राजेन्द्र लिङ्देनलाई मात्तिने छुट छैन

माघको कठ्याङ्ग्रिने चिसोमा तातेको राजनीतिका सुपात्र बन्ने मौका पाएका केहिथान भाग्यमानी मन्त्रिहरू यो राज्यको नायक बन्ने दौडमा सहभागी भैछाडे। अवसरको ढोका खुलेकै हो, मौका आउँछ पर्खिंदैन भन्ने कुराको ज्ञान सबैमा रहेछ। बडे बडे मै हूँ भन्ने राजनीतिक नेताहरूको पत्तासाफ गरेर संसद छिरेका केहिथान युवाहरूले धिपधिपाएको दियोमा तेल थपेकै हुन्।

मृत्यु सैयामा लमतन्न परेको राजनीति तिनै युवाहरूको जोसिलो भाषण, केहिगर्ने हुटहुटी र ठाउँमा पुगेपछि गर्छन् भन्ने आसैआसमा वौरिएको छ। नेगेटिजम हावी भएको हाम्रो समाज पोजेटिभ भाइव सिर्जना गर्नपनि सक्छ है भन्ने सन्देश प्रवाह गर्नै पर्छ हेक्का राखेकै होलान् सत्तामा पसेका युवाहरूले। पाको राजनीति आलाकाँचा ठेट्नाहरूको हातमा पुग्नेभो भनेर चिन्ता गर्ने एकथरी पुरातन सोचराख्ने वर्ग चिट्चिट् पसिना काढेर चिन्तामै लिप्तछ। 

आसावादीहरू भने अब चैं केही हुन्छ भनेर उर्जावान युवाहरूको कोर्टमा बल पुगेको लख काट्न थालेका छन्।

सत्ता र भत्ताले पुगिसरी आका दलिय पाका नेताहरूलाई थान्को नलाएसम्म केहिहुन्न भन्ने जमाना हो यो। जमाना अनुसार चल्न सक्नुपर्छ नत्र पाखालाग्न आइतबार कुर्नु पर्दैन। मन्त्रिमण्डल बिस्तार पछि तरंगित राजनीतिक वृत्तमा चिन्ता नामको चरोले प्रवेश पाएकोछ। शहरी बिकास मन्त्री विक्रम पाण्डे, श्रम मन्त्री डिपि अर्याल कर्मचारी तहलगाउने मन्त्री अमन लाल मोदीको कार्यकाल कस्तो होला? चासो राख्नेहरू बढेका छन्। शिक्षा मन्त्री शिशिर खनाल, स्वास्थ्य राज्य मन्त्री तोसिमा कार्की र कानून मन्त्री ध्रुवबहादुर प्रधानमा आशाको मात्र अलि बढि नै गरिएको छ।

इमान र जमान भन्दा बेइमानहरूको जगजगी भएको ठाउँ हो सिंहदरबार। दलीय दलदलमा डुंगडुगी गनाएका दलेहरूबाट घेरिएको छ सिंहदरबार। चाकरी, चाप्लुसी र भ्रष्टतन्त्रका मसिहाहरूको नियन्त्रणमा रहेको कर्मचारीतन्त्रबाट बचेर काम गर्नु फलामको च्युरा चपाउनु सरह हो। सडकमा ब्यक्त गरिने जोस र सिंहदरबार प्रवेश पछि ख्याल राख्नुपर्ने होस् हात्तिछाप चप्पल जस्तो उस्तैउस्तै हुन् कदापी सक्तैन। गृहमन्त्री रवि लामिछाने माथि विश्वास र भरोसा गर्नेहरू नै लुगलुग खुट्टा कमाउन थालेको सुईंको आइसक्यो बजारमा। टाउको परिवर्तन खोजेको होइन प्रवृति परिवर्तन खोजेको हो समाजले भन्ने चुरो कुरो बुझिएन भने आसैआसमा बित्यो मेरो जिन्दगानी बोलको गीत गुनगुनाउनु बाहेक नागरिकले परिवर्तनको सिरेटो महसुश गर्न पाउने छैन।

चुनाव जित्न फालिने वचन र चुनाव जितेपछि ब्यक्त गरिने विचारमा चिप्लेर धेरै नेताहरू उत्तानो परेका छन्। कमल थापा, ईश्वर पोखरेल, महेश बस्नेत, उपेन्द्र यादव भर्खरै उत्तानो परेका घाइतेहरू हुन्। यी घाइतेहरूको शिघ्र उपचार सम्भव छैन अब। काइ परेको चिप्लोमा लडेको घाइते राप्रपा तंग्रेर सत्तामा पुगेकोमा दीप प्रज्वलन गर्नेहरूको भिड बढेको छ। आदर्श र आस्था बचाउनु पर्छ, राज्य र राजपाठ पहिचानको केन्द्र बन्नुपर्छ। मियो बिनाको दाईं हुँदैन, मियोको खाँबो बलियो हुनुपर्छ। 

राजेन्द्र लिङदेनमा राष्ट्र, राष्ट्रियता र पहिचान खोज्नेहरूले सत्तामा पुग्ने भर्याङ मात्रै खोजेका होइनन् है भन्ने सन्देश दिने कसले? जवाफ दिन सक्ने ब्यक्तित्व राप्रपा भित्रै जन्मिएको छ। उपप्रधान र उर्जाको रापतापले मात्तिने छुट राजेन्द्र लिङदेनलाई छैन। जनताले गहुँत छर्केर चोख्याइसकेको राप्रपालाई अवसरै अवसरको सुनौलो अवसर छ। पुस २७ को म्याचमा गोल गरेर विजयी सुरूआत गरेको राप्रपालाई दुइवटा महत्वपूर्ण खेल नजिती सुखै छैन। हिन्दुराज्य सहितको राजसंस्था पुनर्थास्थापना र संघीयता खारेजीको खेल जित्नुपर्ने चुनौति लिङदेनको काँधमा आइपरेको छ।

खेलमा झेल हुन्छ त्यसमाथि एम्पायर नै उत्तर र दक्षिण फर्केका छन्। झेली एम्पायर फेयर गेमका लागि घातक साबित भएका थुप्रै उदाहरण छन्। राम्रो खेलाडीका लागि दर्शकदीर्घाका दर्शक निर्णायक हुन् एम्पायर होइन भन्ने हेक्का राखे भने राजेन्द्र लिङदेनले गोल गर्न सक्छन्। तर लिङदेनले पनि कमल थापाले झैं लिङगरिङ गर्नथाले भने खेल झेलिहरूले नै जित्नेछन् र एउटा सोझोे लिम्वुको राजनीतिक अवसान हुनेछ।

नेपाली राजनीतिले तीन वर्गमा बिभाजित तर एउटै लक्ष्य र उदेश्य बोकेका नेता कार्यकर्ता जन्मायो। जनताको नाम, भ्रष्टहरूको काममा लिप्त भयो नेतृत्व। ब्यवस्था परिवर्तन देखि सत्ता प्राप्ति कमाउ धन्दामै केन्द्रित रहँदाको परिणाम हो राजनीति प्रति जनताको बितृष्णा। मौका नपरेसम्म चरो मौका परेपछि बन्चरो हुने राजनीतिका चरित्र पछिल्लो समय नकच्चरोमा रूपान्तरण भएको सत्यमाथि पर्दा हालेर दलिय नागाहरूको लाज छोपिने वाला छैन अब।

आश मरेको राजनीतिमा प्राण थपेको छ जोसिला युवाहरूको प्रवेशले। जनमत पाएर सत्तामा पुगेका पुराना नेतृत्वले खोलो तर्याे लौरो बिस्र्योेको नीतिलाई अँगालेकै कारण आजको दुर्दिन भोग्नुपरेको यथार्थ कसैबाट लुकेको छैन। हो, यो सत्यको मर्म सिंहदरबार प्रवेश गरेका नव प्रवेसी युवापुस्ताले मनन गर्नु जरूरी छ अन्यथा उही पुरानो कथन जुन जोगी आएपनि कानै चिरेका भन्ने बाहेक केही पनि बाँकी रहने छैन। चरो, बन्चरो र नकच्चरो तीनवटै शब्दका आआफ्नै परिभाषा छन्। अब राजनीति गर्छु भन्ने पुस्ताले यी तिनै शब्दको परिभाषा भन्दा पृथक इमान, जमान र स्वाभिमान बचाएर सफल राजनीतिको यात्रा गरून्, शुभकामना।

प्रतिक्रिया