झलनाथ खनालः एक आत्मलाप 

 rajesh mishraक्रान्तिकारी लाल सलाम,

अनि न्यानो रगतको अभिवादन कमरेडहरु!

म कमरेड जेएन अर्थात् झलनाथ खनाल। इलामको साँखेजुङ्ग गाउँमा  ६ चैत २००६ सालमा जन्मिएको मान्छे हूँ म। मातापिताका १३ सन्तानमध्ये म सातौं अर्थात् म जन्तरे।

०४७ सालमा पंचायती व्यवस्था ढलेपछि, टुँडिखेलको खुलामञ्चमा आयोजित बिजय सभामा माले पार्टीबाट बोल्ने मान्छे मैं थिएँ। सूट बूटमा ठाँटिएर खुलामञ्चमा फुत्त देखिएको त्यो चिल्लो गोरो अनुहार भएको मान्छे म नै थिएँ! देखाउनलाई माले पार्टीका राधाकृष्ण मैनाली थिए आन्दोलनमा। भित्री रुपमा महासचिव मदन भण्डारी थिए। तर मैले उनीहरुलाई त्यहाँ बोल्न दिने कुरै थिएन। मदन भण्डारी भन्दा पहिले नै निमित्त महासचिव भैसकेको मान्छे म! 

मदन भण्डारीलाई पछि प्रवक्ताको रुपमा राष्ट्रिय सभागृहमा आयोजित एउटा कार्यक्रममा पठाएको मैले नै हो। त्यहाँ उनले “बहुदलीय व्यवस्थामा बिश्वास छैन, त्यसैले हामी ढाँटको खाजा खाँदैछौं,” भनेको कुरा पनि मैले नै सिकाएर पठाएको हो।   

त्यो ताका हाम्रो पार्टी हेडक्वार्टर काठमाडौंमै थियो। प्राय सबै उपल्ला कमरेडहरुले राजधानी उपत्यकाका रैथाने नेवार्नीहरुसँग “लभ” गरेर आफ्नो सेल्टर बनाएका थियौं। मदन भण्डारी र माधव नेपालले मात्र काकतालीमा बाहुनकी छोरीसँग नाता गाँसेका थिए। माधव जम्मा दुई बर्ष जेल परे, त्यो पनि पटके! मदन भण्डारी जेलै परेनन्। तर रैथाने केटी बिहे गरेका हामीलाई खान बस्न खासै समस्या भएन। फुर्मासी खर्च माग्न म सुवास नेम्वाङ्गको “ल फर्म” जाने गर्थें। पद्मकन्या कलेजको ठ्याक्कै अघिल्तिर थियो उनको अफिस ‘पायोनियर ल फर्म’। म जाँदा त्यहाँ सबैले मलाई जगदीश भन्ने नामले चिन्थे।   

सुवास नेम्वाङ्ग र म दुवै इलामका। त्यसै नाताले मेरो भाई दाताराम खनाललाई पनि सुवासले आफ्नै अफिसमा लन्ठ्याईदिएको थियो। पछि भाईलाई समाज सेवा समन्वय परिषदको हाकिम बनाईदिएँ। उसले त्यसपछि आफ्नै ल फर्ममा काम गर्ने मान्छे चिन्न छोड्यो रे! 

अब म कसरी राजनीतिमा लागें भन्ने जिज्ञासा होला तपाईंलाई। त्यो पनि भन्छु। 

ईमान्दारीपूर्वक भन्नुपर्दा, मेरो परिवार उच्चमध्यम परिवार हो। हाम्रै भाषामा भन्नुपर्दा हामी गाउँका सामन्त भन्न योग्यता पुगेको परिवार हो। मेची राजमार्गको पाँचथर खण्डमा प्रशस्त जमिन थियो हाम्रो, अझै पनि त्यसमा घुनपुतली लागेको छैन भन्दा फरक पर्दैन। बा आमाका सन्तान धेरै भए पनि हामीले शिक्षादीक्षाबाट वञ्चित हुनुपरेन, पेटभरी दुधभात खान खाँचो थिएन। सदरमुकाममा बसेर पढ्न हामीलाई कुनै कुराले छेकेन।

०२३ सालमा इञ्जिनियर बन्ने सपना साँचेर त्रिचन्द्र कलेजमा साईन्स पढ्न आएँ। जाँचको बेला पढाउँदै नपढाएको बिषयमा प्रश्न सोध्यो यार! हामीले पनि प्रश्नपत्र च्यातेर आन्दोलन गर्यौं। पछि फेरी जाँच दिन त पाईयो। तर धेरैजना फेल भए। मेरो नम्बर त थर्ड डिभिजनमा पो आयो। जस्ट पास ! हैट्; त्यस्तो पनि हुन्छ? आफू स्कूलको सधैंको फस्र्ट ब्वाई! झोंक चल्यो। अनि लागें कम्युनिष्ट आन्दोलनमा। २०२४ सालमा त मेची बिद्यार्थी युनियनको अध्यक्ष नै भएको मान्छे पो हुँ म। 

तर बिद्यार्थी आन्दोलन गरेर मात्रै दाल भात डुकुको समस्या समाधान हुने कुरा भएन। त्यसैले २०२६ सालमा बाग्लुङ्गको गल्कोटमा शिक्षक भएर गएँ। त्यतिबेला मेरा गुरु कमरेड चित्रबहादुर केसी हुनुहुन्थ्यो। त्यहिंबाट पहिलोपटक मलाई पुलीसले समातेको हो। पछि इलाम नै फर्किएँ। स्कूलमा मास्टरी र अलिअलि राजनीति गर्दागर्दै पुलिसले फेरी समात्यो। यो पटक १४ महिना जेल पर्दा मैले पूर्णकालीन राजनीतिकर्मीको रुपमा स्नातक गरिसकेको थिएँ। बाग्लुङ्ग बसाईकै क्रममा त्यतिबेलाको दरबारका घनिष्ठ विश्वासपात्र दामोदर शमशेरसँग मेरो पनि सम्बन्ध बन्नपुग्यो। पछि हाम्रो सम्बन्ध सोचेभन्दा बलियो र विश्वासिलो पो भयो।  दामोदर शमशेरसँगको सम्बन्धले मलाई काँकडभित्तादेखि कञ्चनपुरसम्मको सरहदभित्र कर्के नजरबाट जोगाएको कुरा म बिर्सौं कसोरी?

मलाई झापाली मन नपर्ने। तर टेक्ने समाउने ठाउँ त चाहियो नि! ०३२ सालमा अखिल नेपाल क्रान्तिकारी कोअर्डिनेशन केन्द्रको गठन भयो। त्यसमा केन्द्रीय सदस्यको रुपमा खुट्टा टेक्ने ठाउँ मिल्यो मलाई। झापालीहरुको बहुमत भएको पार्टीमा झापाली मुर्कुट्टा आन्दोलनको आलोचना गरेर पनि टिक्न सक्ने मान्छे कोही छ भने त्यो झलनाथ खनाल मात्रै हो। नपत्याए “जनवाद” पत्रिकामा मेरो लामो लेख पढे हुन्छ। त्यो पत्रिका पुराना कमरेडहरुसँग अझै सुरक्षित हुनुपर्छ। 

०३५ सालमा म जेलमै थिएँ, झापामा। हाम्रो कोअर्डिनेशन कमिटी नेकपा (माले) मा रुपान्तरित भयो। ०३६ सालमा जनमत संग्रहको घोषणा भयो। तत्कालीन राजा बीरेन्द्रले “फ्रेण्डली जेस्चर” दिएर राजबन्दी रिहा गरे। त्यसै मेलोमा म पनि छुटें। छुटेपछि हामी “जनमत संग्रह धोका हो” भन्दै अप्रत्यक्ष रुपले पञ्चायती व्यवस्था जिताउन क्रियाशील भयौं। पार्टीको लाईन नै त्यही थियो। त्यतिबेला हामीलाई मनमोहन अधिकारीले “कम्युनिष्टको नाममा कलंक” भनेको मलाई अझै याद छ। यो कुरा बेग्लै हो कि, बहुदल आएपछि हामीले उनै मनमोहनलाई नेता मानेर सत्ताको स्वाद चाख्ने मौका लियौं। 

अलि पुरानो कुरातिर नै फर्किउँ। ०३९ सालामा सीपी मैनाली पार्टी महासचिव थिए। एक नम्बरका हुतिहारा। उनले पार्टीलाई गति दिन सकेनन्। सिरहामा पार्टीको सातौँ केन्द्रीय बैठक थियो। त्यहाँ मैले सीपी बिरुध्द जोडदार आवाज निकालें। धम्क्याएको त पक्कै हो। तर बाहिर भने मैले पेस्तोल ताकेर सीपीलाई राजिनामा दिन लगाएको हल्ला चल्यो। राम्रो भयो। मेरो क्रान्तिकारी छवि पार्टीमा ब्याप्त भयो। पार्टीले मलाई निमित्त महासचिवको जिम्मेवारी दियो। 

त्यही साल मैले काठमाडौंकी रबिलक्ष्मी चित्रकारसँग दुई सय रुपियाँको जनवादी बिहे गरें। त्यसको तीन बर्ष पछि ०४२ सालमा मेरो छोरो निर्भिक जन्मियो। मैले दुई सयमा बिहे गरेर जन्माएको छोरो नाम अनुसारकै निर्भिक छ। अहिले उ करोडौंमा खेल्ने भैसक्यो। यो बारेमा पछि कुरा गर्छु। अहिले पार्टीकै कुरा सकिएको छैन। 

पञ्चायती चुनावको उपयोग गर्नुपर्छ भन्ने नीति मैले नै ल्याएको हो त्यो बेला। त्यसैले गर्दा हामीले पद्मरत्न तुलाधर, देवी ओझा, जागृत भेटवाल लगायत आठ जनालाई तत्कालीन राष्ट्रिय पञ्चायतमा पुर्याएका हौँ। बहुदल आउनु अघिका मदन भण्डारी त नाम मात्रैका महासचिव थिए। सबै काम मैले गरेको हुँ। ०४६ सालको आन्दोलनमा काङ्ग्रेससँग मिलेर संयुक्त मोर्चा बनाउने धारणा पनि मेरै हो। त्यसैले ०४७ सालको बिजय सभामा मैले मदन भण्डारीलाई बोल्न दिईन। यो कुरा मैले माथि नै भनिसकेको छु। 

मदन भण्डारीसँग मेरो सधैं मतभेद रह्यो। त्यो व्यक्तित्वको टकराव थियो, जो कम्युनिष्ट पार्टीमा भैरहन्छ। ०४७ सालपछि खुला राजनीतिमा जाने अभिप्रायले मदन भण्डारीले “जनताको बहुदलीय जनवाद” को नीति अघि सारे। मैले त्यतिखेर कुनै बेला आफंैले धम्क्याएको सीपी मैनालीको “नौलो जनवाद” को समर्थन गरेर मदन भण्डारीलाई काँटा हानिदिएँ। मदन भण्डारीको बहुदलीय जनवादलाई “दक्ष प्रजापतिको गींडमा सिउरेको बोकाको टाउको” समेत भनें। मलाई त्यो बेला आफ्नो प्रतिवेदन लेख्ने फुर्सद नभएर सीपीलाई समर्थन गरेको हुँ। 

त्यो बेला अन्तरिम सरकारमा कृषि, बन तथा भूमि सुधार मन्त्री थिएँ म। खाने र ख्वाउने कुरा सिक्नै बाँकी थियो। त्यसैबेला विश्वकान्त मैनाली नामका आधा बामपन्थी आधा दरवारिया वकिल साल सीडको ठेक्का दिने कुरामा बिचौलिया भएर आए। बन मन्त्रीको हैसियतमा त्यो तजबीज मेरै हातको फाईलमा हुँदोरहेछ। मलाई यो कुरा उनै मैनालीले सिकाए। भनेको मान्छेलाई ठेक्का दिँदा बीस लाख कमिसन आउने रहेछ। त्यो बेलाको बीस लाख! मैनालीले मसँग दुई लाखमा कुरा मिलाए। पचास हजार आफूले राखें। एक लाख पार्टीलाई दिएँ। पचास हजार मैनालीलाई दिएँ। भरे बाँकी अठार लाख सहित मेरो पचास हजार समेत मैनालीले झ्वाम पारेछन्! मैनाली अहिले मुलुक छोडेर अमेरिका पसिसके।   

जे भयो भयो, विश्वकान्त मैनालीको कुरा छोडिदिऊँ अहिले। कुरा मदन भण्डारीको थियो। मैले उनको राजनीतिक प्रतिवेदनको समर्थन नगरेको प्रतिशोध उनले मसँग राम्रै लिए। उनी सर्वसम्मतिले महासचिव हुँदा मलाई पोलिटब्युरोमा राखेनन्। म उनीभन्दा पहिले निमित्त नै सहि, महासचिव भएको मान्छे त हुँ नि। तर गरेनन्। अहिले सी चिंगपिंगले हु जिन्ताओलाई गलहत्याए झैं गलहत्याए! 

मदन भण्डारीको मृत्यु दुर्घटना थियो वा हत्या, मलाई थाहा छैन। सिङ्गै राज्यलाई थाहा नभएको कुरा म व्यक्तिलाई कसरी थाहा हास्? तर मदन भण्डारी मर्दा म अमेरिकामा थिएँ। यता पार्टीका कमरेडहरु मदनलाई अमेरिकाको सीआईएले मारेको हल्ला गर्दैथिए। मलाई कत्रो फसाद! रातारात अमेरिका भ्रमण छोट्याएर नेपाल आईपुगें। अवगाल लाग्ला भन्ने डर हुन्छ नि। कम्युनिष्टहरु षड्यन्त्रको तानाबाना बुन्न सिपालु हुन्छन्। त्यसैले दैडिएर आएँ। यो हत्या नै हो भनेर म पनि कराएँ।

मदन भण्डारी मरेको सबैभन्दा ठूलो फाईदा कसैलाई भयो भने त्यो माधव नेपाललाई भयो। तर माधव पनि कम छैनन्। मैले माधव–झलनाथ भाईभाई भनेर पार्टीमा आफ्नो बर्चस्व बढाउन खोजेको पनि हो। माधवले मलाई पत्याएनन्। हिजोको ईश्वर पोखरेललाई च्यापेर हिँडे। माधव र मैले कुनैबेला एकठाउँमा संयुक्त नाममा जग्गा किनेका थियौं। पछि यिनले एकलौटी पारे। म ससुरालीले मिलाईदिएको डल्लुको घरमा बस्न बाध्य भएँ। मैले यो कुरा गर्दा उनी रिसाएका थिए। शायद त्यसैले मलाई वास्तै गरेनन्।  

०५४ सालमा माधव नेपाल र केपी ओली मिलेर महाकाली सन्धीमा ल्याप्चे लगाएको मलाई मन परेको थिएन। म त सदाबहार चीनको मान्छे। सीपी मैनाली र बामदेव गौतमले पार्टी फुटाए। सैध्दान्तिक रुपले म पनि त्यतै जानुपर्ने हो। 

माधव नेपालले तैपनि मलाई घाँस हालेनन्। ०६४ सालमा माधव नेपालले नेतृत्वबाट राजीनामा गरेपछि बल्ल मेरो नाममा चिट्ठा परेको हो। उनले त्यतिबेला आफ्नै स्वार्थका लागि ओलीको सट्टा मलाई रोजे। ओली र माधव सँगै नजन्मिए पनि जन्मजात शत्रु हुन्। मलाई बीचमा खेल्ने मौका मिल्दा फाईदा नउठाउने कुरै थिएन। तर माधव कसैका मान्छे होईनन्। उनले मेरो सरकार ढाल्न के के हत्कण्डा गरे, मलाई सबै याद छ। तर परिस्थितिले हामीलाई अहिले एउटै अचानोमा गर्धन थाप्न बाध्य तुल्याएको छ।

कति आफ्नो कुरा गर्ने? हामी बूढा भयौं। अबको जमाना नयाँ पुस्ताको हो। हाम्रो नयाँ पुस्ताको भविष्य भारत र अमेरिकासँग होईन, चीनसँग जोडिएको छ। म बीआरआईको पक्षमा अनि एमसीसीको बिपक्षमा लागेको कुरा यहाँहरुलाई अवगत नै होला। ०७६ सालमा म चीनले बोलाएर “मेरिटाईम सिल्क रोड एक्स्पो”मा अतिथि भएर त्यहाँको चार दिने यात्रामा थिएँ। त्यहाँ मैले बीआर्आईको पक्षमा गरेको भाषण चिनियाँहरुले खुब मन पराए। त्यतिनै बेला नेपालमा भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने ठेक्का चिनियाँ कम्पनी नर्थ वेस्ट सिभिल एभिएशनले पाएको थियो। त्यो २१७ मिलियन डलरको ठेक्कामा मेरो छोरा निर्भिकको कम्पनी नर्थ वेस्ट ईन्पÞm्रा नेपाल पनि सह ठेकेदार थियो। 

सब कुरो ठीकठाक थियो। अचानक मेरो छोरा  र चिनियाँ ठेकेदारको कुरा मिल्न छोड्यो। मेरो छोरा त निर्भिक छ। नाम अनुसारकै काम गर्छ। तर उसलाई पैसा लिने, भनेको बेला सामान नदिने गरेको आरोप लाग्यो। कामै ठप्प भयो। छोराले दिएको बैंकको चेक अनादर भयो भन्ने मुद्दा समेत लाग्यो। त्यो राजु गुरुङ भन्ने उसको साझेदारले के गर्यो कुन्नी? अहिले त उ हाम्रै पार्टीबाट उठेको मान्छे, चुनाव समेत उठ्न नपाउने भएछ। ठीकै छ, मेरो छोरा जोगियो। 

तर छोरोलाई बचाउन मैले कम पापड बेल्नु पर्यो र? आफैं चीन जानुपर्यो। भनसुन गर्नुपर्यो। भूतपूर्व प्रधानमन्त्री पदमा रहे पनि नरहेपनि उसको राज्य संयन्त्रसँग त्यान्द्रो जोडिएको हुन्छ भन्ने कुरा हरेक बिदेशी कुटनीतिज्ञलाई थाहा हुने कुरा हो। त्यसमाथि चिनियाँ र भारतीयहरु नेपाली कागको गुँडमा आफ्नो जातको कोईलीको अण्डा ओथार्न सिपालु छन्। मलाई उनीहरुले बेवास्ता गर्ने कुरै भएन। 

बल्ल कुरा मिल्यो। छोराको भविष्यको कुरा थियो। सबै बाउले आफ्नो छोराको भविष्य हेरेका छन्। नपत्याए उपराष्ट्रपति नन्दकिशोर पुनको छोरा दिपेश पुनलाई हेर्नुस्। रामबहादुर थापाका छोरा प्रतीक थापालाई नै हेर्नुस्। बामदेव गौतमका छोरा हरिश गौतमलाई पनि हेर्नुस्। कृष्णबहादुर महराका छोरा राहुल महरालाई कसले जान्दैनन् र? निर्भिक मात्र के कम? उसलाई चिनियाँहरुको “गूड बुक” बाट बाहिरिएको म कसरी हेर्न सक्छु? 

यिनीहरु सबै चिनियाँहरुको काँध चढेका नेपालका भावी कर्णधार हुन्। निर्भिक कसरी अपवाद हुन सक्छ? 

कुरा मेरो छोराको मात्र होईन, मेरो चाकरी गर्ने कोही छ भने उसको भलो गर्ने मान्छे हुँ म। चाहे त्यसका लागि अरु कसैको कूभलो नै किन गर्नु नपरोस्? नपत्याए मेरो कृपाको बोझले थिचिएका देवी ओझा, गङ्गा तुलाधर र बिष्णु प्रभातहरुलाई सोध्नुस्। मेरा बिरोधीहरुलाई भने म टिक्नै दिन्न।

२०४२–४३ सालताका हाम्रो पार्टीको मुखपत्र दृष्टि साप्ताहिक नारायण ढकालको टीमले चलाएको थियो। मेरो भजन मण्डलीका एक सदस्य बिष्णु प्रभात सहयोगी थिए। त्यतिबेला हाम्रा कमरेडहरु चुरोटको सट्टा तलतल मेटाउन बिँडी तान्थे। बिष्णु प्रभात भने लुकीछिपी बडो आदरपूर्वक मलाई एक खिल्ली याक चुरोट ल्याइदिन्थे। उनको भक्तिभाव देखेर म मग्न थिएँ। विष्णुलाई दृष्टिको सर्वेसर्वा हुने रहर थियो। मैले प्रयास गरेको हो। तर सकिएन। नारायण ढकाल कम्पनी त्यसैबेला देखि मसँग रिसाएको हो। तर बिष्णु प्रभातलाई पछि मैले दर्शन शास्त्रीका रुपमा प्रज्ञा प्रतिष्ठानको सदस्य बनाएर मात्र शान्तिको स्वास फेरें। 

हाम्रो पहिलो नौ महिने सरकारको पालामा पनि त्यस्तै भएको थियो थियो। त्यो बेला मैले अपमानको बीष पिएर आफूलाई सम्हालें। त्यतिबेला पार्टीका साथीहरु बिमल  निभालाई साझा प्रकाशनको महाप्रबन्धकमा नियुक्त गर्न चाहन्थे। म रामचन्द्र भट्टराईलाई त्यहाँ पुर्याउन चाहन्थें। मैले बिमलको नाम काटेर भट्टराईको नाम सिफारिश गरिदिएँ। पछि मनमोहन अधिकारीको खुब खप्की खाएँ। अन्ततः बिमल नै महाप्रबन्धक भए। 

बिमल र नारायण ढकालको गूट लेख्ने मामिलामा तगडा। तर मेरो बारेमा कहिल्यै राम्रो लेखेनन्। मलाई रीस उठ्नु स्वाभाविक थियो। बिमल–ढकाल र मेरो बैमनश्यता तन्किएर  ०४८ सालसम्म पुग्यो। एकदिन बिमल निभाको “साहित्य घर” मा नारायण ढकाल र मदन भण्डारी बीच के के कुरा भयो कुन्नी? मलाई मदन भण्डारीले सोझै त्यहिँ बोलाएर हकारे। मदन भण्डारीको स्वभाव शिष्ट भाषामा मुटु छेड्ने गरी बोलिदिने। त्यो दिन देखि मैले नारायण ढकालसँग दोहोरो कुरा गरेको छैन। मदन भण्डारी मरेर गए। तर ज्यूँदा नारायण ढकाल सपनामा आए भने मेरो दिनै खराब हुन्छ।  

अब भन्नुहोला, माधव नेपाल जस्तो रकमी मान्छेको नेकपा (एस) मा म किन गएँ? पार्टीमा अन्तरकलह शुरु हुनेबेला केपी ओलीले मलाई मेरो नामको स्वास्थ्य बिज्ञान प्रतिष्ठानका लागि “एण्टी भेनम” ईञ्जेक्सन बनाउन ७२ करोड दिने कुरा गरे। जनताले मेरो नामै त्यसपछि सर्पराज राखिदिए। सर्लाहीमा आठ बिगाहा जागा किन्ने कुरा पक्का  भैसकेको थियो। स्थानीय निकायले साझेदारी गर्ने कुरा भएको थियो। तर पैसा आए पो? ओलीले ताईं न तुईं मलाई बदनाम गरिदिए। 

अनि प्रचण्ड र माधव नेपाल मिलेर मलाई भोली राष्ट्रपति बनाउने प्रस्ताव लिएर आए। झल्लु भन्दा झलनाथ नै ठीक भनेर ओलीलाई छोडिदिएँ। तर अब के दिन्थे मलाई राष्ट्रपति? राष्ट्रपति बनाउने लोभ देखाएर प्रचण्डले बाबुराम भट्टराईको चुनाव क्षेत्र हात पारे। अझ उनकी छोरी मानुषीलाई राजधानीबाटै माओवादीको टिकट नै दिए। कांग्रेसी महाधिवेशनमा जित्न शेरबहादुर देउवाले रामचन्द्र पौडेललाई पनि राष्ट्रपतिकै ललीपप् चटाएका छन्। रामचन्द्र पौडेल र म दुवैजना चुनाव पनि लडेका छौं। के ठेगान? राष्ट्रपतिको वाचा प्रचण्डले गिरिजालाई दिएको वचनमा पुगेर टुङ्गिने हो पो कि?  

०४८ सालदेखि निरन्तर जितेको इलाममा मेरो यसपाली ठेगान छैन। तर चिन्ता छैन। सिंहदरबारमा भूतपूर्व प्रधानमन्त्रीको लहरमा मेरो पनि एउटा तेलचित्र झुण्डिएको छ। म सर्वहाराबाट बर्ग परिवर्तन गरेर सामन्त भैसकें। मैले गर्न बाँकी काम अब मेरो छोराले निर्भिकतापूर्वक गर्नेछ। शेरबहादुरको छोराले महिलाको अन्तरंग ल्याप्चे बेच्यो, मेरो छोराले भोली अर्को एयरपोर्ट बेच्छ। 

हाम्रो समाज रुपान्तरित हुँदैछ। यसरी नै हुँदैजानेछ!

 


 

प्रतिक्रिया