संस्मरण

विपीसँग यसरी भयो पहिलो भेट

म पहिलो पटक विपी (विश्वेश्वर प्रसाद कोइराला) समक्ष कहिले पुगें त्यसको तिथिमिति अहिले सम्झनामा छैन । तर त्यो २०३० सालको शुरुतिरको दिन हुनुपर्छ । म नक्सालबाडी (भारत) बाट गिरिजा दाइ (गिरिजाप्रसाद कोइराला) का साथ त्यहाँ पुगेको थिएँ । त्यसबखत विपी सारनाथमा भाडाको घरमा बस्नुहुन्थ्यो । त्यहीँ पहिलो पटक मैले विपीसँग कुराकानी गर्ने अवसर पाएँ । त्यसको छ महिनाजसो अघि सिलिगिुडीमा उहाँलाई एक झल्को देखेको थिएँ । हामी उहाँ बसेको ठाउँ पुग्दा वीपी यात्रामा निस्किँदै हुनुहुन्थ्यो, गाडिबाटै हाम्रो समूहलाई केही भनेर उहाँ विदा हुनु भएको थियो ।

सारनाथ बनारस शहरको उत्तर–पूर्वतर्फ १० किलोमिटर जतिको दूरीमा अवस्थित छ । यो त्यही ठाउँ हो जहाँ भगवान वुद्धले पहिलो पटक धर्मोपदेश दिएका थिए । शान्त वातावरण भएको सारनाथ बौद्ध धर्मावलम्वीहरुका लागि एउटा पवित्र तीर्थस्थल हो । सधैं सफा राखिने सारनाथको मुख्य भागमा रहेको भव्य गुम्वा र त्यसको पृष्ठभागको सुन्दर उद्यान सम्झनाबाट हटेको छैन । त्यस उद्यानमा मृगहरु चर्दै खेल्दै गरेका देखिन्थे । त्यो उद्यानभन्दा करिब सय मिटरको दूरीमा थियो विपी निवास ।

त्यस घरभित्रको अग्रभागमा एउटा ठीकैको फराकिलो साधारण कोठा थियो र बैठक पनि त्यही । त्यसको बाँया भागमा भित्तामा टाँसिएको वारपारको एउटा दराज थियो सिसाका खोपाहरु भएको । त्यसमा केही पुस्तकहरु थिए । सिधै अगाडि भित्रपट्टि छिर्ने ढोका थियो । भित्र पट्टि पछाडितिर कम्पाउण्डवाल भएको सानो चोक र दायाँ बायाँ दुई तीन कोठा, भान्साघर र शौचालय । विपीको निजी कक्ष माथिल्लो तलामा थियो ।

अग्रभागको त्यस मूल कोठाको दायाँपट्टि एउटा फराकिलो डाइनिङ पाराको टेबल थियो । त्यस टेबल वरिपरि सात आठ कुर्सी रहन्थे । आगन्तुकहरुलाई त्यहीँ बसाइन्थ्यो र उनीहरुसँग विपी त्यहीँ भेटघाट गर्नुहुन्थ्यो ।

खाना खाने बेला त्यस टेबललाई डाइनिङ टेबलका रुपमा उपयोग गरिन्थ्यो । विपी सहित हामी सबै त्यहीँ बसेर एकसाथ खान्थ्यौं । साधारण खाना अर्थात् दाल, भात, तरकारी । यदाकदा दही वा माछा या मासु । फलफूलमा सिजनमा आँप हुन्थ्यो । ब्रेकफास्टको चलन थिएन, नौ बजेरतिर खाना; दिउँसो चिया र बेलुकी पुनः खाना ।

त्यस टेबलभन्दा पछाडिको भागमा भित्तापट्टि मारवाडीहरुको जस्तो निकै फराक र अग्लो गद्दी थियो । त्यो गद्दीमा हामी साथीभाइ बसेर बाचचित गथ्र्यौं । रातिको मेरो ओछ्यान पनि त्यही थियो । काम नहुँदा र अरु मानिस नभएका बखत ढल्केर पढ्ने मेरो ठाउँ पनि त्यही गद्दी ।

बनारसमा बस्ने कति साथीहरुको आ–आफ्नै डेरा थियो शहरका गल्लितिर । सामूहिकरुपमा बस्ने पार्टीका नेता कार्यकर्ताहरु गङ्गा किनारमा रहेको भाडाको घरमा बस्थे । यस्तो सामूहिक बसाइ भएको ठाउँलाई हामी क्याम्प वा अफिस भन्ने गथ्र्यौं । त्यहाँ सबैका लागि भोजन तथा आवासको सामूहिक व्यवस्था थियो । निर्वासनमा भारतका विभिन्न ठाउँमा बस्ने पार्टीका नेता कार्यकर्तालाई वनारस पुगेका बखत त्यहीँ बसाइन्थ्यो । विपीलाई भेट्न उनीहरु सारनाथ आउँथे र उतै फर्कन्थे । बनारस पुगेका बखत गणेशमानजीलाई भने विपी निवासमै बस्ने व्यवस्था हुन्थ्यो ।

त्यो विपीको पारिवारिक निवास नै थियो । त्यहाँ आमा, शुशीला भाउजु, गिरिजा दाइ, नोना भाउजु, शैलजाजी र बेलाबखत विपीका पुत्रहरु, छोरी बुहारी आदिको पनि अल्प उपस्थिति रहन्थ्यो । पहिले आमा अधिकतर बिराटनगरतिरै बस्नुहुन्थ्यो । शुशीला भाउजु पनि आउजाउ गरिरहने । त्यसो भएकाले त्यहाँ अधिकतर विपी, गिरिजा दाइ र नोना भाउजु मात्रै । गिरिजा दाइ र नोना भाउजु पनि अधिकतर पार्टी संगठन लगायतको काममा भारतका बिभिन्न ठाउँमा आवतजावत गरिरहनुहुन्थ्यो । कहिले त त्यहाँ विपी र खाना बनाउने लगायतको घरको काम गर्ने एक जना साथी मात्रै ।

मलाई विपीसँग परिचय गरेको सम्झना छैन अर्थात् मैले फलानो भनेर आफूलाई उहाँ समक्ष चिनाइन । गिरिजा दाइले मेराबारे बताउनु भयो होला उहाँलाई । त्यस पटक म त्यहाँ तीन दिन जति रहें हूँला, त्यसपछि गिरिजा दाईसँग निस्कियौं अन्यत्र पार्टीको काममा ।

गिरिजा दाइसँगको भ्रमण नेपालको सीमा क्षेत्रमा रहेका पार्टीका क्याम्पहरुतिर हुन्थ्यो । त्यहाँ साथीहरुसँग भेट्ने, पार्टीको संगठन लगायतका बिषयमा छलफल गर्ने काम नै मुख्य हुन्थ्यो । गिरिजा दाइको अर्को काम थियो भारतको विभिन्न ठाउँमा रहेका त्यताकै नेता र शुभ चिन्तकहरुसँग विपीको सम्पर्क शूत्रको रुपमा कार्य गर्ने । यसक्रममा उहाँ अधिकतर पटना, अनि कलकत्ता र दिल्लीतिर आउजाउ   गर्नुहुन्थ्यो ।

तेस्रो उहाँको जिम्मेवारी थियो हतियारको जोगाड गर्ने । यो बडो कठीन र जोखिमको काम थियो । स–साना हतियारहरु अधिकतर क्रिमिनलहरुसँग लिनु पर्ने । कतिले धोका दिन्थे, बडो दुःखले जोगाड गरेको पैसा खाइदिन्थे । सुरक्षाको चुनौति समेतको सामना गर्नु पथ्र्यो ।

हतियार पाइहाल्यो भने त्यसलाई लिएर आफ्नो सुरक्षित स्थानसम्म पु¥याउनु अर्को चुनौतिपूर्ण काम थियो । गिरिजा दाइ अधिकतर विपीको एम्बासेडर कार लिएर यात्रा गर्ने । उहाँको सुरक्षालाई भनेर चार पाँच भारतीय पुलिस एउटा जीपमा पछिपछि कुद्थे । सुरक्षासँगै गिरिजा दाइको गतिविधिको चियो गर्नु उनीहरुको डिउटी हुँदो हो ! त्यसैले हतियार ओसार पसारमा तिनको पनि आँखा छल्नु पर्ने । रिभोल्बर, ग्रिनेड, राइफलका गोली कहिले त जिउमा बाँधेर बाहिरबाट ज्याकेट लगाएर हिँडिन्थ्यो । यस्तो काम नोना भाउजुले समेत धेरै पटक गर्नु भएको देखेको छु ।

त्यसपछि भारत प्रवासमा करिब पाँच बर्ष रहँदा तीस पैंतीस पटक जसो सारनाथ आउजाउ गरियो होला । कहिले एक रात मात्रै बसियो । कहिले एकाध दिन वा एक साता, एक पटक भने डेढ महिना बस्नु पर्यो उपचारका लागि । एक रात छाडेर म सधैं सारनाथ विपी निवासमैं   रहें ।

कुनै बखत दुई चारको समूहमा पनि पुगियो । त्यहाँ पुगेर विपी गिरिजा दाइसँग भेट गरेपछि अरु साथीहरुलाई बनारस शहरमा रहेको पार्टी अफिसमा पठाइन्थ्यो तर मलाई भने त्यहीँ बस्न भनिन्थ्यो । निर्वासनमा रहेका सबै त मभन्दा अग्रज नै थिए तर अपवादमा, त्यो पनि रात पर्यो वा मौसम एकदम प्रतिकूल भयो भने, कोही एक रात त्यहाँ बसे पनि भोलिपल्ट उतै जान्थे ।

सधैंजसो दिउँसो पार्टी अफिसतिर बस्ने कोही न कोही साथीहरु विपीलाई भेट्न आउँथे । गफगाफ हुन्थ्यो, बेलुकीपख फिर्थे । उनीहरुसँग उतै गएर एक दिन भए पनि बस्न पाए हुन्थ्यो भन्ने लाग्थ्यो तर त्यसो गर्न मलाई अनुमति मिल्दैन थियो । त्यसका लागि गिरिजा दाइलाई भन्दा सान्दाजुलाई सोध भन्ने, उहाँलाई सोध्न अलिक असहज लाग्ने । एकाध पटक सोध्दा पनि यसो उसो भनेर अल्झाइदिने । त्यसपछि त सोधिरहने कुरा पनि   भएन ।

एक पटक चाहिँ उता अफिसबाट गोपाल राई आएका बेला मैले गोपाललाई भनें र उनले नै बिपीलाई आज म धर्मलाई लिएर जान्छु भनेपछि ‘ल, भोलि बिहानै आउनु’ भनेर बिपीले उता जाने अनुमति दिनु भयो । त्यसवाहेक सधैं सारनाथमै बसियो । उमेर पनि त्यस्तै थियो, उता साथी भाइसँग हाँसो ठट्टा गर्दै बस्न पाइने भएकाले जान मन लाग्ने तर पाए पो !

उस बखत त त्यसरी बिचारै गरिएन तर अचेल सोच्छु, मलाई मात्रै किन सारनाथमै बस्न भनियो होला ? त्यो मेराप्रति बिपीको विशेष स्नेह नै थियो जस्तो लाग्छ । तर किन ? किन मप्रति विशेष स्नेह !

डा. तुलसी भट्टराईसँग इलाममा भेट हुँदा बनारस बसाइको प्रसङ्ग निस्क्यो । मेरो कुरा उहाँलाई थाहा थियो । तुलसीजी आउनुहुन्थ्यो, दिनभरी काम गथ्र्यौं; बेलुका उहाँ फिर्नुहुन्थ्यो । उहाँ त सपरिवार शहरमा बस्नु भएको थियो । एकाध पटक उहाँले पनि मलाई आफूसँग लिएर जान चाहनु भएको थियो तर अँहँ, पाइएन अनुमति !

मैले तुलसीजीलाई सोधें, किन त्यसो गरेको होला ? यसो होला भनेर उहाँले दुई चार कुरा भन्नु भयो तर यसै नै हो भनेर उहाँले पनि भन्न सक्नु भएन । अब त्यो कुरा जान्ने कोही छैन । यो जिज्ञासा कौतुहलतापूर्वक मसँगै सकिने भयो ! 

(मेलमिलापको नीति लिएर वीपी नेपाल फर्कने निर्णयमा पुगेपछि पहिलो खेममा तीनजना नेता जोखिम मोलेर काठमाडौं उत्रिएका थिए हजाईजहाजमा। कूलबहादुर गुरुंग, वासु कोइराला र धर्म गौतम। लेखक गौतमले वीपीसँग पहिलो पटक भेट्दाको सानो संस्मरण यस लेखमा चर्चा गरेका छन्।)

 

प्रतिक्रिया