैन। उनले पार्टीको नाममा गरेको प्रेस सम्मेलन पार्टीको नाममा थिएन। त्यो उनको बारेमा थियो। उनले बनाएको विश्व किर्तिमान, त्यसको बिषय स्थापित सत्य थियो, त्यसका बारेमा थप बहस गर्नु आवश्यक थिएन। 

नेपालका मेडिया साम्राज्य संचालन गर्ने बाह्र भाई मात्र होईन, बाह्र सय सत्ताईस भाईहरुले आआफ्नो डम्फू बजाएर जनताको दिमागमा लंगुरबुर्जा  खेल्दै आएका छन्। उनी आफै त्यो नाटकका एक पात्र थिए। उनले त्यो कुरा बिर्सिए। आवेग थियो, उन्माद थियो। बोल्दैगर्दा आफू एक राजनीतिक दलको नेता हुँ वा एक सतही गफाडी कार्यक्रमको संचालक हुँ भन्ने आत्ममूल्यांकन गर्न बिर्सिए। कार्यकर्ताको हुल बाँधेर आयोजित त्यो कथित प्रेस सम्मेलन पछि उनको नूर गिरेको छ भने त्यो स्वाभाविक हो। अब उनको पार्टीले ढाँटको खाजा खाईसक्यो। बिचारको टेक्ने धरातल थिएन। आचारको समाउने हाँगो थिएन। हावामा उडेको पात हावा चलुन्जेल मात्र चलायमान हुन्छ। रास्वपालाई अब संसदमा गति दिन ओलीको स्वास बाहेक अर्को बिकल्प छैन। कुनैपनि आन्दोलन यति छिट्टै मरेको यो पनि एउटा ईतिहास हो। 

यसैबीच कुण्ठाग्रस्त पूर्वराजा ज्ञानेन्द्रको झन्डै चार सय शब्दको बक्तब्य आयो। यसमा दुईओटा कुरा छन्। एउटा, मुलुकको दुर्दशा देखेर मौन बस्न सक्दिन, अनि अर्को, राजनीतिक दलहरु (अहिले आएर त्यो पनि प्रजातन्त्रका लागि अपरिहार्य) र राजसंस्था बीच सहकार्यको आवश्यकता !
 
यहाँ उर्दूको एउटा उखानको नेपाली अनुवाद बडो सान्दर्भिक हुन्छ, सय मुसा खाएर बिरालो हिंड्यो हजको यात्रामा। नेपाली राजनीतिको नाट्यमन्चमा भूमिका निर्वाह गर्ने हरेक अभिनेताका लागी प्रजातन्त्र शब्द नगरबधुको उध्रियको चोलो हो। 

शब्दको आडम्बरमा भित्री गुदी छाम्न ज्ञानेन्द्र पनि अपवाद होईनन्। उनलाई यो ज्ञान तत्कालीन सात दललाई पन्छाएर माओवादीसंग एक्लै मामिला मिलाउन खोज्दा किन आएन होला ? भारतले धाप मारेको माओवादीले वास्ता नगरेपछि चीनलाई सार्क सम्मेलनमा सहभागी गराउनुपर्छ भन्दै भारतलाई घुर्की लगाउँदा, जमाना राजा महेन्द्रको बेला भन्दा अगाडि बढिसक्यो भन्ने समझ उनलाई किन भएन ? माघ १९ पछि मलाई तीन बर्षको समय देउ प्रभूू भन्दै भारतीय संस्थापनको चाकरी गर्न जानुपर्ने बाध्यता किन आईलाग्यो ? मुलुक गणतान्त्रिक ईतिहासमा प्रवेश गरिसकेपछि उनले राष्ट्रवादी जामा भिरेर म नेपालमै बस्छु भनेर नागार्जुन दरवार माग्नुको अभिप्राय के थियो ?  

आफ्नो दैनिकी गुजार्न मात्र व्यस्त र अभिसप्त आम जनतालाई यस्ता प्रश्नमा घोत्लिने फुसर्द हुँदैन। तर थाहा हुनेलाई थाहा हुन्छ। ज्ञानेन्द्रले मुलुक नछोड्नुको कारण राष्ट्रवाद होईन। हो पनि। उनलाई झिनो आशा छ, जसले गणतन्त्र ल्याए, वा जसले गणतन्त्र ल्याउन पर्दा पछाडिबाट सहयोग गर्यो, अहिले व्याप्त बेथितिका कारण एकदिन उनीहरुकै मोहभंग हुनेछ। भीडको उन्मादमा लाग्ने जनताले यो व्यवस्था पनि पल्टाउन साथ दिनेछ। 

बिसं १९०३ देखि २००७ सम्म राजतन्त्र आफै राणाहरुको पिंजरामा कैद थियो। सुनको कारागारमा हीरामोतीको चारो खाएर हुर्केको राजसंस्था संग जति सम्पत्ति छ, त्यो बदलिँदो परिवेशमा बिभिन्न व्यापारिक संस्थापनमा लगानी भएको छ। ज्ञानेन्द्रको व्यक्तिगत कुलपुंजीको लेखाजोखा गर्ने हो भने यसले स्वाभाविक रुपमा खर्ब रुपियाँको खुड्किलो नाघ्छ भन्ने मान्छे जीवित छन्। होटल सोल्टी, सिप्रदी ट्रेडिङ्, पूर्वका चियाबगान त देखिएका लगानी मात्रै हुन्। यदि गणतन्त्र बलियो हुँदो हो त, उनको अपारदर्शी लगानीको पनि छानबीन हुनेथियो। तर नेपालको हकमा गणतन्त्रवादी र राजतन्त्रवादी खेमा केवल देखाउने दांत हो। 

नदेखिएको एउटा अर्को संस्थापन छ। जो लिच्छवी कालदेखि आफ्नो दूनो सोहोर्दैछ। पात्र फेरिएका छन्। प्रवृत्ति उही छ। ल्हासामा सुनको ब्यापार गर्ने चिनियाँ चहेता नेवार समूहका केही व्यापारीहरु, भारतको जयपुरसंग ब्रिटिश भारत कालदेखि मणि माणिक्य ओसार्न सिधा सम्पर्क भएका अमात्यहरु, हुण्डी प्रथाबाट नेपालको राजसी रकम बेलायतको बैंकमा जम्मा गर्न सक्ने सामर्थ्य भएका राजभण्डारीहरु, लिच्छवी काल देखि शाह काल सम्म शासकलाई जजमानी गरेर पाण्डित्य प्रदर्शन गर्दै नेपालमा सामन्ती प्रथालाई उकेरा लगाउने जोशीहरु, यस्ता खलक धेरै छन्, जसको पहुँच नेपालभन्दा बाहिरको शक्तिकेन्द्रमा अझै कायम छ। भूमंडलिकरण केवल अहिलेको भाष्य होईन। यो पहिले थियो। अहिले नयाँ पुस्ताले ईन्टरनेट मार्फत साक्षात्कार गरेको मात्रै हो। 

यस्तो पृष्ठभूमिमा एउटा प्रश्न उब्जिन्छ। के प्रजातन्त्र टाउको गन्ने भीड मात्रै हो ? अमेरिकाका ट्रम्प, फिलिपिन्सका डुटेर्टे, ब्राजीलका बोल्सेनारो, भारतका मोदी अथवा नेपालका ओली ? के यीनीहरु जनताको एजेन्डाबाट परिचालित छन् ? रबि लामिछाने, रबिन्द्र मिश्र, बालेन्द्र साह, ज्ञानेन्द्रबहादुर शाही र ज्ञानेन्द्र शाह समेत उत्तेजक भीडले उचालेको पिङ्गमा झुल्नु एउटा कुरा हो। केही समयको कुरा हो।

 संसारमा सुन खानीबाट आज जति सुन उत्खनन् भएको छ, हिजो थिएन। हीरा जति निकालियो, त्यति हिजो थिएन। तैपनि मान्छे गरीब छन्। बिकसित देशका बहुराष्ट्रिय कम्पनीहरु माग र आपूर्तिको सन्तुलन र आफ्नो नाफा कायम राख्न विश्वमा उत्पादित आधा खाद्दान्न समुद्रमा फालिदिन्छन्। त्यसैले गरीब मुलुकका नागरिक भोका छन्। विज्ञानले मुटु कलेजो प्रत्यारोपण मात्र होईन, टिस्यु कल्चर गरेर नयाँ फोक्सो बनाउने प्रविधिको बिकास गरिसकेको छ। तर आम जनताको त्यसमा पहुँच छैन। संसारमा अहिले कति विश्वविध्यालय  छन् ? कति गरीबका सन्तानको त्यहाँ पहुँच छ ? सोच्ने कुरा हो। 

यो लेखमा ज्ञानेन्द्र देखि लामिछाने सम्मको चर्चा भयो। तर यो वाहियात हो। लेख्ने र पढ्ने दुवैको समयको बर्बादी पनि हुन सक्छ ! 

कुकुरलाई कुकुरता थाह छ ! बिरालोलाई बिरालोता ! बाँदरलाई बाँदरता ! सुंगुरलाई सुंगुरता ! 

मानवलाई थाहा नभएको एउटा कुरा हो, मानवता ! 

 

प्रतिक्रिया