सन्दीपले भने–छिट्टै देश फर्किन्छु। अहिले आइसाेलेसनमा छु

काठमाडौं। नाबालिका बलात्कार आराेपमा भगौडाकाे उपमा पाएका नेपाली क्रिकेटका निलम्बित कप्तान सन्दीप लामिछानेले लामाे समयपछि आफ्नो पक्ष राखेका छन्। उनले साेसल मिडियामा आइतबार एउटा पाेस्ट सार्वजनिक गर्दै आफू निर्दोष रहेकाे र आफूलाई फसाउने अभियानअन्तर्गत बलात्कारकाे आराेप लगाइएकाे जिकिर गरेका छन्। 

वेष्ट इन्डिजमा सीपीएल खेल्न जाने क्रममा उनीमाथि काठमाडौंमा एक नाबालिकाले बलात्कारकाे आराेप लगाएकी थिइन। उनी आराेप निराधार भएकाे पुष्टी गर्न काठमाडौं फर्किने क्रममा बीच बाटाेबाटै लापत्ता भएका थिए। उनी कहाँ छन्, त्याे अहिलेसम्म थाहा हुन सकेकाे छैन। आइतबार पनि उनले आफू कहाँ छु भन्ने खुलाउन चाहेनन्। 

उनले मानसिक तनावका कारण आफू आइसाेलेसनमा बसेकाे बताएका छन्। उनले छिट्टै नेपाल फर्किएर कानुनी लडाई लड्ने बताएका छन्। उनीविरुद्ध नेपाल प्रहरीले पक्राउ पूर्जी जारी गरेपछि वेष्ट इन्डिजबाट आउँदा आउँदै उनी बीच बाटाेमा बेपत्ता भएका थिए। उनी हाल सिंगापुर भएकाे आशंका गरिए पनि उनीसँग पाँच वटा देशकाे भिसा रहेकाे छ।

sandeep lamichane

सन्दीप लामिछानेले साेसल मिडियामा लेखेकाे पाेस्ट

१६ वर्षको उमेरमा राष्ट्रिय क्रिकेट टिममा समावेश हुन पाउनु मेरो शैभाग्य हो। त्यो मेरो थोरै मेहनत, परिश्रमले आर्जन गर्न सकिने कुरा थिएन। सकारात्मक सोच, अथक मेहनत र आफुलाई सुधार्न गरिएको निरन्तर प्रयासका साथै मलाई साथ सहयोग गर्नु हुने मेरा परिवार, साथिभाई र अग्रजहरु लगायत मेरो पुरै क्रिकेट टिमको साथ, सहयोग र आर्शिवादले म आजको अवस्था सम्म पुग्न सकेको हुँ। म सदैव विश्व क्रिकेट जगतमा नेपालको नाम उच्च राख्ने प्रोरणाले अघि बढेको छु। मैले आफ्नो मेहेनतले नेपालको नाम चिनाउन पाउँदा गौरवान्भित महसुस गर्दछु।

म विरुद्द भदौ २१ गते परेको जाहेरी मैले भदौ २२ गते थाहा पाएँ। म विरुद्द परेको झुट्टा जाहेरीको विषयमा विद्युतिय सञ्चार माध्यम र समाजिक सञ्जालमा एकलौटी तरिकाले, सत्य तथ्य नबुझि झुट्टा जाहेरी मात्रको आधारमा मेरो चरित्रमा गम्भिर आँच आउने गरी समाचारहरु आए। मेरो नाउँमा वारेण्ट जारी भएको समाचार र म विरुद्द परेको जाहेरी सार्वजनिक हुनुले मलाई मानसिक रुपमा विछिप्त बनायो, के गर्ने के नगर्ने भन्ने सोच्न सक्ने अवस्था मेरो रहेन।

यि सब कुराले मलाई एकातिर मानसिक असर गर्यो भने अर्को तिर म बिरामी अवस्थाबाट गुज्रिन पर्यो र मानसिक तनाव र स्वास्थ्य खराबिको कारणले मैले मलाई Isolation मा राखेर बसेको छु। झुट्टा जाहेरी कै भरमा अपराधीको चित्रणले मलाई मानसिक र शाररीक रुपमा प्रभावित भई असन्तुलित अवस्थामा पुगि डाक्टरहरुको सरसल्लाहामा आफुलाई सामान्य अवस्थामा ल्याउँदै आएको छु र मेरो स्वास्थ्यमा क्रमिक सुधार आउँदै छ र जति सक्दो चाँडो नेपाल फर्किएर म विरुद्दको झुट्टा उजुरीको डटेर प्रतिवाद गर्न नेपाल फर्किने तरखरमा छु ।

क्रिकेट प्रति सानै देखि जुनुन भएको म एउटा सामान्य परिवारको मानिस हुँ। मेरो लागि जीवनमा क्रिकेट र मेरो देश मात्रै प्राथमिकतामा रहे। मलाई लाग्छ नेपाली क्रिकेटलाई अन्तराष्ट्रिय रुपमा चिनाउन मेरो पनि भूमिका रहेको छ चाहे त्यो खेलाडीको रुपमा होस् वा चाहे कप्तानको रुपमा। राष्ट्रको लागि दीलो ज्यानले खेलि रहेको म एउटा इमान्दार क्रिकेट खेलाडी आज एउटा गम्भिर षडयन्त्रको सिकार भएको महशुस भएको छ।

मेरो अनुपस्थितीमा मलाई अपराधि सावित गराउने झुट्टा झुट्टा जाहेरी प्रपञ्चहरुको मैले कानूनी लडाँइ लड्ने छु। मैले बुझे सम्म नेपालको संविधानले कसूर प्रमाणित नभए सम्म कसूरदार नमानिने व्यवस्था गरेको छ साथै संविधानले सम्मानपूर्वक बाँच्न पाउने, यातना विरुद्दाको हक, गोपनियताको हक, स्वास्थ्य सम्बन्धीको हक र मेरो कानून व्यवसायीसँग कानूनी परामर्श गर्न पाउने हक समेत रहेको बुझेको छु।

म र नेपाली क्रिकेट प्रति सद्भाव राख्ने आदरणीय बुवा आमा, दाजु भाई, मित्रहरु र क्रिकेट प्रेमिहरु, मेरा समर्थकहरु प्रति आभार व्यक्त गर्दछु र म वा म विरुद्द अफवाह फैलाउने समाचारहरु सम्प्रेषण नगरी दिन हुन सम्पूर्णमा विनम्र अनुरोध गर्दछु।

प्रतिक्रिया