अजरबैजान र आर्मेनियाको लडाईं कसका लागि?

अजरबैजान र आर्मेनियाबीच ताजा संघर्षमा केही दर्जन आर्मेनियाली सैनिक तथा ठूलो संख्यामा अजेरी सैनिकको निधन भएको छ। २०२० मा दुवै देशले युद्ध लडेका थिए। यसपछिको यो सबैभन्दा ठूलो लडाईं मानिएको छ। 

प्राप्त ताजा जानकारी अनुसार दुवै देशका करिब सय जना मानिसको निधन भइसकेको छ। दक्षिणी काकेससमा पर्ने पूर्व सोभियत देश आर्मेनिया र अजरबैजान लामो समयदेखि नागोर्नो काराबाख क्षेत्रका लागि लडिरहेका छन्। नागोर्नो काराबाख एउटा पहाडी क्षेत्र हो, जुन अजरबैजानमा पर्छ। तर, २०२० सम्म यो क्षेत्र आर्मेनियाको नियन्त्रणमा थियो। 

२०२० मा करिब ६ साता चलेको लडाईंपछि अजरबैजानले नागोर्नो कारबाखलाई फिर्ता ल्याएको थियो। यसपछि पनि यहाँ संघर्ष नदेखिएका होइनन्। यद्यपि रुसी शान्ति सैनिक यो क्षेत्रमा तैनाथ छन् तर हालसम्म युद्धको अवस्था विधमान छ। 

संघर्षको वर्तमान अवस्थामा आर्मेनियाले भनेको छ, केही आर्मेनियाली शहरमा रातभरी हमला भइरहेको छ। तर, अजरबैजानले उल्टै आर्मेनियाप्रति आरोप लगाएको छ। र, भनेको छ, युद्धका लागि उकास्ने काम आर्मेनियाले गरेको थियो। त्यसैको प्रतिउत्तर मात्र हो।

अहिले लडाईं किन? 

अहिलेको समय किन पनि महत्वपूर्ण छ भने आर्मेनिया र अजरबैजानबीचको युद्ध रोक्न र दुवैलाई सम्झौंतामा ल्याउन रुसले सबैभन्दा बढी प्रयास गरिरहेको थियो। केही हदसम्म सफल पनि देखियो। रुसी राष्ट्रपतिको कार्यालय क्रेमलिनले मंगलबार विज्ञप्ती जारी गर्दै भनेको छ, राष्ट्रपति पुटिन दक्षिणी काकेशसमा हिंसा रोक्न हरसम्भव प्रयास गरिरहेका छन्। तर, युक्रेन युद्धका कारण शान्ति स्थापना गर्ने काममा यतिबेला रुसको भूमिका फितलो हुँदै गइरहेको छ। यही कारण हुनसक्छ, अजरबैजानलाई धेरै ठाउँमा आफ्नो दावी बलियो बनाउन मनोबल मिलेको छ। 

चाथम हाउस थिंक ट्याकमा रुस र युरेसिया कार्यक्रमका सहायक फेलो लोरेन्स बोयर्स भन्छन्, ‘मेरो विचारमा अजरबैजानमा यस्तो भावना बढेको देखिन्छ कि, सैन्य कार्यवाहीले बढीभन्दा बढी ठाउँ हत्याउन सकिने उपयुक्त समय यही हो।’

ajarbaijan1

अजरबैजान र आर्मेनियामा शान्ति सम्झौंता कस्तो हुनुपर्छ, यसलाई लिएर ठूलै मतभेद छ। एकातर्फ अजरबैजान नागोर्नो काराबाखको राजनीतिक ओहदालाई समाप्त गर्दै आर्मेनियालाई त्यहाँ भूमिकाविहिन बनाउन चाहन्छ। दोस्रोतर्फ आर्मेनियाका पदाधिकारी स्थानीय आर्मेनियालीको अधिकार सुनिश्चित गराउने अभियानमा छ। 

जोखिम किन? 

आर्मेनिया र अजरबैजानको युद्धका कारण यस क्षेत्रमा रुस र टर्की मैदानमा उत्रिने सम्भावना प्रबल छ। यसले पुरै दक्षिणी काकेससमा अस्थिर फैलाउने सम्भावना बलियो रहन्छ। यो क्षेत्र पाइपलाइनका लागि महत्वपूर्ण मानिन्छ। यहाँबाट तेल र ग्यासको सप्लाई हुने गरेको छ। युक्रेन युद्धका कारण उर्जा सप्लाईमा देखिएको अफ्ठेरो यी दुई देशबीचको युद्धका कारण झन् खतरामा पर्ने आशंका गरिएको छ। 

रुसको आर्मेनियासँग रक्षा सम्झौंता छ। त्यसैले यहाँ एउटा रुसी सैन्य अड्डा पनि छ। तर, टर्कीले अजरबैजानमा टर्कीमूलका मानिसहरूलाई राजनीतिक र सैन्य समर्थन गर्छ। आर्मेनिया र अजरबैजानबीचको युद्धले शान्ति सैनिकको आवश्यकतालाई यो क्षेत्रमा झन् सुनिश्चित तुल्याएको छ। तर, रुस आफै युद्धमा होम्मिएको बेला त्यो उपलब्ध गराउने सम्भावना कम छ। 

युरोपेली संघको भूमिका

युक्रेन युद्ध सुरु भएपछि रुस अन्तर्राष्ट्रिय मञ्चमा एक्लो देखिन्छ। युरोपेली संघले आर्मेनिया र अजरबैजानबीच युद्ध रोक्न समाधानको उपाय खोजेको थियो। उसले यसका लागि प्रयास पनि गरेको छ। तर, विश्लेषकहरू नयाँ संघर्षले दुवै देशलाई शान्ति सम्झौंताको नजिक ल्याउने अभियानलाई धक्का लागेको बताउँछन्।  

‘जर्जियन स्ट्रेटेजिक एनलासिस सेन्टर’ का विश्लेषक गेला वासाद्जे भन्छन्, ‘ताजा संघर्षले ब्रसेल्स सम्झौंतालाई व्यवहारिक रूपमा असर पारेको छ। दुवै देशको विचार कट्टर हुँदै गइरहेको छ।’

युरोपेली संघको मध्यस्थतामा गत मे र अप्रिलमा दुवै देशबीच कुराकानी भएको थियो र दुवै भविस्यका लागि शान्ति सम्झौंताको विषयमा थप कुराकानी गर्न राजी भएका थिए। 

–रोयटर्स
  

प्रतिक्रिया