सत्ताको म्याराथुन

ओलीसँग झस्किएका प्रचण्डको चाहनामा गठबन्धन बैठक बस्दै

काठमाडौं। नयाँ सरकार आफ्नै नेतृत्वमा बन्नुपर्ने आग्रहमा सक्रिय रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज पाँच दलीय गठबन्धनको बैठकमा यसबारे छलफल गर्ने भएका छन्। अहिले सरकार सञ्चालन गरिरहेको गठबन्धनको भविष्य आजको बैठकबाट टुंगो लाग्ने नेपाली कांग्रेसका एक नेताले बताए। नेपाली कांग्रेसले नै नयाँ सरकारको पनि नेतृत्व दावी गरिरहे आफ्नो पार्टीले अर्को विकल्प खोज्ने माओवादीका एक केन्द्रीय सदस्य बताउँछन्। 

निर्वाचनको समीक्षा र नयाँ सरकार गठबन्धनका सन्दर्भमा छलफल गर्न भनेर आज पाँच दलीय सत्ता गठबन्धनको बैठक बस्दै छ। प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछिको समग्र अवस्थाबारे छलफल हुने बुझिएको छ।  प्रधानमन्त्री शेरबहादुर देउवाले आज अपरान्ह ३ बजे बालुवाटारमा गठबन्धन दलको बैठक बोलाएका छन्।

मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा नेपाली कांग्रेसले ५७ स्थानमा जीतेको छ। माओवादी १८ स्थानमा विजयी भएको छ। त्यस्तै, नेकपा (एकीकृत समाजवादी) ले १० स्थानमा जितेको छ भने लोकतान्त्रिक समाजवादी पार्टीले चार र राष्ट्रिय जनमोर्चा एक स्थान हात पारेका छन्।

नयाँ सरकारको नेतृत्व र सहकार्यबारेमा प्रचण्डले वामपन्थी एकताको कार्ड फालेका छन्। नेपाली कांग्रेसका सभापति देउवाले पनि वामपन्थीहरु एक हुने प्रयाशको संकेत पाएपछि गैरवामपन्थी गठबन्धनको गृहकार्य जारी राखेका छन्। दुवै दलका नेतालाई नयाँ गठबन्धनमा अन्य दललाई जुटाउने बिषय फलामको च्यूरा जस्तै कठिन भैरहेको देखिन्छ। अर्कोतिर समाजवादीका अध्यक्ष माधवकुमार नेपाल भने देउवा र प्रचण्डको दौडधुुपको अवलोकन गरेर बसेका छन्। जसको अवस्था बलियो हुन्छ उनी त्यतै सहकार्य गर्ने आफ्नो दलको ढोका खुला राखेर बसेका छन्।

एमाले अध्यक्ष केपी शर्मा ओलीले कटु सम्बन्धमा सुधार ल्याउन प्रचण्डसँग सहकार्यको हात बढाएर पाँच दलीय गठबन्धनलाई चुनौति दिएका छन्। ओलीको वधाई सन्देशसँगै पाएको सहकार्यको प्रस्तावबाट निकै हौसिएका प्रचण्डले विगतका विवादहरुको समीक्षा गरेपछि ओलीसँग सतर्क नै रहने आफ्ना सहयोगीहरुसँग बताउने गरेको बुझिएको छ। एमालेसँग भन्दा नेपाली कांग्रेससँगै सहकार्य गर्न सजिलो भएको अनुभव नबिर्सन प्रचण्डले आफ्ना कमरेडसँग चर्चा गर्ने गरेका थाहा भएको छ। ओलीले नेतृत्वमा पुग्न आफूलाई अवसर नदिने अनुभव गरेका प्रचण्ड अहिले भने झस्किएका एक नेताले बताए।

 

प्रतिक्रिया