सन्दीपलाई पक्राउ गर्न इन्टरपाेलकाे बाटाे खुल्यो

काठमाडौं। निलम्बित नेपाली क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध डिफ्युजन नोटिस जारी भएको छ। याे नोटिस जारी भएपछि इन्टरपाेललाई उनकाे खाेजी गर्न कानुनी आधार मिलेकाे छ।

१७ वर्षीया बालिकामाथि बलात्कारको आरोप लागेपछि उनी सम्पर्कविहीन भएका थिए। लामिछानेविरुद्ध डिफ्युजन नोटिस जारी भएको नेपाल प्रहरीका प्रवक्ता तथा डिआईजी टेकप्रसाद राईले जानकारी दिएका छन्। लामिछानेविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको हो। 

नोटिस जारी भएपछि लामिछानेलाई इन्टरपोल अन्तर्गतका देशहरूले आफ्नो देशमा खोजी गर्नेछन्। इन्टरपोलमा १ सय ९५ देश आबद्ध छन्।

लामिछानेले आइतबार साँझ मात्रै सामाजिक सञ्जालमार्फत् आफू अस्वस्थ भएका कारण आइसोलेसनमा रहेको बताएका थिए। उनले केही समयमै नेपाल फर्किएर बलात्कारविरुद्धको मुद्दाको प्रतिवाद गर्ने जानकारी दिए पनि आफू कहाँ छु भन्ने बारेमा कुनै जानकारी दिएका थिएनन्। 

वेष्ट इन्डिजमा सीपीएल खेल्ने क्रममा नेपालमा उनीविरुद्ध मुद्धा दर्ता भएकाे थियो। उनी आफू निर्दोष भएकाे भन्दै नेपाल फर्किने क्रममा बीच बाटाेबाटै अज्ञात भएका थिए। उनी हालसम्म नेपाल फर्किएका छैनन्। 

 

प्रतिक्रिया