सर्वोच्चमा आजदेखि गोला प्रणाली

काठमाडौं । सर्वोच्च अदालतमा आजदेखि गोला प्रक्रियाबाट पेशी तोकिने भएको छ । गोला प्रक्रियाका लागि बिहान १० बजे सबै न्यायाधीशहरु भेला भई गोला तानेर इजलास गठन गर्ने र त्यसपछि मुद्दाको समूह छानेर सुनुवाइ सुरु गर्नेछन् । योसँगै सर्वोच्च अदालतमा करिव डेढ महिना लामो गतिरोध अन्त्य हुने अपेक्षा गरिएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराले गोला प्रक्रियाबाट पेशी तोक्ने काम सुरु नगरेको भन्दै कानुन व्यवसायी र न्यायाधीशहरु आन्दोलनमा थिए । तर गोला प्रक्रिया सुरु गर्ने सर्वोच्चको पूर्ण बैठकले निर्णय गरेसँगै नेपाल बारले सबै बार इकाईहरुलाई पत्राचार गर्दै काममा फर्कन कानुन व्यवसायीहरुलाई आग्रह गरिसकेको छ ।

उसले उच्च र जिल्ला अदालतमा पनि गोला प्रक्रिया लागू गर्न माग गर्दै दैनिक एक घण्टा भने हातमा कालोपट्टी बाँधेर काम गर्ने निर्णय गरेको छ । पेसी तोक्नका लागि गोला  प्रक्रिया लागू गर्न सर्वोच्च अदालतको नियमावली संशोधन गरिएको थियो ।

 नियमावली  कार्यान्वयन  गर्ने बारेको  सूचना राजपत्रमा पनि प्रकाशित भइसकेको छ । गोला प्रणाली लागू भएसँगै पेसी तोक्ने प्रधानन्यायाधीशको अधिकारमा कटौती हुनेछ । यसअघि न्यायाधीश  हरिकृष्ण  कार्की  नेतृत्वको  समितिले  न्यायपालिकामा हुन सक्ने भ्रष्टाचार र अनियमितता रोक्न गोला प्रणालीमा जानुपर्ने सुझावसहितको प्रतिवेदन प्रस्तुत गरेको थियो । 

प्रतिक्रिया