रचनात्मक लज्जाहीनता

प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभामा विश्वासको मत माग्ने सिलसिलामा व्यक्त गरेका अभिव्यक्तिहरू सकारात्मक र आशाप्रद छन्। भाषणमा प्रयोग भएका पहुँच हैन विधिको शासन, विश्वासपूर्ण सहकार्य, इमान्दार आत्मस्वीकृति, सुशासन विरोधी गतिविधि नियन्त्रण आदि  जस्ता कुराहरूले रचनात्मक बदलावको सङ्केत गरेका छन्। प्रचण्डको यो अत्यन्तै दम्भहीन र शालीन सम्बोधन हो। यसमा घोचपेच, उपहास र निन्दाको पूर्णतः अभाव देखियो, जो सराहनीय छ।

हाम्रो राजनीतिमा लज्जाहीन प्रवृत्ति हावी हुन थालेको धेरै वर्ष भयो। पछिल्लोपटक उनीहरू जति लज्जास्पद तरिकाले छिन्नभिन्न भएका थिए, अहिले त्योभन्दा पनि लज्जास्पद तरिकाले मिल्न पुगेका  छन्। कहिलेकाहीँ लज्जाहीनता पनि रचनात्मक हुँदोरहेछ।

एउटा भनाइ छ– जबसम्म युद्धको शङ्ख बज्दैन, तबसम्म शान्तिको आशा मर्दैन।

त्यसै कारण अझै पनि केही हुन्छ कि भनेर आशा गर्नुपर्ने नै हुन्छ। हाम्रो वर्तमान राजनीतिक नेतृत्वबाट कुनै कायापलट होला भन्ने आशा पटक्कै छैन, तर अर्को उपाय पनि त छैन। प्रधानमन्त्री प्रचण्डले प्रचण्ड रूपमा सकारात्मक भाषण गर्नुभयो। नेपाली काङ्ग्रेसले उहाँलाई विश्वासको मत दिएर चुनावमा माओवादीलाई दिएको भोटको ‘सदुपयोग’  गरेको छ। त्यति मात्र होइन, बहुदलीय पद्धतिमा ‘सबै नेपाली पञ्च र सबै पञ्च नेपाली’  भन्ने पुरानो भनाइ पनि चरितार्थ हुन पुगेको छ। 

भावुक भाषण गर्न सजिलो छ। किन्तु बहुआयामिकरूपमा बरबाद भएको देशलाई सही ट्रयाकमा ल्याउने काम त भावुकताबाट सम्भव छैन। 

उहाँ र उहाँका मन्त्रीहरूले जरामा रहेको समस्याको समाधान पातमा खोज्न थालेको देखिएको छ। अतः निम्न प्रकारका लफ्फाजी र गतिविधि गर्न बन्द गर्नुहुनेछ भन्ने आशा छ– 

-वन व्यवस्थापन भताभुङ्ग पारेर घाँस दाउराको सहज आपूर्तिका कुरा गर्न,

-भताभुङ्ग कृषि व्यवसायलाई नसम्हालिकन फसलका कुरा गर्न,

-निजामती सेवाको सुदृढीकरण नै नगरी असल सेवा प्रवाहका कुरा गर्न,

-आफ्नो र आफ्नाहरूको आचरणमा सुधार नगरिकन नैतिकता र सदाचारका कुरा गर्न,

-वाणिज्यको उचित नीतिगत प्रबन्ध नगरिकन छापा मारेरै बजार भाउ नियन्त्रणका कुरा गर्न,

-पर्यटक आगमनको समुचित प्रक्षेपण र आकाशको व्यवस्थाबिना एअरपोर्ट निर्माण गर्न, 

-स्रोत सुनिश्चित नगरी आयोजना स्वीकृत गर्न, 

-ठेकेदारहरुसँग ‘भेटघाट’ पनि गरिरहने र समयमै काम पूरा गर्नू भनेर कर्मचारीलाई निर्देशन दिने कार्य गर्न,

-देशमा उचित रोजगारी र स्वरोजगारीको व्यवस्था नगरिकन विदेश गएका नेपाली फर्काउँछौं भनेर जगहँसाइ गर्न,

-हुनत देश निकै तल झरिसकेको छ तापनि अझै तल झार्ने खालका नचाहिने हर्कत गर्न, 

-बिना कुनै प्रयोजन राष्ट्रिय परिचयपत्र जारी गर्ने जस्ता अर्थहीन कार्यमा स्रोत र साधन खर्च गर्न,

-औषधोपचारका नाममा पहुँचका आधारमा रकम बाँड्न,

-पार्टीका कार्यकर्तालाई फाइदा हुने खालका फजुल रोजगारीका लागि रकम निकासा गर्न,

-सामाजिक सुरक्षा भत्ताको नाममा अनर्गल प्रतिस्पर्धा गर्न,

-देशमा स्वास्थ्य सेवाको बदहालीको पहिचान गरेर उचित व्यवस्था गर्न नसक्ने हो भने त्यसबारे यो त्यो गफ गर्न, 

-विश्वविद्यालय र विद्यालय बिगारेको उहाँहरूले नै हो। त्यो बिग्रेको नसपारिकन शिक्षाबारे भाषण गर्न। (लेखक भागवत खनालको समसामयिक टिप्पणी)
 

प्रतिक्रिया