के हो अस्ट्रेलिया ? सपना र यथार्थको विवेचना

bhagawat khanalहाल अस्ट्रेलियामा बसोवास गर्ने धेरैजसो नेपालीहरू सन २००६ पछि आएका हुन् । यहाँ आउनेमध्ये अधिकांश विद्यार्थी भिसामा र बाँकी सिपालु कामदारको हैसियतले स्थायी आवासीय भिसा लिएर प्रवेश गरेको देखिन्छ ।अस्ट्रेलियामा बस्ने लगभग १ लाख ३३ हजार नेपालीहरूमध्ये करिब ९० प्रतिशत युवा छन् । अस्ट्रेलियाले  विभिन्न विषयमा व्यावसायिक शिक्षा लिएर अनुभवसमेत हासिल गरेको दक्ष नेपाली जनशक्ति एक सुको लगानी नगरिकन प्राप्त गरेको छ । विद्यार्थी भिसामा आउने युवाहरू पनि सामान्यतया प्रतिभाशाली, अनुशासित, स्वस्थ र जाँगरिला छन् । 

नेपालको विकट गाउँबाट रित्तो ज्यान लिएर अस्ट्रेलिया पुगेको शेष घले भन्ने युवक  अस्ट्रेलियाकै धनाढ्य मानिस बन्यो रे भन्ने समाचार सुन्दा अस्ट्रेलियालाई आफ्नो सपनाको देश ठान्ने युवाहरू रोमाञ्चित हुनु स्वाभाविक हो । अस्ट्रेलियामा बस्ने युवाहरूका समुद्र किनारमा, रेस्टुरेन्टमा, पार्कमा र पिक्निक स्थलमा खिचिएका मनमोहक तस्बिरहरू देखेर नेपालमा बस्ने बाबुआमा मक्ख पर्छन् । छिमेकीको सन्तानले अस्ट्रेलिया पुगेर उधुम गर्‍यो रे भन्ने सुनेर अर्को छिमेकी पनि आफ्नो सन्तान उतै पठाउन उत्तेजित  हुन पुग्दछ ।  कहिल्यै  घर नछाडेको र हवाइजहाजभित्र नछिरेको सन्तानलाई एक्लै अन्जान गन्तव्यतर्फ पठाउनु सानो हिम्मत होइन । सन्तानलाई विदेश जान मन लाग्यो, आमाबाबुलाई पठाउन मन लाग्यो । दुबै पक्ष जोखिम मोल्न राजी भएपछि एकले अर्कोलाई दोष दिने कुरै भएन । 

आवश्यकताले मानिसलाई अनुशासित बनाउँदो रहेछ । भरखरै अस्ट्रेलिया पुगिएको छ । बाआमाले दिएर पठाएको खर्चले एक महिना पनि धान्दैन । कलेज जानै पर्‍यो । छ महिनापछि अर्को सेमिस्टरको फी तिर्नु छ । डर लागिरहेको छ । पूर्व कता हो र  पश्चिम कता हो पत्तो छैन । रुन मन लागेको छ, तर आँसु बगाउने गुन्जायस छैन । कसैको शरण परेर आइएको छ । अब छिट्टै डेरा खोज्नुपर्छ । अङ्ग्रेजी त नआउने होइन, किन्तु अस्ट्रेलियामा जिब्रो बटारेर बोलिने अङ्ग्रेजी बुझ्नै कठिन । अनि शालीन र विनम्र नबनेर के गर्नू रु अनि कोही पूर्वपरिचित या नवपरिचितसँग ‘लौ न काम खोजिदेऊ, जे काम पाए पनि गर्छु’ भन्दै विनम्र अनुरोध नगरेर के गर्नू रु अस्ट्रेलिया खुला हृदय र सहयोगी मनोवृत्तिका मानिसहरूको बसोवास भएको देश हो । तथापि गोरो छाला नभएका निस्सहाय विदेशी आप्रवासीमाथि केही न केही विभेद र वञ्चना एवं नजानिदो गरी हुने ‘रेसिजम’ को सम्भावनालाई इन्कार गर्न सकिंदैन । 

विद्यार्थी भिसामा आउने युवाले अस्ट्रेलिया छिरेको केही दिनमै के बुझ्दछ भने टिक्ने हो भने यहाँ पाँच कुरामा ध्यान दिनु जरुरी छ । ती हुन् परिश्रम, धैर्य, शालीनता, सहनशीलता र साहस । ऊ अत्यन्तै चपेटामा हुन्छ । काम पाउनु नै उपलब्धि हो, रोज्ने गुन्जायस  छैन । अवसरको देश त हो, तर सानो गल्तीले सपना भताभुङ्ग हुनसक्छ । उल्लिखित पाँच कुराको सम्मिश्रणबाट धीमा गतिमा  ‘कन्फिडेन्स’ बढ्दै जान्छ । भाषा तुलनात्मक रूपमा सहज लाग्न थाल्छ । चालचलन र व्यवहार सिक्दै गइन्छ । जान पहिचानको दायरा फराकिलो हुँदै जान्छ । यति हन्डर खाएपछि बल्ल नेपाल पछि पर्नाको कारणको पनि बोध हुन थाल्दछ ।

अस्ट्रेलियामा औसत जीवनस्तर कायम गर्न एउटा पूर्णकालीन कामदारले न्यूनतम वार्षिक करिब ९० हजार अस्ट्रेलियन डलर कमाउनुपर्छ । स्थायी बसोवास गर्न पाउनासाथ नेपाली दिमागमा  ‘आफ्नो घरमा बस्ने’  धुन सवार हुन थालिहाल्छ । यहाँको प्रणाली पनि हर तरहले मानिसलाई व्यस्त राख्ने र यताउता चल्मलाउन नदिई  ऋणमा डुबाइरहने खालको छ । तिस वर्षे किस्ताबन्दीमा महिनैपिच्छे सावाँब्याज तिर्नेगरी घर सापटी लिएको मान्छेले दायाँबायाँ नगरेर काम गर्नै पर्छ । थोरै संख्याका नेपालीहरू मात्र अस्ट्रेलियन स्तरको औसत आय आर्जन गर्न सक्षम छन् । तथापि सपनाको देशमा सामान्य खाना खान, लाउन र मनोरञ्जन गर्न पुग्ने आम्दानी गरेकै हुन्छन् । यहाँ प्रतिभा भएर मात्र पुग्दैन । मनले खोजेको काम पाउन अङ्ग्रेजी पनि उम्दा हुनु जरुरी छ ।

परिश्रम र पढाइको चपेटामा पर्दा स्वदेशमा बरु आनन्द थियो भन्ने भावना उत्पन्न हुन थाल्दछ । यहाँ जस्तै दुस्ख गर्ने हो भने त नेपालमा झनै राम्रो गर्न सकिन्थ्यो भन्ने महसुस हुन थाल्दछ । यस्तै ऊहापोहमा साहस र धैर्य गुमाउने नेपालीहरू पनि धेरै छन् । सपनाको यो संसारमा सबका सब आनन्दित छैनन् । सबैले सफलताका कठिन सोपान पार गर्न सकेका छैनन् । जतिले पार गरेका छन्, ठूलो परिश्रम र कष्ट सहेर पार गरेका छन् । केही निकै सफल, केही मध्यम सफल, केही कामचलाउ र केही असफल छन् यहाँ । ज्ञान र धन आर्जन गरेकाहरू प्रचारित र मुखरित छन् । ठिकै अवस्थामा रहेकाहरू सन्तुष्ट र शान्त छन् । बाँकी सकिनसकी पाइला सार्दै भविष्यको निर्णय  पर्खेर बसेका छन् । 

आजभन्दा आठ-दस वर्षअघिसम्म विद्यार्थी भिसामा आउने अधिकांश युवाहरू ठूला सहर मेलबर्न र सिड्नीमा अध्ययन गरेर तिनै सहरमा स्थायी बसोवास गर्ने भिसा प्राप्त गर्दथे । तर अहिले अस्ट्रेलिया सरकारले आप्रवासन नीतिमा  हेरफेर गरेको हुँदा ठूला सहरमा बसेर स्थायी बसोवास भिसा पाउन कठिन छ । नेपालीहरू अचेल पश्चिम अस्ट्रेलियाको पर्थ, दक्षिणको एडिलेड एवं क्विन्स्ल्यान्डको ब्रिस्बेन मात्र नभई तस्मानियाँ टापुदेखि लिएर, उत्तरी अस्ट्रेलियाको डार्बिन र अति दुर्गम स्थानमा रहेको एलिस स्प्रिङ जस्ता ठाउँमा समेत पसिना बगाएर सपनालाई सत्य बनाउने प्रयास गरिरहेका छन् । केही धैर्य गुमाएकाहरू र अनपेक्षित लफडामा परेकाहरू स्वदेश फर्केका छन् । सानो संख्याका विद्यार्थीहरू पढाइ सकेपछि स्वेच्छाले नेपाल फर्केर मातृभूमिको सेवा गरिरहेका छन् । 

अस्ट्रेलियामा काम पाइन्छ । श्रमको सम्मान गर्ने समाज रहेको हुँदा काम सानो ठूलो या तल्लो माथिल्लो भनेर चिन्ता लिनु पर्दैन । समुचित ज्याला पाइने हुँदा भोकसँग लड्नु पर्दैन । तर यहाँ निद्रासँग भने निकै फुर्तिलो भएर लड्नुपर्छ । घरबाट निरन्तर पैसा मगाउन नसक्ने विद्यार्थीले निद्रा र आलस्य त्याग्नु अनिवार्य छ यहाँ । मेहनत गर्नेलाई यहाँ दिनका दिन मासु खान पुग्छ । ब्ल्याक लेबल, चिबास रिगल र ग्रीन लेबलसम्मका पेयहरू सामान्य कमाइ भएको नेपालीले पनि खान र खुवाउन सक्छ । नेपालीहरू भव्य पार्टी गर्ने आप्रवासीमध्येमा पर्छन् यहाँ । केही वर्षअघि विद्यार्थी भिसामा आएका जाँगरिला, चलाख र हिम्मतिला थुप्रै  युवाहरू आज यहाँ साहुजी भएका छन् । असन इन्द्रचोकमा जस्तै खोजेको सामान पाइन्छ । मन्दिरहरू छन् । कर्मकाण्ड गराउने नेपाली पण्डितहरू छन् । नेपालीका होटेल र गहना पसल छन् । नेपालीहरू स्वदेशमै जस्तो दाल, भात, तरकारी, मम, सिन्की, मस्यौरा, पानीपुरी, खिर र ढकनी खाएर बस्छन् । चाड पर्वमा भसक्कै खर्च गरेर लुगाफाटो किन्ने गर्छन् । नेपालमा लाउन खान नपुगेको धोको यहाँ पूरा गर्न पाइन्छ  । 

अस्ट्रेलियामा बसोवास गर्ने लगभग शत प्रतिशत नेपालीको यहाँ अझै एक पुस्ता पनि पूरा भएको छैन । नब्बे प्रतिशत युवाले भरिएको यो पिढी राजनीतिमा चाख राख्दछ र चर्चा पनि हुन्छ । तर यिनीहरू अस्ट्रेलियन राजनीतिबारे नभई नेपालको राजनीतिबारे सघन चर्चा गर्छन् । यिनीहरूमध्ये केहीले नेपालबाट घुम्न आउने नेताहरूको स्वागत गर्दै भ्रमणलाई रमाइलो बनाइदिन्छन् । यो पिढी सुविधा र रोजगारीको खोजीमा विदेशिएको हुँदा तन विदेशमा भए पनि मन नेपालमा हुन्छ । यिनीहरू आफ्नो ‘नेपाल कनेक्सन’  सदा कायम राखिरहन चाहन्छन् ।  तर यिनीहरूका हुर्कंदै  गरेका  छोराछोरीलाई भने नेपालबारे कुनै चासो रहेको देखिंदैन ।

के हो अस्ट्रेलिया र ? के भन्छन् त अस्ट्रेलिया निवासी नेपालीहरू ? 

पार्थ पराजुली: बिस वर्षभन्दा बढी समयसम्म पुलचोक इन्जिनियरिङ कलेजमा अध्यापन गरेपछि सन २००० मा अस्ट्रेलिया प्रवेश गरेका पार्थ पराजुलीको यहाँ धेरै वर्ष बसिएला भन्ने सोच थिएन । उहाँ अस्ट्रेलिया पुग्नासाथ आकर्षक सुविधासहित सिटी काउन्सिलको उच्च पद प्राप्त गर्न सफल हुनुभयो । दिगो यातायात प्रणाली तथा सडक सुरक्षा विषयमा विशेष महारथ हासिल गरेका उहाँको उल्लेखनीय  कार्यसम्पादनको कदर हुँदै गयो । क्रमशस् उहाँ पनि आफ्नो कार्यमा झनै उत्प्रेरित हुँदै जानुभयो । उहाँको अभिमत अनुसार  योग्य आप्रवासीहरूका लागि  अस्ट्रेलिया प्रशस्त अवसर भएको देश हो । उहाँ भन्नुहुन्छ, ‘सुरुमा अस्ट्रेलिया छिर्ने नेपालीहरू विशेष गरेर इन्जिनियर, डाक्टर र अन्य दक्ष व्यावसायिक व्यक्तिहरू थिए । खास गरेर एआइटी बैंककमा अध्ययन गरेका प्राविधिज्ञहरू धेरै संख्यामा अस्ट्रेलियातिर बसाइ सरेको पाइन्छ । एक समयमा एआइटीलाई ‘अस्ट्रेलिया इन ट्रान्जिट’ भन्ने उपनाम नै दिइएको थियो ।’ 

सूर्य गौतम: स्वास्थ्य क्षेत्रमा विशेष जिम्मेवारी वहन गर्दै आउनुभएका उहाँ भन्नुहुन्छ, ‘अस्ट्रेलिया विश्व मानचित्रमा एक उल्लेखनीय लोकतान्त्रिक देश हो । यो आधुनिक आप्रवासीहरू बसोवास गर्ने यस्तो अनुपम भूमि हो, जहाँ पूर्णरूपमा  मानव अधिकार प्राप्त छ । यस देशमा बस्ने प्रत्येक मानिसले आफ्नो क्षमता, दक्षता र ज्ञानको उच्चतम उपयोग गर्न पाउँछ ।’ 

विपुल ज्ञवाली:  भारतबाट चार्टर्ड एकाउन्टेन्ट र अस्ट्रेलियाबाट सर्टिफाइड पब्लिक एकाउन्ट कोर्स उत्तीर्ण गरेका ट्याक्स एजेन्ट विपुल ज्ञवालीका लागि यो एक कर्मभूमि हो । उहाँ अगाडि भन्नुहुन्छ,  ‘तर मेरा छोराछोरीका लागि भने यो उनीहरूको घर हो । उनीहरूलाई नेपाल पनि उत्तिकै प्यारो छ । मेरो छोरी अस्ट्रेलियामा जन्मेको भए तापनि आफूलाई नेपालीको रूपमा परिचय दिन मन पराउँछिन् ।’ 

सुशासन र समृद्धिबारे उहाको भनाइ छ, ‘नेपालका एकजना नेताले समृद्धिको मात्र कुरा गरिरहँदा मैले समृद्धिभन्दा सुशासन ल्याउनमा जोड दिन सुझाव दिएको थिएँ । उच्च तहका व्यक्तिहरूको नियत ठीक हुने हो भने मात्र सुशासन स्थापना हुन्छ । नेपालको सन्दर्भमा चौडा सडक र रेल आदि मात्र समृद्धिका परिचायक होइनन् । मुख्य कुरा जनताको जीविकोपार्जनमा सुधार आवश्यक छ ।’ 

सौरभ हमाल: कारागार प्रशासनमा कार्यरत सौरभ हमालको विचारमा अस्ट्रेलिया एउटा अवसरको देश हो । तर त्यो अवसरको उपयोग गर्न धेरै नै परिश्रमको खाँचो पर्छ । उहाँ भन्नुहुन्छ, ‘म र मेरो परिवारका लागि अस्ट्रेलिया के हो भन्ने विषयमा समयसँगै  विचार पनि फरक हुँदै गएको छ । आजभन्दा दस वर्षअघि मलाई यही प्रश्न सोधिएको भए मेरो उत्तर अर्कै हुने थियो, किनकि त्यस समयमा म संघर्षको चरणमा थिएँ  । सुरुमा यो मेरा लागि एक सपना थियो भने आज सरल र सहज कर्मभूमि भएको छ । आफ्नो कर्म गर्दै जाने र कसैको हस्तक्षेपबिना शान्त र सन्तुष्ट जीवन बिताउन चाहनेका लागि अस्ट्रेलिया एक उत्तम देश हो ।’ 

मनोज आचार्य: सिड्नीमा आफ्नै व्यापार व्यवसाय गरेर बसेका मनोज आचार्य भन्नुहुन्छ, ‘मेरो नजरमा अस्ट्रेलिया एक सुन्दर कर्मक्षेत्र हो । अस्ट्रेलिया एक सहज कर्मस्थल हो, जुन कुरा नेपालमा त्यति सुलभ थिएन । यहाँ अनेकौं अवसरहरू छन् । तर मेहनत चाहिँ डटेर गर्नुपर्छ ।’ 

इला न्यौपाने ज्ञवाली: एकाउन्टेन्ट तथा फाइनान्स ब्रोकर इला न्यौपानेको विचारमा अस्ट्रेलिया प्रचुर सुविधा र स्वतन्त्रता भएको देश हो । उहाँ अगाडि भन्नुहुन्छ, ‘तर यदि तिमीले स्वतन्त्रताको सदुपयोग गर्न जानेनौ भने गलत बाटो समात्न पनि सक्छौ, किनकि तिमीलाई सावधान गराउने तिम्रो आफ्नो मान्छे यहाँ कोही पनि छैन । मेहनत र लगनशीलता हुने हो भने यहाँ जुनसुकै काम गरेर पनि पैसा कमाउन सकिन्छ । अस्ट्रेलिया उत्तम कानुन व्यवस्था भएको मुलुक हो । यहाँ हरेक कुराको सिस्टम छ । परन्तु विदेश आफ्नो देश जस्तो कदापि हुन सक्दैन । तन यता भए तापनि मन त स्वदेशमै हुँदोरहेछ । नेपाल जाँदा विमानस्थलमा उत्रिने बित्तिकै मनमा जुन आनन्दी भावनाको सञ्चार हुन्छ , त्यो यहाँ हुँदैन । यहाँ बसेर नेपालमा रहेका आफन्तलाई कुनै सहयोग गर्न सकिंदैन । यो अवस्था साह्रै पीडादायी हुँदोरहेछ । सबैभन्दा ठूलो कुरा यहाँ आफ्नो माटोको सुगन्ध ‘मिस’  हुँदोरहेछ ।’

 सन्ध्या रिमाल खनाल: प्राइभेट अस्पतालको अपरेसन थिएटर म्यानेजरको हैसियतमा कार्यरत  सन्ध्या रिमाल भन्नुहुन्छ, ‘अस्ट्रेलिया आएर जीवनमा धेरै कुरा पाइयो, तर मनभित्र कतै एउटा रिक्तता छ । मातापिताको स्नेहबाट टाढा हुँदा सदैव शून्यता महसुस हुँदोरहेछ । कलिलो उमेरमै जानी नजानी विदेशतिर लागियो । अस्ट्रेलिया जस्तो बहुसांस्कृतिक र गतिशील समाज रहेको देशमा दृढता र परिश्रमको माध्यमबाट सफल हुने बाटो खुला छ । यहाँ जीवन रमणीय पनि छ । योग्यता, अठोट र मेहनतको माध्यमबाट यहाँ घर, गाडी र भौतिक सुविधा प्राप्त गर्न सकिन्छ, तर यसलाई दिगो र स्थायी राख्न निरन्तर परिश्रम गरिरहन जरुरी हुन्छ ।

युवा उमेरको सुरुवाती चरणमा स्वतन्त्रता र पश्चिमा संस्कृतिमा निकै रमाइलो लाग्थ्यो, किन्तु उमेर बढ्दै जाँदा दृष्टिकोण पनि परिवर्तन हुँदोरहेछ । हामी यता छौं, उता नेपालमा वृद्ध हुँदै गएका बाबुआमालाई बिसन्चो भएका बखत तातोपानी खुवाउने कोही हुँदैन । यस्ता कुरा बिचार गरेर ल्याउँदा सफल जीवनको परिभाषा के हो रु भनेर आफैलाई प्रश्न गर्न मन लाग्दोरहेछ । यो विकराल वास्तविकताबारे कोही पनि चर्चा गर्न चाहँदैन । किनकि यसको सही र चित्तबुझ्दो उत्तर कसैसँग छैन । 

अस्ट्रेलियाले आप्रवासी नेपालीलाई धेरै कुरा दियो र अरु पनि दिनेछ । परन्तु यो यात्रामा अफूले आफैलाई बिर्सेर नयाँ जन्म दिनु आवश्यक पर्दोरहेछ । यहाँ भौतिक सुख प्राप्त छ, तर ‘यु ह्याव टु रिडिस्कभर योरसेल्फ टु बि ह्याप्पी ।’  यहाँ हामी एउटा लस्ट जेनेरेसनका सदस्य हौं, जो हाम्रा सन्तानको भविष्य सपार्न संघर्षरत छौं । हाम्रो जीवनको गाडी त्यही समयमै अड्केर बसेको महसुस हुन्छ, जुन बखतमा हामी स्वदेश छाडेर विदेशको यात्रामा निस्केका थियौं ।  हामी अस्ट्रेलिया आएको डेढ दशकपछि पनि तिनै गीत सुनेर रमाउछौं जुन हामी नेपाल छाड्नुअघि सुन्ने गर्दर्थ्यौं ।’ 

विमर्श खनाल:  न्यु साउथ वेल्स पुलिस फोर्समा कार्यरत विमर्श खनाल भन्नुहुन्छ, ‘अस्ट्रेलिया के हो रु एउटा आप्रवासी नेपालीको नाताले यो सहज लाग्ने प्रश्नको उत्तर दिन उति सजिलो छैन । यहाँ अवसर र चुनौती दुबै छ । धैर्य, दृढता र  लगनशीलता हुने हो भने यहाँ ‘स्काई इज द लिमिट ।’ अस्ट्रेलियाले परिश्रमी मानिसलाई मायाले अँगालो हाल्छ । ऋण काढेर  विद्यार्थी भिसामा अस्ट्रेलिया छिरेको मान्छेले समयलाई सदुपयोग गर्न सक्यो भने दस बाह्र वर्षपछि आफ्नै कमाइको पैसाले युरोप अमेरिकासम्म घुम्न जान सक्छ । नेपालमा मोटरसाइकलसम्म नचढेको युवक यहाँ विलासी गाडी चढ्न सक्छ । ‘बट नट एभ्रीवान हियर इज इन द सेम बोट ।’  

सानै उमेरमा परिवारबाट टाढा हुनु, विदेशी भाषा र संस्कृति सिक्नु, कलेज जानु, जो पाएको काम गर्नु, डेरामा सबै बन्दोबस्त र भान्साको काम आफै गर्नु,  कलेजको महँगो फी तिर्नु र आफ्नै दुस्खले सारा खर्च चलाउनु सानोतिनो चुनौतीको कुरा होइन । विदेशमा आफ्ना मातापिता, साथीभाइ, छिमेकी, चाडपर्व र आफ्नो प्यारो मातृभूमिको न्यानो मायाबाट वञ्चित भएर बस्नुपर्दा साह्रै नियास्रो लाग्छ । यो विषय मानसिक स्वास्थ्यमा हानी पुर्‍याउने र डिप्रेसनमा लैजाने कारक बनेको पनि पाइएको छ । यहाँ दिगोरूपमा सफल हुनका लागि अनुशासन, परिश्रम, सहनशीलता र बलियो मन हुनु अत्यन्त जरुरी छ । 

केही चुनौती, केही अवसर 
अस्ट्रेलियामा औसत जीवनस्तर कायम गर्न एउटा पूर्णकालीन कामदारले न्यूनतम वार्षिक करिब ९० हजार अस्ट्रेलियन डलर कमाउनुपर्छ । स्थायी बसोवास गर्न पाउनासाथ नेपाली दिमागमा  ‘आफ्नो घरमा बस्ने’  धुन सवार हुन थालिहाल्छ । यहाँको प्रणाली पनि हर तरहले मानिसलाई व्यस्त राख्ने र यताउता चल्मलाउन नदिई  ऋणमा डुबाइरहने खालको छ । तिस वर्षे किस्ताबन्दीमा महिनैपिच्छे सावाँब्याज तिर्नेगरी घर सापटी लिएको मान्छेले दायाँबायाँ नगरेर काम गर्नै पर्छ । थोरै संख्याका नेपालीहरू मात्र अस्ट्रेलियन स्तरको औसत आय आर्जन गर्न सक्षम छन् । तथापि सपनाको देशमा सामान्य खाना खान, लाउन र मनोरञ्जन गर्न पुग्ने आम्दानी गरेकै हुन्छन् । यहाँ प्रतिभा भएर मात्र पुग्दैन । मनले खोजेको काम पाउन अङ्ग्रेजी पनि उम्दा हुनु जरुरी छ । यहाँ कसैले गर्ने गरेको काम र प्राप्त गर्ने पारिश्रमिकबारे सोधखोज र चासो राख्ने कार्यलाई राम्रो मानिदैन । 
 
अस्ट्रेलियामा सरकारले स्वीकृति दिएका होटेल , क्लब र पब जस्ता सहज पहुँच भएका ठाउँहरूमा जुवा खेल्न पाइन्छ । मन बलियो राख्न नसक्नेलाई  जुवाको लतले बिगार्न सक्छ । जता पनि भरमार चिट्ठा बेचिरहेका हुन्छन् । एकै दिनमा अरवपति बन्ने आशाले कतिले चिट्ठामा पैसा गुमाइरहेका हुन्छन् । मदिरापान गर्न रुचि हुनेका लागि पनि यो एक सपनाकै देश हो । यहाँ उल्टै मान्छेलाई मदिराले खाइदिन सक्छ । अस्ट्रेलियामा वेश्यावृत्तिलाई  कानुनी मान्यता प्राप्त छ । यो पनि एउटा पैसा तान्ने चुम्बकीय शक्ति हो । लागू औषधको समस्या यहाँ पनि व्यापक छ क्ष् स्वतन्त्रताको सदुपयोग गरेर सफल जीवन बिताउने कि दुरुपयोग गरेर क्षणिक आनन्दको प्रतिफल भोग्ने रु आफ्नै हातमा छ । कुलतमा लागेर बिग्रने नेपालीहरू प्रशस्त छन् यहाँ  क्ष् सफलताको प्रचार हुन्छ भने असफलता लुकाइन्छ क्ष् असफल हुनेहरू मात्र नभई तिनका अभिभावकहरू पनि तैँचुप मैचुप भएर बस्ने हुँदा यस्ता कथाहरू गुप्त नै रहेका हुन्छन् क्ष् सपनाको उज्यालो संसारभित्र भयावह अँध्यारो कुनो पनि लुकेर बसेको  हुन्छ । 

अस्ट्रेलियामा बस्ने नेपालीहरूले अङ्गीकार गरेका पेशा र गर्ने गरेका कार्यहरू प्रायः गरेर एकाउन्टिङ, बैंक र वित्तीय सेवा, प्रशासन र अफिस सपोर्ट, सामुदायिक सेवा, सरसफाइ, डिपार्टमेन्टल स्टोर र पसलहरूमा सेल्स सर्विस,  स्वास्थ्य सेवा  (विशेष गरेर नर्सिङ र एज केयर), सूचना प्रविधि र  इन्जिनियरिङ आदि हुन् । यहाँ नेपाली नर्सहरूको बिगबिगी छ भने पनि हुन्छ । आजकल नर्स पढ्नेमा युवक र युवतीबिचमा प्रतिस्पर्धा छ । 

अस्ट्रेलियामा बसोवास गर्ने लगभग शत प्रतिशत नेपालीको यहाँ अझै एक पुस्ता पनि पूरा भएको छैन । नब्बे प्रतिशत युवाले भरिएको यो पिढी राजनीतिमा चाख राख्दछ र चर्चा पनि हुन्छ । तर यिनीहरू अस्ट्रेलियन राजनीतिबारे नभई नेपालको राजनीतिबारे सघन चर्चा गर्छन् । यिनीहरूमध्ये केहीले नेपालबाट घुम्न आउने नेताहरूको स्वागत गर्दै भ्रमणलाई रमाइलो बनाइदिन्छन् । यो पिढी सुविधा र रोजगारीको खोजीमा विदेशिएको हुँदा तन विदेशमा भए पनि मन नेपालमा हुन्छ । यिनीहरू आफ्नो ‘नेपाल कनेक्सन’  सदा कायम राखिरहन चाहन्छन् ।  तर यिनीहरूका हुर्कंदै  गरेका  छोराछोरीलाई भने नेपालबारे कुनै चासो रहेको देखिंदैन ।

पहिलो पिढी नेपाल आवतजावत गरे पनि पछिल्ला पिढीहरूको नेपाल कनेक्सन बिस्तारै टुट्दै जानेछ ।  तथापि ‘नेपाली ओरिजिन’ को परिचय,  खानपान र नेपाली शैलीको नाम भने चिरस्थायी हुनेछ जस्तो लाग्छ । तेस्रो पुस्तामा पुग्दासम्म नेपाली मूलका अस्ट्रेलियनहरू सक्रिय रूपमा राजनीतिमा संलग्न हुने अनुमान गर्न सकिन्छ । अस्ट्रेलिया आप्रवासीको देश हो । ‘हाइरार्किकल’ समाज भएको ब्रिटेन जस्तो देशमा त एउटा आप्रवासी प्रधानमन्त्री बन्न सक्छ भने अस्ट्रेलिया त खुला र उदार सोच राख्ने समाज रहेको देश हो क्ष् के थाहा, आजको चार दशकपछि कुनै नेपाली मूलको मानिस अस्ट्रेलियाको प्रधानमन्त्री बन्छ कि । 


 

प्रतिक्रिया