न्युरोडमा ७० लाख लुट्ने व्यक्ति लाल मोहम्मद हत्यामा संलग्न भएको आशंका

काठमाडौं। एक वर्षअघि न्युरोडमा ७० लाख नेपाली रुपैयाँसहित ३० लाख भारतीय रुपैयाँ लुटेर भाग्न सफल व्यक्ति नै लाल मोहम्मदको हत्याका योजनाकार भएको प्रहरीले आशंका गरेको छ। 

नक्कली भारतीय रुपैयाँको कारोबारमा ९ वर्ष जेल सजाय भुक्तान गरिसकेका लाल मोहम्मदको सोमबार साँझ कागेश्वरी मनोहरा–८ गोठाटारमा गोली प्रहार गरि हत्या गरिएको थियो। 

हत्याको योजनाकार भएको आशंका गरिएका व्यक्ति जितेन खान हुन्। उनी हत्या गर्नुभन्दा अघि नै ३० भदौंमा लाल मोहम्मदको गार्मेन्ट ‘एभेन्जर इन्टरप्राइजेज वर्ल्ड वेष्ट गार्मेन्ट’ अगाडि रहेको ‘कोशीपारी गेष्ट हाउस एण्ड होटल’मा कोठा लिएर बसेका थिए।  

उनले होटलमा आफ्नो नाम जितेन खान लेखाए पनि प्रहरीले उनको वास्तविक नाम के हो? अनुसन्धान गरिरहेको छ। 

जितेनले ३० भदौंदेखि नै उनको रेकी गरेको प्रहरीको आशंका छ। उनले ३ असोजमा भारतबाट सुटर बोलाएर हत्या गराएको हुनसक्ने प्रहरी अधिकारीहरू बताउँछन्। हत्यामा सिबीजी मोटरसाइकल प्रयोग भएको थियो। जितेनको वास्तविक घर भारतीय राजधानी दिल्ली हो। 

उनी यसअघि नै नेपाल प्रहरीको खोजीको सूचीमा थिए। लाल मोहम्मद नक्कली भारु नोटको कारोबारमा संलग्न हुँदा दुवै साथी भएको प्रहरीले आशंका गरेको छ। 
 

प्रतिक्रिया