इरानमा सरकारविरूद्ध महिला आन्दोलित, ५ जनाको निधन

काठमाडौं। इरानमा ‘मोरल पुलिसिङ’ को विरोध प्रदर्शन गरिरहेका प्रदर्शनकारीमाथि प्रहरीले दमन गर्दा ५ जनाको निधन भएको छ। ८० भन्दा बढी घाइते भएका छन्। प्रदर्शन देशको पश्चिमी क्षेत्र कुर्दिस्तानमा भएको थियो। यस क्षेत्रका मानिसहरू लामो समयदेखि छुट्टै राज्यको माग गर्दै आइरहेका छन्। 

टाउको नढाकेको आरोपमा प्रहरीले २२ वर्षीय महसा अमिनीलाई हालै गिरफ्तार गरेको थियो। कुर्द मूलकी उनी प्रहरी हिरासतमै १६ सेप्टेम्बरमा मारिएकी थिइन। उनको निधनपछि महिलाहरू भड्किएका छन्। 

कुर्दिस्तान शहरबाहेक राजधानी तेहरानमा पनि प्रदर्शन भएको छ। महिलाहरूले हिजाबलाई अनिवार्यभन्दा पनि वैकल्पिक गर्न आवाज उठाएका छन्। उनीहरूले हिजाबकै कारण महिलाले किन मारिनु पर्नेभन्दै आवाज उठाएका छन्। 

प्रदर्शनमा धार्मिक नेता अयातुल्लाह खोमेनीको विरोध भएको छ। उनी इरानको सर्वोच्च धार्मिक नेता हुन्। देशमा लोकतान्त्रिक व्यवस्था बहाल भएको बताइए पनि महत्वपूर्ण निर्णय उनी नै गर्छन। प्रदर्शनकारी उनीविरूद्ध नाराबाजी गरिरहेका छन्। 

खोमेनीको विरोध कुर्दिस्तानमा मात्र नभएर राजधानी तेहरान र अन्य क्षेत्रमा पनि भइरहेको छ। इरानमा विदेशी मिडियालाई रोक लगाइएको छ। 

सोमबार राती इरानी कुर्दिस्तानको महाबाद, दिवान्दरे, साकेज, बुकानसमेत अन्य शहरमा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झड्प भएको थियो। कुर्द बाहुल्य शहरको बजार बन्द छ। 

प्रहरी थुनामै मारिएकी महसा अमिनीको शहर साकेजमा प्रहरी र प्रदर्शनकारीबीच झड्प भएको थियो। महसालाई अन्तिम श्रद्धाञ्जली दिएपछि प्रदर्शनकारी गर्भनर निवासतर्फ गएका थिए। यही सुरक्षाकर्मीले गोली चलाएका थिए। 

कुर्दहरूको अधिकारका लागि वकालत गर्ने संगठन हैन्गावले गोलीबारीमा २ जना मारिएको र ३० भन्दा बढी घाइते भएको बताए। झड्पमा कियान देरकसा नाम गरेका एक युवाको टाउकोमा गोली लागेको थियो। 

कुर्द बसोबास गर्ने शहरमा प्रहरीले २ सय ५० भन्दा बढी मानिसलाई गिरफ्तार गरेका छन्। सुरक्षाकर्मी प्रदर्शनकारीविरूद्ध अपरेशन सञ्चालन गरिरहेका छन्। घरमा छापा हानिएको छ। इरानको रिभोल्युशनरी गार्ड पनि अपरेशनमा समावेश छ। 

इरानी प्रहरीले भने गोलाबारीमा कुनै प्रदर्शनकारीको निधन नभएको बताएको छ। सरकारी मिडियाले पनि प्रदर्शनकारी प्रक्राउ परे पनि ज्यान नगएको बताएका छन्। प्रहरीले महसालाई टर्चर गरेर मारेको कुरा अस्विकार गरेको छ। उसले बिरामीका कारण उनको निधन भएको बताएको छ। 

प्रदर्शनका कारण कुर्द क्षेत्रमा इन्टरनेट सेवा बन्द गरिएको छ। एलन मस्कले इरानमा आफ्नो कम्पनीले स्टारलिंकको सेटेलाइटमार्फत काम गरिरहेको बताएका छन्। यसले इन्टरनेटको काम गर्छ। 

महसा अमितीको निधनपछि अमेरिकाको वासिङ्टन, क्यानडाको टोरन्टो र फ्रान्सको पेरिसमा महिलाहरूले र्.याली निकालेका छन्। विश्वभरीका इरानी मुलका व्यक्तिहरूले प्रदर्शनमा भाग लिएका थिए। 

शिया बाहुल्य रहेको इरान इस्लामिक राष्ट्र हो। जहाँ कडा धार्मिक कानुन लागु छ। यसले महिलामाथि थुप्रै प्रतिबन्धित कानुन बनाएको छ। सन् १९७९ मा इरानमा इस्लामिक क्रान्ति सुरु हुनुभन्दा अघि महिलालाई पूर्ण रूपमा स्वतन्त्रता दिएको थियो। 

साउदी अरब जस्तै इरामा पनि ‘मोरालिटी पुलिस’ को अवधारणा लागु छ। यसले सार्वजनिक स्थानमा मानिसको व्यवहारमा कडा नजर राख्ने गर्छ। इस्लामिक धर्म अनुसार व्यवहार भएको खण्डमा दण्ड दिने काम पनि यसैले गरेको छ। 

प्रतिक्रिया