कटाक्ष

आक्रोशित भाईको प्रेमपत्र

प्रिय भाई भानु!

जय नेपाल!

एक्काईस डिसेम्बरका दिन प्रेषित तिम्रो प्रेमपत्र उसैदिन प्राप्त भएतापनि पत्रमा उल्लेखित तिम्रो आक्रोश र जिज्ञासाको जवाफ लेख्न निकै कठिनाई भएकाले विलम्ब प्रति क्षमाप्रार्थी छु! तिम्रो पीडा मिश्रित आक्रोशलाई मैले सहजतापूर्वक ग्रहण गरेको छु! आक्रोश उसैसँग व्यक्त गरिन्छ जसप्रति प्रेम हुन्छ! यस अर्थमा तिम्रो आक्रोशपत्रलाई मैले प्रेमपत्रको रूपमा स्वीकारेको छु!

प्रिय भाई,

IMG_20220506_132220

पीडाको जुन गाडीमा तिमी सवार छौ! म पनि त्यही गाडीको यात्री हुँ! हुनसक्छ तिमी पछिल्लो सिटमा अनि म अघिल्लो सिटमा छु! तर कथा व्यथा एकै छ! तिम्रो र मेरो प्राथमिक शिक्षा उस्तै हो भाई! तिमी मामाघर आएर बहुदले भयौ! म जन्मघरमा च्याँ गर्दै बहुदले भएँछु! घरको माहोलै पञ्चायत विरोधी! मैले पनि मेरा काका बाउहरुबाटै सुनेका काङ्ग्रेस कथा बाल मष्तिकमा थुप्रिँदै गए! सात सालको क्रान्तिकथा! पन्ध्र सालको आम चुनाव! सत्रको महेन्द्र हस्तक्षेप! अठारको सशस्त्र विद्रोहका कथा सुन्दैगर्दा सुवर्ण, बिपि, किशुनजी, गणेशमान अनि काङ्ग्रेसबारे निकै जानकार भैसकेको पत्तै पाईएन! संगम चोकमा रहेको मूलघर अगाडि पुलिसको लर्को काका दाजुहरुको भागदौड पछि बारीको डिलको अस्थायी क्याम्प! काकी आमाहरु लालटिन कुप्पी निभाउन ब्यस्त! पुलिस फिर्ती पछि लुक्दै आएर खानपिन त कहिले बारीमै रात्री पिकनिक! दैनिकजसो अजीव दृश्य! 

अलि बुझ्ने भएपछि आँखै अघि देखिएको एसपी शैलेन्द्र नामबाट कुख्यात काण्ड, मेचीपुल काण्ड लगायत अनेकौं आन्दोलनमा सक्रिय काका दाजुहरुको जेलयात्रा हेर्दाहेर्दै जुँगाको रेखी सँगसँगै मन मष्तिष्कमा काङ्ग्रेसको रेखी बसिसकेछ! टिम्बुरबोटेका राम लक्ष्मण, क्याप्टेन यज्ञ बहादुर थापा, भीमनारायण श्रेष्ठ अनि दुर्गानन्द झाको शहादत देखि बेपत्ता साकेतचन्द्र मिश्रसम्मका कथा ब्यथाले ज्यानमा उग्रता थपिदियो! ०३६ मा नेबिसंघ गठन गरेको भोलिपल्ट अञ्चलाधीश अफिसको दिनभरिको चौरी हिरासतले काङ्ग्रेस बाटोमा हिँड्न वाध्य बनाईदियो! जनमतसंग्रह  ताका बिपिसँगको प्रत्यक्ष भेटपछि अझ उत्साहित हुँदै बहुदल ल्याउँ, देश बचाउँ! भन्दै चिच्याएको कसरी बिर्सिन सकिन्छ र भाई? हाम्रो उसबेलाको  ‘बचाउँ’ चिच्याहटलाई अहिले नेता भनाउँदाले ‘बेचाउँ’ मा परिणत गर्दिए त तिम्रो हाम्रो के दोष भाई?

जनमत सकियो! राजा बीरेन्द्रले सुधारिएको पञ्चायत भने तापनि पञ्चले निर्दलको जीत माने! हामीले हार खाएनौ! घरमा सिन्को समेत नभाँच्ने हामी कहिले सडक सफा गर्ने बहानामा झाडु लिएर निस्किन्थ्यौ त कहिले बिपिका नाममा रुख रोप्ने नाटक मञ्चन गथ्र्यौं! पुलिसले खेद्थ्यो लगेर थुन्थ्यो! भोलिपल्ट सानोतिनो नेता भै टोपलिन्थ्यो!

०४६ लाग्यो! गणेशमानजीलाई जसरी पनि बहुदल ल्याउनु थियोे! पारीबाट चन्द्रशेखरलाई नेपाल आउन मन लाग्यो! बिपिले कहिल्यै बिश्वास नगर्नु भनेका सत्र टुक्राका बामपंथीलाई एक जुट गरायौं! बेला कुबेला धोका दिने बामपंथीसँगको संगतको फल आज पर्यन्त भोग्दैछौँ! बहुदल ल्याउन तिमी हामीले गरेका उपद्रो कथा उसबेला हामीलाई खेद्ने हल्दार काङ्ग्रेसलाई याद हुने कुरै भएन न त उसबेला तिमी हामीसँगै सय पचास घुस माग्ने खरदार काङ्ग्रेसको खोपडीमा रहेको होस!

तिमीलाई त अलि पछि ल्यायो क्यारे! म रमेश र पुष्पलाई त माघ २६ मै नियन्त्रणमा लिईसकेको थियो! मलाई राम्रोसँग याद छ भाई! तिमीले भनेझैं तिमीले भोगेको यातनाको लाचार प्रत्यक्षदर्शी हो म! उसबेला प्रशासन दुई ब्यक्तिको खोजीमा ब्यस्त थियो! विद्यार्थी नेतामा जगदीश काफ्ले अनि काङ्ग्रेसका कृष्ण सिटौला! इतिहाससँग खेलवाड नगरी ईमान्दारीपूर्वक भन्नुपर्दा त्यस समय झापा आन्दोलन हाँक्ने प्रमुख पात्र यिनै दुई थिए’ भन!

'कृष्ण सिटौला कहाँ छ? जगदीश काफ्ले कता छ?’ भन्दै घोप्टो पारेर तिम्रो पिठ्युँमा बुट बजार्दा ‘मार्छस् भने मार! तर उनीहरु कहाँ छन् भनेर ज्यान गए भन्दिन’ भन्ने जवाफ फर्काउँदै थप बुट थाप्दै तिमी चिच्याएको झ्यालबाट निरिहतापूर्वक हेर्र्नु र सुन्नु बाहेक के नै गर्न सक्थें र भाई? त्यस समय तिमी समान यातना भोग्ने ज्याद्रा काङ्ग्रेसमध्ये पुष्प सिटौला उतै तेल बेच्दैछन्! अर्का पीडित हरेकृष्ण कार्की वडामै क्षेत्रीय प्रतिनिधि हार्दैछन्! तिमी पनि वाध्यताको बोरा बोक्दै अमेरिका पलायनको यात्री हुन पुग्यौ!

1674124302462

भानु भाई

कुनै समय झापा काङ्ग्रेसलाई उचाइमा पुर्याउने दुई पात्र सिटौला र काफ्लेकै कारण आज झापा काङ्ग्रेस रसातलमा पुगेको छ भन्दैगर्दा पीडा महसुश भएतापनि तीतो यथार्थ यही नै हो! सिटौला गुटको राजनीतिमा लिप्त हुँदै सत्ता उन्मादले सकिए! जगदीश रक्सी उन्मादले सकियो! जनआन्दोलनका दुबै नायक आआफ्नै उन्मादले सकिए! काङ्ग्रेस पनि सके!

मैले बुझेको तिम्रो मूल गुनासो पनि यही हो! कुनै समय ‘सिटौलाको गलत कार्यलाई तपाईंहरुले साथ दिएर गल्ती गर्नु भो’ भन्ने गुनासो बीचको तिम्रो रोदन मेरो मुटुमै बिझेको थियो! तिमीले काङ्ग्रेस दुर्दशा सम्झिदै भावुक भएर रुँदै फोन काटेका थियौ! विश्वास गर भाई! मैले सिटौलालाई कहिल्यै समर्थन गतेको छैन! हो– काङ्ग्रेस उत्थानका लागि ४९ देखि ५० सम्मको उनको सत्कर्मलाई निस्वार्थ समर्थन गरेकै हो! साथ दिएकै हो! तर त्यसपछिको गुटबन्दी र  काङ्ग्रेस पतनको कुकर्मलाई कहिल्यै समर्थन गरेको छैन अनि साथ पनि दिने छैन!

सिटौला अहिले काङ्ग्रेसबारे के सोच्लान्? या के सोच्दै होलान्? मलाई थाहा छैन! तर जगदीश अहिले पनि भलै रक्सीकै नसामा होस काङ्ग्रेसनै सोच्छ! काङ्ग्रेस नै चिच्याउँछ! तिमी पनि बेलाबेला जगदीश सुधारका लागि चिन्तित हुन्छौ! आजका दिनमा पनि जगदीशले लत्तो नछाड्ने हो र खुट्टा टेक्ने हो भने तीन नम्बर क्षेत्रको निर्विवाद नेता उही हो!

तिम्रो हाम्रो दुर्भाग्यनै हो भाई! जसलाई हामीले आदरणीय ठानेर पछि लाग्यौं तिनै बाँदरणिय निस्के! जिल्ला देखि केन्द्रसम्मका नरिवल देखेकाहरु सुपारी सावित भए! एकाउन्न सालको गिरिजा सनकबाट रोगाएको जीर्ण काङ्ग्रेस आज देउवाले घाटेबैद्यको जिम्मा लाउँदैछन्!

थोरै आशा जागेको थियो! थोरै भरोसा पलाएको थियो! गगन र विश्वप्रकाश नामका आशाका किरण अन्धकारमय काङ्ग्रेसभित्र छिरेका छन् भनेर! तर आशा निराशामा परिणत होला कि? भन्ने आशंकाले जग खन्न थालेजस्तो छ! विश्वप्रकाश र लैनोपाडोबीच खासै भिन्नता देखिन छाडेको छ! लैनोपाडो दौडिन त दौडिन्छ तर कता? कहिले? किन? टुङ्गो हुन्न! बाँदरणियलाई नै आदरणीय भन्दै सलाम ठोक्न ब्यस्त उनी मेची नगरको घेराबाट जिल्लामा फैलिने छाँटकाँट देखिदैन! मुलुकको कुरो त झनै पर भैगो! रह्यो अर्का महामन्त्रीको कुरो– पार्टीमा आफ्नो पदीय हैसियत अनुसारको उपस्थिति देखाउन छोडेर माकुनेझैं अप ...मान भयो भन्दै सेती किनारमा विरह गाउँदै देख्दा अरुले भनेझैं कतै गनगन सावित हुने त हैनन्? भन्ने चिन्ता ब्याप्त छ! आशलाग्दो केटो जेठाजु नपरोस् भन्ने कामना छ!

गुनासो छोड भाई!

तिमीले पाएको दीक्षामा न मेची किनारको सुपारीको दुर्गन्ध छ न त रक्तचन्दनको दुर्गन्ध छ! न त प्राडो पजेरोदेखि सुडान काण्डसम्मको राष्ट्रिय कलंकको टीका लागेको छ! तिमीसँग स्वाभिमान छ! आत्मसम्मान छ! जसले तिमीलाई यति लेख्ने अनि बोल्ने उर्जा दिएको छ! तिमीलाई सामाजीक प्रतिष्ठा दिएको छ!

गर्व गर भाई कि तिमी काङ्ग्रेस निष्ठा  बालगोपाल पोखरेलबाट दीक्षित छौ! जसले तिमीलाई दास काङ्ग्रेस हुनबाट जोगाउँदै नेपाली काङ्ग्रेस बनायो! सानसँग चिच्याउ कि ‘म बालगोपाल पोखरेल नामको काङ्ग्रेस सतिशालको भाञ्जा हुँ!’ आफ्ना अग्रज निष्ठाबाट चिनिन पाउनु आफैंमा गर्वको बिषय हो! जसरी म ज्ञानमणि भूर्तेल भन्दा अघि दाजुहरु शिव भूर्तेल, भरत भूर्तेलको भाईको नामबाट चिनिदा गर्व महसुश हुन्छ! जसलाई असमय गुमाउनु पर्दाको पीडा आजीवन सहनु पर्दैछ!

भानु भाई,

निरास नहोउ, काङ्ग्रेस भएर कुटाई खाएकोमा रत्तिभर गुनासो नगर! त्यस वापत तिमीले प्रजातन्त्र पाएकाछौ! पक्कै हो– काङ्ग्रेस र प्रजातन्त्र भित्र अन्धकार देखिएको छ! तर रात जतिसुकै लामो भए तापनि उज्यालो अवश्य हुन्छ! निराशा हैन आशा भरोसा र निष्ठाको बाटो पछ्याउ गन्तव्य अवश्य भेटिन्छ!

जहाँ छौ, जस्तो छौ सन्तुष्ट रहु, मस्त रहु!

किस किसको समझिएगा?

किस किसको रोईएगा?

आराम बढी चिज है!

मुँह ढाकके सोईएगा!!

जय नेपाल!
 

प्रतिक्रिया