बाँचिरहेका लासहरू

हतार हतार सिँगार पटार सकेर पोयम झरी। चिच्याउँदै थी उ, ल हेर अझै झरेका छैनन् कस्ता अल्छी होलान्। लौन मलाई ढिला भैसक्यो रविले टाइम देको नि घर्कि सक्यो।

गाडी स्टार्ट भयो, ट्वाँ ट्वाँ हर्न बज्न थाल्यो। हतार हतार सोडियम झर्याे, उल्टै गालि गर्न थाल्यो किन ढिला गर्या? त्यस्तो ब्यस्त मान्छेसँग बल्ल बल्ल टाइम लेको, यहिं एक घण्टा ढिला भैसक्यो के भेट होला र अब! गाडी भित्रै भनाभन, गालिगलौज चल्यो। आज नि भेट भएन भने काम डुब्छ। सोडियमको काम पोयम ड्राइभर?

बार्दलीबाट हेरिरहेकी कान्ताले पचाउनै सकिन र मुर्मुरिँदै भित्र पसी। यो त अचाक्ली भो त्यो सोडियमले त हाम्रो घर परिवारै भताभुङ्ग पार्ने भो।

बागलुङेले शहरमा बस्न पाको त्यो पनि अर्काको घरमा। घरज्वाईंले झैं रजाईं चलेको छ। मेरै बारीको घाँस मेरै भान्साको सत्यानास भने जस्तै। बागलुङे लुङ्गिमा झरेको अहिले टाइसुटमा ठाँट्टिएर आफ्नै बाउआमाका लागि पनि पराइ भैसक्यो। गोठालो जाँदाको साथीले नि देखेछ शहराँ गाडिआँ घुमेको। हात पनि हल्लाएछ उस्ले, सोडियमले देख्या नदेख्यै गरेपछि मनमनै भनेछ साथीले “भात खानी थाल छैन मुत्नि कोपरा”।

बागलुङे गाउँ फर्केर सोडियम सुकुलगुण्डो भएछ भनेर गाउँभरी झ्याली पिटेछ। खोइ कुन्नी एउटी उत्ताउली नकचरी भेटेछ त्यो मोराको खुट्टा भुईंमा छैन भन्दै। बाउआमा नि लिन आउँछ रे अब! सिंगै घर देकी छ रे पोयमले सोडियमलाई बस्न। गाउँको चौतारो न हो ठालुहरू जम्मा भाका हुइयाँ चलिगो। ए ठाँइलो नि शहर जानी भो, बेसारे काकाले सोधीहाले। बाउआमै लिन आउँछ रे त उतै राख्छ रे, लौ ठाँइला खप्पर नि बल्यै रछ। दैलो थुनेर थुतुनो चल्याउन्या सन्तान सोझा साझालाई फन्दामा पार्न सिपालु छन्। अक्करे काकाले पुरानो कोदो नतिरेको प्रसंग कोट्याउँदै सुनाए।

शहरको कोलाहाल, उछलकुद, जताततै स्वार्थसँग कुम ठोक्काउनु पर्ने दैनिकी देखेभोगेर गाउँ फर्केका काकाबाहरूको चौतारे गफ सुनेर मन खिन्न पार्दै सोडियम लाग्यो घरतिर। फलैंचामा सुकुल ओछ्याएर स्वस्थानी वाचन गरिरहेका ठाँइलाबाले छोरो आएर टुसुक्क पिँडीमा बसेको देखे। माथि फलैचाँ बसन बाबू किन तल बस्या? श्रवण कुमारले आफ्ना बाआमालाई गरेको सेवा कर्तब्य हो कि मायाँ? बाले झ्वाट्ट सोधेपछि अकमक्क पर्याे सोडियम। खोइ बा, मैले त त्यो कथै बिर्सें भनेर पन्छ्यो उ। बाले स्वस्थानिको अध्याय तुर्याउनुभो। जाउ बावु पूजा कोठामा किताब थन्क्याएर आउ बाले अराउनुभो। ल पर्साद खाउ, अनि छोरा शहर जाउँ उतै बसौं त भन्यौ, मलाई त पटक्कै मन छैन। तिम्री आमानि जान्न म शहर तहर बाउ छोरा जानू पो भन्छे त। आमालाई भन्यौ शहर जाने कुरो?

भनें बा, आमाले त मलाई हप्काउँदै भन्नुभो मर्ने बेलाँ हरियो काँक्रो मलाई जानू छैन त्यो उकुसमुकुस हुने भकारीमा जानू तिमेरका बाउ छोरा। बा मैले कति मेहनत गरेर घर जोडेको छु, गाडी किनेको छु, झन बुढेस कालमा बाआमालाई सुख दिन्छु भनेर। तपाईंहरू चैं मेरो मनै खिन्न हुनेगरी जान्नौं हामी भन्नू हुन्छ। भो बा भो मैले डिल्लीबजार मालपोताँ डिठ्ठाको जागिर खाँदा तेरी आमालाई भक्तपुराँ जग्गा आको छ किनौं भन्दा मानिन। बस्दिन यस्ता छुल्याहरू बस्ने ठाउँमा म त आफ्नै गाइगोठमा बस्छु भनी तेरी आमाले र गाउँ फर्क्यौं। हुनपनि हो, अब त झन के बसिसक्नु होला र शहर।

बा को पनि अनिच्छा सुनेपछि निरास हुँदै सोडियमले शहर फर्कने निधो गर्याे। भोलिपल्ट एकाबिहानै उठेर सोडियमले मोटर स्टार्ट गर्याे। बा आमा पनि छोरो हिँड्न लाग्यो भनेर हतार हतार पिँढीमा निस्कनुभो। आमाको हातमा पुजाथाली देखेर सोडियम झस्क्यो। थालिमा दहि र अक्षता मुछेर आमाले साइतको टीका लाइदिन खोज्दा पो थाभो छोरो त पराइ भैसकेको रैछ। आफ्नो धर्म छोडेर पराइ धर्म अँगाले छ र पो घर गाडी घोडाको बन्दोवस्त गरेको रैछ।

गाउँ भरिकाले था पाए सोमप्रसाद कसरी सोडियम भएको रहेछ। बा आमालेनि दलानमा उभिएर आँसु झार्दै बिलौना सुनाए, जा छोरा जा तँ अब हाम्रो छोरो रहिनस्। आफ्ना पूर्खाको बिँडो थाम्लास् भन्ठान्या थ्यौं, तँ त हाम्रा लागि जिउँदै लास भैछस्। जा ती जिउँदै लास झैं बाँचेकाहरूको वस्तिमा गएर बस, अब तेरा लागि हामी छैनौं।

बाआमाको टिलपिलाएको आँखाबाट झरेका आँसुले सोमप्रसादको मन भक्कानियो र बाआमालाई छाँदहालेर रूँदै भन्न थाल्यो, धिक्कार छ मलाई शहरमा बाँचेका लासहरूसँग म पनि पो मरिसकेछु। जान्न म पनि जान्न त्यो जिउँदा लासहरूको वस्तिमा। भो चाहिएन त्यो विलासिता म आफ्नै खोरिया खनेर रमाउँछु अब, फर्किन्न त्यो नरकमा। बाआमाको खुट्टामा घोप्टिदै लम्पसार पर्छ सोम र भन्छ, बा आमा म तपाईंहरूकै काखमा रमाउछु। सोमप्रसादबाट सोडियम बनेको सोमेले बल्लपो था पाएछ उस्को अस्तित्व निमिट्यान्न पार्न पो पोयमले लोभ्याकि रछ।
 

प्रतिक्रिया