जनगणनामा लेखक अविनाश श्रेष्ठको नाम छुटयो, उठाए ‘यक्ष प्रश्न’



काठमाडौं । कवि, कथाकार एवं चलचित्र लेखक अविनाश श्रेष्ठले एउटा गम्भीर प्रश्न उठाएका छन् । यो प्रश्न साहित्य या चलचित्र क्षेत्रसँग हैन, जनगणनासँग सम्बन्धित छ । 

अविनाशको गुनासो के छ भने उनको घरमा जन गणना नै भएन । जन गणना अभियान समापनको घोषणा भइसक्यो, तर लेखक अविनाशको तथ्यांक भने समेटीएन । 

शुक्रवार सामाजिक संजालमा ‘जनगणना त सम्पन्न भइसकेछ, लौ गजबै भएछ’ भन्दै अविनाशले लेखेका छन्, ‘म मुलुकको राजधानी काठमाडौंको कोटेश्वर नामक ठाउँमा बस्छु । मुलुकका एकजना ठूलै मानिने प्रम भइसकेका नेताको छिमेकी पनि हुँ । तर मेरो घरमा मात्र नभई टोलमै कुनै गणकको अनुहार हिजोका मितिसम्म देख्न पाइएन । आज समाचार आयो जन गणना त सम्पन्न पनि भइसकेछ मुलुकमा । पक्कै पनि म र मजस्ता धेरै छुटे होलान् गणनामा । अब छुटेकाहरुको अरु सबै गणना अनुमान, अड्कल र तजबिजकै आधारमा हो कि क्यो हो ? एउटा सामान्य नागरिकको लागि यक्ष प्रश्न नै हो नि यो पनि ।’

लेखक अविनाशले यहाँ उल्लेख गरेका पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल हुन् । पूर्व प्रधानमन्त्रीकै टोलमा जनगणना टोली नुपग्दो रहेछ भने, गणना प्रकृयाबारे लेखकले उठाएको प्रश्नलाई ‘यक्ष प्रश्न’ नै मान्नुपर्छ । 
 

प्रतिक्रिया